आभामोह

आभामोह

हिजो राति जी सिनेमामा भूतको फिल्म हेरेको। पिसाबले च्याप्दाच्याप्दै पनि डरले ट्वाइलेट जान सकिएन। बिहानै ६ बजे घडीको अलार्म बज्नुअघि मूत्रथैलीको अलार्मले निद्रा खुल्यो। छिटोछिटो एउटा आँखा पनि आधा मात्र खोलेर ट्वाइलेट गएँ। आएर अलार्म बन्द गरेर, ब्ल्यांकेट तानेर पल्टेको, फेरि भुसुक्कै भएछु।

‘छोरा उठ, स्कुल जान ढिला भइसक्यो’, मम्मीले उठाउँदा पो झसंग भएँ। ७ः३० बजेदेखि त कक्षा नै छ, ७ बजिसकेछ। हाम्रो स्कुलमा एसएलसीका लागि ९ र १० कक्षामा ‘डे बोडर्स’ राख्छन्। आत्तिएर उठेँ। मुख धुँदै चिया बोकेर कोठामा कुदेँ। बिस्कुट चियामा चोप्दै छिट्टोछिटो लुगा लगाउन थालेँ। आइतबारबाट परीक्षा छ, परीक्षा सकेपछि दसैं बिदा। घरिघरि भित्तेपात्रोमा आँखा पुग्थ्यो। मनले बिदाका बाँकी दिनहरूको हिसाब गथ्यो।

‘विश्वास, ओइ विश्वास, छिट्टो आइज’, तलबाट आकाशले बोलायो।

‘एकैछिन है, आएँ’, हतारिँदै लुगा लगाउँदै किताबहरू ब्यागमा हाल्दै थिएँ।

‘मम्मी, मम्मी टाई बनाइदिनुस् न’, मम्मीलाई सहयोगका लागि बोलाएँ। मम्मी, माथि पूजा गर्दै हुनुहुन्थ्यो। तल आकाश आकाशै खस्लाजस्तो गरी बोलाउँदै थियो।

नबोलाएर पनि के गरोस्, समयमै स्कुल पुगिएन भने भित्र छिर्न पाइँदैनथ्यो, अर्को दिन अभिभावकको हस्ताक्षरसहित जानुपथ्र्यो। देशमा जस्तै स्कुलमा पनि पूरै आर्मी शासनझैं कडा नियम थियो। म टाई खल्तीमै हालेर, एउटा हातले ब्याग बोकी हिँडेँ। हिजो फर्किंदा, ब्यागको एकापट्टि चुँटिएको थियो। सिलाउनै भ्याइएन। भ्याउनु पनि कति बेला। क्लास साँझ ७ बजेसम्म हुन्छ, घर पुग्दा ७ः३० भइसक्छ।

‘आकाश, यो टाई बनाइदे त !’ आकाशलाई टाई फाल्दै अनुरोधात्मक आदेश दिएँ। आकाश र मेरो घर नजिकै छ।

‘बेन्च रिजर्भ गर्न भनिस् ? ’

‘हिजै वसिमलाई भनेको छु’, उसले टाई बनाउँदै भन्यो।

हामी घरबाट अलि परको सरस्वती मन्दिर पुग्यौं।

‘आज पनि भाउजूलाई कुर्नपर्ने त होला नि’, आकाशले मतिर हेर्दै व्यंग्य गर्‍यो। म, सधैं यो मन्दिरनजिक पुगेपछि आभालाई कुर्ने गर्छु। आभा, हाम्रो क्लासको ‘फस्र्ट गर्ल’ हो।

खैरो फ्रक, सेतो सर्ट, छड्के धर्के नीलो टाई, सेतो रिबन। आभा आज झन् राम्री देखिएकी थिई। हातमा मैले फ्रेन्डसिप डेमा दिएको ब्यान्ड थियो अनि त्यही हातले रातो छाता ओडेर अर्धचन्द्रझैं मुस्कुराउँदै, आभा आई। थाहा छैन, उसलाई देखेपछि के हुन्छ, मनमा एउटा छुट्टै हलचल आउँछ। डर लाग्छ। उत्साह जाग्छ। उमंग छाउँछ। सबै कुरा भुल्छु।

