सतीप्रथाको अपव्याख्या

सतीप्रथाको अपव्याख्या

धरावासीले ‘झोला’ लेख्नुअघि जंगबहादुरले जारी गराएको मुलुकी ऐनको ‘सती जान्याको’सम्बन्धी महल पढेको भए बेस हुन्थ्यो।


नेपालभित्र पछिल्लोपटक यात्रा गर्ने क्रममा एउटा विमान कम्पनीको निजी प्रकाशनमा एकजना गायिकाले गरेको टिप्पणी पंक्तिकारले पढ्यो, ‘मैले सर्वाधिक रुचाएको किताब हो, कृष्ण धरावासीको झोला। यो पढेर म धेरै रोएँ।’ यसै पनि आँसु झार्न अभिशप्त नेपालीले फोकटमा थप आँसु झार्नु हुँदैन भन्ने लागेकाले यो आलेख लेखिएको हो।

लेखकको कलम ब्रह्माको मुख होइन, जहाँबाट वेदका ऋचाहरू स्वस्फूर्त सिर्जना होऊन्। लेखकले पढ्नु पनि पर्छ। दुर्भाग्यवश आफूले ठ्याम्मै नबुझेको विषयमा पनि हामीकहाँ लेखकले लेखिरहेका छन्। लेखक स्वयं स्पष्ट नभएका त्यस्ता लेखोट पढेर पाठक दिग्भ्रमित भइरहेका छन्। यसै सन्दर्भमा धेरैजनालाई आँसु झार्न बाध्य बनाएको कृष्ण धरावासीको बहुचर्चित कथा ‘झोला’को एतिहासिक पक्षबारे विवेचना गरिहेरौं।

०००

चन्द्रशमशेरले सतीप्रथा उन्मूलन गरेका थिए भन्दै ‘झोला’मा धरावासीले उनको तारिफ गरेका छन्। धरावासी अफिसमा भएको बेला ६०–६५ वर्षका एकजना मानिसले एक दिन उनको घरमा एउटा झोला छोडेर गएका हुन्छन्। अफिसबाट फर्किएर रातको खाना खाएपछि धरावासीले झोलाभित्र पहाडे कागजको पोको फेला पार्छन्। पोको खोलेर लेखिएका कुरा पढ्न थालेपछि कथाको मूल खण्ड आरम्भ हुन्छ।

कागजमा श्रीमान्को मृत्युपछि जबरजस्ती सती पठाइएकी एकजना महिलाबारे लेखिएको हुन्छ। लेख्ने मानिस ती महिलाका छोरा हुन्छन्। धरावासीको घरमा झोला छोडेर जाने ६०–६५ वर्षका मानिस नै छोरा हुन् भनी कथामा संकेत गरिएको छ।

चन्द्रशमशेरले वि.सं. १९७७ असार २५ गते सतीप्रथा उन्मूलन गरेका थिए। मुलुकी ऐनअन्तर्गत ‘ज्यानसम्बन्धीको’ महलमा सतीप्रथालाई अनुमोदन गर्ने नेपालका सबै कानुन खारेज गरिएको बेहोरा उनले लेखाएका थिए (रेग्मी रिसर्च सिरिज २(७), सन् १९७०, पृ. ५२–५३)।

धरावासीको कथा ‘झोला’ साहित्यिक पत्रिका ‘समकालीन साहित्य’को वि.सं. २०५४ को साउन–असोज अंकमा छापिएको थियो। त्यति बेला ६०–६५ वर्ष पुगेको व्यक्तिकी आमालाई सती पठाइएको संकेत कथामा गरिएको छ। ती व्यक्तिको उमेर ६५ वर्ष मान्दा उनको जन्ममिति वि.सं. १९८९ हुन जान्छ। अर्थात् उनी जन्मिँदा सतीप्रथा उन्मूलन भएको १२ वर्ष बितिसकेको थियो। सतीप्रथा अन्त्य भएपछि पनि धरावासीले कथामा यस्तो प्रथालाई पुनःजीवन किन दिए ?

