न्यायाधीशकै खल्तीमा भान्सेको तलब

न्यायाधीशकै खल्तीमा भान्सेको तलब

जनकपुरधाम : प्रत्येक न्यायाधीशले एक जना भान्से राख्न पाउँछन् तर यो अधिकारको दुरुपयोग भइरहेको पाइएको छ । अधिकांश न्यायाधीशले भान्सेमा आफ्ना जिल्लावासी वा विश्वासिलो व्यक्तिको नाम राखेर तलब भने आफैं बुझ्ने गरेका हुन् ।

कागजी रूपमा नियुक्ति पाएका अधिकांश भान्से कि न्यायाधीशका बालबच्चा स्याहार्छन् कि त पत्नीका कामदार छन् । यति मात्र होइन, कतिपय नाम मात्रको भान्से रहेको पनि पाइएको छ । धनुषा जिल्ला अदालतका भवानी थारू १ नम्बर न्यायाधीशका भान्से हुन् । उनले चार वर्षदेखि प्रमुख न्यायाधीशकै भान्सेका रूपमा काम गर्दै आएका छन् । धनुषामा जोसुकै प्रमुख न्यायाधीश आए पनि उनी नै भान्से हुन् । आफू डेढ वर्षदेखि अहिलेका प्रमुख न्यायाधीशको भान्से भएर काम गर्दै आइरहेको उनी बताउँछन् । प्रत्येक बिहान–बेलुका न्यायाधीश निवासमा गएर खाना पकाउने गरेको उनको भनाइ छ । ‘त्यसपछि कार्यालयको काम गर्छु किनकि मेरो नियुक्ति कार्यालय सहयोगीमा भएको छ ।’

व्यावहारिक रूपमा उनी जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीका भान्से भए पनि कागजमा भने अरूकै नाम छ । कागजी रूपमा न्यायाधीश उप्रेतीको भान्सेमा कमल भण्डारीको नाम छ । सर्लाही निवासी उनी न्यायाधीशका छिमेकी रहेको जनाइएको छ । थारूले आफूलाई भण्डारीका बारेमा थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

भण्डारी न काम गर्न आउँछन् न त तलब बुझ्न नै । तापनि, मासिक रूपमा भान्सेका नाममा तलब निकासा भइरहेको अदालतका लेखापाल शिवकुमार झा बताउँछन् । उनका अनुसार भान्सेको तलब न्यायाधीश आफैंले बुझ्ने गरेका छन् । थारू भने तलब अदालतबाट पाउने गरेको सुनाउँछन् ।

जिल्ला न्यायाधीश उप्रेती पनि भान्सेमा भण्डारीलाई नियुक्त गरिएको स्वीकार गर्छन् । उनका अनुसार भण्डारी आफूसँग घरमा बस्ने गरेका छन् । कहिले सर्लाही त कहिले काठमाडौंको घरमा बस्ने गरेको उनको भनाइ छ ।

पर्सा जिल्ला अदालतका प्रमुख न्यायाधीशको अवस्था पनि फरक छैन । न्यायाधीश नागेन्द्रलाल कर्णका लागि भान्सेको काम सुरेश कुर्मीले गर्छन् तर कागजी रूपमा उनका जिल्लावासी रामविलास मण्डलको नाम भान्सेमा छ ।

  • ड्राइभर र कार्यालय सहयोगीबाटै भान्सेको काम
  • तलब बुझ्न सजिलो हुने गरी भान्सेमा आफन्तको नाम
  • मासिक ९ लाख र वार्षिक झन्डै ११ करोड खर्च
  • तेलका लागि वार्षिक सवा ३ करोड फजुलमा खर्च

यी दुई जना त प्रतिनिधि पात्र मात्र हुन् । धनुषा जिल्ला अदालतमै पाँच जना न्यायाधी छन्, उनीहरू सबैले आफ्नो ड्राइभरबाटै खाना पकाउने गरेको थारू बताउँछन् । भान्सेलाई कार्यालय सहयोगी कर्मचारीसरह तलब दिने व्यवस्था छ । कार्यालय सहयोगीलाई पनि दुई भागमा विभाजन गरिएको छ, एउटा प्रथम स्तर र अर्को पाँचौं । प्रथम स्तरकालाई १६ हजार २ सय २५ र पाँचौंलाई २१ हजार ३ सय ८७ रुपैयाँ तलब तोकिएको छ ।

भान्सेमा बर्सेनि ११ करोड खर्च

काठमाडौंका एक न्यायाधीशका अनुसार भान्सेमा अधिकांश न्यायाधीशले पैसा लिन सजिलो हुने गरी आफ्ना मान्छेको नाम राख्छन् । न्यायाधीशहरूको सेवा, सर्त, सुविधासम्बन्धी ऐनअनुसार सरकारले भान्सेसहित ड्राइभर, मासिक रूपमा तेल, मोबिल, घरभाडासहितको सुविधा दिने गरेको छ । सरकारले जिल्लाका न्यायाधीशको तलब ४६ हजार ७ सय, उच्च अदालतका ५४ हजार र सर्वोच्चका राज्यमन्त्रीसरह दिने गरेको छ ।

देशभरिका जिल्ला अदालतमा २ सय ४ जना न्यायाधीश कार्यरत छन् । उच्च अदालतमा १ सय ६ न्याायाधीश दरबन्दी छ भने सर्वोच्चमा २१ जना । तीनवटै तहका अदालतका गरी ४ सय २१ जना न्यायाधीश छन् । प्रत्येक न्यायाधीशको भान्सेको हिसाब मात्र जोड्ने हो भने मासिक रूपमा ९ लाख व्यर्थै राज्यको ढुकुटी दोहन भइरहेको छ, जुन वार्षिक रूपमा १ करोड ८ लाख हुन जान्छ ।

तेलमा सकिन्छ सवा ३ करोड

सरकारले न्यायाधीशलाई दिँदै आएको तेल सुविधामा पनि दुरुपयोग भइरहेको पाइएको छ । सवारी साधनबाट आवतजावतका लागि प्रत्येक न्यायाधीशले मासिक ७२ लिटर तेल पाउँछन् । तर त्यसबापत न्यायाधीशले नगद नै ७ हजार २ सय रुपैयाँ बुझ्ने गरेका छन् । धनुषा जिल्ला अदालतका लेखापाल शिवकुमार झा अनुसार यहाँका न्यायाधीशले मासिक रूपमा तेलबापतको रकम बुझ्छन् ।

एक कर्मचारीका अनुसार प्रत्येक न्यायाधीशको डेरा अदालतबाट एक किलोमिटर दूरीमा पर्छ । सवारी साधन एक लिटर तेलमा कम्तीमा आठ किलोमिटर गुड्छ । कतिपय सवारी साधनले १ किलोमिटर दूरी नै पार गर्ने जनाइएको छ । यसअनुसार आठ लिटर तले एक महिना धान्छ । तर, न्यायाधीशलाई ७२ लिटर तेल दिइँदै आएको छ । प्रत्येक महिना एक न्यायाधीशका लागि ६४ लिटर तेल व्यर्थै खर्च भइरहेको देखिन्छ । यसलाई ४ सय २१ जना न्यायाधीशसँग गुणन गर्ने हो भने मासिक २७ लाख रुपैयाँ फजुलमा खर्च भइरहेको छ, जुन वार्षिक सवा ३ करोड पुग्न जान्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.