‘आकाश छाता छ ? ’ सिमसिम पानी पर्दै थियो।

‘छ’

‘त्यसो भए तँ त्यो छाता ओढ्, म आभाको छाता ओढ्छु’, म आभा भएतिर दौडिएँ।

‘साले, पख् तँलाई’ आकाश पछिपछि आयो।

‘आभा, के छ ?       लिफ्ट दिन्छौ ? ’

आभा मुस्कुराई। ऊ प्रायः जवाफ दिन्नथी। मुस्कान बोल्थे। मलाई आभाले माया गर्छे। यसमा म ढुक्क छु। तर, यी मुस्कानसँग भने कताकता शंका लाग्छ।

त्यति बेलै उताबाट बाबा तरकारी किनेर आउँदै गरेको देखेँ। त्यसपछि मेरो सातो उड्यो। र भनेँ, ‘आभा, तिमी जाँदै गर, म तल चोकमा भेट्छु है।’

मेरो सात्तोपुत्लो उडेको देखेर, ऊ हाँस्न थाली।

म आकाशको छाता ओढ्न गएँ। ‘साले, आखिर मै चाहियो होइन’, आकाशले पनि हाँस्दै भन्यो।

मलाई बाबासँग खुब डर लाग्छ। फेरि, मेरो र आभाको बारेमा कसले घरमा हल्ला लगाइदिइसकेछ। अस्ति मम्मीले पढाइ बिग्रेला भनेर सम्झाउँदै हुनुहुन्थ्यो। हामी कुदेर अलि पर चोकमा पुगेर आभालाई कुर्‍यौं। त्यसपछि, आभा अनि म क्लासको कुरा गर्दै गयौं। आकाश भने सधैंझैं ठुस्स परेर लुसुलुसु हिँड्दै थियो।

०००

हामी स्कुल पुग्यौं। आभा, पहिलो लाइनको बेन्चमा बसी। म उसको ठ्याक्क पछाडि दोस्रो लाइनको बेन्चमा बसेँ। म यही बेन्चमा अरू नबसोस् भनेर वसिमलाई सिट ओगट्न अनुरोध गर्थें। मैले साइन्सको गृहकार्य गर्न थालेँ। मैले हिजो फिल्म हेरेकोले गृहकार्य गर्न भ्याएको थिइनँ। आज गृहकार्य बुझाउने अन्तिम दिन थियो। एकैछिनमा गणित पढाउने रमेश सर आउनुभयो। आज अतिरिक्त कक्षामा, गणित अनि अंग्रेजीको पालो थियो।

‘कति नम्बरसम्म गर्‍यौ ? ’ सरले सोध्नुभयो।

‘२८ नम्बरसम्मको हिसाब मिल्यो, २९ नम्बरको आएन सर’, गौरव सधैंझैं पहिल्यै बोल्यो।

मैले ७ नम्बरसम्म मात्र गर्न भ्याएको थिएँ। गौरवकी दिदी, हाम्रै स्कुलमा पढेको सिनियर हुनुहुन्थ्यो। उसले सधैं दिदीकै पुरानो कापी हेरेर सधैं हामीभन्दा अगाडि हिसाब सक्थ्यो। हामी साथीहरू भने जिल्लिन्थ्यौं। सरले २९ नम्बरपछि दुईतीनवटा प्रश्न गरिदिनुभयो।

‘भ्यालेन्टाइन्स डे’मा आभालाई प्रपोज गर्ने कल्पिँदै थिएँ। बत्ती गयो। र इमर्जेन्सी लाइट बालेँ। म त त्यत्तिकै निदाएछु। सपनामा आभा काजोल बनेर आई।

