सम्बन्ध–विच्छेद जोगाउन सकिन्छ ?

सम्बन्ध–विच्छेद जोगाउन सकिन्छ ?

बिहे एउटा संस्था हो, यो संस्था निर्माण गर्दा भावनामा मात्र बगेर सम्भव छैन।


सर्वोच्च अदालतको गत वर्षको वार्षिक प्रतिवेदनअनुसार देशमा सम्बन्ध–विच्छेदका १७६१५ थान मुद्दा दर्ता भए। जबकि १० वर्षअगाडि यस्ता मुद्दाको संख्या ५१०१ मात्र थियो। यस्तो फरक हुनका अनेक कारण हुन सक्छन्। अचेल महिला सशक्तीकरण प्रशस्त भएको छ, महिला आफ्ना हक अधिकारप्रति सचेत छन् र सामाजिक चेनता वृद्धिले महिलामा आत्मविश्वास बढेको छ। अब उनीहरू आफ्नो पुरुषको नचाहिँदो दबाब, हिंसा र पारिवारिक प्रतारणा सहन तयार छैनन् भन्ने देखाउँछ।

त्यसैगरी पुरुषहरू पनि अब एकै महिलसित टाँसिएर बसिरहन चाहँदैनन्, सम्बन्ध–विच्छेद अचेल नौलो विषय रहेन। पुरुष र महिला दुवै आर्थिक र सामाजिक रूपले स्वतन्त्र हुन सक्ने अवस्था अहिले छ। त्यति मात्र हैन, सम्बन्ध एउटासित विच्छेद भएको भन्दैमा अर्कोसित बिहे हुँदैन भन्ने अवस्था पनि छैन। यौन र सम्बन्धको परिभाषा र समय पनि परिवर्तन भइरहेको छ। यस्तो अवस्थामा एकपटक सम्बन्ध–विच्छेद भएका महिला वा पुरुषले दोस्रो वा तेस्रोपटक बिहे गर्न सक्ने र समाजले त्यसलाई सहजै स्वीकार गर्ने परिस्थिति निर्माण हुँदै गइरहेकाले पनि सम्बन्ध–विच्छेदका मुद्दामा वृद्धि भएको हुन सक्छ।

सम्बन्ध–विच्छेदका उपर्युक्त विभिन्न कारण भए पनि यस्ता मुद्दाको वृद्धि उपयुक्त र सहज भने छैन। हाम्रो समाजको अमूल्य निधि भनेको परिवार हो। परिवारको उपयुक्त संगठन, सञ्चालन र व्यवस्थापन आफैंमा ठूलो चुनौती हो। तलमाथि भएमा यसबाट पर्ने नकारात्मक असर धेरै छ। परिवारका जेठा र कलिला सदस्यमा निकै ठूलो नकारात्मक असर पर्न सक्छ। कलिला सदस्यहरूको भविष्य र जेठाहरूको बाँकी जीवन कष्टमय हुन सक्छ। यसो त सम्बन्ध–विच्छेद गर्ने तन्नेरीहरूको जवानीका महत्त्वपूर्ण अवधि मानसिक तनाव र अस्तव्यस्त रूपले बित्छ। त्यसले स्वास्थ्य र व्यावसायिक÷आर्थिक जीवनमा पनि नकारात्मक प्रभाव पार्छ। त्यसैले सम्बन्ध–विच्छेदलाई राम्रो मान्न सकिँदैन। वास्तवमा सम्बन्ध–विच्छेदको मूल कारण पतिपत्नीबीचको सम्बन्धमा आउने फाटोले हो। यो फाटो किन आउँछ, कस्तो अवस्थामा यस्तो हुन्छ। के यस्तो फाटो नआउनका लागि केही गर्न सकिँदैन ? के सकेसम्म कम फाटो आउने गरी दुवैले परिवार सञ्चालन गर्न सक्दैनन् ? के यसका लागि केही उपाय छैन ?