०००

कथामा वर्णित बालककी आमा २७ वर्षकी र बाबु ६७ वर्षका हुन्छन्। बालकको उमेरचाहिँ खुलाइएको छैन। परन्तु उनी १०–१२ वर्षका थिए भन्ने कथा पढ्दा महसुस हुन्छ।

बिरामी परेपछि बुवाले आमलाई ‘तैंले सती नजानू, यस छोरालाई हुर्काएर बस्नू’ भनेका हुन्छन् (कृष्ण धरावासी, झोला, २०७५, पृ. १९)। यसले छोरो बालखै हुन्छन् भन्ने देखाउँछ। कथामा छोरा बस्तुभाउ चराउन जंगल गएको देखाइएको छ। बाबुको चितालाई बालकका सौतेजी दाजुले दागबत्ती दिएकाले उसको व्रतबन्ध पनि भएको थिएन भन्ने देखिन्छ। तसर्थ छोरा शिशु थिएनन्, न वयष्क थिए, उनको उमेर १०–१२ वर्षको हाराहारीमा थियो भनी अनुमान गर्न सकिन्छ।

१०–१२ वर्षको छोराकी आमालाई सती पठाएको देखाएर धरावासीले कथा लेख्नुअघि आफूले सतीप्रथाबारे अध्ययन नगरेको पुष्टि गरेका छन्। भारतमा सन् १८२९ मा सतीप्रथा उन्मूलन भएको थियो। त्यसको सिको गर्दै राणाकालमा कानुन बनाएरै सतीप्रथालाई निरुत्साहित गरिएको थियो।

जंगबहादुरको पालामा जारी भएको मुलुकी ऐन, १९१० को ‘सती जान्याको’सम्बन्धी महलामा कान्छो छोरो १६ वर्ष र कान्छी छोरी पाँच वर्ष नपुगेका महिलालाई सती जान नदिनु भनिएको छ (हेर्नुस् दफा २ र ३)। यस्तो व्यवस्था हुँदाहुँदै धरावासीले १०–१२ वर्षको बालककी आमालाई जबरजस्ती सती किन पठाए ?

०००

बालककी आमालाई सती पठाउने तयारी गरिरहँदा भोलिका दिनमा आफूले पनि त्यसरी नै जिउँदै पोलिनुपर्ने सम्झिएर अन्य महिला भयभीत भएको कथामा उल्लेख छ। लेखिएको छ, ‘नारीहरू रोइरोइ मेरो (अर्थात् बालकको) कपाल मुसारिरहेका थिए। आमाको रूप, उमेर र मेरो बारेमा चिन्ता व्यक्त गरिरहेका थिए। उनीहरू आ–आफ्ना पतिका अनुहारमा आफ्नो आयु खोजिरहेका थिए। उनीहरूको रोदन, पीडा र शोकमा आ–आफ्नो जिउँदो मृत्युको सम्भावना बगिरहेको थियो। त्यहाँ उपस्थित प्रत्येक नारी आफ्नो प्राण पतिको ढुकढुकीमा गनिरहेका थिए।’ (पृ. २२)

यहाँ धरावासीले श्रीमान्को मृत्युपछि श्रीमतीले सती जानु अनिवार्य रहेको अर्थात् सतीप्रथा महिलाका लागि बाध्यकारी रहेको बताएका छन्। यस्तो लेख्दै गर्दा नेपालमा सतीप्रथा कहिल्यै बाध्यकारी थिएन भन्ने पत्तो उनले पाएनन्।

लिच्छविकालदेखि नै नेपालमा सतीप्रथा अभ्यास हुन्थ्यो भनी पुष्टि गर्ने विभिन्न प्रमाण उपलब्ध छन्। सतीप्रथाबारे सर्वप्रथम वि.सं. ५२१ मा लिच्छवि राजा मानदेवले उत्किर्ण गराएको चाँगु अभिलेखमा उल्लेख छ। त्यसमा मानदेवका बाबुको मृत्युपछि आमा राज्यवतीले सती जान खोजेको, तर मानदेवको आग्रहपछि सती नगई छोरासँगै रहेर पतीको काजकिरिया गरेको उल्लेख छ

(धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, २०५३, पृ. १५)। जीवन निर्वाह गरिरहेका थुप्रै विधवाबारे लिच्छविकालका अन्य अभिलेखमा उल्लेख भएकाले त्यति बेला श्रीमान्को मृत्युपछि श्रीमतीले सती नजाँदा पनि हुन्थ्यो भन्ने स्पष्ट हुन्छ।

