'विकासमा लापरवाही गर्ने ठेकेदारलाई कठोर सजाय हुन्छ'
फुङलिङ : गृहमन्त्री रामबहादुर थापाले जिम्मेवारीबाट भाग्ने र विकास निर्माणमा लापरवाही गर्ने ठेकेदारलाई कठोर सजाय हुने बताएका छन् । उनले बदमास ठकेदारको सूची तयार भइसकेकाले उनीहरुलाई राज्यले कदापी नछाड्ने चेतावानी दिए ।
शनिबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको नवनिर्मित भवन उद्घाटन गर्न फुङलिङ आएका मन्त्री थापाले इमान्दारलाई पुरस्कृत र बेइमानलाई कारवाही सरकारको नीति रहेको बताए । ‘हामीले विकास निर्माणको जिम्मा ठेकेदारलाई दिएका छौं,’ गृहमन्त्री थापाले भने,‘त्यसैले योजनामा लापरवाही गरेर जनता र राष्ट्रप्रति घात गर्नेलाई ठेगान लगाउँछौं ।’
थापाले सबै खाले अपराध, बेइमानी, ठगी र भ्रष्टाचारका विरुद्धमा सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताए । ‘यो देशलाई हामीले विकासको शिखरमा त्यसबेलासम्म पु¥याउन सक्दैनौं,’उनले भने,‘जबसम्म सबैखाले भ्रष्टाचार र गुण्डागर्दीलाई ठिक गर्दैनौं ।’
भवनको उद्घाटन गर्दै थापाले समयमै निर्माण सकेका ठेकेदार जसबहादुर लिम्बुसहित जग्गादाता कृष्णप्रसाद, योगेश्वर र टिकाराम निरौलालाई धन्यवाद दिएका थिए । फरक प्रसङ्गमा गृहमन्त्री थापाले नेपाल समृद्ध भएपनि नेपालीहरु भने दरिद्र भएको बताए ।
‘असिमित प्राकृतिक सम्पदाले भरिपूर्ण यो देश त्यसै समृद्ध छ,’ ‘तर नेपालका जनता संसारका सबैभन्दा दरीद्रभित्र पर्छन्, र त्यही दरिद्रताका कारण विदेसिन बाध्य छन् । उनले विदेसिएका ६० लाख युवालाई स्वदेश फर्काएर विकासमा लगाउने दिशामा सरकार लागेको थापाले बताए ।