अरिंगाल, आम नागरिक र नागरिक अगुवा

अरिंगाल, आम नागरिक र नागरिक अगुवा

‘भ्रष्ट राजनीतिज्ञ निर्वाचित गर्ने जनता पीडित होइनन्, मतियार हुन्’ भन्ने विश्व प्रसिद्ध साहित्यकार जर्ज अर्वेलको भनाइ कडा लाग्ला तर त्यसमा सत्यता छ


पत्नी सीता दाहालको उपचार गर्न प्रचण्ड अमेरिका उडेको दिन सामाजिक सञ्जालमा दुइटा फोटो भएको एउटा सन्देश भाइरल भयो। सो सन्देशमा लेखिएको थियो—सामाजिक सञ्जालमा आज देखिएका यी दुई तस्बिरले बताउने कथा यो युगकै सर्वाधिक शक्तिशाली कथा हो।

तस्बिर १. दुई छाक हातमुख जोर्न नपुगेपछि खाडी मुलुक हिँडेका छोरालाई विमानस्थलमा परसम्म नियाल्दै एक पिता।

तस्बिर २. पहिलो तस्बिरमा देखिएको जस्तै सर्वहारा वर्गको मुक्तिका लागि गरिएको ‘युद्ध’ का प्रमुख पुष्पकमल दाहाल पत्नीको उपचारका लागि अमेरिका जान लाग्दा बिदाइका लागि विमानस्थलमा लामबद्ध कार्यकर्ता।

सन्देशमा प्रयुक्त ‘युग’ शब्द अलि अतिशयोक्तिपूर्ण होला। त्यसको ठाउँमा ‘पुस्ता’ प्रयोग गर्दा अत्युक्ति हुने छैन जसले सामान्यतया २५÷३० वर्षको अवधिलाई इंगित गर्छ। ती तस्बिरले नेपाली समाज र राजनीतिको यति गहिरो विडम्बनालाई चित्रण गरेको थियो कि त्यो विडम्बनाबाट यो समाज मुक्त हुन सकेन भने आउँदो पुस्ताले पनि यो देशको रूपान्तरण देख्न पाउने छैन। हामी टिप्पणीमात्र गरेर बसिरहेका हुनेछौं।

पहिलो तस्बिरमा देखिएका कुपोषित वृद्धको अनुहार समग्र नेपालको दारुण चित्रण थियो। दोस्रो तस्बिर समग्र नेपाललाई त्यो अवस्थामा पुर्‍याउन जिम्मेवार सानो संख्यामा रहेका नेपालीको प्रतिबिम्ब थियो। प्रचण्डको बिदाइका लागि लामबद्ध ती नेपाली तुलनात्मकरूपमा राम्रोसँग खान, लाउन पाएका, पढे, लेखेका भन्न सकिने अनुहारका थिए। म पनि चाहन्छु सीता दाहालको शीघ्र स्वास्थ्य लाभ होस्। उनको जस्तो पीडा कसैले भोग्नु नपरोस्।

त्यतिमात्र होइन, प्रचण्डको मुहारमा पनि खुसी देख्न पाइयोस्। निर्दोष मान्छेहरू क्रुर ढंगबाट मारेर, परिवार बिचल्ली पारेर, देशको विकासलाई दसकौंले अवरुद्ध तुल्याउँदै, समाजमा हिंसाको संस्कारलाई संस्थागत गर्दै, गरिबभन्दा गरिब जनताको नाममा सत्तामा पुगेका र ती सबैलाई बिर्सेका प्रचण्डमा पश्चतापले यस्तो विवेक पैदा गरोस्, जसले उनको बाँकी जीवनलाई सुमार्गमा डोर्‍याओस्।

प्रचण्डको आम्दानीको आधारमा भन्ने हो भने उनलाई अमेरिका त कुरै छोडिदिउँ नेपालको निजी अस्पतालमा समेत उपचार खर्च बेहोर्न गाह्रो पर्छ। तर उनी सिंगापुरको महँगो अस्पतालमा गए। अहिले अमेरिकाको सबैभन्दा राम्रोमध्येको एउटा अस्पताल पनि गए। अमेरिका यस्तो देश हो जहाँ स्वास्थ्य बिमा नभएकाहरूका लागि स्वास्थ्य सेवा संसारमै महँगोमध्येमा पर्छ।

