आजबाट त्रिविमा २४ घण्टाभित्रै ट्रान्सक्रिप्ट

आजबाट त्रिविमा २४ घण्टाभित्रै ट्रान्सक्रिप्ट

काठमाडौं : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूबाट विभिन्न तह उत्तीर्ण विद्यार्थीले अब सहज रूपमा शैक्षिक प्रमाणपत्र (ट्रान्सक्रिप्ट) लिन पाउने भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले ट्रान्सक्रिप्टलगायत प्रमाणपत्र २४ घण्टाभित्रै वितरण गर्न विकास गरेको विशेष सफ्टवेयरबाट आइतबारदेखि कार्यान्वयनमा ल्याउने भएको छ । यसका लागि विकसित सफ्टवेयरको सफल परीक्षण गरिसकेकाले आइतबार यसबाट प्रमाणपत्र वितरण सुरु गर्ने पनिकाले जनाएको छ ।

पनिकाले सफ्टवेयरलाई एक्जामिनेसन म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (ईएमआईएस) नामकरण गरेको छ । पनिकाका सूचना प्रविधिका विज्ञ कर्मचारीले यो सफ्टवेयर विकास गरेका हुन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘आइतबार पहिलोपटक विद्यार्थीलाई ट्रान्सक्रिप्ट वितरण गरेर औपचारिक सुरुवात गर्ने योजना बनाएका छौं । ट्रान्सक्रिप्ट लिन आइतबार सबैभन्दा पहिले जुन विद्यार्थी आएर फाराम भर्छन्, उनले सोही दिन उपकुलपतिज्यूको हातबाट आफ्नै सामु छापिएको प्रमाणपत्र पाउनेछन् ।’

पहिलो चरणमा यो सफ्टवेयरबाट शिक्षाशास्त्र संकायअन्तर्गत बीएडको उत्तीर्ण विद्यार्थीको प्रमाणपत्र वितरण गरिनेछ । सफ्टवेयर निर्माण भइसकेकाले एमएड र अन्य संकायमा पनि यसैबाट प्रमाणपत्र वितरण गरिने परीक्षा नियन्त्रक जोशीले जानकारी दिए । उनका अनुसार यसरी प्रमाणपत्र लिन विद्यार्थीले पहिले जस्तै फारम भर्नुपर्नेछ । त्यसपछि सो फारममा उल्लेख विवरण तत्काल सफ्टवेयरमा इन्ट्री गरिन्छ । यसरी इन्ट्री गर्दा विवरण गलत भए वा कुनै समस्या देखिए अर्को फारम भर्नुपर्नेछ । फारमका सबै विवरण सही भए बढीमा २४ घण्टाभित्र पनिकाले ट्रान्सक्रिप्ट दिनेछ । ‘फाराम भर्नेको संख्या थोरै भयो भने सम्बन्धित विद्यार्थीले फाराम भरेको एक÷दुई घण्टामै ट्रान्सक्रिप्ट पाउँछन् । विद्यार्थी चाप धेरै भयो भने ढिलोमा २४ घण्टाभित्र जसरी पनि दिन्छौं’, उनले भने ।

पनिकाले विद्यार्थीको परीक्षा फारम अनलाइन भर्ने प्रणाली विकास गरिसकेको छ । पहिलो चरणमा पाँच वटा क्याम्पस अनलाइन परीक्षा फारम भर्नका लागि छनोट भएका छन् । जोशीका अनुसार धरानको हात्तीसारस्थित कलेज अफ फुड टेक्नोलजी, पद्मकन्या कलेज, पोखराको पृथ्वीनारायण क्याम्पस, बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस र कैलालीको कैलाली बहुमुखी क्याम्पस छनोटमा परेका छन् । यी कलेजले पनिकाले विकास गरेको सफ्टवेयर आफ्नो कार्यालयमा सेटअप गरेर त्यहींबाट फारम भर्न सक्नेछन् । परीक्षा फारम तथा अन्य फारम भर्दा लाग्ने दस्तुर भने तत्कालका लागि क्याम्पसले विद्यार्थीबाट संकलन गरेर पनिकामा बुझाउनेछ ।

नियन्त्रक जोशीले भने, ‘बिस्तारै विद्यार्थीको ट्रान्सक्रिप्ट पनि सम्बन्धित कलेजबाटै छापेर वितरण गर्न सक्ने बनाउँछौं ।’ अहिले त्रिविअन्तर्गतका विद्यार्थीका परीक्षा, रजिस्ट्रेसनलगायत फारम कलेजले भरेर बुझाउन बल्खुस्थित पनिकामै आउनुपर्ने बाध्यता छ । विद्यार्थीको मार्कसिट तथा ट्रान्सक्रिप्ट लिन पनि पनिकामै धाउनुपर्ने बाध्यता छ । हरेक काम गर्न केन्द्र धाउनुपर्दा परीक्षा फाराम, ट्रान्सक्रिप्टलगायत कागजातमा सामान्य त्रुटि हुँदा भने पनि विद्यार्थीले अनावश्यक खर्च बेहोर्नुका साथै तनाव खेप्नु परेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.