वास्तवमा पतिपत्नीबीच फाटो नआओस्, दुवैमा एक–अर्काप्रति माया भइरहोस् भन्नका लागि तलका केही उपाय अपनाउन सकिन्छ। यो कुनै रामवाण हैन। सम्बन्ध–विच्छेदका विभिन्न कारण हुन्छन्। तर गहिरिएर हेरेमा सबैभन्दा मूल कारण पतिपत्नीबीचको फाटो नै हो। फाटो जहिले पनि ठूला कारणले उत्पन्न हुँदैन। धेरैजसो ससाना कारणले फाटो उत्पन्न हुन्छ। त्यसैले ससाना संवेदनशील विषयमा पतिपत्नीले ध्यान दिनु आवश्यक छ। समाजमा देखे, बुझे र अनुभव गरेका आधारमा यसबारेमा विश्लेषण र निष्कर्ष निकाल्न सकिन्छ।

१. पुरुष र महिलालाई चिनौं। पुरुष र महिलाका आआफ्नै विशेषता छन्। ती विशेषता जन्मजात हुन्। यी विशेषता एकले अर्काको हकमा नबुझिदिनाले निकै फाटो उनीहरूको बीचमा आउँछ। केही यस्ता विशेषता पनि छन्, जो दुवैमा समान छन्। मानिस जेसुकै होस्, उसलाई आफ्नो प्रशंसा मन पर्छ। ऐनामा सबैले आफ्नो रूप राम्रै देख्छ। आफ्नाबारेमा कसैले राम्रो कुरा गरेको मानिस सुन्न चाहन्छ। तर हाम्रो पारिवारिक जीवनमा यो वास्तविकता बिर्सेर पतिले किनेर ल्याएको तरकारीलाई पत्नीले र पत्नीले पकाएको खानेकुरालाई पतिले प्रशंसा नगरी खोट नै देखाउँछन् अनि कसरी कुरा मिलोस्। सानो विषयले ठूलो चमत्कार गर्छ। पारिवारिक जीवनलाई मधुर बनाउन सानो कुरामा एकले अर्काको प्रशंसा गर्न सिकौं पारिवारिक फाटो पर्दैन। चमत्कार सिर्जना गर्छ।

२. आफ्नो कथा भन्न दिऊँ, अर्काको कुरा सुनौं। सबै मानिसको एउटा कमजोरी हुन्छ। ऊ आफ्नो कुरा आफूले भोगेका अप्ठेरा, आफ्ना दुःखसुखका कुरा, आफ्ना घटना भन्न चाहन्छ। अरूका कुरा सुन्नमा चासो देखाउँदैन। यो ठूलो कमजोरी हो। यसलाई फेरौं। हामी अर्काको कुरा सुनौं। पत्नीले आफ्ना कुराभन्दा वा पतिले आफ्ना समस्याभन्दा चाख मानेर सुनौंं। दिक्क नमानौं। सुन्ने बानी बसालौं। हाम्रो सुन्ने बानी भएमा भन्नेले आफ्नो कुरा भन्न मन पराउँछ। तपाईंलाई राम्रो मान्छ। तपाईंकी पत्नीले आफूले घरमा वा अफिसमा भोगेका अप्ठेरा समस्याबारेमा तपाईंलाई सुनाउन चाहन्छिन्। तपाईं चाख मानी सुन्नुहोस्। धेरैजसो तपाईंकी पत्नीले समस्याको समाधान खोजेकी हुन्न। उसको मूल उद्देश्य भोगेका कुरा, आइपरेका समस्यामा तपाईंलाई सहभागी गराउनु हो, समाधान खोज्ने हैन। तपाईंले यस कुरालाई बिर्सेर उनको कुरालाई सुन्न झर्को मान्नु हुन्छ। अथवा यस्तो गरे भइहाल्यो नि वा यसो गर उसो गर भनेर समाधानको बाटो बताउन चाहनुहुन्छ। पूरा कुरा सुन्न तपाईंलाई झ्याउ लाग्छ। हो, समस्या त्यहींनेर छ। यस्तो गर्नुभयो भने सम्बन्धमा समस्या आउँछ।

