घोडासँग दोस्ती

घोडासँग दोस्ती

जमानामा जोसँग धेरै घोडा, उही शक्तिशाली। घोडाले नै राज्य जित्थे। घोडाले पनि लडाइँमा बलिदान गर्थे। युद्ध, शक्ति र खेलकुदमा पनि घोडा नै प्रयोग। शक्ति नाप्न घोडा शक्तिसँग तुलना, हर्स पावर ! यस्तो जीव हो घोडा, जो दौडेर कहिल्यै थाक्दैन।


कुर्कुरे बैंसवाल राजधानीका एक ‘ठकुरी ठिटो’ बागलुङ पुगे। आलाकाँचा थिए, घोडचढीमा पनि र उमेरमा पनि। तैपनि घोडा चढे।

घोडा दौड्यो। दौडँदादौडँदै घोडा यसरी बत्तियो कि, दुवै ठूलो खाल्डोमा झन्डै खसे।

स्थानीयले भने, ‘जोगले बाँचे। खाल्डोमा खसेको भए घोडासहित सीधै कालीगण्डकी पुग्थे।’

राजा–राणा नातेदार ती घोडचढीको ‘बचेखुचेको सातो’ पनि उड्यो।

यो घटना थियो, पञ्चायत सुरु हुनुभन्दा दुईचार वर्षअघिको।

०००

कुपण्डोलस्थित घरको गेट खुल्यो। जर्मन–सेफर्ड (कुकुर)ले ‘हाउ आर यु’ भन्दै लुटुपुटु भावमा स्वागत गर्‍यो।

बैठक कोठाभन्दा भित्रपट्टि घोडा देखियो। त्यो यति बेतोडलै दौडँदैथियो कि, दौडेको हो कि उडेको ? छुट्ट्याउनै मुस्किल।

केही मिनेटमै ओर्ले, खोर्रेनेटा खोर्रेका जौ बुटाजस्ता सेतै कपाल र सेतै जुँगादारीवाल वृद्ध। न मोटा न दुब्ला। पाँच फिट तीन इन्च जति अग्ला। कपाल र दारी कलर–मैत्री सुरुवाल र पहेँलो कुर्ता। कुर्तामाथि ढाका इस्टकोट लगाएका चस्मावाल। उनलाई पछ्याउँदै ओर्लिइन्, पालिस नलाएको मन्सुली चामल कलरकी वृद्धा पनि।

थाहा भयो, ती दम्पती हुन्।

घोडामा दिल बसेको ५० वर्ष लाग्दैछ। उनी त घोडामै यसरी लीन भए कि, अचेल त घोडा देख्नेबित्तिकै कलापारखीले तिनै वृद्ध सम्झन्छन्।

कुनै याममा घोडासित झन्डै कालीगण्डकी पुगेका ठकुरी ठिटो तिनै वृद्ध थिए।

उनले चस्मा झिके। आँखा कापी पन्नामा पोखिएको प्रश्नसितै जुध्यो। त्यसपछि तन्नेरी मुस्कान ओर्लियो।

खाली आँखाले पढेपछि उत्तर दिन भने चस्मा नाकमा उकाले।

उनका बाबा र दाजु घोडा चढ्थे। सिकार खेल्थे। बैठक कोठाबाट देखिने बेतालले बत्तिएको घोडालाई चिमचिम गर्दै हेरेपछि कालीगण्डकी पुग्ने खाल्डो सम्झिए।

‘केटाकेटीमा एकपालि घोडा चढेको सम्झन्छु,’ नोस्टाल्जिक हुँदै उनले भने, ‘घोडा चढ्न जान्ने त होइन।’

बागलुङमा घोडा चढेको नै दोस्रो र अन्तिम थियो।

सात वर्ष पुग्दा कानसित बिग्रेको सम्बन्ध ‘हियरिङ एड’ले थोरबहुत सुधारेको थियो। उमेर उकालिएपछि भने प्रविधिले पनि हार खायो।

घोडा हेर्दाहेर्दै उनले सन् १९८० तिरको जापान सम्झिए। उनी ‘कल्की अवतार’ लिएर जापान पुगेका थिए। एउटा अवतार चाहिँ घोडा थियो।

