खस्किैँदै कम्युटर बजार

खस्किैँदै कम्युटर बजार

काठमाडौं : पछिल्लो समय नेपालमा कम्युटरको माग घट्दै गएको छ। पछिल्ला १० वर्षमा नेपाल भित्रिएका कम्प्युटरको संख्या घट्दो अवस्थामा छ। भन्सार विभागको तथ्यांकअनुसार कुनै समय नेपालमा कम्प्युटर पहिलो वर्षको तुलनामा २९५.९७ प्रतिशतसम्म वृद्धि भएको थियो जुन पछिल्लो समय घट्दै गएको छ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०६४/०६५ देखि अहिलेसम्म नेपालमा १५ लाख दुई हजार २७८ भन्दा बढी कम्प्युटर तथा ल्यापटप भित्रिएका छन्। त्यसमा आर्थिक वर्ष २०६७/०६८ को डाटा भने समावेश गरिएको छैन। उक्त अवधिमा सबैभन्दा बढी आव २०६६/०६७ मा देखिन्छ। यो आवमा नेपालमा तीन लाख ५४ हजार तीन सय ४८ वटा कम्प्युुटर भित्रिएका छन्। आव २०६४/०६५ मा ८९ हजार चार सय ८८ वटा कम्प्युटर भित्रिएको नेपालमा आव २०६५/०६६ मा एक लाख ५२ हजार पुगेको थियो। आव २०६६/०६७ मा आइपुग्दा यसको संख्या बढेर तीन लाख ५४ हजारभन्दा बढी छ। यो आव २०६४/०६५ को तुलनामा २९५.९७ प्रतिशतले बढी हो। उक्त तथ्यांकमा आव २०६७/०६८ को डाटा भने उपलब्ध छैन।

त्यसपछिका वर्षमा कम्प्युटरको आयातमा निरन्तर कमी हुँदै आएको देखिन्छ। आव २०६८/०६९ मा कम्प्युटरको आयात घटेर दुई लाख ३७ हजारमा झरेको छ। आव २०६६/०६७ को तुलनामा ३२.८९ प्रतिशतले कम हो। आव २०६९/०७० मा अघिल्लो वर्षको तुलनामा आयातमा ३७.५३ प्रतिशतले कमी आएको छ। यो आवमा जम्मा एक लाख ४८ हजार कम्प्युटर तथा ल्यापटप भित्रिएका छन्। त्यस्तै आव २०७०/०७१ मा विदेशबाट ७४ हजारमात्र कम्प्युटर आयात भएको छ। १० वर्षको अवधिमा आव २०७०/०७१ मा सबैभन्दा कम आयात भएको छ।

आव २०६४/०६५ को तुलनामा १६.७९ प्रतिशत र आव २०६६/०६७ को तुलनामा ७९ प्रतिशतले कमी हो। त्यसपछिका दुई वर्षमा फेरि यसको आयातमा केही सुधार भएको पाइन्छ। आव २०७१/०७२ मा ८६ हजार र आव २०७२/०७३ मा एक लाख ८१ हजार कम्प्युटर आयात भएको छ। आव २०७०/०७१ तुलनामा यी दुई आवमा क्रमशः १६.६४ र १४३.४४ प्रतिशतले वृद्धि भएको देखिन्छ। आव २०७३/०७४ सम्म आइपुग्दा वृद्धि फेरि रोकिएको छ। आव २०७३/०७४ मा नेपालमा जम्मा एक लाख ७६ हजार कम्प्युटर भित्रिएका छन्। जुन अघिल्लो आवको तुलनामा पाँच हजार अर्थात २.५५ प्रतिशतले कम हो।

यसरी निरन्तर रूपमा कम्प्युटरको बजार खस्कँदै जानुको प्रमुख कारण स्मार्टफोनको प्रयोगमा आएको वृद्धिलाई लिइएको छ। हुन पनि हो, आव २०६६/०६७ मा १० लाख १७ हजार मोबाइल भित्रिएको नेपालमा आव २०७३/०७४ मा आइपुग्दा ५९ लाख ५४ हजारभन्दा बढी मोबाइल आयात भएको छ। जुन झन्डै पाँच गुणाले बढी हो। ‘स्मार्टफोनको बढ्दो प्रयोग र त्यसको सहज पहुँचले पनि कम्प्युटरको बजारमा असर परेको छ’, कम्प्युटर एसोसियसन नेपाल(क्यान) का अध्यक्ष हेमन्त चौरासियाले भने, ‘त्यसैले कम्प्युटर बजारमा आएको गिरावटको प्रमुख कारण स्मार्टफोन नै हो। स्मार्टफोनमा अहिले कम्प्युटरमा भएको धेरैजसो फिचर उपलब्ध छ।’

स्मार्टफोनले मानिसलाई आफ्नै हातमा विश्व समाहित भएको फिल गराएको छ। उनले भने, ‘पहिलेजस्तो इमेल पठाउन कम्प्युटर, ल्यापटप नै प्रयोग गर्नु पर्छ भन्ने छैन। इन्टरनेट प्रयोगका लागि कम्प्युटर ल्यापटपको प्रयोग गर्ने चलन नै हराइसकेको छ। जुन पहिले हामी कम्प्युटरबाट गर्दै आएका थियौं त्यो स्मार्टफोनबाटै सम्भव भएको छ। त्यसले पनि कम्प्युटर बजार खस्किएको हो।’

अर्कोतर्फ कम्प्युटर ल्यापटप भनेको अफिसियल प्रयोगका लागि हुन्छ। हाम्रोमा पछिल्लो दश वर्षमा सोचेअनुसार उद्योग कलकारखाना स्थापना भएका छैनन्। त्यसैले सूचना प्रविधिको प्रयोग जुन रूपमा हुनु पर्ने हो त्यो नभएकाले पनि यस्तो भएको चौरासिया बताउँछन्। उनका अनुसार पछिल्लो समय उद्योगको विकास नहुनुले पनि यसलाई फरक पारेको छ। आजभन्दा आठ वर्षअघि जुन रूपमा कलेज, उद्योगको विकास भएको थियो त्यो अहिले आएर हुन सकेको छैन। तर, अबका दिन फेरि यसको बजार बढ्न सक्ने अनुमान गर्न सकिन्छ। सरकारले ई–एजुकेसनको कुरा गरिरहेको छ। अनलाइनमा आधारित सरकारी सेवाको कुरा भइरहेको छ। इन्टरनेट विस्तार गाउँगाउँसम्म छ। इन्टरनेटको विस्तारसँगै त्यहाँ कम्प्युटर ल्यापटपलगायत डिभाइसको प्रयोग बढ्ने उनको भनाइ छ।

‘अर्कोतर्फ अब देश विकासमा गति लिने समय आएकाले पनि यसको बजार माथि जान सक्नेछ’, उनले भने, ‘सूचना प्रविधिबिनाको विकास त असम्भव नै छ। त्यसैले कम्प्युटरको प्रयोगमा अबका दिनमा वृद्धि हुने सक्ने देखिन्छ।’ होल कम्प्युटरको ठाउँमा अहिले स्मार्टफोन विकल्पको रूपमा आएको छ, अझ त्योभन्दा पनि अर्को विकल्प आउन सक्ला तर यसको प्रयोग भने पक्कै बढ्दै जानेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.