पहिलो कुरा त, कहाँबाट आयो प्रचण्डसँग ती सबैको बिल तिर्ने पैसा ? अनि दोस्रो कुरा, उपचारका लागि परिवारका सदस्यसहित बारम्बार विदेश जाँदा विदेशी मुद्रा कुन तरिकाबाट लगिरेहका छन् ? किनभने, नेपालबाट विदेशी मुद्रा बाहिर लैजाने कानुन कडा छ। प्रधानमन्त्री भइसकेका सत्तारुढ दलका नेतालाई यस्तो महत्वपूर्ण विषयमा प्रश्नै नसोधी देश बनाउने अपेक्षा राख्न सकिँदैन। माथिका प्रश्न अन्य नेताका हकमा पनि लागू हुन्छ।

यो पनि पढ्नुहोस : एयरपोर्टका दुई तस्बिर : 'यस्तो देख्न नपरे जाती  हुन्थ्यो'​

पत्नी बिरामी भएको बेलामा यस्तो प्रश्न सोध्यो भनेर अब मलाई ‘अरिंगाल’ का झुण्डहरूले आक्रमण गर्नेछन्। भावहीन मान्छे भन्ने छन्। त्यो मलाई थाहा नभएको होइन। प्रचण्ड, र त्यो अर्थमा शेरबहादुर देउवा र केपी ओलीका अरिंगालहरूलाई पनि म निसंकोच भन्न चाहन्छु, यो देशमा लोकतन्त्र, समानता र समृद्धिका लागि लडेका सयौं नेता बिग्रनुमा तिनको जति दोष छ त्यो भन्दा बढी दोष तपाईंहरूको छ।

अनुहारमा मुस्कान र हातमा फूलको माला बोकेर प्रचण्डलाई बिदाइ गर्न जाँदा तपाईंको मनमा आएन, प्रचण्डले जे गरिरहेका छन् त्यो देशका गरिबहरूमाथिको व्यंग्य र अपराध हो भनेर ? कसैसँग आफ्नो वैध आर्थिक स्रोत छ र ऊ ‍सन्सारकै सबैभन्दा महँगो अस्पतालमा उपचार गर्न जान्छ भने पनि उसलाई केही भन्न सकिँदैन। तर, नियमित आम्दानीबाट घरखर्च पनि नचल्ने नेता सिंगापुर र अमेरिका उपचार गर्न जाँदा तपाईं फुलमाला लिएर बिदाइ गर्न जाने ? अनि देश बिग्रियो भनेर सामाजिक सञ्जालमा फलाक्ने?

फेरि पनि हृदयदेखि कामना गर्छु, सीताजीको स्वास्थ्य लाभ होस्। तर म प्रचण्ड, साथसाथै देउवा र ओलीलाई नेपालभित्र घटेका केही घटनाको स्मरण दिलाउन चाहन्छु। ती घटना मेरो मनमा आउँदा मेरा आँखा द्रविभूत भएका छन्। तपाईंहरू त गरिब र दुःखीका लागि लडेको भनिएका मान्छे, तपाईंहरूमा साँच्चै त्यो मानवीय भावना रहेछ भने मैले लेखेका घटना पढ्दा तपाईंको आँखा रसाउनेमात्र होइन तिनबाट आँशुका ढिका झर्नेछन्।

तपाईंहरूलाई अवश्य थाहा छ। कयौं चेपाङ वस्तीमा कयौं दिनसम्म सिंगो परिवार नै भोकै रहन वाध्य हुन्छन्। महिलाको लाज छोप्ने एक टुक्रा कपडा हुँदैन र कयौं महिलाको माथि सबै उदांग हुन्छ। केही वर्षअघिको कुरा हो, चितवनको एउटा त्यस्तै चेपाङ वस्तीमा तीन, चारजना छोराछोरीकी आमा बिरामी भइछन्। आमा बिरामी भएपछि एकजना चार वर्षको छोराले कयौं दिनदेखि केही खान पाएनछ। भोकको पीडामा उसले जमिनको घाँस लुछेर खाएछ। त्यो घाँस अड्किएर उसको मृत्यु भयो।