मिथकीय घोडा बनाएपछि उनको कला–मनलाई घोडाले यसरी तान्यो कि, त्यसयता उनी घोडासँगै दौडिरहेछन्।

खलकमा उनी पहिलो चित्रकार हुन्। जुनबेला उनले कलासाइत गरे त्यसबेला ‘चित्रकारिता पारिवारिक पेसा’ थियो, चित्रकारिता कुनै जात विशेषले गर्ने चलन।

राजा र राणा उनका नातेदार थिए। राजा महेन्द्र पत्नीहरू त उनका फुपूपुत्री। उनका दाजु थिए, जुद्धशमशेरका सम्धी।

राजा नातामा उनले शास्त्र–सूत्रले व्याख्या गरे। चस्माभित्रै आँखा चिमचिम पार्दै भने, ‘नाता भए पनि ती राजा, हामी प्रजा। शास्त्रले भन्छ नि– राजा, आगो, बतास र पानी आफ्नो हुँदैन। राजा भनेपछि अलग्गै !’

उनका दाजु, दिदी र आमामा कला–सोच थियो। आमा र दिदीले त लुगामा फूलबुट्टा भर्थे। बुट्टामा मान्छे बनाउँथे। पोते–चित्र बनाउँथे। गुडिया बनाउँथे। दाजु (गोवर्द्धनविक्रम शाह) कार्टुन बनाउँथे। सात दाजुभाइ र तीन दिदीबहिनी।

लोकगीत अन्वेषक सुवी शाह उनका काका थिए।

दरबार हाइस्कुल पढे। कसैले उनलाई सुनाए कि, कला पढे एसएलसी सजिलै पास भइन्छ। नभन्दै उनले कला रोजे। चित्र बनाउँदा बनाउँदै उनको दिल त कलामा बस्यो।

हर्क गुरुङ उनका दाजुका साथी थिए। कलाकार बन्न लमजुङबाट काठमाडौं पसेका। हर्क चित्रले तान्यो। त्रिचन्द्रका सहपाठी केदारभक्त माथेमाको कलाकारिताले नजिक्यायो।

एसएलसी मामिलामा रोजेको कला त ‘प्यासन’मा फेरियो। र, कलामै ‘भविष्य’ खोज्न बम्बई (मुम्बई) पुगे, जेजे स्कुल पढ्न।

यो थियो, सन् १९६१।

दुरुस्त चित्र उतार्नुलाई ‘क्या गज्जब’ भन्ने याम थियो, त्यो। ‘मौलिक’ चित्र बनाउने चलन नै थिएन। बम्बईमा ‘मौलिक’ बनाउने ज्ञान पाए। त्यसपछि ‘लिक–लिक कायर चलें, लिकहीं चले कपुत। लिक छोड तिनों चलें– शायर, सिंह, सपूत’ भन्ने उक्तिलाई मनन गरे। फोटोकपिवाला लिक छाडे। र, घोडासँग दौडँदै घोडेटो बाटो लागे।

सन् १९७१ मा कृष्ण मानन्धर, वत्सगोपाल वैद्य र इन्द्र मानन्धरसित ‘स्किप’ समूह बन्यो। समूहले हरेक वर्ष कला प्रदर्शन गर्‍यो– कहिले देशभित्र त कहिले देशबाहिर। नयाँ कलाकारलाई ज्यान दियो। उनका दुई छोरी कृति र सगुनाले पनि पछ्याए।

समय फेरिन थाल्यो।

उनले बनाएका चित्र वर्षमा एक /दुईवटा बिक्री हुन थाले।

समय फेरियो।

सौखिन ग्राहक जन्मे।

कलाकारले त नाम र दाम कमाउन थाले। कलाकार आफ्नै मोटर चढ्न थाले।

दुईचार वर्षअघि महिन्द्रा कम्पनीले एउटा घोडालाई १० लाख रुपैयाँमा किन्यो। यो नै अहिलेसम्म उनले बेचेको सबैभन्दा महँगो कला हो।

कति र कस्ता चित्र बेचे ? उनीसित न तिनका लेखाजोखा छ न त बेचिएका चित्र अनुहार नै साँचेका छन्। सम्झेर तिनका मायामा बेलाबखत बल्झन्छन्।

