‘हामी पूर्वाधार निर्माणमा जोड दिन्छौं’

‘हामी पूर्वाधार निर्माणमा जोड दिन्छौं’

अन्तर्वार्ता

कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्गबहादुर खत्री झन्डै १४ महिनाअघि कमलामाई नगरलाई उज्यालो र समृद्ध बनाउने घोषण गर्दै जनताको घरदैलोमा मत माग्न पुगेका थिए। मेयरमा चुनिएर आएपछि १४ महिनाको अवधिमा निर्वाचनताका जनतासँग गरेका प्रतिबद्धता के कति पूरा भए र नगरपालिकालाई समृद्ध र उज्यालो बनाउन खत्रीले के कस्ता कदम चालेका छन् यसै सेरोफेरोमा रहेर अन्नपूर्णकर्मी राजन गाउँलेले खत्रीसँग गरेको कुराकानीको अंश।

कमलामाई नगरपालिकाको प्रमुखमा निर्वाचन भएपछि निर्वाचनताका जनतासामु गर्नु भएका प्रतिबद्धता कति पूरा गर्नुभयो ?

लामो समयसम्म स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा विकास सोचेजस्तो हुन सकेको थिएन। संक्रमणकालीन राजनीतिमा दलीय सहमतिमा काम गर्नुपर्दा आवश्यता र औचित्यताका आधारमा योजनाको छनोट र बजेट व्यवस्थापन हुन सक्दैनथ्यो। तर, झन्डै २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा मैले कमलामाई नगरको मुहार परिवर्तनका लागि उज्यालो र समृद्ध नगरपालिकाको नारा लिएर मतदाताको घरदैलोमा पुगेको थिए। मलाई मेरो घोषणा पत्र र मेरो काम गर्न सक्ने क्षमतालाई मूल्यांकन गर्दै नगरवासीले मतदिएर पठाए। पक्कै पनि संघीयतापछिको पहिलो स्थानीय सरकार भएकै कारण स्थानीय सरकार सञ्चालन ऐन, नियम, नीति तथा कार्यविधि बनेर आउन ढिला भयो। म नगरप्रमुखका रूपमा निर्वाचित भएर जिम्मेवारी सम्हालेपछि स्थानीय तहले निर्माण गर्नु पर्ने त्यस्ता ऐन, नियम तथा नियमावली निर्माण गर्नै समय लाग्यो। यस अर्थमा निर्वाचनका बेला गरेका प्रतिबद्धता एक वर्षकै अवधिमा पूरा गर्ने कुरा भएन। मैले उज्यालो र समृद्ध कमलामाई नगर बनाउने पहिलो चरणका काम थालिसकेको छु। बाँकी प्रतिबद्धता मेरो कार्यकालभित्र पूरा हुने विश्वास दिलाउँछु।

एक वर्षको अवधिमा नगरवासीले महसुस गर्ने काम केही भएका छन् ?

एक वर्षको अवधि मेरा लागि निकै महŒवपूर्ण र चुनौतीपूर्ण रह्यो। २०७४ को असोजसम्म स्थानीय सरकार सञ्चालन ऐन नै जारी हुन नसक्दा स्थानीय तहका जनप्रतिनिधिहरू हातखुट्टा बाँधेर नदीमा पौडिन पठाएको जस्तै अनुभव भयो। स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघको निर्वाचन पनि भएका कारण समयमा स्थानीय तह सञ्चालन कार्यविधि बनेर आउन सकेन। यद्यपी हामीले कमलामाई नगरपालिकाको समग्र विकासको मोडालिटी तयार पार्न गुरुयोजना तयार गरेका छौं। यसैका आधारमा अब व्यवस्थित बजारीकरणका लागि बसोवास क्षेत्र, बजार क्षेत्र, औधोगिक क्षेत्रलगायत छुट्याई दीर्घकालीन र दिगो विकासका लक्ष्य समेटेर हामी अघि बढेका छौं। सिन्धुली क्षेत्रकै मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको ऐतिहासिक सिन्धुलीगढीको संरक्षण र पुनर्निर्माण गुरुयोजना अन्तिम चरणमा पुगेको छ। यो गैर आवसीय नेपाली संघको सहकार्यमा भइरहेको छ।