केही वर्षअघिकै कुरा हो। माओवादी सशस्त्र संघर्षको उद्गम स्थलमध्येको एक रुकुमका दलबहादुर ओलीले उपचार खर्चको अभावका कारण आफ्नी पत्नी र छोरीका साथ झुन्डिएर सामूहिक आत्महत्या गरे।

महाभ्रष्ट नेतालाई हामी नागरिकले लामबद्ध भएर फूलमालाले स्वागत र बिदाइ गरिरहने हो भने यो देश कुनै हालतमा परिवर्तन हुँदैन। देश परिवर्तन गर्न नेता होइन, पहिले हामी आफैं परिवर्तन हुन जरुरी छ।

आफ्ना दुई छोरीको उपचार गराउन गाउँबाट काठमाडौं आएकी एकजना महिलाले आफूले ल्याएको पैसा र खानेकुराले केही दिन धानिछन्। त्यो सबै सकिँदा पनि छोरीहरूको उपचार सकिएनछ। त्यसपछि सडकमा मागेर केही दिन गुजारा गरिछन्। त्यसरी पनि धान्न गाह्रो भएपछि निराशा र पीडाका माझ मागेको पैसाले नै विष किनेर दुवै छोरीलाई खुवाई आफूले पनि खाएर आत्महत्या गरिछन्।

खोज्दै जाने हो भने यस्ता सयौं उदाहरण दिन सकिन्छ। अन्त जानु पर्दैन, काठमाडौंको शिक्षण अस्पतालमा कुनै पनि साँझ जानुस्। चिसो छिँडीमा बिरामी हेर्न बसेका आफैं बिरामी झैं देखिने कुपोषित नेपाली भावशून्य अनुहारमा लडिरहेका देखिन्छन्। जिल्ला–जिल्लाका अस्पतालको त झन् कुरै नगरे हुन्छ। अनि अरिंगालका गोलाहरू यस्ता गरिब जनताको आँशुमा पौडी खेलेर ‘सनबाथ (घाममा आराम)’ गर्ने नेताहरूलाई माला लगाइदिन लामबद्ध हुन्छन्। दोष कसको ?

यति भन्नेबित्तिकै मलाई अरिंगालहरूले प्रतिप्रश्न गर्नेछन् :प्रचण्ड, देउवा र ओलीले ज्यानको बाजी लगाएर लोकतन्त्रका लागि लडिरहँदा तिमी लन्डनमा वातानुकूलित कोठमा बसेर पाउण्ड कमाउँथ्यौ। आज तिमीलाई यो प्रश्न गर्ने अधिकार कसले प्रदान गर्‍यो, थाहा छ ? हो, थाहा छ। उनीहरूले ज्यानको बाजी लगाएर यो देशका लागि लडेकै हुन् र त्यसका लागि उनीहरूप्रति आभार प्रकट गरौं। यद्यपि, लोकतन्त्र प्राप्तिपछि सर्वसत्तावादी शासन स्थापना गर्न प्रयोग भएको हिंसाको कुनै पनि हालतमा औचित्य दर्शाउन सकिँदैन।

त्यति हुँदाहुँदै पनि उनीहरूले आफू ठाउँमा पुगेपछि देशमा सुशासन र न्यायका लागि पनि लडिदिएको भए आज हामी उनीहरूलाई नेल्सन मन्डेलाको कोटीमा राखेर सम्मान गर्ने थियौं। तर तीनले देशका लागि गरेको लगानीको ब्याज खोजे। राजनीतिकर्मीले देशका लागि गरेको लगानी सदासर्वदा निस्वार्थ सेवा हुनुपर्छ। ब्याज खोज्ने भए व्यापारमा लगानी गरे हुन्छ। मुद्दति खातामा पैसा राखे हुन्छ। मैले देशका लागि लडेको थिएँ भनेर मौका पाउनेबित्तिकै देश चुस्न पाइँदैन। भ्रष्टाचारको आहलमा डुब्न पाइँदैन। गरिब जनता मारेर शान गर्न पाइँदैन।

