पानीका लागि २२ घण्टा लाइन
बागलुङ : भिरलाकुरी गाउँ, बागलुङ नगरपालिका बनेको करिब २ दशक भयो। यस अवधिमा नगर र मुलुकमा परिवर्तनका धेरै बदलाव आए। तर, साविकको अञ्चल र जिल्ला सदरमुकामनजिकै भएर पनि भिरलाकुरीका बासिन्दाको कुवाको पानी पिउनुपर्ने बाध्यता अझै हटेको छैन।
गाउँ नजिकै रहेको गहिरा कुवामा पानी भर्नेको दिनरात लाइन हुन्छ। बागलुङ नगरपालिका–६ भिरलाकुरीका ९०, खादा सल्लेपुरका ५४, सानो लङ्गाउँका २४ घरधुरी गरी १ सय ६८ घरधुरीका बासिन्दाले पिउने पानी अभाव हँुदा सास्ती खेपेका छन्।
‘नगरका बासिन्दा भएर अहिलेको जमानामा पनि कुवाको पानी पिउनुपर्ने अवस्था छ’, स्थानीय रुद्र केसीले भने, ‘त्यही पानी भर्न पनि दिनरात गरेर २२ घण्टा निरन्तर लाइन बस्नुपर्ने कहालीलाग्दो अवस्था छ।’ कुवा र मूलको पानी १ घण्टामा २० लिटर मात्र भर्न सकिने उनले बताए। बिहान सबेरै २ बजेदेखि उठेर राति १२ बजेसम्म पनि लाइन बसेर पानी भर्ने गरेको स्थानी कमला सापकोटाले बताइन्। गाउँ टोलको खानेपानी समस्याबारे गाउँमा आउने सबैजसो दलका नेता र कर्मचारीलाई गुनासो सुनाए पनि कसैले केही नगरेको सापकोटाले बताइन्। ‘पिउने पानीको समस्याले निकै सकस भइरहेको छ’, उनले भनिन्, ‘हामी गाउँका सोझासिधा जनतालाई चुनावका बेला मात्र अनेक आश्वासन बोकेर आउँछन्, अरू बेला कसैले वास्ता गर्दैनन्।’ बिहानै उठेर कुवामा जानु र घण्टौंसम्म लाइनमा बसेर पानी ल्याउनु यस क्षेत्रका नागरिकको दैनिकी बनेको छ। यसरी पानीको जोहो गर्नुपर्दा पानीमै घण्टौं समय बिताउनुपरेको स्थानीय रितु केसीले गुनासो गरिन्।
बानपा–६ का वडाध्यक्ष खेमराज सापकोटाले गाउँका जनतालाई पानीको निकै समस्या भएकाले समाधानको प्रयास भइरहेको बताए। ‘पानीको समस्याबारे हामी गम्भीर छांै, जनप्रतिनिधिका रूपमा हामी आइसकेपछि एक घर एक धारा अभियान सञ्चालन गरेर काम गरिरहेका छौं’, उनले भने, ‘यो समस्या तत्कालै नहटे पनि समस्या घटाउने गरी काम जारी छ।’ अहिले स्थानीय जनसहभागितामा धारा जडान गरेर पाइप बिच्छ्याउने काम भइरहेको उनले बताए। कुवाको पानीले समस्या भएपछि गाउँ नजिकैको मौरीभीरको पानीसमेत ल्याइएको छ। जनसंख्याको चाप बढेकाले यसले पनि समस्या समाधान नभएको अध्यक्ष सापकोटाले बताए।
ढोरपाटन नगरपालिका–१ घम्सिन टोल तथा त्यस आसपासका स्थानमा खानेपानीको चरम अभाव छ।
वर्षाैंदेखि खानेपानी अभावमा झेलेका घम्सीनवासीलाई अझै खानेपानीको समस्याले सताइरहेको छ। बर्खामा प्रशस्त मात्रामा धारामा पानी झरे पनि हिउँदमा सुरु भएदेखि धारामा पानी आउन बन्द हुन्छ। कहीँकतै धारामा पानी झरेको ठाउँमा पनि घण्टौं लाइनमा बसेर पानी थाप्ने गृिहणी तथा बालबालिकाको घुइँचो लाग्ने गर्छ।
धारामा वर्षमा करिब ८ महिना मात्रै पानी आउने र बाँकी महिनामा पानी आउने धारामा घण्टांै लाइनमा बसेर पानी थाप्नुपर्ने बाध्यता रहेको ढोरपानट नगरपालिका–१ की प्रीतिमा विकले बताइन्।