सार्वजनिक सवारी यात्रामा जात्रैजात्रा
सार्वजनिक सवारीको यात्रा के गाउँ, के सहर कतै पनि सहज छैन। बढी यात्रु कोचेर हिँड्ने गाडीधनीलाई बेलाबखत कारबाही भयो भन्ने सुनिए पनि त्यसले निरन्तरता पाएको छैन। सहरी क्षेत्रमा बढी मात्रामा गाडी गुड्ने भएकाले लाजैका कारण भए पनि गाडीधनीले छतमा यात्रु चढाउँदैनन् तर गाउँघरमा अवस्था ठीक उल्टो छ। गाउँघरतिर गाडी सहरमा भन्दा कम गुड्छन्। त्यसो भएकैले गाडीधनीले गाडीभित्र र छतमा बरोबर मानिस खाँदेर राखेका हुन्छन्। यस्तोमा मर्का पर्ने यात्रीलाई हो।
भीडभाडमा नचढौं त अर्को गाडी आउन घन्टौं लाग्न सक्छ। जाऊँ भने ज्यानकै च्याँखे थाप्नुपर्ने। यस्तै बाध्यताका बीचमा गएको मंसिर २८ गते नुवाकोटको सिपिकुका २० जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाउनुपर्यो। शोकाकूल गाउँलेका अनुसार साँघुरो र कच्ची बाटो भएकाले बसभन्दा मिनिट्रकको यात्रा उनीहरूको बाध्यता हो। त्यसअघि मंसिर पहिलो साता डडेलधुरा अमरगढीमा मेला भरेर आएको बस दुर्घटनामा १६ यात्रुको ज्यान गयो। मेलामा आसपासका थुप्रै जिल्लाबाट पनि मानिस गएका थिए।
अघिपछि त आफ्ना गाडीमा मान्छे खाँदेर हिँड्ने बसलाई मेलामा त यात्रुको लोटरी पर्ने नै भयो। नियम मिचेर बसमा मान्छे कोचियो। प्रहरीका अनुसार क्षमताभन्दा बढी यात्रु भएपछि अन्ततः बस दुर्घटना हुन पुग्यो। अझ चाडबाडका बेला सवारी दुर्घटनाको दर कहालीलाग्दो गरी बढ्छ। चाडबाडका बेला गाउँघरतिरको यात्राको पीडा झनै बताइसाध्य छैन। ग्रामीण भेगमा न गाडी धेरै गुड्छन्, न यताका गाडीधनीलाई नियम कानुनको डर लाग्छ न त सम्बन्धित निकायले यसको निगरानी नै गर्छ।
सबै निकायबाट असल काम सुरु गर्ने हो भने पक्कै पनि सडक दुर्घटनामा कमी आउनेछ।
केही समयअघिको प्रसंग यहाँ जोड्न मन लाग्यो- भीडभाडयुक्त गाडीमा यात्रा गर्दा झन्डै कालको मुखमा परेनन् पाल्पा निस्दीका बेलबहादुर विश्वकर्मा। लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा लामो शल्यक्रियापश्चात् बेलबहादुर जनरल वार्डमा भेटिए। असोज महिनाको अन्तिम साता घर सरसफाइ गर्ने क्रममा मेरा ठूला दाजु कौसीबाट चिप्लिएर तल आँगनमा बजारिन पुगेको खबरले म त्यहाँ पुगेकी थिएँ। अर्थोपेडिक विभागको बेड नं ४३१ मेरा दाजु हुनुहुन्थ्यो भने आडैको अर्को बेडमा बेलबहादुर। उहाँको त्यो अवस्था आइलाग्नुको कारण थियो सार्वजनिक सवारीको यात्रा। जिप दुर्घटनामा परेपछि उनी बाबुको श्राद्ध गर्नबाट पनि वञ्चित भएछन्।
दाजु डिस्चार्ज हुने दिन उनी बेडमा पल्टेर एकोहोरिए। बेलबहादुर त एक प्रतिनिधि पात्र हुन्। यहाँ बढी कमाउने लालच राखेर गाडी हाँक्नेहरूले नै अनाहकमा धेरै यात्रु बेलबहादुर हुन पुगेका छन्। गएको दसैंमा मात्र घटस्थापनादेखि एकादशीसम्मको अवधिमा देशभर २१६ सवारी दुर्घटना भएका छन्, जसमा ३८ जनाले ज्यान गुमाए। सवारी दुर्घटनामा यतिविघ्न तीव्रता आउँदा पनि यसलाई नियन्त्रण गर्नेतर्फ सम्बन्धित निकायले ध्यान पुर्याएजस्तो देखिँदैन।
हाम्रा सडकको अवस्था नाजुक भएको जान्दाजान्दै पनि सरोकारवाला सबै पक्ष गम्भीर नबन्नु चिन्ताको विषय हो। मोनोरेलको सपना एकातिर छ, सर्वसाधारण जनताका लागि कन्डिसनयुक्त बस पनि नहुनु अर्को यथार्थ यहीं छ। जनताको मत लिएर ठूला ओहोदामा पुगेकाहरूले आफ्नै मतदाताका अहोरात्रका दुःख अन्देखा गर्नु नेपालको नियति नै बनिसक्यो। हुन त पाँच रुपैयाँको कलमले लेखेका यी हरफ ठूला सपना देखाउनेले सायदै पढ्लान् ! तैपनि नागरिकका गुहार माथिसम्म पुगेछन् भने यात्रुको सुरक्षालाई सर्वोपरि ठानेर निरन्तर निगरानी बढाउन र नियम कानुन मिच्ने सबैलाई कारबाहीको दायरामा ल्याउनु जरुरी देखिन्छ।
चालकको लापरबाही, बाटोको नाजुक अवस्था र पुराना कन्डिसनविनाका गाडी। सडक अनुशासन कायम गर्न यी तीनवटै पक्षा हटाउनैपर्छ। लापरबाही गर्ने चालकलाई कडा सजाय, बाटोको अवस्थामा सुधार अनि थोत्रा गाडीलाई विस्थापन गरी सर्वसाधारणको जीवनलाई पनि ठूला पदमा बस्नेलाई झैं महत्व दिएर सबै निकायबाट असल काम सुरु गर्ने हो भने पक्कै पनि सडक दुर्घटनामा कमी आउनेछ भने कसैले पनि अनाहकमा अमूल्य जीवन गुमाउनुपर्ने छैन।