गणितपछि सुरु भयो, अंग्रेजीको कक्षा। यो कक्षामा एउटा बडो गज्जबको नियम थियो। हुन त अंग्रेजी कक्षाको मात्र होइन, स्कुलकै नै नियम थियो यो। स्कुल कम्पाउन्डमा अंग्रेजी बोल्नुपथ्र्यो। नेपाली बोले प्रतिशब्द २० रुपैयाँ जरिवाना तिर्नुपर्ने भनिन्थ्यो। व्यवहारमै पैसा तिर्नु परेको त याद थिएन। तर नेपाली बोले गाली भने खाइन्थ्यो। हेड सरले, केही दिनअघि एक जना ९ कक्षाको भाइलाई स्कुलको चौरमा लट्ठीले पिटेको घटनाले पनि स्कुल अलि आत्तिएको थियो। अझै पनि, यो नियम हामीमा लागू भएको भने थिएन। हामी सानो स्वरमा नेपालीमै गफ गथ्र्याैैं।

‘तैंले हिजो रेस्लिङ हेरिस्, अन्डरटेकरलाई मार्दियो नि !’ वसिमले नजिकै आएर सोध्यो।

‘हेडसर !’ कक्षा नियाल्दै हातमा पत्रिका बोकेको हेडसरलाई लक्ष्य गर्दै मैले इशारा गरेँ। एक्कासि क्लास शान्त भयो। अंग्रेजी सर, ‘शान्त क्लासलाई किप क्वाइट’ भनेर शान्त आफूले गराएकोमा आफैं सन्तुष्ट हुन खोज्दै हुनुहुन्थ्यो।

जाम, पाउरोटी अन्डा अनि चियासहितको नास्तापछि म क्लासमै आएर साइन्सको ‘प्राक्टिकल’को चित्र बनाउन थालेँ। साथीहरू पनि आए। ९ः४५ मा एसेम्ब्ली थियो। म कक्षामै थिएँ।

‘विश्वास तिमी किन कक्षामा ? ’ आरती मिसले सोध्नुभयो।

‘अलि सन्चो नभएर मिस’, अलि बिरामी अनुहार लगाएर भनेँ।

‘एकैछिन हो, केही हुँदैन, आऊ !’ सायद मिसलाई मैले ढाँटेको थाहा भयो।

म मन नलागी नलागी उठेँ।

आज शुक्रबार नङ हेर्ने दिन। मैले औंलाहरू यसो हेरेँ। नङहरू अलि लामालामा रहेछन्। मैले दाँतले नङ टोक्न थालेँ। लामो नङ हुनेलाई एसेम्ब्लीपछि एकछिन उभ्याएर स्कुलमै नङ काट्न लगाइन्थ्यो। त्यो बेज्जत कसले खेपोस् ?

हेडसरले एसेम्ब्ली गराउन, लाइनबाट एक जनालाई हरेक दिन बोलाउनुहुन्थ्यो। म देब्रेबाट तेस्रो लाइनको अन्तिममा उभिएको थिएँ। आज कताकता मलाई बोलाउनुहुन्छ कि जस्तो लागेको थियो। म अगाडिको साथीको शरीरले छेकिँदै, हेडसरको नजरबाट बच्न कबड्डी खेल्दै थिएँ। ‘सुजन, प्लिज कन्डक्ट द एसेम्ब्ली’, सुजन फस्यो।

मैले लामो सास फेरेँ। मलाई सबैभन्दा अल्छी लाग्ने काम नै त थियो, एसेम्ब्ली। राष्ट्रिय गान गाउने पालो आयो। ‘ श्रीमान् गम्भीर नेपाली, प्रचण्ड प्रतापी भूपति’ भन्दै मुख मात्रै हल्लाउन लयमा लय मिलाएजस्तो गर्न थालेँ। सबैले मुख मात्रै हल्लाए जस्तो लाग्थ्यो। तर आवाज कहाँबाट आउँथ्यो थाहा छैन।