कस्तो संयोग ! सिंहदबार जल्दा धादिङ ज्यामरुङका उनी किरण मल्लसित बागलुङमा बिहे गर्दैथिए। यस्तै संयोग परेको नि हुन सक्छ कि, उनको पुर्खे ज्यामरुङ दरबार माओवादीले जलाउँदा उनीजस्तै कसैको बिहे हुँदैथियो।

उनको जग्गा अझै पनि ज्यामरुङमा छ।

दुई छोरी आ–आफ्ना घर लागे। डल्लु र भोटेबहाल हुँदै अचेल वृद्ध दम्पती कुपण्डोलमा बस्छ।

उच्च रक्तचापले च्यापेपछि तमाखु तान्न छाडे, छाडे कान तताउन पनि। विशेषतः रक्सी छाडेकोमा उनका साथीहरू (पत्नी किरणसित) खुनासिएका छन्।

घोडासँग दौडँदै (अर्डरका चित्र बनाउने) उनले पत्नी चित्र बनाएका छन् त ?      

‘हेरेरै बनाएको त छैन। तर, अन्य चित्र बनाउँदा उनको (किरण) ‘इम्प्रेसन’चाहिँ आएको छ,’ पत्नीलाई हेर्दै उनी मुसुमुसु हाँसे। त्यसपछि किरणले भनिन्, ‘ठूलो बनाएर राख्नुपर्ला भनेको। कहिले बनाउने, खै !’

०००

सूर्यलाई सात घोडाले तान्थे।

कति तागतदार घोडा !

जमानामा त जोसँग धेरै घोडा, उही शक्तिशाली। घोडाले नै राज्य जित्थे। घोडाले पनि लडाइँमा बलिदान गर्थे। युद्ध, शक्ति र खेलकुदमा पनि घोडा नै प्रयोग। (नयाँ प्रविधि आएपछि न घोडा महत्व घट्यो।) शक्ति नाप्न घोडा शक्तिसँग तुलना, हर्स पावर ! यस्तो जीव हो घोडा, जो दौडेर कहिल्यै थाक्दैन।

घोडा–गाथा सुनाउँदा–सुनाउँदै उनी चकित परे।

लाग्न थालेको छ कि, घोडा बनाउनै उनी जन्मेका हुन्।

तर, उनका घोडा भने देखेजस्ता छैनन्।

‘बनाउँदाखेरि जस्तो मुड चल्छ, त्यस्तै बनाउँछु। दुरुस्तै घोडा भने बनाउँदिन। चाहन्छु, घोडामा विभिन्न आकृति र मुड होस्। कसैले नदेखेको होस्। मौलिक घोडा बनाउने कोसिस जारी छ,’ उनले घोडा कहानी सुनाए।

०००

खलकमा कोही नहिँडेको चित्र–बाटो हिँडे। चित्रकारिताको नि ‘घोडे’टो बाटो।

साह्रोगाह्रो हुँदा कहिलेकाहीँ निराशा छायो। जस्तो जुन बाटो हिँड्दा नि कहिलेकसो त छाउँछ। यसलाई उनले ‘घामछाया’ माने। त्यसैले रोजेको चित्रपथ कहिल्यै मोडँजस्तो लागेन, उनलाई।

त्यस्ता याम पनि थिए, जुन याममा क्यानभासमा रङ पोत्दा–पोत्दै रात ढल्थ्यो। दिन ढल्थ्यो।

ढलेको रात हो कि दिन ?  उनलाई पत्तै हुन्नथ्यो।

घोडासँग दौडन पाए दुनियाँ भुल्थे। हुन पनि उनलाई त घोडाले नै नाम दियो। दाम दियो।

रोल्पातिर ‘आहान’ हाल्छन्, ‘भाले बासे सुत्नु कति, साठी पुगे बाँच्नु कति।’

‘असी आँगन’मा पुग्दा नि घोडासितै दौडिरहेछन्। अझै ज्यानले हार खाएन ?      

हिँडेका ७८ बर्खा र घोडासँगका उकाली–ओराली सम्झेर गम्भीर हुँदै वरिष्ठ कलाकार शशि शाहले भने, ‘कहाँ थाक्नु ? थाकेको छैन। घोडा थाक्यो र बस्यो भने त मरिहाल्छ नि।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.