यौनको नापनक्सा

यौनको नापनक्सा

पोर्न भिडियो यौनशिक्षा त बन्यो, तर के यसको पाठ्यक्रम-पाठ्यपुस्तक सही छ ? सयवटा चर्चित पोर्नको अध्ययन गर्दा अधिकांशमा लिंग घाँटीसम्म पुर्‍याउने, झापड हान्ने अनि कपाल तान्ने जस्ता अपमानजनक, पीडाजनक र घृणित व्यवहार पाइयो।


अहिलेजस्तो मोबाइल अनि इन्टरनेट थिएन। घरको ल्यान्डलाइन जोडेर डाइलअप इन्टरनेटमार्फत निकै ढिलो इन्टरनेट चलाउनु पथ्र्याे। सीडीहरू भने व्यापक थियो। स्मार्ट फोन त कल्पना मात्र थियो। नोकिया १११० को टर्च लाइटवाला बुवाको मोबाइल पनि कहिलेकाहीँ मागेर साथीहरूको अगाडि धाक दिइन्थ्यो। त्यही मोबाइलमा भएको ‘स्नेक’ गेम खेलिन्थ्यो। ६ कक्षामा पढ्थ्यौं हामी। बिहान स्कुल जाने, बेलुका घर फर्केर ट्युसन जाने। जीवन ब्ल्याक एन्ड ह्वाइट टीभीको लामो टेलिसिरियलजस्तो थियो।

एक दिन म, आकाश अनि केही साथी कुरा गर्दै थियौं। हामी गफ गर्दागर्दै बच्चा कसरी जन्मिन्छ भन्ने कुरा निस्कियो। मैले उत्तर दिएँ, दुलहाले दुलहीलाई सिन्दूर लगाइदिन्छ अनि बच्चा जन्मिन्छ। केटाहरू मुर्छा परेर हाँस्न थाले। म हिन्दी फिल्म निकै हेर्ने गर्थें। त्यति बेला फिल्ममा केटाले केटीलाई सिन्दूर लगाइदिन्थ्यो अनि अर्को दृश्यमा बच्चा जन्माएको देखाउँथ्यो। मेरो बालमस्तिष्कमा त्यही छाप बसेको थियो, सायद। आकाशले हाँस्दै भन्यो, ‘तँलाई त थाहा नै रहेनछ। बच्चा कहाँ सिन्दूर हालेर जन्मिन्छ ? बच्चा त, केटाले केटीलाई किस गरेपछि जन्मिन्छ।’ अरू केटाहरू झन् गुटमुटेर हाँस्न थाले। म रनभुल्लमै परेँ। मलाई ती हाँसोको फोहरा अझै पनि याद छ।

केही दिनपछि रविले एउटा सीडी लिएर आयो। स्कुलपछि आकाशको घर गयौं। ‘सेक्स’ के हो ? केटाकेटी के गर्छन् ? बच्चा कसरी जन्मिन्छ ? ‘आधिकारिक जानकारी’ कहिल्यै पाएका थिएनौं। अर्धजानकार मात्र थियौं। त्यसमा पनि अधिकांश जानकारी गलत हुन्थे। घरमा सेक्सबारे छलफल हुँदैनथ्यो। टीभीमा केटाकेटी अँगालो मारेको दृश्य आउनेबित्तिकै च्यानल चेन्ज हुन्थ्यो। स्कुलमा हामीले यीबारे सोध्न सक्दैनथ्यौं। एउटा उमेर यस्तो आउने रहेछ, जुन बेला सेक्सप्रति निकै कौतूहल हुन्थ्यो तर प्रश्न सोध्ने स्थान पाइँदैनथ्यो। उत्तर दिने कोही हुँदैनथे।