०००

हरेक दिन एकजनाले ब्ल्याक बोर्डमा गएर मिति अनि चर्चित भनाइ लेख्नुपथ्र्यो। आज मेरो पालो थियो। मैले अघिल्लो दिन नै सोचेको थिएँ। ‘मेरो सिकाइको बाधक नै मेरो शिक्षा हो— अल्बर्ट आइन्स्टाइन’ बोर्डको माथि बीचमा लेखेँ। दाहिनेपट्टि माथि २०६२–०५–२४, शुक्रबार लेखेँ।

कक्षामा सामाजिक शिक्षा पढाउने गीताञ्जलि मिस पस्नुभयो। उहाँ नै हाम्रो ‘क्लास टिचर’ हुनुहुन्थ्यो। उहाँ केटाहरूलाई अलि हेप्नुहुन्छ जस्तो लाग्थ्यो। त्यसैले मिसलाई केटाहरूले त्यति मन पराउँदैनथे। म मिस आउनेबित्तिकै, अन्तिम बेन्चमा शरदसँग बस्न गएँ।

‘भाउजूलाई छोडेर हामीकहाँ आइस् त ? ’ शरदले आभालाई इंगित गर्दै भन्यो। साथीहरू मेरोअघि आभालाई भाउजू भन्थे। मलाई खुसी नै लाग्यो। तर सुनेर ऊ रिसाउँछे कि भन्ने डर लाग्थ्यो। मिस पाठ पढाउँदै हुनुहुन्थ्यो।

शरद र म एकैछिन ‘आलुप्लस’ खेलेर बस्यौं। बेलाबेलामा हामी ध्यान दिएको जस्तो पनि गथ्र्यौं। एकछिनमा, बिस्तारै साइन्सको गृहकार्य गर्न थालेँ। क्लास चल्दै थियो। मिस पढाउँदै कहिलेकाहीँ पछाडि आउँदा, म किताबले साइन्स कपी छोपिहाल्थेँ। ध्यान दिएजस्तो गर्थें।

दोस्रो क्लास अंग्रेजीको थियो, सरले बोर्डमा प्रश्न लेखाएर चुप लागेर कुर्सीमा बस्नुहुन्थ्यो। हामी प्रश्न सारेर हल्ला गरेर बस्थ्यौं। आज म भने प्रश्न लेखेर साइन्सको गृहकार्य सक्नमै व्यस्त थिएँ। हाम्रो बेन्चमा वसिमले कम्पासले कोर्न थाल्यो। उसले बेन्चमा लेखेको ‘बी प्लस ए’ पनि बिगार्न थाल्यो।

‘बेन्चमा कोर्छस्, सरलाई भानिदिम् ? ’ उसको हातबाट कम्पास खोसेँ। केही समयअघि साथीहरूले मलाई जिस्क्याउन बेन्चमा ‘विश्वास प्लस आभा’ भनेर लेखेको थिएँ। मेरा लागि यो निकै प्यारो थियो।

‘आभा, आज सँगै घर जाने है’, मैले आभालाई सानो कागजमा सन्देश लेखेर पठाएँ। ऊ सधैंजसो प्राप्तिसँग घर जाने गर्थी। तर आज प्राप्ति आएकी थिइन। उत्तर आएन। एकछिन उत्तर नआउँदा पनि आभा रिसाई कि भन्ने डर लाग्यो। मैले पछाडिबाट पेनले घोचेर उत्तर मागेँ। धन्न, उसले सानो पेपरमा ‘ओके’ लेखी र पठाई। मैले कागजमा ‘१४३’ लेखेर फेरि सानो कागज दिएँ। म ‘आई लभ यू’ भन्न १४३ को प्रयोग गर्थें, त्यो शब्दले जिस्क्याउँथेँ पनि। आभाले ‘के लेखेको बुझिनँ’ भनेर अर्को कागज पठाई। मैले ‘केही होइन’ भनेर अर्को कागज पठाएँ। तर मलाई पूरा विश्वास थियो— आभाले बुझेकी थिई। मैले आभाको कापी मागेर अंग्रेजीको कक्षा कार्य सार्न थालेँ। सार्दासार्दै घन्टी बज्यो। तेस्रो पिरियड नेपालीको थियो— सुरु भई त हाल्यो।

