अझै सामाजिक बहिष्कार ?

अझै सामाजिक बहिष्कार ?

यही असार २ गते शनिबार अन्नपूर्ण पोस्ट्को प्रथम पृष्ठमा राजेन्द्र कार्कीले खिचेको एउटा फोटो छापिएको छ। ‘१३ मा बिहे, २६ मा बुढ्यौली’ शीर्षक दिइएको फोटोमा एउटी महिला आफ्ना चार सन्तानका साथ टुक्रुक्क बसेकी छन्। क्याप्सनमा भनिएको छ, ‘१३ वर्षको उमेरमै विवाह गरेकी जाजरकोट भेरी-५ की महिला आफ्ना चार सन्तानका साथमा। अहिले उनको उमेर २६ वर्ष मात्रै पुगेको छ। जाजरकोटमा ७४ प्रतिशत बालविवाह हुने गरेको छ। जाजरकोटले यो वर्षलाई बालविवाह न्यूनीकरण वर्षका रूपमा मनाइरहेको छ भने बालविवाह गर्ने-गराउनेलाई सामाजिक बहिष्कार गरिने भएको छ।’

२६ वर्षमै अधवैंशे बनेकी युवतीको अनुहार उत्साहरहित छ। उनमा यौवनको कुनै संकेत देखिँदैन। संसार आधुनिकताको चरमचुलीमा पुगिरहँदा ती युवतीले बेहोरेको असामयिक बुढ्यौलीले नेपालका ग्रामीण भेगको सामाजिक अवस्था कतिबिघ्न पछौटे रहेछ भन्ने देखाएको छ। अहिलेको युगमा बालविवाहजस्तो पुरातन अभ्यास स्वीकार्य हुन सक्दैन। तसर्थ यसविरुद्ध जाजरकोटमा आरम्भ भएको ‘बालविवाह न्यूनीकरण वर्ष’ स्वागतयोग्य छ। तर यसअन्तर्गत बालविवाह गर्ने-गराउनेलाई सामाजिक बहिष्कार गरिने कार्यक्रमसमेत तय भएको खबरले बालविवाह निरुत्साहित गर्ने जाजरकोटको सम्पूर्ण प्रयासलाई अरुचिकर बनाएको छ।

अप्रिय विगत

विगतमा गरिएका सामाजिक बहिष्कारको दुष्प्रभावबाट मुक्त हुन नेपाली समाजले ठूलो संघर्ष गर्नु परिरहेको छ। आज मधेस र पहाडका दलितहरूले भोगिरहेको दिनहीन अवस्था उनीहरूलाई हजारौं वर्षसम्म गरिएको सामाजिक बहिष्कारको दुस्परिणाम हो। जाजरकोटमा बालविवाह गर्ने-गराउनेलाई सामाजिक बहिष्कार गर्न खोज्नेले यतापट्टि ध्यान दिन आवश्यक छ।

कुनै समय अहिले दलित भनिएको समुदायको सामाजिक हैसियत माथिल्लो भनिएका जातसरहको थियो। वैदिककालमा उचोनिचोको भावसँग गाँसिएर आउने छोइछिटोले समाजलाई कलुषित गरिसकेको थिएन। ऋगवेद (१०।९०।१२) र यजुर्वेद (३१।११) मा ब्राह्मण ईश्वरको मुख, राजन्य (क्षेत्री) बाहु (पाखुरा), वैश्य ऊरू (जाँघ) र शूद्र पद (पाउ) बाट उत्पन्न भए अवश्य भनिएको छ। वर्णव्यवस्था र छुवाछूतयुक्त जातिव्यवस्थाको उद्भवबारे अध्ययन गर्दा यी दुई वेदका ऋचामा गएर अध्येताहरू टुंगिने गर्छन्। यद्यपि त्यतिबेला वर्णव्यवस्थामा छोइछिटो र सामाजिक बहिष्कार मिश्रित भइसकेका थिएनन्। वेदमा ईश्वरलाई निराकार परम अस्तित्व मानिएको छ। त्यसैले त्यसमा गरिएको चतुवर्णसम्बन्धी व्यवस्थाको अर्थ लाक्षणिक छ। अहिले हामीले भोगेको जातिव्यवस्थासँग वेदमा उल्लिखित चतुवर्णको सरोकार छैन।

वर्णव्यवस्थामा छोइछिटोजस्तो अमानवीय चलन मिश्रित गराइनु दलितहरूमाथि गरिएको आजका मितिसम्मकै सबैभन्दा ठूलो अपराध थियो। इतिहासले सिकाएको त्यत्रो भयावह पाठ बिर्सिएर आफूले गलत ठहर्‍याएको प्रवृत्तिलाई निरुत्साहित गर्न सामाजिक बहिष्कार गर्ने आह्वान दुर्भाग्यवश नेपालमा अझै हुने गरेको छ।

