ओखलढुंगामा काम नगर्ने ठेकेदार पक्राउ
ओखलढुंगाः ठेक्का लिएको पाँच वर्षसम्म पनि काम नगर्ने ठेकेदारलाई प्रहरीले पक्रन थालेको छ। काम अलपत्र छोडेर सम्पर्कविहीन भएका मोलुङ गाउँपालिका-१ र सुनकोशी गाउँपालिका-१० जोड्ने मोलुङ खोलाको पक्की पुल निर्माणको ठेक्का पाएको राजेन्द्र लोकप्रिय जेभीका सब-कन्ट्रयाक्टर रविन्द्र लामालाई प्रहरीले पक्राउ गरेको हो।
लामालाई प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको निर्देशनमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक अनन्त शर्माले जानकारी दिए। पक्राउ परेका ठेकेदारलाई जिल्ला प्रशासन कार्यालयमा पेश गरी कारबाही प्रकृया थालिने छ।
जिल्ला प्रशासनले ठेक्का लगाउने कार्यालयलाई समेत बोलाएर विद्यमान कानुनी व्यवस्था अनुसार कारवाही अघि बढाइने जनाएको छ।८० मिटर लम्बाई, ५ मीटर चौडाईको उक्त पुल ३ करोड ३२ लाख ५५ हजार १ सय ६९ रुपैयाँको लागतमा पाँच वर्ष पहिले सम्झौता भएको थियो। तर, ठेकेदारले पुल निर्माणको काम अलपत्र छाडेको थियो।
प्रमुख जिल्ला अधिकारी पन्तले सरकारको निर्देशन अनुसार ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई अब धमाधम पक्राउ गर्ने बताए। पक्राउ परेका ठेकेदारमाथि कानुनी कारवाही गर्ने विषयमा छलफल भइरहेको प्रजिअ पन्तले बताए।
ओखलढुंगामा पाँच वर्षदेखि ठेक्का लिएका पुल, विद्यालय भवन, स्वास्थ्य चौकी, सडक लगायतका दर्जन हाराहारीका पूर्वाधारका काम ठेकेदारले अलपत्र छोडेका छन्। धमाधम प्रशासनमा झिकाई स्पस्टीकरण सोध्ने तथा कारवाही गर्न थालेपछि ठेकेदारहरुको भागाभाग सुरु भएको छ।
जिल्लाभरको विवरण अध्ययन गर्दा पाँचजना बढी ठेकेदार कारवाहीको दायरामा ल्याउनुपर्ने देखिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए।'यति जना नै हो भनेर अहिले नै हामी भन्दैनौ तर, पक्राउ पछि धमाधम सार्वजनिक गर्नेछौं,' पन्तले भने।