भीरपाखालाई प्लटिङ भन्दै बैंकमा ठगी : ६ अभियुक्त पक्राउ
फुङलिङ : ताप्लेजुङमा भीरपाखालाई प्लटिङ जग्गा भन्दै बैंक ठगीमा संलग्न ६ जना अभियुक्त पक्राउ परेका छन् । कागजात किर्ते गरी ऋण लिने गिरोहमा सक्रिय २० मध्ये बाँकी फरार रहेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । पक्राउ परेकाहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
कृषि विकास बैंक ताप्लेजुङ शाखाबाट ऋण लिनेले किस्ता नतिरी जग्गा लिलाम गर्नुपर्ने अवस्था भएपछि यस्तो तथ्य बाहिर आएको हो । अभियुक्तहरूले डेढ करोड ऋण लगेकामा १ करोड ४२ लाख असुल हुन बाँकी रहेको बैंकका शाखा प्रबन्धक यामबहादुर श्रेष्ठले बताए । उनीहरूले फुङलिङ नगरपालिका–७ र ८ नम्बर वडाको जग्गा देखाएर ऋण लिएका थिए ।
भीरपाखालाई प्लटिङ देखाइएकाले यो जग्गाले धितो असुल हुन नसक्ने प्रबन्धक श्रेष्ठको भनाइ छ । ‘उनीहरूले प्रत्येक घडेरीबाट ३ देखि १० लाखसम्म ऋण लिएका छन्’, उनले भने, ‘पहिरोसहितको पाखो जमिनले असुल गर्न सक्दैन ।’
मालपोत कार्यालयबाट रजिस्टे«सन पासपछि जग्गा किर्ते गरेको खुलेको छ । मालपोतमा २५ हजार रुपैयाँमा रजिस्टे«सन गरेको जग्गा बैंकमा बुझाएको लिखत धनीपुर्जामा भने ५ लाख २५ हजारका छन् । बैंकमा बुझाइएको लिखतमा अगाडि र बीचमा अंक थपेर किर्ते गरेको पाइएको डीएसपी बस्नेतले बताए । ‘मालपोतमा २५ हजारमा रजिस्ट्रेसन गरेको ६ वटा जग्गामा अगाडि अंक थपेर बैंकमा बुझाइएको रहेछ’, उनले भने, ‘२५ हजारको जग्गालाई ५ लाख २५ हजार बनाइएको छ ।’
२० हजारमा लिखत पास गरेको जग्गामा अगाडि अंक थपेर १० लाख २० हजार बनाइएको छ । मालपोतमा रहेको लिखतमा भने किर्ते नगरिएको जनाइएको छ । यस्तो किर्ते र बैंकिङ कसुर गर्नेमा १७ महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार मुख्य अभियुक्त महिला पनि पक्राउ परेकी छन् । तर, उनले बैंकबाट आफ्नो नाममा ऋण लिएकी छैनन्, पतिका नाममा लिएको जनाइएको छ ।
यी सबै कारोबार तत्कालीन शाखा प्रबन्धक गणेशप्रसाद खतिवडाले गरेको बैंकले जनाएको छ । शाखा प्रबन्धकलाई १० लाखसम्मको ऋण स्वीकृत गर्ने अधिकार हुन्छ । खतिवडालाई गत माघदेखि नै निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाइएको केन्द्रीय कार्यालयका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए । पौडेलका अनुसार २०७२ असार २७ देखि २०७३ साल कात्तिक ३० गतेसम्म यसरी कारोबार भएको हो । खतिवडा त्यही समय ताप्लेजुङ शाखाका प्रबन्धक थिए । उनले लगानीका लागि स्वीकार गर्न नसकिने अवस्थाको धितो लिएर ऋण लगानी गरेको पाइएको पौडेलको भनाइ छ । उनका अनुसार अन्य केही कर्मचारी पनि अनुसन्धानको दायरामा छन् । यो मुद्दा केन्द्रले नै हेरिरहेको बैंक शाखाले जनाएको छ । बैंकका कर्मचारी र कसुरको आरोप लागेकाहरूको मिलेमतोमा किर्ते भएको हुन सक्ने प्रहरी अनुमान छ ।
अभियुक्तमध्ये केहीले बैंकको ऋण खाने प्रयोजनका लागि वन र भीरपाखा भएको जग्गा खरिद गरेर प्लटिङ गरी अरूलाई बिक्री गरेको र प्लटिङको जग्गा खरिद गर्नेलाई जग्गा बिक्रेताकै सहयोगमा बैंकबाट ऋण दिलाएर बैंकिङ कसुर गरेको दाबी प्रवक्ता पौडेलले गरे । ऋण खाएर नतिर्ने समूहमा २९ जना रहेको जनाइएको छ । नौ जनाले किर्ते नगरेकाले ऋण तिरे उन्मुक्ति पाउनेछन् । तर, केही तिरिसकेका पनि किर्ते मुद्दामा तानिएका छन् । बैंकिङ कसुर सजाय ऐन २०६४ अनुसार बैंकलाई झुक्याएर कुनै कारोबार गर्नु हु“दैन, गरेका खण्डमा कैद र बिगो भराई असुल गरिन्छ । १० लाख सम्मलाई एक वर्षसम्म कैद र बिगो भराउने व्यवस्था छ ।