एकदुइटा घटनामा यस्तो नहोला तर तपाईंको बानीमा परिवर्तन भएन भने निश्चय नै पतिपत्नीमा विस्तारै फाटो पर्दै जान्छ। तपाईंलाई तपाईंकी पत्नीले टर्रो, संवेदना नभएको मानिस ठान्न थाल्नु हुन्छ। कृपया उहाँको कुरा सुन्नुहोस्, धैर्य राख्नुहोस्, समस्या समाधान गरिहाल्नु आवश्यक छैन। तपाईंकी अर्धांगिनीले नै समाधान दिनुहुन्छ। कतिपय अवस्थामा पत्नीले साझेदारीको आकांक्षा राख्छिन्। तपाईंका कामका बारेमा जान्न चाहन्छिन्। त्यसको अर्थ कुनै समाधान गर्न हैन बरु तपाईंको काममा भावनात्मक रूपले समझदारी खोजेको हो। त्यसैले समयसमयमा आफ्ना कुरा पनि सुनाउने गर्नुहोस्। यसले चमत्कार गर्छ। उनले आफूलाई इज्जत गरेको महसुस गर्छिन् र सम्बन्ध राम्रो हुनमा सहयोग पुग्छ। यसलाई प्रयास गरेर हेर्नुहोस्।

. व्यावसायिक र पारिवारिक जीवनबीच सन्तुलन राखौं। अचेल पतिपत्नीहरू दुवैमा व्यावसायिकता विकास भएको छ। सामान्यतः पारिवारिक र व्यावसायिकतालाई सन्तुलनमा राख्नुपर्ने समस्या पति र पत्नीले भोग्छन्। सहरी र पढेलेखेका पतिपत्नीमा यो ठूलो समस्याका रूपमा देखिएको छ। यी दुईमा कुन महत्त्वको हुन्छ भन्ने कुरा मानिसको दृष्टिकोण र अवस्थामा भर पर्छ तर पनि धेरैजसो अवस्थामा मानिस यी दुवैलाई सँगै लैजान चाहन्छ। तर सन्तुलन बनाइराख्न भने निकै ध्यान पुर्‍याउन र मेहनत गर्नुपर्ने हुन्छ। यो ज्यादै गाह्रो विषय हो। पतिपत्नी दुवैले एकअर्को अवस्थालाई सम्मानका साथ हेर्न र मूल्यांकन गर्नुपर्ने हुन्छ। यसमा गहिरो साझेदारी र समझदारीको आवश्यकता पर्छ। एकले अर्काका लागि असुविधा सहनु पनि पर्छ।

पारिवारिक जीवन बिग्रेमा त्यो सुमधुर नभएमा मानिसको जीवन नारकीय हुन्छ। व्यावसायिक रूपले निकै धेरै उन्नति गरेर पनि परिवारमा तनाव भएमा मानिस सुखी हुँदैन। जो जस्तो गरे पनि खोजेको त सुख नै हो। कहिलेकाहीं व्यावसयिक रूपले निकै सफल र उपलब्धि प्राप्त गरेको मानिसको पारिवारिक जीवन गतिलो र सुखी हुँदैन। त्यस्तो अवस्थालाई राम्रो मान्न सकिँदैन। यसका लागि पारिवारिक समझदारी चाहिन्छ र एकले अर्काको व्यावसायिक जीवनलाई सम्मान गर्नु आवश्यक छ। आवश्यक परेमा असहजतालाई सहनुपर्छ। सहन सक्ने नै सफल हुन्छ। यो बुझौं।

