मूल्य वृद्धिको विरोधमा चक्काजाम
वीरेन्द्रनगर : नेपाल विद्यार्थी संघले वीरेन्द्रनगरमा चक्काजाम गरेको छ। सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेविसंघ सुर्खेतले बुधबार एक घण्टा वीरेन्द्रनगरमा चक्काजाम गरेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालयमा धर्नासमेत गरेको छ।
सरकारले पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै देशलाई कालोबजारी र माफियाको नेतृत्वमा फसाएर दैनिक उपभोग्य वस्तुमासमेत मूल्य वृद्धि गराउने योजनामा लागेको नेविसंघको आरोप छ। त्यसको विरोधमा नेपाल विद्यार्थी संघ आन्दोलित भएको नेविसंघ मध्यपश्चिम विश्वविद्यालय समितिका अध्यक्ष यज्ञ रामजाली मगरले बताए। मुलुक समृद्धिको नारा लिएको ओली सरकारले एकसय दिनमा पाँच पटकसम्म पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर सर्वसाधारणमाथि अन्याय गरेको उनको भनाइ छ।
यस्तै नेविसंघका केन्द्रीय सदस्य हरि शर्माले सरकारले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नलिए आन्दोलनका कार्यक्रम सशक्त बनाउँदै जाने चेतावनी दिए। ‘जनताको ढाड नै सेक्नेगरी मूल्यवृद्धि गरेको छ’, उनले भने, ‘यसले समान्य गरिबको दैनिकीमा निकै असर पारेको छ, त्यसैले बढाइएको मूल्य फिर्ता लिँदै पुरानै कायम गर्नुपर्छ।’