'निगमको प्रमुख खुला प्रतिस्पर्धाबाट'
काठमाडौं : सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भएको छ। गोपाल खड्काले राजीनामा दिएलगत्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि तत्काल प्रक्रिया अगाडि बढाउने बताए।
'उहाँ (खड्का) आफैले राजीनामा दिएर सहज बनाउनु भएको छ', खड्काले राजीनामा दिएलगत्तै मन्त्रालयमा आपूर्तिमन्त्री यादवले पत्रकारसँग भने, 'खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न आजैदेखि प्रक्रिया अघि बढाउँछौँ।'
आफूले निगमबाटै राजीनामा दिने वातावरण मिलाउन लागेकोमा खड्काले मन्त्रालयबाटै राजीनामा दिएको मन्त्री यादवले बताए। मन्त्री यादवले खड्काको नियुक्ति र त्यसपछिका विवादको दोष 'राजनीतिक नेतृत्वको पनि भएको' बताए।
आयल निगमको जग्गा खरिद विवादमा परेका खड्काले मन्त्रालय तानिएको ९ महिनापछि राजीनामा दिएका हुन्। राजीनामा गरेपछि उनले आफूलाई 'विभिन्न तत्वले असफल बनाएको' दावी गरे। पढ्नुस्ः गोपाल खड्काले दिए राजीनामा
विवादित बनेको जग्गा खरिद प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेरिरहेकाले सरकारले हस्तक्षेप नगर्ने मन्त्री यादवको भनाई छ।
आयल निगमका कार्यकारी निर्देशक खड्काले खड्काले कार्यकाल ६ महिना बाँकी रहँदै राजीनामा दिएका हुन्। मन्त्रालय तानेर आफूलाई जिम्मेवारीविहीन बनाइएको उनको गुनासो छ।