स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेर आवश्यक ऐन, कार्यविधि र नियमावली निर्माण सम्पन्न गरेका छौं। वर्षौंदेखि अव्यवस्थित बसपार्क निर्माण, नगरको फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल साइट निर्माण, सिन्धुलीगढीको ऐतिहासिक क्षेत्रको तारबार गर्ने काम सम्पन्न भएका छन्। बीपी राजमार्गमा पर्ने घरजग्गाको मापदण्ड तोकी घर निर्माणका लागि नक्सा पास र अनुमति दिने काम भएको छ। भूकम्प गएको तिन वर्ष वित्दासमेत नगरको मापदण्डअनुसार बाटो नभएकाका लागि कार्यविधि बनाएर निजी आवास निर्माण गर्न अनुमति दिइएको छ। बीपी राजमार्गको बैकल्पिक सडक, सिन्धुली चकमके सडकको डीपीआर तयार भएको छ। भूकम्पले क्षति पुयाएका सडक, खानेपानी, विद्यालय, सामुदायिक संघसंस्थाका भवनको पुनर्निर्माण, मर्मत गर्ने काम सम्पन्न भएका छन्। नगरका सबै वडामा विद्युत् सेवा विस्तार सुरु भएको छ। दुना टपरी उद्योग, ढाका, खुवा, फाइबर झोला उत्पादनजस्ता घरेलु तथा साना उद्योगहरू नगरकै सहयोगमा सञ्चालनमा ल्याइएको छ। कमलामाई नगरलाई प्लास्टिक झोलामुक्त बनाउन आवश्यक पहल थालिएको छ। यसबाहेक वडास्तरबाट माग भइ आएका विकास निर्माणका काम भइरहेका छन्।

उज्यालो नगरअन्तर्गत नगरभित्रका सम्पूर्ण सार्वजनिक स्थानमा सोलार तथा बिजुली बत्ती जडान गर्ने, व्यवस्थित रंगशाला निर्माण र सिन्धुलीगढीको पुनर्निर्माण थालिनेछ।

२१ वर्ष पहिला स्थापना भएको नगरको विकासका लागि के कस्ता योजना अगाडि सार्नु भएको छ ?

२०५३ सालमै स्थापना भएदेखि पछिल्लो निर्वाचन अघिसम्म कमलामाई नगरपालिकाको अवस्थामा खासै भिन्नता थिएन। नगरको प्रोफाइल समेत थिएन। निर्वाचित भएपछि मैले नगरको समग्र पक्ष समेटिने गरी प्रोफाइल तयार गर्न लगाए। नगरको विकासका लागि कुनै पनि दीर्घकालीन योजना थिएनन्। नगरभित्रको आर्थिक, सामाजिक, शैक्षिक अवस्था कस्तो छ भन्ने कुनै जानकारी थिएन। विकासका योजना छनोट गर्न गाह्रो थियो। नगरको सुरक्षा, व्यवस्थित बजारीकरणका लागि नगर प्रहरी भर्ना हुन सकेका थिएनन्। मैले नगरप्रहरीको भर्ना गरी नगर क्षेत्रको सुरक्षालाई व्यवस्थित बनाइएको छ। भूकम्पप्रतिरोधी घर निर्माणका लागि प्राधिकरणले तोकेका १७ प्रकारका नक्साहरु कार्यान्वयनमा ल्याइएको छ। गुणस्तरीय कामका लागि नगरमा पर्याप्त प्राविधिकको व्यवस्थापन गरेका छौं। नगरका सबै वडा कार्यालय स्थापना, कर्मचारी व्यवस्थापनलगायत कामलाई गति दिइएको छ।

नगरवासीको अपेच्छा र तपाईको काम गराइमा तालमेल मिलेको छ त ?

जनताको अपेक्षा भौतिक पूर्वाधार निर्माणमा छ। भौतिक पूर्वाधारका काम गर्न सबैभन्दा पहिला नगरको समग्र विकासको अवधारणासहित योजना आवश्यक हुन्छ। भौतिक पूर्वाधारका काम अगाडि बढाउन आर्थिक अभाव सदा झै यस वर्ष पनि देखिएको छ। आर्थिक वर्ष २०७४-०७५ मा विनियोजित बजेटलाई नै हेर्ने हो भने पनि थोरै मात्र बजेट पूर्वाधारमा खर्च गर्न पाउने सिलिङ छ। ७५ प्रतिशत तलवभत्तामा मात्र खर्च हुन्छ। समग्रमा विकास बजेट कम हुन्छ। यस्ता विभिन्न परिस्थितिका कारण जनताको अपेक्षा अनुसार काम गर्न निकै कठिन छ। यसमा केही हाम्रै कमजोरी भए पनि समग्रमा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन हिच्किचाउने पुरानै संयन्त्र दोषी देखिन्छ।

उज्यालो नगरका लागि तपाईका थप योजनाहरू के के छन् ?