हिन्दु संस्कृतिको अध्ययन र व्याख्यामा कहलिएका भारतीय विद्वान डा. पाण्डुरंग वामन काँणेका अनुसार वैदिक समाजमा सिर्फ दुईवटा समुदाय थिए-आर्य र ‘दस्य’ (दास)। दस्यअन्तर्गत अव्रत (देउताप्रदत्त नियम-व्यवहार नमान्ने), अक्रतु (यज्ञ नगर्ने), मृध्रावचः (स्पष्ट र मधुर बोली नभएका) र अपनासः (लाटो वा थेप्चो नाक भएका) पर्थे। आर्य र दस्यबीच त्यतिबेला द्वन्द्व थियो। द्वन्द्वमा दस्यहरू पराजित भए। विजेता आर्यले पराजित दस्यहरूको सामाजिक हैसियत गिराएर उनीहरूलाई निम्न श्रेणीको बनाए। समयक्रममा उचनिचको भावले आर्यहरूमाझ नै विभाजन रेखा कोर्‍यो। परिणामतः केही आर्यहरूलाई पनि शुद्रको श्रेणीमा झारियो (डा. पाण्डुरंग वामन काँणे, धर्मशास्त्रका इतिहास, सन् १९९२, पृ. ११०, ११६)।

शुद्र बनाइएकाहरूलाई सामाजिक जीवनमा बहिष्कार गर्न थालियो। उनीहरूलाई लेखपढ गर्नबाट वञ्चित राखियो। राजकाज तथा व्यापारमा संलग्न हुन अयोग्य ठहर्‍याइयो। समाजले तल्लो श्रेणीको भनी ठहर्‍याएका काम मात्रै गर्ने जिम्मेवारी उनीहरूको थाप्लोमा थोपरियो। छोइछिटोको व्यवस्था गरेर उनीहरूलाई अपवित्र ठहर्‍याइयो।

अछूत र माथिल्लो जातका सदस्यबीचको बिहेबारीमा पनि तगारा सिर्जना गरियो। माथिल्लो जातका पुरुषले अछूत स्त्रीको भोग निर्बिघ्न गर्न पाउने व्यवस्था गरियो। माथिल्लो जातका पुरुषले अछूत महिलासँग बिहे गर्न पाउने तर अछूत पुरुषले माथिल्लो जातकी स्त्रीसँग बिहे अथवा सम्भोग गरेमा दण्ड दिने व्यवस्था गरियो। प्रकारान्तरमा यसमा पनि कडाई गर्दै लगियो र एउटै जातिभित्र बिहेबारी हुने चलन (इन्डोगमी) लाई प्रोत्साहन गरी सामाजिक जीवनबाट दलितहरूलाई थप बहिस्कार गरियो। माथिल्लो जात र छोइछिटो हाल्नुपर्ने जातका स्त्रीपुरुषबीचको समागमबाट जन्मिएका सन्तानलाई पनि छोइछिटो हाल्नुपर्ने जातिको सदस्य मान्न थालियो। समाजबाट निरन्तर बहिष्कृत हुँदै जाँदा दलित समुदाय विद्या, धन र राजनीतिक प्रभावबाट मात्रै वञ्चित भएन, उसको आत्मविश्वास पनि पुनजागृत हुन निक्कै कठिन पर्नेगरी शिथिल भयो।

 नेपाली अनुभव

नेपालमा सामाजिक बहिष्कारको दुश्परिणाम नियाल्न हामीले छुवाछूत प्रथा अभ्यास हुने नेपालका तीन समुदाय (पर्वते, मधेसी र नेवार) लाई हेरे पुग्छ। यी तीनवटै समुदायमा दलितहरूको अवस्था ज्यादै कमजोर छ। यसमध्ये पनि मधेसी समुदायमा दलितहरू बढी निरिह छन्। ‘नेपाल ह्युमन डिभलोपमेन्ट रिपोर्ट २०१४’ का अनुसार मानव विकास सूचकांक सबैभन्दा कम हुने नेपाली समुदायमा मधेसी दलित पर्छ (पृ. १७)। मधेस तथा उत्तर भारतको जातिव्यवस्थाबाट बढी प्रभावित नेवार समुदायको जातिव्यवस्था पनि पर्वते समुदायको भन्दा कट्टर र सघन छ। नेवार समुदाय र पर्वते समुदायमा क्रमशः ५३ र १८ वटा जाति पाइनु यसको प्रमाण हो (प्रयागराज शर्मा, द स्टेट एन्ड सोसाइटी इन नेपाल, सन् २०१२, पृ. ६८)।