नेपालमा भ्रष्ट नेता र पार्टीका समर्थकहरू तीन प्रकारका छन्। पहिलो, माथि उल्लेख गरिएजस्ता ‘अरिंगाल’ हरू, जसको विशेषता भनेको भ्रष्ट नेताका विरुद्ध बोल्यो कि झम्टिहाल्ने। तिनको झम्टिन सक्ने दक्षताकै कारण ओलीले आफ्ना आलोचकहरू ठीक पार्न अरिंगाल गुहारेपछि यो शब्दले राजनीतिक रूप धारण गरेको हो। दोस्रो, आमरूपमा भद्र आम नागरिक र तेस्रो, आम नागरिकका अगुवाहरू, जसले विभिन्न क्षेत्रमा विभिन्न स्तरको उचाइ र उपलब्धि हासिल गरेका छन्।

तर समस्या आक्रामक अरिंगालहरूमा मात्र होइन, ठूलो संख्यामा आम नागरिक र धेरै नागरिक अगुवाहरूमा पनि छ। आम नागरिक असल हुन्छन् र अरिंगालजसरी टोक्न आउँदैनन्। तर नेपालको हकमा उनीहरू पनि ठूलो संख्यामा पार्टीगत रङबाट रंगिएका छन् र त्यसबाट बाहिर निस्किन हिचकिचाउँछन्। किनभने, लामो समयदेखि समाजको चरित्र नै त्यसैगरी निर्माण भइसक्यो। तर उनीहरू पनि यति दिक्क भइसकेका छन् कि ‘जो आए पनि यस्तो हो। केही हुने होइन’ भन्ने खालको निराशायुक्त भाग्यवादी चिन्तनबाट ग्रस्त छन्। लोकतन्त्रमा नेता कस्तो बनाउने भनेर निर्णय गर्ने अधिकार जनताको हातमा हुन्छ। त्यसैले जनताले आफ्नो औकातअनुसारका नेता पाउँछ भनिन्छ।

एउटा सानो उदाहरण दिउँ। म आवद्ध पार्टीले गएको स्थानीय निर्वाचनमा किशोर थापालाई काठमाडौंको मेयरमा उठायो। काठमाडौं देशको सबैभन्दा पढेका, बुझेका, देखेका र तुलनात्मकरूपमा सम्पन्नहरूको सहर हो। त्यतिबेला किशोर थापाको उमेदवारीले ठूलै हलचल मच्चायो। उनी सञ्चारमाध्यममा छाए। चिया पसलदेखि बैठक कोठाहरूमा उनको चर्चा भयो। उनको उमेदवारी र पृष्ठभूमिबारे थाहा नपाउनेहरूको संख्या सम्भवतः अत्यन्तै न्यून थियो। थापाको अन्य मानिसहरूको जस्तै यावत कमजोरी थिए होलान्। तर उनी सहरी विकास विज्ञ थिए। अन्तर्राष्ट्रिय विज्ञका रूपमा विदेशमा सहरी विकासको काम गरेका थिए।

विरलै प्राप्त हुने सदाचारी र वेदाग भूतपूर्व सहरी विकास सचिव थिए। प्रशासन र राजनीतिक संयन्त्र राम्ररी बुझेका व्यक्ति थिए। ‘हम्फ्री फेलो’ थिए। एसएलसीका बोर्ड फस्ट थिए। तर काठमाडौंका जनताले उनलाई हराइदिए। किशोर थापाभन्दा एमालेका विद्यासुन्दर शाक्य इमानदार र क्षमतावान भएर होइन। पढेको, लेखेको, देखेको भए पनि मतदाताहरूलाई ‘सूर्य’ को प्रकाशले छेकेको थियो। आज दुई वर्षपछि काठमाडौंको हाल जस्ताको त्यस्तै छ र मतदाताहरू आफ्नै निर्णयको सिकार भएका छन्। मैले यो तर्क गर्दा कतिपयले ‘आफू नसक्ने अनि दोष मतदातालाई लगाउने ? ’ भन्ने छन्। दोष लगाउने कुरा होइन। तर हाम्रो जस्तो अविकसित लोकतन्त्रमा मतदाताको मन र मत परिवर्तन नहुने हो भने देश कहिल्यै परिवर्तन हुने छैन। भोट हाल्ने मतदाता सधैं दुःखी र भोट पाउने नेता सधैं सुखी रहिरहनेछन्।