४. विवाहेत्तर सम्बन्धको अन्त्य गरौं। महिलालाई सबैभन्दा मन नपर्ने कुरा आफ्नो पुरुषले अरूसित विवाहेत्तर सम्बन्ध राख्नु हो। त्यसैगरी पुरुषको हकमा पनि त्यो लागू हुन्छ। बिहे हुनुभन्दा पहिला पुरुष वा महिलाका आआफ्नै सम्बन्ध हुन सक्छन्। अचेल समाजमा यो विषय साधारण हुँदै गएको छ। तर विवाह भइसकेपछि भने त्यसमा सदाका लागि बिर्को लगाउनुपर्छ। विवाह गर्नुपहिला निकै विचार गर्नु आवश्यक छ। तर विवाह भइसकेपछि भने ती पुराना सम्बन्ध छाड्नु नै बेस हो।

कतिपय पुरुष तथा महिला आफ्ना पुराना सम्बन्ध राख्दैमा के हुन्छ र सामान्य सम्बन्ध राखे भैगो नि भन्ने पनि गर्छन्। तर पहिलेको सम्बन्धको गहिराइ शारीरिक सम्बन्धसमेतको र ज्यादै घनिष्टताको थियो भने त्यो छाड्नु मात्र हैन, त्यसको उल्लेखसम्म पनि नगर्नु श्रेयस्कर हुन्छ। अन्यथा त्यसले पारिवारिक सम्बन्धमा फाटो उत्पन्न गर्ने अवस्था उत्पन्न गर्छ। यो ज्यादै गूढ विषय हो। कतिपय व्यक्ति आफूलाई उदार भएको देखाउनका लागि विवाहेत्तर सम्बन्धलाई पनि आपसमा परिवारमा उल्लेख गर्न खोज्छन्। त्यो सर्वथा गलत हो। बिर्सेर पनि त्यस्तो नगर्नु उपयुक्त हो।

५. सम्बन्ध–विच्छेदका घटनाहरू केलायौं भने धेरैजसो सम्बन्ध–विच्छेद सानै उमेरमा बिहे गरेका वा परिवारबाट भागेर बिहे गरेका दम्पतीमा देखिन्छ। त्यसका साथै बिहे गरेको पहिलो १० वर्षभित्रमा सम्बन्ध–विच्छेद हुनेको संख्या बढी छ। पहिलो अवस्था परिपक्वताको कमी हो भने दोस्रोको अवस्था सम्बन्धले उत्पन्न गराएका समस्या केलाउन र समाधान गर्न गतिलो प्रयास नगर्नु हो। बिहे एउटा संस्था हो। यो संस्था निर्माण गर्दा भावनामा मात्र बगेर सम्भव छैन। कलिलो उमेरमा गरिएको बिहे यस्तै भावनामा मात्र बगेर गरिएको हुन्छ, जसको जग फितलो हुन्छ र चाँडै भत्किने सम्भावना धेरै हुन्छ।

बिहे गर्नु र बिहे सम्बन्धलाई सुमधुर गरिराख्न केही काम गर्नुपर्छ। यो स्वतः हुने कुरा हैन। त्यसैले विवाह गर्नुपहिले गतिलो किसिमले एकअर्काको भावना, पारिवारिक पृष्ठभूमि र परिवारका सदस्यको सामान्य दृष्टिकोण इत्यादि सबैमा ध्यान दिनुपर्ने हुन्छ। वास्तवमा धेरैजसो अवस्थामा बिहे हाम्रो सन्दर्भमा दुइटा परिवारको सम्बन्ध पनि हो। त्यसैले यी सबै कुरामा ध्यान दिनु आवश्यक छ। जसले गर्दा बिहेको सामाजिक संस्कार सफल रूपले अगाडि बढोस्। सम्बन्ध–विच्छेद सजिलो र प्रिय कुरा हैन। केही अवस्थामा भने सम्बन्ध–विच्छेदलाई उपयुक्त विकल्प भन्न सकिए पनि सामान्यतया त्यो लागू हुँदैन। त्यसैले गम्भीर भएर अरू कुनै उपाय नै नभएपछि मात्र सम्बन्ध–विच्छेद गरौं, भावनामा नबगौं।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.