‘सर मिटिङमा हुनुहुन्छ, पाठ पढेर बस्नू रे। एकछिनमा आउनुहुन्छ। हल्ला नगर्नू रे’, पालिनी दिदीले कक्षाबाहिरको झ्यालबाट सुनाउनुभयो। हामीले हुन्छ त भन्यौं। लगत्तै किताब खोलेर हल्ला गर्न थाल्यौं।

‘ओइ, तैंले कार्टिज ल्याइदिस् ? ’ आकाशले मलाई दिएको भिडियो गेमको कार्टिज माग्यो। मैले अघिल्लो हप्ता मात्र नयाँ कम्प्युटर भिडियो गेम किनेको थिएँ। नयाँ भिडियो गेममा मारियो गेम खेल्दाखेल्दा वाक्क लागेर, कन्ट्रा, बेसबललगायत गेम भएको कर्टिज आकाशसँग लगेको थिएँ।

‘भोलि घरमै ल्याइदिम्ला’ हामी गफ गर्दै थियौं।

‘वसिम वसिम’ भन्दै आकाश एक्कासि हाँस्न पो थाल्यो।

के भएको रहेछ भनेर हेरेको वसिमको दाँतभरि मसी लागेको रहेछ। ऊ अघिदेखि फाउन्टेन पेन बनाउँदै थियो। हामी दुवै जोडले हाँस्न थाल्यौं। ऊ सधैं पेन चलाएर, कहिले कापी, कहिले हात मसीले रंग्याइरहन्थ्यो। हिजो, पेन हल्लाउँदा मेरो सेतो सर्टभरि मसी लगाइदिएको थियो। वसिम दाँत छोपेर धारातिर कुद्यो।

‘गुड आफ्टरनुन सर’, हामी सबै उठ्यौं।

‘सट डाउन नेपाली सरले बस्न भन्नुभयो। नेपाली कक्षा नयाँ पाठमै बित्यो। त्यसपछिको स्वास्थ्य तथा जनसंख्याको पनि नयाँ पाठमै बित्यो। घन्टी बज्यो। भोक लागिसकेको थियो। हामी सबै खाना खान गयौं। खाना खाएर मचाहिँ कक्षामा आएर साइन्सको गृहकार्य सक्नतिर लागेँ। हाफ टाइम सकिएको घन्टी बज्यो, विज्ञानको कक्षा सुरु भयो।

सरले सबैको गृहकार्य चेक गरेर कापी उठाउन क्लास क्याप्टेन आकाशलाई भन्नुभयो। उसले कापी उठायो। सरले अघिल्लो हप्ताको साप्ताहिक परीक्षाको उत्तरपुस्तिका ल्याउनुभएको थियो। आभाको २० मा १७ अनि मेरो १८ नम्बर आएछ। वसिमको २० मा १९ नम्बर आएछ। वसिम मलाई अनि म वसिमलाई हेरेर हाँसेको हाँस्यै भयौं। वसिम साप्ताहिक परीक्षामा लास्ट बेन्चमा बसेर सार्न खप्पिस थियो। उसको साप्ताहिक परीक्षामा २० मा १९ आउँथ्यो, त्रैमासिक परीक्षामा १०० मा १९ नि आउँदैनथ्यो। सायद, सरलाई पनि उसको नम्बर कसरी यति आयो थाहा हुनुपर्छ। सर पनि नम्बरभन्दा ठूलो स्वरमा मुस्कुराउँदै हुनुहुन्थ्यो।