मल्लकालमा गंगाको मैदानमा अभ्यास गरिने कठोर हिन्दु धर्मको प्रभाव काठमाडौंमा प¥यो। थुप्रै मैथिल ब्राह्मणले मल्ल राजाका दरबारमा संरक्षण पाए। मैथिल ब्राह्मणहरूको बढ्दो प्रभावसँगै नेपालमा रूढिवादी हिन्दु धर्मको उदय भयो। हिन्दु वर्णा श्रमलाई अझ कडा पारियो। सतीप्रथालाई व्यापक बनाइयो। फलस्वरूप पाटनका राजा योगनरेन्द्र मल्लको मृत्यु हुँदा ३३ जना स्त्रीलाई सती पठाइयो, जुन नेपालको इतिहासकै अधिक हो। राजा पार्थिवेन्द्र मल्लको मृत्यु हुँदा २४ जनालाई र प्रताप मल्ल, नृपेन्द्र मल्ल तथा श्रीनिवाश मल्लको मृत्यु हुँदा नौ–नौ जना स्त्रीलाई सती पठाइयो (गोविन्द मास्के, सोसल लाइफ इन नेपाल, सन् १९६६, पृृ. ४२)। सतीप्रथा कठोर बन्दै जाँदा मल्लकालमा श्रीमतीलाई मात्र नभई आमालाई पनि छोराको शवसँगै जलाउने काम भयो। राजा प्रताप मल्लका छोरा भाकुतु र राजा महेन्द्र मल्लको मृत्यु हुँदा श्रीमती र भोगिनीसँगै उनीहरूका आमालाई पनि सती पठाइयो (महेशराज पन्त, महेन्द्र मल्लका विषयमा केही कुरा, पूर्णिमा १० (२), २०३४, पृ. ७४–८९)। यद्यपि मल्लकालमा पनि सतीप्रथा त्यसअघि जस्तै मूलतः राजपरिवारमा बढी अभ्यास हुन्थ्यो। त्यति बेला पनि सती जानु सबैका लागि बाध्यकारी थिएन। शाहकाल आरम्भ भएपछि पनि सतीप्रथा बाध्यकारी रहेन।

०००

सर्वसाधारण महिलालाई पनि सती पठाइएका उदाहरण नेपाली इतिहासमा नभेटिएका चाहिँ होइनन्। खासगरी श्रीमान्को मृत्युपछि उसकी श्रीमतीबाहेक अर्को हकवाला नरहेको अवस्थामा आफन्तले सम्पत्ति हत्याउन फकाइफुल्याई अथवा जबरजस्ती मृतककी विधवालाई सती पठाउने गर्थे।

लेखकले चन्द्रशमशेरको कामबाट प्रभावित भएर उनलाई पृथ्वीनारायणजस्ता नायकको पंक्तिमा राख्ने जमर्को गरेबाट सतीप्रथा उन्मूलन गर्ने पात्रप्रति उनी भावुक रहेछन् भन्ने देखाउँछ।

भारतीय उपमहाद्वीपमा यस्तो अभ्यास सबैभन्दा बढ्ता बंगालमा थियो। बंगालमा दयाभाग अर्थात् पुत्रहीन विधवाले संयुक्त परिवारमा दिवंगत पतिले पाउनेजति नै सम्पत्ति पाउने चलन थियो। तसर्थ त्यस्तो सम्पत्ति हत्याउन पुत्रहीन विधवालाई परिवारका अन्य सदस्यले सती पठाउने गर्थे (पाण्डुरंग वामन काणे, धर्मशास्त्र का इतिहास–प्रथम भाग, सन् १९९२, पृ. ३५२)।