सायद त्यही उत्तरको खोजीमा साथीहरूले सीडी बोकेर आएका थिए। हामीले आकाशका बुवाआमा अफिसबाट आउनुअघि नै सीडी जोड्न थाल्यौं। जिन्दगीमा पहिलो पल्ट ‘ब्लु फिल्म’ हेर्न बसियो। वयस्क नरनारीलाई जिन्दगीमा पहिलोपटक नांगै देख्दा मिश्रित लाज, डर अनि अनौठो उत्तेजनाले कोही एकअर्कासँग बोल्न सक्ने अवस्थामा थिएनौं। सबैको अनुहार रातोपिरो थियो। यो चलचित्र ‘डबल एक्स’ मात्र रहेछ। अर्थात् सम्पूर्ण दृश्य नदेखाइएको। रविले अर्कोपल्ट ‘त्रिपल एक्स’ लिएर आउने भन्दै हिँड्यो। आकाश भने डरले त्यो सीडी कहाँ लुकाउने भनेर आत्तियो। हामीले खाटको भित्र लुकायौं र चुपचाप घर फर्कियौं। त्यति बेला हामीले एकअर्कासँग छलफल गर्ने अवस्था त बनेन। बरु हामीमा ती विषयमा कौतूहल बढ्दै गयो।

हामीले केही दिनपछि ‘त्रिपल’ पनि हेर्‍यौं। बिस्तारै साथीहरूसँग यो विषयमा छलफल गर्न थाल्यौं। हामी त्यसपछि इन्टरनेटमा पनि त्यस्तै यौनजन्य सामग्री खोज्न थाल्यौं। इन्टरनेटमा हाम्रो काम त्यस्तै चलचित्र मात्र खोज्ने हुन्थ्यो। कक्षामा वा पाठ्यक्रममा सेक्सबारे केही कुरा हुँदैनथ्यो। नौ कक्षा पुगेपछि स्वास्थ्य तथा जनसंख्या पढाउने सरले एक दिन कन्डम, कपर टी, नरप्लान्ट ल्याएर कक्षामा देखाउँदा साथीहरूले सोधेका प्रश्नको उत्तर दिने एकदिने कक्षाबाहेक अन्य कुरा भएन। कुरा त के, ‘सेक्स’ शब्दसमेत उच्चारण गर्न सकिएन। यो शब्द बोल्नुपर्दा हाम्रो स्वर सानो हुन्थ्यो।

०००
समय बदलिएको छ। अहिले इन्टरनेट अनि मोबाइलले हामीलाई असीमित पहुँच दिएको छ। प्रविधिले निकै फड्को मारेको छ। तर पनि, समाज भने त्यो गतिमा परिवर्तन हुन सकेको छैन। तसर्थ, समाज अनि प्रविधिबीच असन्तुलन झन् बढेको छ। मेरो एकजना साथी छ, जो शारीरिक सन्तुष्टिका निम्ति पाँचसातवटा गर्लफ्रेन्ड बनाउँछ। हरेक चोटि नयाँ केटीसँग सुत्छ। एउटाले छोड्यो कि अर्को गर्लफ्रेन्ड बनाउँछ।

मेरो अर्को एकजना २७ वर्षको हाराहारीको शिक्षक साथी छन्। उनले केही महिनाअगाडि एकजना विद्यार्थीले फेसबुकमा आफूलाई पठाएको मेसेज देखाउँदै थिए। त्यो मेसेजले त मलाई सोचमग्न बनायो, १६÷१७ वर्षे विद्यार्थीले ‘तपाईं मबाट के चाहनुहुन्छ ? फ्रेन्डसिप, रिलेसन वा सेक्स ? ’ भनेर सरलाई कति सजिलै प्रश्न सोधेको रहेछ।

जमाना निकै अघि बढेको छ। अब सेक्स हाम्रो बेलाजस्तो सानो स्वरमा बोलिनुपर्ने विषय छैन।

