सांसद दवाडीको दोस्रो महिनाको पारिश्रमिक पनि विद्यालयलाई
गोरखा : प्रदेश नं. ४ का सांसद प्रकाशचन्द्र दवाडीले सांसदको पारिश्रमिक बापत पाएको तलबभत्ताले गोरखाको एक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन्। मङ्गलबार बारपाक सुलिकोट गाउँपालिका–७ मा रहेको शैलपुत्री माध्यामिक विद्यालयमा आयोजित एक समारोहमा ५५ हजार पाँच सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्।
अक्षयकोषबाट आउने व्याजबाट गरिब तथा जेहन्दार छात्रछात्रालाई छात्रावृत्ति प्रदान गर्ने गरी अक्षयकोष स्थापना गरिएको दवाडीले जानकारी दिए। यसअघि उनले सिरानचोक गाउँपालिकाको जनकल्याण माविमा पनि पारिश्रमिक बापतको रकमले अक्षयकोष स्थापना गरेका थिए। आगामी दिनमा पनि सांसद भएबापत आउने सबै तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्ने उनले घोषणा गरेका छन्।
मङ्गलबार नै सांसद दवाडीले बारपाक सुलिकोट गाउँपालिका – ८ पन्दुङ तीनखण्डेमा रहेको शिव मन्दिर पुननिर्माणका लागि ५० हजार रुपियाँ हस्तान्तरण गरे। सोही गाउँपालिकाको पाँचखुवादेउरालीस्थित अमले गाउँको जनचेतना आमा समूहलाई १५ हजार रुपियाँ आर्थिक सहयोग गरेका थिए।