नेपालमा पनि सम्पत्तिको लालसाले विधवालाई सती पठाइने गरिन्थ्यो भन्ने कुरा ऐतिहासिक दस्तावेजहरूको अध्ययन गर्दा थाहा हुन्छ। यस्तो अभ्यासलाई निरुत्साहित गर्न भनेर राणाकालमा विभिन्न कानुन बनेका थिए। जंगबहादुरको पालामा जारी भएको मुलुकी ऐनको ‘सती जान्यको’सम्बन्धी महलमा कानुनले सती जानयोग्य ठहर गरेका विधवालाई उसको सम्पत्ति हत्याउने उद्देश्यले ललाइफकाइ गरेर अथवा लागू ख्वाएर सती जान्छु भनी कबुल गर्न लगाई कसैले सती पठाएको फेला परेमा त्यस्तालाई ऐनबमोजिम सजाय गरी विधवाको भागको सम्पत्तिबाट वञ्चित राख्ने व्यवस्था गरिएको थियो (हेर्नुस् दफा २०)। चन्द्रशमशेरले पनि त्यस्ता व्यक्तिलाई विधवाको सम्पत्ति नदिइने व्यवस्था गर्ने गरी मुलुकी ऐनको ‘ज्यानसम्बन्धीको’ महलमा संशोधन गरेका थिए (रेग्मी रिसर्च सिरिज २ (७), सन् १९७०, पृ. १५२–५३)।

‘झोला’मा सम्पत्ति हत्याउने उद्देश्य राखेर बालककी आमालाई आफन्तले सती पठाएको संकेत पाइँदैन। फगत परम्परालाई निरन्तरता दिन उनलाई सती पठाइएको छ। तात्कालीन परिवेशसँग ठ्याम्मै नमिल्ने विवरण धरावासीले किन लेखे ?

०००

‘झोला’मा सती पठाउने प्रक्रियाबारे पनि चर्चा गरिएको छ। बालकका बाबुको शव र आमालाई जलाउन भनेर खोलाको किनारस्थित घाट लैजाने क्रममा बाटोमा रहेको देवीथानमा शव बिसाइन्छ। त्यसपछि आमालाई देवीथानवरिपरि एकपटक घुम्न लगाइन्छ। शरीरका गरगहना फुकाई कपालमा तेलको धारो खन्याएर नांगै बनाई घाटतिर लगिन्छ। घाट पु¥याएपछि बाहुनले सतीविधि सम्पन्न गरेर आमालाई श्रीमान्को चिताको एउटा कुनामा पलेँटी कस्न लगाई आँखा चिम्लिएर हात जोर्न लगाउँछन् र शवको टाउको काखमा राख्न लगाई दागबत्ती दिन लगाउँछन् (पृ. २४)।

श्रीमान्को टाउको काखमा लिएर श्रीमती सती जाने गर्थे भन्ने कुरा साँचो हो। जंगबहादुरको मृत्युपछि उनकी जेठी महारानी हिरण्यगर्भदेवी पनि श्रीमान्को टाउको काखमा राखेर जलेकी थिइन् (पुरुषोत्तमशमशेर जबरा, श्री ३ हरूको तथ्य वृत्तान्त– भाग १, २०७२, पृ. २४५)। तर, सतीलाई बीच बाटोमा नंग्याएर लगिन्थ्यो भन्ने विवरणचाहिँ गलत छ।

नेपालमा सती कसरी पठाइन्थ्यो भन्ने विस्तृतमा उल्लेख भएको सामग्री प्रकाशमा आएको छैन। सहगमनविधिबारे उल्लेख भएका सामग्री राष्ट्रिय अभिलेखालयमा छन्, जुन प्रकाशित भएकै छैनन्। परन्तु भारतमा प्रकाशित ग्रन्थहरूमा चाहिँ यसबारे उल्लेख छ। उदाहरणका लागि बंगालमा लेखिएको ग्रन्थ ‘शुद्धितत्व’लाई लिन सकिन्छ। शुद्धितत्वमा बताइएबमोजिम नै नेपालमा पनि सती पठाइन्थ्यो भन्ने अनुमान गर्न सकिन्छ।

शुद्धितत्वका अनुसार सर्वप्रथम विधवालाई स्नान गराएर सेतो वस्त्र धारण गराइन्थ्यो। त्यसपछि हातमा कुश लिएर, पूर्व अथवा उत्तर मुख गरी आचमन गराइन्थ्यो। ब्राह्मणले ‘ओम् तत्सत्’ उच्चारण गरेपछि विधवालाई भगवान् विष्णुको स्मरण गर्न लगाउँदै महिना, पक्ष र तिथि उच्चारण गर्न तथा संकल्प गर्न लगाइन्थ्यो। त्यसपछि विधवालाई आठै दिक्पाल र सूर्यचन्द्रादीको आह्वान गर्न लगाई आगोलाई तीन फन्को मार्न लगाइन्थ्यो। त्यसपछि ब्राह्मणले वेद र पुराणको एक–एकवटा मन्त्र उच्चारण गर्थे। त्यसलगत्तै विधवालाई ‘नमो नमः’ उच्चारण गर्न लगाउँदै चितामा चढाइन्थ्यो। महाराष्ट्रमा लेखिएका ग्रन्थ निर्णयसिन्धु र धर्मसिन्धुमा वर्णित सती जाने विधि योभन्दा केही भिन्न छ

