विदेश मनस्थिति त्यागौं

विदेश मनस्थिति त्यागौं

नेपाल बन्न सकेन भनेर बहस गरेको धेरै भयो, तर नेपाल बन्न नसक्नुको कारणबारेमा गम्भीर बहस भएको छैन। नेपाल नबन्नुका धेरै कारण छन्। त्योमध्ये प्रमुख कारण नेपालीको विदेशसँगको मोह पनि हो। देशवासीको देशमा मन नै नभएपछि देश बन्दैन। विदेशसँग सम्बन्धित यस्ता केही कारण छन्, जसले हामीलाई दिनप्रतिदिन दिशाहीन बनाइरहेको छ।

विदेशीको मुख ताक्नु : नेपालको राजनीतिक नेतृत्व र विकासविद्सँग सधैं एउटा भ्रम रहने गरेको छ। त्यो हो, नेपाल बाहिरी मुलुकको सहयोगले मात्र बन्छ। त्यसैले त नयाँ सरकार बन्नासाथ हरेक सरकार विदेशी सहयोग भित्र्याउने दौडधूप गर्छन्। जति धेरै वैदेशिक सहयोग भित्र्याउन सक्यो उति नै आफ्नो सरकारलाई वैदेशिक समर्थन रहेको पुष्टि गर्न सकिन्छ। विदेशीको पैसा नै पैसा भएपछि देश पनि रातारात तिनीहरूकै देशजस्तो बन्छ भन्ने सरकारलाई लागेको हुन्छ। तर भ्रम नहोस्, विदेशीले हाम्रो देश कहिल्यै बनाउँदैनन्। संसारमा कुनै पनि देशले अरूको देश बनाएको उदाहरण छैन। विदेशीको मुख ताक्नु भनेको हामी अरूप्रति पराश्रित हुनु मात्र हो। देश बनाउने अभियानलाई झन्झन् पर धकेल्नु हो।

विदेश जाने मोह र पलायन : अहिले नेपालका अधिकांश युवा विदेश जाने दौडमा छन्। विदेश जाने मात्र होइन, गएर सम्भव भएसम्म उतै पलायन हुने मनसाय देखिन्छ र अधिकांश विगतमा विदेश गएका पलायन पनि भइरहेका छन्। सक्नेहरू विद्यार्थी भिसामा गएर उतै पलायन भएका छन् भने विद्यार्थीको भिसा नपाउनेहरू व्यापार व्यवसाय, पर्यटक वा मजदुर भिसामा विदेश पुगी त्यतै पेसा व्यवसाय गरी बसेका छन्। विदेश अहिले आम नेपालीको सपना बनेको छ। सपना नै उता भएपछि यता देश बनाउने जाँगर कसैलाई छैन।

विदेशसँग देशको तुलना : नेपाल नेपाल नै हो। यो युरोप वा अमेरिका होइन। त्यसैले नेपाललाई नेपालजस्तो नै बनाउनुपर्छ, कुनै युरोप, अमेरिका वा सिंगापुर बनाउनु पर्दैन। नेपाललाई नेपालजस्तै बनाउने भनेको नेपालको विकासको मौलिक मोडालिटी हो। नेपाल बनाउने नेपालीले हो र नेपाली शैलीमै बनाउने हो। अरू देशसँग तुलना नगरी नेपालको मौलिक विकासको मोडालिटी नआएसम्म नेपाल बन्दैन।

विदेश पलायन हुनेको प्रशस्तिमा समयको बर्बादी : नेपालमा रहेको एउटा वर्ग यहाँ देशमा आफू केही गर्नुभन्दा विदेश पुगेर केही नेपालीले प्राप्त गरेको पद र प्रगतिको प्रशस्तिमा मस्त छ। नेपाली मूलका अमेरिकी नागरिक ह्यारीले अमेरिकामा चुनाव जित्दा होस् वा शेष घले, उपेन्द्र महतोहरू विश्वका धनीमा गनिँदा किन नहोस्, कुनै नेपालीले भारतीय रियालिटी शोमा जित्दा होस् वा कुनै नेपालीले विदेशको कुनै युनिभर्सिटी टप गर्दा नेपाली त्यसको प्रशस्तिमा मस्त छन्। आफूले नगरी देश छोडेर हिँडेका प्रवासी नेपालीको प्रशस्तिमा समय बर्बाद गरेर देश बन्दैन।

विदेश जान नसक्नुको हीनताग्रन्थि : एकातिर देशको ठूलो युवा जनशक्ति विदेश पलायन भइरहेको छ भने अर्कोतर्फ विदेश पलायन हुने सपना बोकेको तर आर्थिक, प्राविधिक वा अन्य कारणबाट विदेश छिर्न नसकेको युवा विदेश जान नसक्नुको हीनताबोध पालेर बसिरहेको छ। विदेश मात्र सबै कुरा होइन, विदेशमा मात्र गर्न सकिने होइन, त्योभन्दा बढी यहीं गर्न सकिन्छ भन्ने विचार नेपाली युवामा आउन सकेन। युवा वर्ग मेहनत गर्ने समय हीनताबोधमा बिताइरहेको छ। जसले गर्दा नागरिक मात्र पराश्रित  भएका होइनन्, देश पनि पराश्रित हुँदो छ।

नेपालीले नै नेपाल बनाउनुपर्छ। विदेशीको मुख ताकेर नेपाल बन्दैन। न विदेश जाने सपना बुनेर नै यो देशलाई बनाउन सकिन्छ, न त पासपोर्ट बोकेर विदेश दौडेर नै मातृभूमिप्रतिको दायित्व पूरा हुन्छ।