अहिले सेक्स प्रेमसँग जोडिएको विषय भएको छ। सेक्सलाई नै प्रेमका रूपमा लिन थालिएको छ। हिजो मात्रै एकजना साथी ‘प्रेम केटाकेटी सँगै बदाम खान गर्ने हो र ? ’ भनेर प्रेम भनेकै शारीरिक सम्बन्ध हो भन्ने तर्क दिँदै थिए। प्रेममा शारीरिक सम्बन्ध हुन पनि सक्छ। शारीरिक सम्बन्ध नभई पनि प्रेम हुन सक्छ। प्रेम भनेकै सेक्स हो भन्ने बुझाइ अधुरो छ। अपुरो छ। प्रेम शारीरिक सम्बन्ध मात्र होइन, दुई आत्माको मिलन पनि हो। आज प्रेममा आत्मा मर्दै गएको छ। अहिले प्रेमको नाउँमा सम्बन्धहरू जोडिन थालेका छन्, र शारीरिक सम्बन्धमा गएर टुंगिन थालेका छन्। खैर, प्रेम अनि सेक्सको सम्बन्ध एउटा आलेखको केही शब्दमा कोर्न सकिँदैन। यो विषयमा अन्य छलफलमा आफ्नो बुझाइ राख्नेछु।

सेक्स अहिले पनि समाजमा सबैभन्दा चासोकै विषय हो। आज सेक्स र किसकै समाचारहरू बिक्छन्। केही दिन एउटा साप्ताहिक पत्रिकाका पत्रकारसँग गुनासो गर्दै थिएँ, ‘तपाईंहरू खालि नांगो तस्बिर मात्र राखेर पत्रिका बेच्नुहुन्छ।’ उहाँले बाध्यता सुनाउँदै भन्नुभयो, ‘हजुर हामीले केही अंकमा खोजमूलक समाचार अनि अन्य सामग्री राखेर पत्रिका निकाल्यौं तर पत्रिका त्यति बिक्दै बिकेन। हेर्नुहोस् न हाम्रो बाध्यता छ।’ आज पनि रत्नपार्कमा भुइँमा राखिएका यौनसँग सम्बन्धित पुस्तकहरू त्यहीँ उभिएर पढ्नेको भीड कम भएको छैन। मानिस यो विषयमा सधैं कौतूहल रहन्छन्। तसर्थ, यो विषयलाई हामी जति च्याप्न खोज्छौं, त्यति फैलँदै जानेछ।

बच्चाले सेक्सको बारेमा घरबाट सिक्न खोज्छ, पहिलो शिक्षालय घर हो तर घर मौन छ। टीभी हेर्दा किस गरेको दृश्य आयो भने हामी च्यानल फेर्छौं। हामी घरमा योबारेमा चुप छौं। दोस्रो घर भनिने शिक्षालयमा पनि यो विषयमा चुप छौं। त्यसपछिका अन्य मसालेदार कहानीमा हामीले कौतूहल मेटाउन बाध्य छौं। विद्यार्थीलाई जिज्ञासा राख्ने ठाउँ पनि छैन। अनि, युवाहरू आफू अनुकूल असुरक्षित रूपमा आफ्नो कौतूहल मेटाउन खोज्छन्। आज किशोरावस्थामा गर्भधारण अनि गर्भपतन बढ्दै जानुको कारण पनि यही अपुष्ट कौतूहल नै हो।

०००

आज यौनशिक्षाको सबैभन्दा ठूलो गुरु पोर्न वा ब्लु फिल्म बनेको छ। म पोर्नको विषयमा धेरै हदसम्म यो विषयमा लामो अध्ययन गरेकी मारिया अहलिनको विचारसँग सहमत छु। आज, हाम्रा युवाहरूको धेरै प्रश्नको उत्तर पोर्नले दिएको छ। हामीले दिन नसकेको शिक्षा पोर्नले दिएको छ। तर, फेरि हामी पोर्नको बारेमा खुला भएर छलफल गर्न सक्दैनौं। त्यसले फेरि अन्य धेरै समस्या अनि नकारात्मक असरहरू उब्जाएका छन्। ठीक छ, पोर्न भिडियो शिक्षा त बन्यो तर के यसको पाठ्यक्रम-पाठ्यपुस्तक सही छ ? पोर्न पनि के लत त बन्दै छैन ? आज इन्टरनेटको संसारमा सबैभन्दा बढी हेरिने सामग्रीप्रति हामी कति सचेत छौं ?