दलित नेपालको दोस्रो ठूलो समुदाय हो। उनीहरू नेपालको कुल जनसंख्याको १३.३ प्रतिशत छन्। दलितहरूको संख्या यतिबिघ्न हुनुमा र उनीहरूको अवस्था सबैभन्दा कमजोर हुनुमा नेपाली समाजले हिजो अभ्यास गरेको सामाजिक बहिष्कारको परम्परा मुख्य रूपमा जिम्मेवार छ।

नेपाली समाज भारतीय जातिव्यवस्थाको प्रभावमा आएपछि राज्यसत्तमा पकड जमाएका मानिसहरूले आ-आफ्नो समुदायलाई बाहुन अथवा क्षेत्री पहिचानमा आवद्ध गराए। उनीहरूमाथि आश्रित शिल्पी समुदायलाई चाहिँ अछुत बनाए। भारतीय समाजको सिको गर्दै संहिताकालपछिका हिन्दु धर्मशास्त्रमा गरिएका व्यवस्थाअनुरूप अछूतहरूलाई सामाजिक जीवनमा बहिष्कृत गरियो। सामाजिक अनुशासन कायम गर्न पनि छुवाछूत प्रथालाई उपयोग गरियो। हाडनाता करणी, अन्तरजातीय विवाह, राज्यद्रोहलगायत प्रवृत्ति निरुत्साहित गर्न त्यस्तो काममा संलग्नहरूलाई जातिच्युत गरी सामाजिक बहिष्कार गर्ने चलन चल्यो। यसले अछूत समुदायको संख्या निरन्तर वृद्धि हुँदै गयो र प्रकारान्तरमा यो नेपालको दोस्रो ठूलो समुदाय बन्न पुग्यो।

२००७ सालसम्म पनि राज्यले एउटा आदेशका भरमा माथिल्लो भनिएको जातका मानिसलाई अछूत बनाउने अधिकार राख्थ्यो। १९९७ साल काण्डमा दोषी करार गरिएका टंकप्रसाद आचार्य र रामहरि शर्मा ब्राह्मण भएकाले मृत्युदण्ड पाउनबाट जोगिए। चारपाटा मुडी दामल गरेर जातपतित गरिकन उनीहरूलाई कारागारमा राखियो। राज्यले जातच्यूत गरिदिएपछि त्यसले सामाजिक हैसियत हासिल गथ्र्यो। जेलमा टंकप्रसादहरूलाई सामाजिक बहिष्कार गरियो। कारागारमा रहेकाहरूले उनीहरूलाई अछूत मान्न थाले। कारागारको भान्छा छुनबाट प्रतिबन्ध लगाइयो। टंकप्रसाद तमाखु भरेर चिलिममा आगो थाप्न अँगेनाछेउ जाँदा ‘ए छोइएला, परैबाट थाप्नुस्’ भनेर भान्छेहरू तर्किएको प्रत्यक्षदर्शी गणेशमान सिंहले उल्लेख गरेका छन् (गणेशमान सिंह, मेरो कथाका पानाहरू- खण्ड १, २०७२, पृ. ९५)। अछूत जीवन बिताउन कष्टकर भएपछि टंकप्रसाद र रामहरीले श्री ३ महाराज जुद्ध शमशेरसमक्ष पतियाको निम्ति बिन्ती पठाए। जवाफ नआउञ्जेल छोइछिटो बारेर बसे। केही दिनपछि श्री ३ महाराजको हुकुम आयो, ‘तिनीहरूलाई छोइछिटो हाल्नुपर्ने मतवाली जातमा मिलाइदिनु।’ त्यसै भयो (उही, पृ ९७)। २००७ सालमा प्रजातन्त्र स्थापना नहुँदो हो त टंकप्रसाद र रामहरिका सन्तती आज अछूत ठहरिने थिए।

 दुःखद् पुनरावृत्ति

वर्णव्यवस्थामा छोइछिटोजस्तो अमानवीय चलन मिश्रित गराइनु दलितहरूमाथि गरिएको आजका मितिसम्ममकै सबैभन्दा ठूलो अपराध थियो। इतिहासले सिकाएको त्यत्रो भयावह पाठ बिर्सिएर आफूले गलत ठहर्‍याएको प्रवृत्तिलाई निरुत्साहित गर्न सामाजिक बहिष्कार गर्ने आह्वान दुर्भाग्यवश नेपालमा अझै हुने गरेको छ।