विदेशी प्रभुत्व : कुनै समयको राजनीतिक उपनिवेशवाद विश्वबाट अन्त्य भए पनि आर्थिक उपनिवेश उदाउँदो अवस्थामा छ। आज सैनिक शक्तिबाट कुनै देशमाथि प्रभुत्व जमाउन नसक्ने भएपछि विश्व अर्थतन्त्रमा आफ्नो प्रभाव छोडेर होस् वा कुनै गरिब मुलुकलाई प्रत्यक्ष आर्थिक सहयोगको नाममा किन नहोस्, कतिपय राष्ट्रले आर्थिक उपनिवेश खडा गरिरहेका छन्। नेपालमा पनि खासगरी पश्चिमा मुलुकको आर्थिक उपनिदवेशवादको प्रभाव बढिरहेको छ। यसले पनि नेपाललाई मौलिक प्रगतिको पथमा जान दिएको छैन। आर्थिक माध्यमबाट देशको राजनीति, सामाजिक अवस्था, मानव अधिकारजस्ता विषयमा विदेशी मुलुक उपदेशक बनिरहेका छन्। उनीहरूले भनेअनुसार नभए नेपाललाई आर्थिक सहयोग बन्द गर्ने परोक्ष सन्देश छोडिरहेका छन्। यसले मुलुक राजनीतिक रूपमा कमजोर र आर्थिक रूपमा गरिब भइरहेको छ।

विदेशी रोजगार : नेपालको ठूलो जनशक्ति रोजगारका लागि बिदेसिएको छ। खाडी मुलुकमा श्रम गरेर देशमा भिœयाएको पैसाले ठूला घर बनाउने योजना युवाको छ भने तिनै अग्ला घर देखाएर देश विकासको दाबी गर्ने सोच राजनीतिक नेतृत्वमा छ। अर्थशास्त्रको सिद्धान्तका सूचकले जेसुकै भनून्, देश बनाउने हो भने देशको माटोमा पसिना बगाउनुपर्छ। डलर होइन, नेपाली रुपैयाँ कमाउनुपर्छ। खाडी मुलुकका मालिकका ठूला कलकारखानामा मजदुरी गर्ने होइन, आफ्नै देशमा क्षमताअनुसारका घरेलु उद्योग खोली सञ्चालन गर्नुपर्छ र सक्षम भएपछि विस्तारै ठूला उद्योग खोल्नुपर्छ। अनि मात्र देश बन्छ।

अस्पष्ट विदेश नीति : नेपालको विदेश नीति स्पष्ट छैन। परराष्ट्र सम्बन्ध नीतिगत रूपमा आधारित नभएर क्रियाकलापका आधारमा अगाडि बढिरहेको छ। नेपालको विदेश नीति भनेकै भारतलाई रिझाउने, चीनमा भेटघाट गर्ने र पश्चिमा मुलुकतिरबाट अनुदान भिœयाउनेमा सीमित छ। यो नीति होइन, गतिविधि मात्र हो। यस्तो गतिविधि नीतिमा आधारित नभएर भैपरीमा आधारित छ। जुन बेला अगाडि जे परिआउँछ, त्यही गर्ने काम भइरहेको छ। हरेक सरकारले भारतनिकट हुनु वा त्यहाँको शासकलाई रिझाउनुलाई विदेश सम्बन्धमा ठूलो सफलता मान्ने गरेका छन्। भारतबाहेक विश्वका अन्य मुलुक पनि नेपालको सच्चा मित्र हुन सक्छन् र भारतसँग निश्चित दूरी राखेर पनि राम्रो परराष्ट्र नीति हुन सक्छ भन्ने विश्वास कुनै पनि राजनीतिक दलमा छैन। फलस्वरूप नेपाल भारतको चेपुवामा पर्दै आएको छ। विश्वव्यापीकरणको आजको जमानामा कुनै पनि मुलुक वा त्यो मुलुकका नागरिक विदेशी मुलुकसँग सम्बन्ध कायम नगरिरहन सक्तैनन्, तर त्यो सम्बन्धको दूरी भने स्पष्ट हुनुपर्छ। नेपालको समग्र परराष्ट्र नीति के हुने, कुन मुलुकसँग कति समदूरी कायम गर्ने, कस्तोमा अडान कायम राख्ने र कस्तोमा लचिलो हुने भन्ने नीति स्पष्ट भएन। यहाँ त दलैपिच्छेको फरक नीति मात्र होइन, एउटै दलका नेताबीच पनि एकै नीति छैन।

अतः भ्रमबाट मुक्त होऔं– नेपाल निर्माणको कदम चालौं। नेपालीले नै नेपाल बनाउनुपर्छ। विदेशीको मुख ताकेर नेपाल बन्दैन। न विदेश जाने सपना बुनेर नै यो देशलाई बनाउन सकिन्छ, न त पासपोर्ट बोकेर विदेश दौडेर नै मातृभूमिप्रतिको दायित्व पूरा हुन्छ। सक्षम नभएसम्म यही देशमा बस्ने जब खुट्टा लाग्छ, सक्षम भइन्छ तब विदेश पलायन हुनु भनेको त मातृभूमिप्रतिको दायित्व बिर्सनु हो। विदेश सपना बोकेर समयको बर्बादी नगरौं। विदेश जान नसक्नु हो हीनताग्रन्थि र विदेश जानुको उच्चताग्रन्थि दुवै त्यागौं। देशमै बसौं, देश बनाऔं, मातृभूमिप्रतिको दायित्व पूरा गरौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.