(पाण्डुरंग वामन काणे, धर्मशास्त्र का इतिहास (प्रथम भाग), सन् १९९२, पृ. ३५२)। सती पठाउने विधिबारे यस्तो उल्लेख हुँदाहुँदै धरावासीले बालककी आमालाई बीच बाटोमै किन नंग्याए ?

०००

सतीप्रथाको विरोध गर्ने क्रममा एकजना महिला पात्रलाई माध्यम बनाएर धरावासीले लेखेका छन्, ‘हामी आइमाईहरू खालि लोग्नेमान्छेका लागि मात्रै हुनुपर्ने ? लोग्नेले छोड्दा छोडिने, परचक्रीले जबरजस्ती हाम्रो इच्छाविरुद्ध घिसारेर लग्यो, हात समात्यो भने अर्काले छोएकी भएर आफ्ना लोग्नेबाट त्यागिनुपर्ने ? ’ (पृ. २५)

राणाकालमा परचक्रीले जबरजस्ती घिसारेर लगेमा अथवा छोएमा लोग्नेबाट त्यागिने अवस्था थिएन। जंगबहादुरको पालामा जारी भएको मुलुकी ऐनको ‘आशय करणी’सम्बन्धी महलमा स्वास्नी मानिसलाई कसैले करणीको आशयले हातपात ग¥यो र हातपातबाट बचेर स्वास्नीमानिसले उसैबखत यसबारे जाहेर गरी भने त्यस्ता स्वास्नीमानिसलाई जातपतित नगर्नु, पतिया गरेर प्रायश्चित्त गर्न लगाउनु भनिएको छ (दफा २)।

०००

कथा अघि बढ्दै जाँदा बालककी आमा कसैलाई पत्तै नदिईकन चिताबाट उम्किएर भागेको कुरा खुल्छ। छोरासँग भेट भएपछि उनले चितामा आफूलाई चढाइँदा साँझ परेकाले त्यसको फाइदा उठाउँदै आफू भागेको स्मरण गर्छिन्। भन्छिन्, ‘आगोले, धुवाँले पोल्न थालेपछि आत्तिएर पानीमा फालहानेँ। पानीले अलि तलसम्म बगाएर लग्यो। पौडिएर किनारमा निस्केँ। अँध्यारो भइसकेको थियो, माथि बगरमा मलामीहरू चिता घोचिरहेका थिए... पर बगरमा मलामीहरू नदेखुन्जेल त तिनीहरूले नदेखी भागेर बाँच्न पाएको खुसी... थियो... अनि रातभरि एउटा रूखमा चढेर बसेँ। बिहान उत्रेर सुरक्षित ठाउँको खोजी गर्दै यही ओडारमा आइपुगेँ।’ (पृ. ३०)

ओढारबाटै बालक र उनकी आमाले अर्को एकजना मानिसको शवसँगै तिनकी श्रीमतीलाई सती पठाउन घाटतिर ल्याइरहेको देख्छन्। ती विधवालाई चितामा चढाएर आगो झोसिन्छ। आगोले पोलेर असह्य भएपछि उनी भाग्छिन्। उनलाई मलामीले लखेट्दै ढुंगा हानेर अचेत बनाएर पुनः चितामा हाल्छन् (पृ. ३६)।

माथिका दुई प्रसंगले धरावासीलाई नेपालमा अभ्यास हुने सतीप्रथाबारे अति सामान्य ज्ञानसमेत रहेनछ भन्ने देखिन्छ। आफूले ठ्याम्मै नबुझेको विषयमा कलम चलाउने उनको आत्मविश्वासलाई चाहिँ सम्मान गर्नैपर्छ।