कक्षा सकिने बेला हुनै लागेको थियो।

‘सर जाँचमा केके प्रश्न आउँछ ?       चिह्न लगाइदिनुस् न !’ आकाशले प्रश्न गर्‍यो। आइतबारबाट पहिलो त्रैमासिक परीक्षा सुरु हुँदै थियो। सरले पहिलो पाठदेखि महत्वपूर्ण प्रश्नचिह्न लगाउन थाल्नुभयो। चिह्न लगाउँदा लगाउँदै घन्टी बज्यो। दुईतीन मिनेट बढी लिएर पनि चिह्न लगाउने काम सकियो।

आज शुक्रबार अन्तिम तीन पिरियड अतिरिक्त क्रियाकलापको दिन। तर आज छिनमै पानी पर्ने अनि छिनमै रोकिने हुँदै छ। आज अतिरिक्त क्रियाकलाप हुन्छ वा हुँदैन टुंगो लागिसकेको छैन। हामी अन्योलमै थियौं। पानी जोडजोडले पर्न थाल्यो। आधिकारिक जानकारी मौसमले नै दियो।

‘विश्वास, तेरो बोतल दे त’, शरदले पानी माग्यो।

‘जुठो हाल्या छ’ मलाई पानी दिनै लोभ लाग्थ्यो। स्कुलको पानी केमिकलले गर्दा मलाई गन्हाउँथ्यो। फेरि साथीहरू जुठै हालेर खाइदिन्थे। मलाई मन पर्दैनथ्यो।

‘हैन साथीको जुठो चल्छ। जुठो खायो भने माया बढ्छ रे’, शरदले भन्यो।

‘त्यो त हो, माया त बढा, तर पानीमा औषधि पनि हालेको छ। अलि पेट खराब छ, हिजोदेखि’, मैले पानीमा ग्लुकोजको धूलो हालेर लगेको थिएँ, पानी अलि सेतोसेतो बनाएको थिएँ।

‘त्यसो भए त भयो’, शरद बाहिर धारातिरै गयो।

हामी गफमै मस्त थियौं। एकैछिनमा, फेरि विज्ञान पढाउने मुकुल सर आउनुभयो। सरले पढाउन किताब निकाल्न भन्नुभयो।

‘नाइँ, नपढ्ने’, सबै जना चिच्याउन थाले।

‘सर, कथा भन्नू न’, उमेश पछाडिबाट करायो।

‘सर, अन्ताक्षरी खेलौं न’, केटीहरू कराउन थाले। के गर्ने साथीहरूबीच नै विवादित छलफल हुन थाल्यो।

‘ल केटाहरू एउटा साइड अनि केटीहरू अर्को साइड बस, अन्ताक्षरी खेलौं’, मुकुल सर पनि उत्साहित देखिनुभयो।

हामी केटाहरू एउटा साइडमा लाग्यौं। मलाई त्यति गीत गाउन रुचि थिएन। म लास्ट बेन्चमा गएर बसेँ।

‘बैठे बैठे क्या करे, करना है कुछ काम, सुरु करो अन्ताक्षरी लेकर प्रभु का नाम।’

‘म’बाट केटाहरूको पालो आयो।

‘मोहनी लाग्ला है, गाउँलेको, बोलीले... डाँडाकाँडा छहराको गीतले...।’

स्कुल नै थर्कने स्वरमा केटाहरू गाउन थाले।

गीतको एक भाग सकिँदै गर्दा ‘र’बाट केटीहरूको पालो आयो, ‘रेसम फिरिरी रेसम फिरिरी... उडेर जाऊँ कि डाँडामा भञ्ज्याङ... रेसम फिरिरी।’

आभा पनि गीतमै मस्त थिई। बाहिर जोडजोडले पानी पर्न थाल्यो। केटाहरू डेस्क ठोक्दै गाउन थाले। सर पनि थपडी बझाउँदै तालमा ताल मिलाउन थाल्नुभयो। फेरि, ‘र’बाटै आयो। ‘रातो टीका निधारमा टलक्क टल्कियो’ यसपालि भुवनले सुरु गर्‍यो। दुई पिरियड कसरी सकियो, पत्तै भएन।