आगामी दिनमा हामी पूर्वाधारका क्षेत्रमा स्ट्रक्चर निर्माणमा जोड दिन्छौं। सडकको स्तरोन्नति, नाला निर्माण, कालोपत्रेलगायत कामलाई तीव्र गतिमा अघि बढाउने छौं। नगरमा व्यवस्थित बसोबास गराउँदै सबैका घरघरमा सडक, बिजुली र खानेपानीको प्रबन्ध मिलाउनेछौं। सबै नागरिकलाई उचित औषधोपचारका लागि स्वास्थ्य संस्था सञ्चालन, सरकारी र सामुदायिक विद्यालयलाई व्यवस्थित र गुणस्तीय बनाइनेछ। यसै वर्षभित्र सुविधा सम्पन्न सभाहल निर्माणका काम थालिनेछ। बसपार्क निर्माण सम्पन्न गरिनेछ। उज्यालो नगरअन्तर्गत नगरभित्रका सम्पूर्ण सार्वजनिक स्थानमा सोलार तथा बिजुली बत्ती जडान गरिनेछ। नगरभित्र व्यवस्थित रंगशालाको निर्माण थालिनेछ। सिन्धुलीगढीको पुनर्निर्माण थालिनेछ। सबै वडामा १२ महिना यातायातका साधन सञ्चालन हुने गरी सडक व्यवस्थित गरिनेछ। ५० लाख रुपैयाँ बराबरको सीपमूलक तालिम र व्यावसायिक दक्ष जनशक्ति उत्पादन गरिनेछ। भिमानमा बैकल्पिक बसपार्क निर्माण गरिनेछ।

पर्यटन प्रवद्र्धनका क्षेत्रमा के काम गरिरहनु भएको छ ?

कमलामाई नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्दै आर्थिक अभिवृद्धि गर्न स्थानीयस्तरमा कला, संस्कृति तथा जातिगत पहिचानलाई जोगाउन धार्मिक तथा ऐतिहासिकस्थलको संरक्षण, कला संग्राहलयको निर्माण, जरबुट्टा कला संग्राहलयको निर्माण गरिनेछ। काली कमलामाई, शिद्धबाबा मन्दिर, विभिन्न गुम्बा निर्माण गरिनेछ। यसका लागि एक करोड रुपैयाँ बजेट विनियोजित गरेका छौं। कमलामाई नगरका विभिन्न क्षेत्रमा पिकनिक स्पट, चिल्डे«न पार्कलगायत कामहरु गरिनेछ।

व्यवस्थित बजारीकरणमा के छ योजना ?

नगरको गुरु योजना मुताविक नै व्यवस्थित बजारीकरणका कामहरु गरिनेछन्। नगर क्षेत्रभित्र रिङरोड निर्माणसँगै व्यवस्थितबजारका लागि योजना बनाइनेछ। हाल बजारको दाँयाबाँया रहेका तार पोलले कुरुप देखिएका बजारलाई सुन्दर बनाउन बिजुली, टेलीफोनको तारलाई अन्डरग्राउन्ड गरिनेछ। यसका लागि डीपीआर तयार गर्ने काम यसै आर्थिक वर्षबाट सुरु गरिएको छ। स्मार्ट बजार व्यवस्थापनको लागि दक्षिणकोरीयासंग सम्झौता भएकाले यसै वर्षबाट काम थालिनेछ। यसका साथै मिनी मार्केट, व्यवस्थित पार्किङलगायत काम गरिनेछ। २०७५ लाई सरसफाइ वर्षका रूपमा मनाइनेछ। नगरका सबै सडक, सार्वजनिकस्थल, बजारका दाँयाबाँया हरियाली बनाउन वृक्षरोपण गरिनेछ।

खस्कँदो सरकारी शिक्षालाई कसरी व्यवस्थित गर्नुहुन्छ ?

नगरभित्रका सरकारी र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदानका लागि नगरले हालैमात्र शिक्षा ऐन तथा नियमावली पारित गरेको छ। सबैमा शिक्षाको पहुँच विस्तार गर्दै नगरभित्रका विद्यालयमा कक्षा ३ को परीक्षा वडा स्तरीय, कक्षा ५ को परीक्षा स्रोत केन्द्रस्तरीय र कक्षा ८ को परीक्षा नगरस्तरीय बनाउने निर्णय गरेका छौं। सबै विद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न बनाइनेछ। विद्यार्थीलाई सामुदायिक विद्यालयमा भर्ना हुन प्रेरित गरिनेछ।

स्थानीय तहको विकासमा प्रदेश र केन्द्र सरकारसँग सहकार्य कस्तो छ ?

