हत्या घटनामा बोलाउँदा प्रहरी अाएन

हत्या घटनामा बोलाउँदा प्रहरी अाएन

 टीकापुर : कैलालीको जोशीपुरका एक व्यापारीको हत्यामा समेत प्रहरीले सक्रियता नदेखाएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले गरेको ढिलासुस्तीको सर्बत्र आलोचना भइरहेका बेला अर्को अपराध भएको हो ।

कैलालीको जोशीपुर गाउँपालिका वडा नं. १ जोशीपुर बजारका ३७ वर्षीय व्यापारी रामप्रसाद जैशी (ओझा) को विहीबार राती घरमा कोही नभएको बेला हत्या गरिएको थियो । प्रहरी, समयमै घटनास्थल नपुगेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका हुन् । स्थानीयले प्रहरीलाई अनुसन्धानका लागि दबाव दिन भन्दै जोशीपुरस्थित प्रहरी चौकीमा धर्ना दिए भने बजार बन्द गरेका छन ।

जोशीपुर बजारमा किरानाको पसल राखेका ओझाको विहीवार राति घरमै हत्या भएको हो । विहान ९ बजेपछि मात्रै छिमेकीले हत्याबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय भजनीको टोली पुगेको भए पनि घटनास्थल घेराऊ गर्ने बाहेक अन्य केही नगरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका हुन् ।

ओझाका आफन्त गणेशराज ओझाले विहान ९ बजे नै जिल्ला प्रहरी कार्यालयमा जानकारी दिएको भएपनि अनुसन्धानका लागि साँझ ५ बजेसम्म पनि प्रहरी परिचालित नभएको आरोप लगाए । ‘विहान ९ बजे नै जिल्ला प्रहरी कार्यालयमा हामीले खबर गरेका थियौं’ ओझाले भने । ‘साँझ ५ बज्दा समेत अनुसन्धानका लागि प्रहरीले टोली पठाएन् ।’

पीडितका आफन्तहरुले प्रहरीले अनुसन्धान शुरु नगर्दासम्म लाशको पोष्टमार्टम् समेत हुन नदिने भन्दै अडान लिएका छन् ।   ‘प्रहरीले घटनास्थलबाट अनुसन्धान शुरु गर्नुपर्छ’ । मृतक ओझाका आफन्त पदमराज ओझाले भने । ‘त्यसपछि मात्रै पोष्टमार्टम् गर्न दिन्छौं ।’ प्रहरीले अनुसन्धानमा आलटाल गर्न खोजेको उनले आरोप लगाए ।

इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले घटनास्थल र प्रमाणहरु नियन्त्रणमा लिएको बताउँदै जिल्लाबाट आउने टोली आइ नपुगेको बताए ।

जोशीपुरका किराना व्यापारी ओझा विहीवार राति घरमा एक्लै बसेका थिए । ओझाकी श्रीमती दुई छोरासहित तीज मनाउन टीकापुरमा रहेको माइतीमा गएका बेला ओझाको राती हत्या गरिएको हो ।

स्थानीयका अनुसार ओझाको कोठामा दुई बोतल वियर, एक गिलास र एक प्याकेट नमकिन राखिएको भेटिएको छ । पसलको गल्लामा खुटपाट गरिएको छ भने पसलबाट टेलिफोन सेट र केही थान खाता समेत गायब छन ।

ओझा जोशीपुर क्षेत्रमा किराना सामानको थोक तथा खुद्रा बिक्रेता हुन । भारतीय रुपैयाँ सटहीको काम समेत गर्दै आएका ओझाको हत्या लेनदेनकै विषयमा भएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।

बजारमै रहेको घरमा सुतिरहेको अवस्थामा ओझाको हत्या भएपछि स्थानीयहरु त्रसित बनेका छन् । जोशीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ चौधरीले घरमै एक व्यापारीको हत्या हुनुले आफूहरु त्रसित बनेको बताए ।

सबेरै खुल्ने ओझाको पसल ९ बजेसम्म पनि नखुलेपछि स्थानीयले घरमै गएर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए । प्रहरीले मृतक ओझाको घाँटीमा निलडाम रहेको जनाएको छ । विहीवार साँझ पसल बन्द गरेर सुतेका ओझाको हत्या भएको विरोधमा शुक्रबार ब्यापारीहरुले बजार बन्द गरेका छन ।

‘एकजना ब्यापारीको घरमै सुतेको अवस्थामा हत्या हुनुले शान्ति सुरक्षाको अवस्था आफै झल्किन्छ’ जोशीपुर बजार व्यवस्थापन समितिका सचिव केशवराज जोशीले भने । जोशीपुरका ब्यापारीहरुले हत्याराको खोजीको मागगर्दै शनिबार पनि बजार बन्दको घोषणा गरेका छन ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.