५ बजिसकेको थियो। ‘आज साँझको अतिरिक्त क्लास हुन्न रे है’, पाले दाइले कक्षाको झ्याल बाहिरैबाट जानकारी दिनुभयो। सबजना खुसी भएर जोड जोडले गीतलाई निरन्तरता दिन थाले। ‘कति बस्छौ माइतीकै कौसीमा हो, माइतीकै कौसीमा, लाग्छ आँखा पाकेको लौसीमा, मैले के गरूँ, तिमी आउँछौ कि अर्को बिहे गरूँ...।’

म पनि उठेर आभातिर हेर्दै गाउन पो थालेछु।

अन्ताक्षरीमा हाम्रो क्लासमा हारजित कहिल्यै भएन। यो खेल आफैंमा हारजितको हुँदै होइन। विशुद्ध मनोरञ्जनको खेल हो। सर निस्कनुभयो। सबै साथी पनि निस्किए। साथीहरूको घरबाट कोही छाता अनि कोही रेनकोट लिएर तल पर्खंदै हुनुहुन्थ्यो। साथीहरू ‘बाई’ गर्दै छुट्टियौं। मैले भने आभासँग इसाराबाट लिफ्ट मागेँ। उसले पनि इशाराबाट हुन्छ भनी। ऊ स्कुलबाट अलि पर गरेर बिस्तारै हिँडेजस्तो गरेर मलाई पर्खंदै थिई। हामी दिनभरिको कुरा सम्झँदै अनि परीक्षाबारे छलफल गर्दै घर फर्कियौं।

छाता सानो थियो, हामी दुईजना। आधा भिजियो। घर आउनेबित्तिकै लुगा फेर्न भ्याएको थिइनँ, आमाले ल्याएर तातो चिया र पाउरोटी राखिदिनुभयो। त्यो खाएँ अनि एकैछिन टीभी हेर्दै थिएँ, बत्ती गई त हाल्यो। ‘इमर्जेन्सी लाइट’ पनि माथि मम्मीसँग थियो। उहाँले खाना पकाउँदै हुनुहुन्थ्यो। म पनि मैनबत्ती बालेर, पर्सि आइतबारको परीक्षाको तयारी गर्न जुटेँ। गणितका हिसाब गर्न लागेँ।

पानी परेकाले होला, बत्ती साढे ७ बजे मात्र आयो। खाना खाइवरी टीभी भएको कोठामा गई बसेँ। अंकलहरू नेपाल टीभीमा शुक्रबार राति आउने नेपाली फिल्म हेर्दै हुनुहुँदो रहेछ। यो हप्ता राजेश हमालको ‘देउता’ फिल्म आउदै रहेछ। म पनि एकछिन बसेँ।

शुक्रबारको एउटा विशेषता छ। भोलिपल्ट शनिबार हो। अलि राहत महसुस हुन्थ्यो। तर, आइतबारदेखि परीक्षा छ। तैपनि बेचैनी भने छँदै थियो। ९ बजेपछि डर लाग्न थाल्यो। उठेर हिँडेँ, आइतबार नेपालीको परीक्षा थियो। त्यो भोलि शनिबार एकछिन हेरे हुन्थ्यो। विज्ञानको सरले दिउँसो चिनो लगाएको पढ्न थालेँ।

साइन्सको किताबभित्र, पोहोर साल आभाले देको ‘दिलवाले दुल्हनियाँ ले जायेंगे’को साहरूख खान अनि काजोलको पोस्टकार्ड देखेँ। आभालाई सम्झिएँ। ‘भ्यालेन्टाइन्स डे’मा आभालाई प्रपोज गर्ने कल्पिँदै थिएँ। फेरि बत्ती गयो। इमर्जेन्सी लाइट बालेँ। पढ्दापढ्दै भुसुक्कै निदाएछु। सपनामा आभा काजोल बनेर आई।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.