गुलरियामा वृक्षारोपण गरी मनाइयो वातावरण दिवस
गुलरिया : 'प्लाष्टिक प्रदुषण निर्मुल पारौं, सके पुन: प्रयोग गरौं, नसके बहिष्कार गरौं' भन्ने नारा सहित विश्व वातावरण दिवस मनाइएको छ। वातावरण दिवसका अवसरमा बर्दियाको सदरमुकाम गुलरियामा प्रभातफेरीसहित बजार परिक्रमा गरी जिल्ला समन्वय समिति बर्दियाको प्रांगणमा वृक्षारोपण समेत गरिएको छ।
वन विनास, भूपयोग परिवर्तन, बढ्दो औद्योगिकरणसँगै कार्वनलगायतका हरितगृह ग्यासको उत्सर्जन नरोकिएपछि पृथ्वीको तापक्रम दिनानुदिन बढ्दै गइरहेको छ।अनियन्त्रित हरितगृह ग्यासको उत्पादनले वायुमण्डलीय क्षेत्रमा ओजोनतहको विनाससँगै निम्तिएको जलवायु परिवर्तनको असर विश्वमा प्रमुख वातावरणीय चुनौतीका रुपमा देखिएको हो।
वातावरणीय विनास यतिखेर चुनौतीको रुपमा देखा परेको जिल्ला बन कार्यालय बर्दियाका निमित्त बन अधिकृत श्यामबावु लोप्चनले बताए। उनले भने,' विश्व आधुनिकिकरणको दौरानमा निम्ताइएको मानव सिर्जित आवस्यकताले वातावरणीय चुनौती खडा गरेको हो।
दैनिक प्रयोगमा आउने प्लाष्टिकजन्य वस्तुको बढ्दो प्रयोगले पृथ्वीलाई तहस नहस पार्दै गएको छ। उनले थपे,' प्लाष्टिकजन्य वस्तुहरु हजारौं वर्षसम्म पनि नगल्ने भएकाले माटोलाई मात्र होइन समुन्द्रमा समेत यसले असर पुर्याएको छ।'
प्लाष्टिकजन्य वस्तु प्रयोगमा गलत आदत बसेकाले पनि वातावरणीय प्रभावमा नकारात्मक असर पुगेको छ।मानिसले बानी व्यहोरा परिवर्तन गर्दै बन विनास रोकेर खाली नीजि तथा प्रतिजग्गामा वृक्षारोपण गर्नुपर्ने आवश्यकता यतिखेर खड्किएको लोप्चनले बताए।