सती बन्नबाट डराएर भाग्ने महिलाका लागि मल्लकाल बढी अनुदार थियो। त्यस्ता महिलालाई जात र कुलबाट च्यूत गरी च्यामखल (तल्लो तहको अछूत) बनाउने नियम त्यति बेला थियो (गोविन्द मास्के, सोसल लाइफ इन नेपाल, सन् १९९६, पृ. ६६)। चिताबाट उम्केका महिलालाई जोरजुलुम गर्ने चलन पनि थियो।

परन्तु कथाले समेटेको समय अर्थात् राणाकालमा चिताबाट उम्किएका महिलालाई जबरजस्ती पुनः चितामा हाल्नु दण्डनीय मानिन्थ्यो। जंगबहादुरको पालामा जारी मुलुकी ऐनको ‘सती जान्याको’सम्बन्धी महलमा चितामा चढेर आगो लगाएपछि भाग्ने विधवालाई लाठी र ढुंगाले नहानी, जबरजस्ती नगरी, नसमाती, उसको राय बुझी, सती जान नचाहे उन्मुक्ति दिनु भनिएको थियो। विधवाले सती जान आफू इच्छुक रहेको बताए साक्षी राखी मुचुल्का लेखाएर पुनः चितामा चढाउनु भनिएको थियो। साक्षी र मुचुल्काबिना विधवालाई पुनः चितामा होमियो भने आगो लगाउनेलाई दण्डित गर्ने व्यवस्था त्यति बेला थियो। चिताबाट उम्किएका महिलाले पानीको मात्रै पतिया पाउने, भातको चाहिँ नपाउने व्यवस्था गरिएको थियो (हेर्नुस् दफा १५)।

०००

सतीप्रथाजस्तो अमानवीय चलनमा रोक लगाउने चन्द्रशमशेरप्रति भावुक भएर लेखकले घरको बैठक कोठामा पृथ्वीनारायण, त्रिभुवन, महेन्द्र र विश्वेश्वर कोइरालाको बीचमा चन्द्रशमशेरको फ्रेम गरेको फोटो झुन्ड्याएको उल्लेख गरेका छन् (पृ. ४०–४२)।

लेखकले चन्द्रशमशेरको कामबाट प्रभावित भएर उनलाई पृथ्वीनारायणजस्ता नायकको पङ्क्तिमा राख्ने जमर्को गरेबाट सतीप्रथा उन्मूलन गर्ने पात्रप्रति उनी भावुक रहेछन् भन्ने देखाउँछ। परन्तु सतीप्रथाको विरोध गर्ने सन्दर्भमा लेखिएको कथामा पृथ्वीनारायणसँगै सतीप्रथा उन्मूलन गर्ने पात्रको फोटो राखिनु अलिक अमिल्दो छ।

हुन त बाबु नरभूपालको मृत्युपछि पृथ्वीनारायणले सन्तानहीन जेठी आमा चन्द्रप्रभालाई सती जानबाट रोकेको प्रसंगलाई बाबुराम आचार्यले पृथ्वीनारायणमा निहित सतीप्रथा निरुत्साहित गर्ने भावनाका रूपमा व्याख्या गरेका छन्। तर, आचार्यको यस्तो विश्लेषण तथ्यबाट नभई पृथ्वीनारायणप्रतिको उनको अतिशय भावुकताबाट अभिप्रेरित छ। राज्य निर्माणका सन्दर्भमा पृथ्वीनारायणको योगदानको कदर गर्नु वाञ्छनीय छ। तर, सतीप्रथा निरुत्साहित गर्ने दिशामा उनले कुनै कदम चालेका थिएनन्। पृथ्वीनारायणको मृत्यु हुँदा नौजना महिला सती गएका थिए (धनवज्र वज्राचार्य, पण्डित सुन्दरानन्दविरचित त्रिरत्न–सौन्दर्य–गाथा, २०१९, पृ. ३८)। अतः कथाको अन्त्यमा पृथ्वीनारायणको तस्बिर उल्लेख हुनु गलत नभए पनि सतीप्रथाको सन्दर्भमा केही अनुपयुक्तचाहिँ छ।

०००

अन्त्यमा, धरावासीबाट बढी अपेक्षा गर्न नमिले पनि उनले ‘झोला’ लेख्नुअघि कम्तीमा जंगबहादुरले जारी गराएको मुलुकी ऐनको ‘सती जान्याको’सम्बन्धी महल मात्रै पढेको भए हुन्थ्यो भन्ने कामनाचाहिँ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.