स्थानीय तहका केही त्यस्ता योजनाहरू छन् जुन प्रदेश र केन्द्र सरकारसँग सहकार्य नगरी सम्भव हुँदैन। कमलामाई नगरपालिकामा पनि त्यस्ता चुनौती धेरै छन्। नगरले बीपी राजमार्गको बैकल्पिक व्यवस्थाका लागि चियाबारी–खुर्कोट सुरुङमार्ग, कमलानदीमा पक्कीपुल, सिन्धुलीगढीको पुनर्निर्माण, सिन्धुली–चकमके सडक, विद्युत् अन्डरग्राउन्ड गर्नेजस्ता कामका लागि नगरले केन्द्र र प्रदेश सरकारसमक्ष माग गरेको छ। बीपी राजमार्गअन्तर्गत पर्ने घरजग्गालाई व्यवस्थित गर्न १५-१५ मिटर बाटो कायम गरी ६-६ मिटर सेटब्याक कायम गर्न र हेटौंडा–सिन्धुली–चतरा सडकलाई धुराबजारको बैकल्पिक स्थान कायम गर्न माग गरिएको छ।

कर्मचारीबाट हुने सहयोग कस्तो छ ?

२० वर्षसम्म कर्मचारीकै भरमा सञ्चालन हुँदै आएको स्थानीय तहमा जनप्रतिनिधि आएपछि कर्मचारीलाई काम गर्न सजिलो भएको छ। अनुभवि कर्मचारी र भिजन भएका स्थानीय जनप्रतिनिधिबीच सहकार्य भए विकास निर्माणमा कुनै समस्या नहुने कामको अनुभवले प्रस्ट बनाएको छ। कहिलेकाँही कर्मचारी र जनप्रतिनिधिबीच समन्वय नहँुदा काम गर्न कठिनाई पनि हुने गरेका धेरै उदाहरण छन्। कर्मचारीमा पारदर्शिता र सक्रियता भए समयमा काम सम्पन्न गरिने, सेवाग्राहीले दुःख नपाउने, गुणस्तरीय कामको अनुगमन गर्न सजिलो हुने पक्का छ। यसका लागि राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने नीति लिएका छौं। सेवाग्राहीका लागि नागरिक वडापत्र अनुसार समयमा सेवा प्रवाह गर्न निर्देशन दिइएको छ। कर्मचारीको मनोबल उच्च हुनेगरी सेवा सुविधा प्रदान गरिएको छ। नगर तथा सबै वडा कार्यालयमा प्राविधिक जनशक्ति भर्ना गर्ने, पेपरलेस कार्यालय बनाउने, विद्युतीय प्रणालीका माध्यमबाट हाजिरी गराउने र कार्यालयमा सीसीटीभी जडान गर्ने कार्य थालिएको छ। कमलामाई नगरपालिकालाई भ्रष्टाचाररहित नगर बनाउने र बेरुजु शून्य बनाउन विशेष अभियान थालिएको छ।

कृषिमा आत्मनिर्भर बनाउन के के कार्यक्रम ल्याउनुभएको छ ?

सिन्धुली कृषि उत्पादनका दृष्टिले पकेट जिल्ला हो। यहाँ अन्नबाली, फलफूल तथा तरकारीका साथै नगदेबाली प्रशस्त मात्रामा उत्पादन हुन्छन्। कमलामाई नगरपालिका क्षेत्रमा पनि यस्ता उत्पादनका प्रशस्त सम्भावना छन्। यस नगरलाई खाद्यान्न र तरकारीमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन्। वार्षिक रूपमा तराइका जिल्लाबाट खपत हुने तरकारी तथा फलफूललाई न्यूनीकरण गर्न जिल्लामा नगरकै सहयोगमा यसै वर्षबाट ११ बिघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती थालिएको छ। यस योजनाअन्तर्गत आगामी वर्षबाट कमलामाई नगरपालिकामा उत्पादित तरकारीलाई हामी राजधानी काठमाडौं र तराईका जिल्लासम्म पठाउन सक्छौं। यसबाट कृषक राम्रो आम्दानी लिँदै आत्मनिर्भर बन्न सक्नेछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.