क्यालिफोर्निया विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधि गरेकी नाटाली परसेलले सन् २०१२ मा सयभन्दा धेरै चर्चित पोर्नको अध्ययन गर्दा अधिकांश फिल्ममा आक्रामकता, अपमानजनक, पीडाजनक अनि घृणित व्यवहार पाइएको थियो। परसेलले यी दृश्यहरू आक्रामक अनि अपमानजनक हुँदै गएको निष्कर्ष निकालेकी थिइन्। ती पोर्नमा देखाइएका एटीएम (यानस टु माउथ), घाँटी थिच्ने, डबल पेनित्रेसन जस्ता व्यवहारले सेक्स प्रक्रियालाई हिंस्रक बनाएको पाइएको थियो। ती असल जिन्दगीमा आममानिसका लागि सम्भव छैन। त्यसरी सेक्सको प्रक्रियालाई वर्णन गर्दा यसले सेक्सको परिभाषालाई नै मोडेको छ।

सन् २००५ मा अन्ना ब्रिज्ट र उनको टोलीले सबैभन्दा बढी हेरिएका ५० फिल्म (डिसेम्बर २००४ र जुन २००५ सम्म)का भिडियोहरू अध्ययनमा १० मा नौ दृश्यमा लिंग घाँटीसम्म पुर्‍याउने, झापड हान्ने अनि कपाल तान्ने दृश्य पाइएको थियो। १० मा पाँच दृश्यमा महिला साथीलाई मुख छाडेको पाइएको थियो। यी शब्दहरूको प्रतिक्रियामा महिलाहरू मौन थिए वा सकारात्मक थिए। उनीहरू नकारात्मक थिएनन्। बरु अझ उनीहरू यस्ता शब्द अझ भन्न उक्साउँदै थिए। यी अध्ययताहरूको अध्ययनले यसको सन्देश खतरनाक रहेको बताएको थियो।

केही युवा यस्ता फिल्मबाट कति विचलित रहने पाइएको थियो भने उनीहरू यस्तो तरिकाबाट आफूले सेक्स गर्न नसक्दा असल जीवनमा दुःखी थिए। उनीहरूले आफूलाई दोषी वा आफ्नो अक्षमता भनेर स्वीकार्ने गरेको पाइएको थियो। धेरै महिलासमेत आफूमा कमजोरी रहेको अनि आफूले त्यस्तो सन्तुष्टि दिन नसकेको अनि लिन नसकेकामा दुःखी रहने पाइएको थियो। तर, फिल्ममा देखाइएजस्तो असल जिन्दगी हुँदैन। ती व्यक्तिहरू विभिन्न माध्यम अनि औषधि खाएर सुटिङ गर्ने गर्छन्। अनि हामी त्यसलाई असल जिन्दगीमा खोज्दै छौं। त्यसैले पोर्न नै यौनको एकमात्र गुरु ठहरिएको खण्डमा यसले किशोर मस्तिष्कलाई सही दिशानिर्देश गर्दैन।

०००

युवा अनि विद्यार्थीको प्रमुख मुद्दा सेक्स हो। हामी यो विषयलाई कार्पेटमुनि हालेर अघि बढ्दै छौं। विद्यार्थीलाई पढ पढ पढ भन्छौं तर उनीहरूलाई पढ्नबाट विचलित गर्दै गरेको मुद्दामा मौन छौं। साँचो अर्थमा ती विद्यार्थीलाई अनि युवालाई सही सूचना सही समयमा हामीले दिन सकिरहेका छैनौं। युवामा हर्मोन परिवर्तन १३ देखि २५ वर्षको उमेरमा बढी हुन्छ। तर पढाइ अनि जागिरको स्थायित्वको खोजीमै हामी २५ वर्ष पुग्छौं। १३ देखि २५ वर्षमा हुने परिवर्तन र यौनको जिज्ञासालाई व्यवस्थित गर्न हामीले के गर्न सक्छौं भन्नेबारे महत्वपूर्ण बहस हुनु जरुरी छ। जब जब दुःखी हुन्छौं, हामी विपरीत लिंगीसँग नजिक हुन खोज्छौं। साथ अनि सहयोगको अपेक्षा राख्छौं। यो अस्वाभाभिक होइन तर त्यो सम्बन्धलाई कसरी व्यवस्थापन गर्ने, त्यो महत्वपूर्ण छ।

