जुम्लामा रेडपाण्डा अनुगमन ब्लक
जुम्ला : पश्चिम नेपालको एकमात्रै रेडपाण्डा अनुगमन ब्लक जुम्लामा वनाइएको छ । पातारासी गाउँपालिका ७ पट्मारास्थित महारुद्र सामुदायिक वनमा पश्चिम नेपालकै पहिलो रेडपाण्डा अनुगमन ब्लक निर्धारण गरिएको हो । सामुदायिक वनको करिब ६ किलोमिटर वन क्षेत्रलाई ब्लकका रूपमा निर्धारण गरिएको छ । ६ किमि वन क्षेत्रलाई आधारमानी चार वटा ब्लकसहित २१ वटा रेडपाण्डा ट्रान्जेक्ट प्वाइन्ट निर्धारण गरिएको छ ।
विश्वमै दुर्लभ बन्दै गएको रेडपाण्डाको अवस्थाबारे उक्त सामुदायिक वनमा अध्ययन, अनुसन्धानपछि त्यहाँ रेडपाण्डा रहेको स्पष्ट पार्दै वन क्षेत्रलाई रेडपाण्डा अनुगमन ब्लक तोकिएको हो । रेडपाण्डाको पुरानो दिसा र गुणका आधारमा त्यहाँ पहिले धेरै संख्यामा रेडपाण्डा रहेको अनुमान गरिए पनि अहिले भने लोपोन्मुख अवस्थामा छ ।
ब्लक निर्धाणपछि उक्त सामुदायिक वनमा रहेका रेडपाण्डाको संरक्षण अभियानमा स्थानीय तथा सरोकारवालाको ध्यानाकर्षण भएको छ । हरेक तीन÷तिन महिनामा रेडपाण्डाको अवस्था र संख्याको विषयमा अध्ययन अनुसन्धान गरिने रेडपाण्डा संरक्षण जिल्ला परियोजना प्रमुख पुरुषोत्तम जैसीले बताए । उनका अनुसार रेडपाण्डा नेटवर्कको सहयोग तथा कर्णाली विकास हातेमालो सेवा समाज जुम्ला र जिल्ला वन कार्यालयको समन्वयमा उक्त वनमा करिब एक साता लगाएर ब्लक निर्धारण गरिएको छ ।
पश्चिम नेपाल रेडपाण्डा संरक्षण संयोजक सरोज श्रेष्ठको नेतृत्वमा सात जनाको टोली एक सातादेखि ब्लक निर्धारणमा खटिएको थियो ।
वनमा अति चरिचरण क्षेत्र विस्तार, जंगलमा भेडा गोठालाहरूले जथाभावी कुकुर छाडा छोड्नु, आहाराको विनास हुँदै जानु, वनमा आगलागी हुनु, पानीको स्रोत घट्नुलगायत कारण रेडपाण्डाको बासस्थान र आहारा सकिँदै जाँदा लोप हुँदै गएको अनुसन्धानले बताएको छ । वनजंगल संरक्षण गर्नुका साथै गैरकाष्ठ वन पैदावर जथाभावी चोरी सिकारी न्यूनीकरण गर्न सके रेडपाण्डाको संरक्षण तथा संख्या वृद्धिमा जोड पुग्ने संयोजक सरोज श्रेष्ठले बताए ।
सामुदायिक वनको संरक्षण गरी रेडपाण्डाको संख्या बढाउन सके पर्यापर्यटनको बढ्ने छ । रेडपाण्डा र सामुदायिक वन संरक्षण कार्यले वातावरण सन्तुलन कायम गरी मानव स्वास्थ्यमा पर्ने प्रतिकूल असरबाट बच्न सकिने यस क्षेत्रका विज्ञहरू बताउँछन् ।