अलैंची विरुवाको उत्पादन बढ्यो, मूल्य घट्यो

बेसीसहर : बिरुवा रोप्ने सिजन सुरु भएसँगै लमजुङमा अलैँचीको बिरुवाको नयाँ मूल्य निर्धारण गरिएको छ। नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ, जिल्ला कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना (अलैंची जोन), अलैंची नर्सरी कृषकको संयुक्त बैठकले नयाँ मूल्य निर्धारण गरेको हो।
नयाँ मूल्य अनुसार सबै जातको अलैंचीको प्रति बिरुवा ८ रुपैयाँ निर्धारण गरिएको छ। यसअघि ७ देखि १० रुपैयाँ मूल्य थियो। नेपाल अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष तामाङका अनुुसार रामसाई, गोलसाई, डम्बरसाई, साउने, जिर्मले र भरलांगे जातको अलैंची बिरुवाको मूल्यमा एकरुपता कायम गरिएको छ।
अलैंची व्यवसायी महासंघका अनुसार पुराना गाँजबाट निकालिएको (पान्ना) बाट छुटाएको बिरुवाको भने प्रति बिरुवा ५ रुपैयाँ निर्धारण गरिएको छ। तामाङका अनुसार ३२ महिना पूरा भएको नर्सरीको बिरुवाको मूल्य ८ रुपैयाँ राखिएको छ। यसवर्ष अलैंची बिरुवा उत्पादन बढेकाले मूल्य घटाइएको महासंघले जनाएको छ।
नेपाल अलैची व्यवसायी महासंघ लमजुङका अनुसार गतवर्ष २५ लाख बिरुवा बिक्री भएको थियो। उत्पादन धेरै भएकाले गत वर्ष बिक्रीमा समस्या आएको थियो। प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अलैंची जोन कार्यक्रमका प्रमुख गोविन्द कोइरालाले जिल्लामा उत्पादन गरिएका बिरुवाको तथ्यांक संकलन भइरहेको बताए। अलैंची जोन कार्यक्रम, कृषि कार्यालय, स्थानीय तह, विभिन्न संघसंस्थासँग समन्वय गरी बिरुवा बिक्रीको पहल गरिने उनले बताए।
प्रतिक्रिया दिनुहोस !