दोस्रो संविधानसभाबाट नेपालको संविधान, २०७२ जारी भएपछि यसविरुद्ध आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानको पक्षमा सबैभन्दा दह्रोसँग उभिएको सत्तारुढ दल नेकपा-एमालेलाई तारो बनाएको थियो। नेकपा (एमाले) मधेसविरोधी पार्टी भएकाले यसमा आबद्ध मधेसीहरूलाई सामाजिक बष्हिकार गर्न मोर्चाको सप्तरी एकाइले २०७३ फागुन २४ गते प्रेस विज्ञप्ति जारी गरेर आह्वान गरेको थियो (हेर्नुस् आह्वानको तेस्रो बुँदा)। विगतमा लादिएको सामाजिक बहिष्कारका कारण मधेसी दलितहरूले अझैसम्म दिनहीन जीवन बिताउनुपरेको सन्दर्भमा सोही क्षेत्रबाट पुनः सामाजिक बहिष्कारको आह्वान हुनु अफसोचको विषय थियो।

पर्वते समुदायमाझ छुवाछूत प्रथा पश्चिम पहाडमा बढी कट्टर छ। सोही भेगको जाजरकोट जिल्लामा बालविवाह निरुत्साहित गर्ने नाममा सामाजिक बहिष्कारको अवधारणा औपचारिक रूपमै ब्युँताइएकाले यसप्रति सरोकारवाला सबै पक्षको गम्भीर ध्यानाकर्षण हुन आवश्यक छ।

.समाधान के ?

बालविवाह जाजरकोटको मात्र नभएर सम्पूर्ण नेपालको साझा समस्या हो। नेपालमा १८ वर्ष नपुगी विवाह गर्न कानुनले बन्देज लगाएको छ। तर नेपाली महिलाको विवाह गर्ने औसत उमेर १७.५ वर्ष छ।

बालविवाहले हिन्दु समुदायलाई बढी जकडेको छ। तराईका दलित समुदायमा बालविवाह बढी प्रचलित छ। विवाह गर्ने औसत उमेर सबैभन्दा कम भएका नेपाली समुदायमा तराईका चिडिमार (१३.८ वर्ष), डोम (१३.९ वर्ष), धान्दी (१५.३ वर्ष), हलखोर (१५.३ वर्ष), कोरी (१५.४ वर्ष) आदि पर्छन्। यस सवालमा पहाडी जनजातिको अवस्था सुखद् छ। विवाह गर्ने औसत उमेर बढी भएका समुदायमा ल्होपा (२४.२ वर्ष), डोल्पो (२१.२ वर्ष), थकाली (२०.५ वर्ष), लेप्चा (२०.२ वर्ष), कुलुङ (२० वर्ष), थुलुङ (२० वर्ष), लिम्बू (२० वर्ष) लगायत पहाडी जनजाति समुदाय पर्छन् (पपुलेसन मोनोग्राफ अफ नेपाल- द्वितीय खण्ड, सन् २०१४, केन्द्रीय तथ्यांक विभाग, पृ. १२८)।

यी तथ्यांकले आर्थिकरूपमा विपन्न र शिक्षाको प्रकाश कम परेको हिन्दु र अन्य समुदायमा बालविवाहको अभ्यास बढी हुने गरेको देखाएको छ। जाजरकोटलगायत ठाउँमा बालविवाह निरुत्साहित गर्न चाहनेहरू बालविवाह गर्ने-गराउनेलाई सामाजिक बहिष्कार गर्ने विकल्पमा अघि बढे भने बहिष्कृतहरूको संख्या बढ्न गई प्रकारान्तरमा दलितजस्तै अर्को बहिस्कृत समुदायको जन्म हुन सक्छ। त्यसैले बालविवाहलाई निरुत्साहित गर्न महिलाहरूको हैसियत अभिवृद्धि गराई पितृसत्तात्मक मानसिकतालाई कमजोर बनाउने अभियान तीव्र बनाउनुपर्छ। यस्तो अभियान हिन्दु धर्ममा बढी केन्द्रित गर्नुपर्छ। साथै बालविवाह बढी अभ्यास हुने क्षेत्र र समुदायमा शिक्षा, स्वरोजगारलगायतका अवसर सिर्जना गर्न बढी गर्न स्रोतसाधन परिचालन गर्नुपर्छ। यसो गर्न बढी समय लाग्ने भएकाले तत्काललाई बालविवाहविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने, उमेर पुगेर बिहे गर्नेहरूलाई राज्यबाट प्रोत्साहन रकम उपलब्ध गराउनेलगायत काम गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.