तसर्थ, अब हामी सेक्सको विषयमा चर्चाका लागि खुला हुन जरुरी छ। यसलाई जति लुकायो त्यति यसले हानि गर्दैछ। अब हामीले यौनशिक्षाका बारेमा घरबाट नै छलफल चलाउन जरुरी छ। तपाईं पाँच वर्षको बच्चालाई, बच्चा कसरी जन्मिन्छ भन्नेको उत्तर भगवान्ले फुत्त माथिबाट दिएको भन्न सक्नुहुन्छ तर १० वर्षको बच्चालाई तपाईं त्यही उत्तर दिन सक्नुहुन्न। अब आफ्नो बच्चालाई सही सूचना दिन अभिभावकले नै सुरु गर्नुपर्छ। छोराछोरीलाई उनका अभिभावकले राम्ररी बुझाउन सक्नुपर्छ। थाहा छ, लेखेजति गर्न सजिलो छैन तर तपाईंका बच्चाले बाहिरबाट गलत सूचना पाउनुअघि नै यो कदम हामीले चाल्नैपर्छ। स्कुलको हकमा पनि यी कुरा एउटा विषयकै रूपमा पाठ्क्रममा समावेश गरेर पढाइन जरुरी छ। आज यो बेला चाहिएको शिक्षा यही त हो नि।

हामी युवा वा विद्यार्थी पनि आफ्नो लक्ष्यमा फोकस भएर लाग्न जरुरी छ। तपाईं गन्तव्यविहीन हुनुभयो भने तपार्इंलाई यस्ता कुराले बढी खिच्छन्। तसर्थ, युवा अवस्थामा अनि विद्यार्थी अवस्थामा तपार्इंले आफूलाई बढीभन्दा बढी रचनात्मक अनि सकारात्मक काममा लगाउन जरुरी छ। सेक्सको भूलभुलैयामा मात्र पर्नु खतरनाक हुन सक्छ। पोर्नले दिने शिक्षाभन्दा अघि तपाईं एक तहको शिक्षित हुन जरुरी छ।

अब हामीले समयको मागलाई सम्बोधन गर्न धेरै हदसम्म खुला रहनुको विकल्प छैन। रोक्ने, छेक्ने, गाली गर्नेभन्दा पनि यस्ता सम्बन्धलाई कसरी सुरक्षित बनाउने भन्ने बहस महत्वपूर्ण छ। फेरि हामी चेतनशील सामाजिक प्राणी हौं। हामीले आफूलाई स्वअनुशासनमा राख्न सक्छौं÷सक्नुपर्छ। तसर्थ, हामीले यौन अनुशासन राख्न सक्नुपर्छ। यो कुरा हामीले भुल्न हुँदैन। हामीले हाम्रो यौन दायरा निर्धारण गर्न जरुरी छ। सद्गुरुले भनेझैं सेक्स गर्नु भनेको स्मृति हो, त्यो धेरैसँग राख्यो भने ती सम्झनाले दुःख दिन्छ। कुनै दिन यस्तो पनि हुन सक्छ, तपाईंको सम्बन्धले तपाईंलाई क्षणिक सन्तुष्टि दिन्छ तर खुसी दिन सक्दैन। आधुनिक हुनुको अर्थ, उदार हुनुको अर्थ जोसँग पनि सुत्न तयार हुँदै हिँड्नु होइन। ‘सेक्स पार्टनर’सँग सम्बन्ध राख्नु अनि आफ्नो स्वार्थका लागि जोसँग पनि सुत्दै हिँड्नुमा फरक छ। हामीले आफ्नो शरीरलाई आदर गर्न सक्नुपर्छ। जिन्दगीमा धेरैका अगाडि नांगिनु राम्रो होइन।

यौनलाई कसरी बुझ्ने शृंखला अन्तर्गत फुर्सदमा छापिएका रमेश सायन, गनेस पौडेल, सम्झना वाग्ले भट्टराईका लेख पनि पढ्नुहोस् 
Twitter: @MilanPandey
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.