अब नागरिक अगुवाहरूको कुरा गरौं, जसको ठूलो संख्यालाई ‘सूर्य–रुख’ सिन्ड्रोमले ग्रस्त पारेको छ। हर दिन पत्रपत्रिकाको अग्रपृष्ठ ओली, प्रचण्ड, देउवा र उनीहरू आसपासका अन्य नेताका कर्तुतका कारण राज्य र आम नागरिकले बेहोरिरहेको पीडा र भष्टाचारका समाचारले भरिएका हुन्छन्। तर समाजका कयौं अगुवाहरू तिनै नेतासँग नजिक हुँदा केही न केही पाइन्छ भन्ने आशामा भौंतारिएका हुन्छन्। सरकारले कुनै जटिल मुद्दा हल गर्न विशेषज्ञ टोली बनायो भने अधिकांश स्थितिमा सो टोली नै पार्टीगतरूपमा विभाजित हुन्छ। नेता र पार्टी जतिसुकै भ्रष्ट किन नहुन् नियुक्ति पाएपछि ‘देशको सेवाका लागि’ भन्दै नागरिक समाजका कयौं अगुवाहरू त्यसलाई स्वीकार्छन् र नियुक्ति दिने नेताका दिनदिनका कर्तुतबारे मौन रहन वाध्य हुन्छन्। यसअघिको स्तम्भमा मैले लेखेको थिएँ :राष्ट्रघातीहरूले दिएको नियुक्ति राष्ट्रवादी हुनै सक्दैन। ती नेतालाई सघाएर देशको सेवा हुन्छ भन्नु नितान्त भ्रम हो। केही राम्रा मान्छे देखाएर र केही महत्वपूर्ण विषयमा तिनको सहयोग लिएर ती नेताले देशको दोहन गर्नेमात्र हुन्।

विश्वविख्यात उपन्यासकार, निबन्धकार तथा पत्रकार जर्ज अर्वेलको बारम्बार उद्धृत गरिने एउटा भनाइ छ  : ‘भ्रष्ट राजनीतिज्ञ निर्वाचित गर्ने जनता पीडित होइनन्, मतियार हुन्।’ यो भनाइ सुन्दा कडा लाग्न सक्छ तर त्यसमा शतप्रतिशत वास्तविकता छ। त्यति भन्दाभन्दै पनि विगतमा हाम्रा सीमितता नभएका होइनन्। खोजेजस्ता उमेदवारहरू थिएनन्। तर हामीले बिर्सन नहुने के हो भने, खोजेजस्ता उमेदवार हुँदा पनि हाम्रो विवेकमा बिर्को लागेका घटना छन्।

०४६ को परिवर्तनपछिको जटिल घडीमा एकै वर्षमा नयाँ संविधान दिएर चुनाव गराउन सफल र तुलतात्मकरूपमा धेरै सक्षम र इमानदार नेता कृष्णप्रसाद भट्टराईलाई हामीले चुनाव हराइदिएकै हो। किशोर थापालाई हराइदिएर विद्यासुन्दर शाक्यलाई जिताएकै हो। त्यसैले अर्वेलको उक्त टिप्पणीको उद्धरणप्रति आक्रोश व्यक्त गर्नु साटो ‘बारम्बारका गुण्डाहरूदेखि असक्षम र भ्रष्टहरूलाई हामी किन अझै पनि चुनाव जिताइरहेका छौं ? अझै पनि किन फूलमालाले स्वागत गरिरहेका छौं ? ’ भनेर आफूले आफैंलाई प्रश्न सोध्नु उपयुक्त हुन्छ।

महाभ्रष्ट नेताका पछाडि लामबद्ध हुनेहरूको नाममा समर्पित यो आलेख थोरै गुनासो, थोरै सुझाव र धेरैको अपेक्षाका साथ लेखिएको हो। महाभ्रष्ट नेतालाई हामी नागरिकले लामबद्ध भएर फूलमालाले स्वागत र बिदाइ गरिरहने हो भने यो देश कुनै हालतमा परिवर्तन हुँदैन। देश परिवर्तन गर्न नेता होइन, पहिले हामी आफैं परिवर्तन हुन जरुरी छ।

—मिश्र विवेकशील साझा पार्टीका संयोजक हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.