समाजवादीमा तीव्र मतभेद

समाजवादीमा तीव्र मतभेद

काठमाडौं : सरकारका विषयलाई लिएर समाजवादी पार्टी भित्र तीव्र मतभेद देखिएको छ। संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई खेमा तत्काल सरकारबाट बाहिरिनु पर्ने पक्षमा छ भने कार्यकारी अध्यक्ष उपेन्द्र यादव पक्ष मौन छ। सरकारकै विषयलाई लिएर बैठकमा डा.भट्टराई र यादव निकट उपमहासचिव प्रकाश अधिकारीबीच भनाभन नै भएको छ।

केन्द्रीय समितिको गत शुक्रबारको बैठकमा उनीहरू बीचमा भनाभन भएको थियो। गत बिहीबार बसेको संघीय परिषद् बैठकमा अध्यक्ष भट्टराईले सरकारबाट बाहिरिनु पर्ने प्रस्ताव गरेका थिए। ‘सरकारबारे तपार्इंले कुरा चपाएर हुँदैन। पार्टी एकीकरणका बेला सरकारबाट बाहिरिने कुरा गरेका थियौं, अहिले आलटाल गर्नु हुँदैन’, डा.भट्टराईले यादवप्रति लक्षित गर्दै भनेका थिए।

बैठकमा कार्यकारी अध्यक्ष यादवले सरकारको विषयलाई एजेन्डा भित्र नपारेपछि भट्टराई उनीसँग रुस्ट छन्। पार्टी स्रोतका अनुसार बैठकमा यादव भने कम बोलेका थिए।

यादव निकटका उपमहासचिव अधिकारीले यादवको बजाउ गर्दै सरकारबारे एजेन्डा बनाइराख्नु जरूरी नरहेका बताएका थिए। अधिकारीको यो भनाईपछि भट्टराई झन कड्किएका थिए। लगत्तै बसेको अध्यक्षद्वयको अनौपचारिक बैठकमा यादवले उपनिर्वाचनसम्म सरकारका विषयलाई लिएर पार्टी भित्र विवाद ननिकाल्न भट्टराईलाई आग्रह गरेका थिए।

भट्टराई–यादवबीच मध्यस्थता गरेका एक नेताका अनुसार उपनिर्वाचनपछि पार्टीले सरकारलाई संविधान संशोधनका लागि समयसीमा तोकेरै अल्टिमेटन दिने र त्यो समयभित्र सरकारले निर्णय नगरे सरकारबाट बाहिरिने सहमति दुई नेता बीच भएको छ।

पछिल्ला दिनमा यादवसँग भट्टराई सशंकित बनेका छन्। त्यसबारेमा उनले आफू निकटका नेतासँग छलफल पनि गरेका छन्। ‘यस्तै अवस्था रहे सँगै बस्न गाह्रो हुन सक्छ’ भट्टराईले आफू निकटका नेतासँग भन्न थालेका छन्। शनिबार सकिएको केन्द्रीय समिति बैठकले ठोस निर्णय केही गरेको छैन। निर्णय गर्ने जिम्मा पदाधिकारीलाई दिएपछि भट्टराई थप रुष्ट बनेको छन्। उनले आइतबार कर्णाली प्रदेशबाट आएका पार्टीका नेतासँगको छलफलको तस्बिर समाजिक सञ्जालमा पोस्ट् गर्दै साथीहरूसँग फेरि भेट होला कि नहोल भनेर असन्तुष्टी पनि व्यक्त गरेका छन्। समाजवादी पार्टीका महासचिव गंगा श्रेष्ठले पदाधिकारी बैठकले सरकारसहित समसमायिक विषयमा पार्टीको औपचारिक धारणा ल्याउने बताउँछन्। ‘असन्तुष्टिको कुरा मलाई थाहा भएन’ श्रेष्ठले अन्नपूर्णसँग भने, ‘कार्यकारी अध्यक्षज्यू दिल्लीबाट फर्केपछि पदाधिकारी बैठक बस्छ, सोही बैठकले सबै विषयमा निर्णय गर्छ।’

ओली सरकारमा यादव उपप्रधान तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा छन्। अर्का नेता इस्तियाक राई सहरी विकास मन्त्री छन्। गत वैशाखमा एकीकरण हुँदा यादव–भट्टराईबीच सरकार छाड्ने सहमति भएको नेताहरूको दाबी छ। महासचिव श्रेष्ठ पार्टी वर्तमान सरकारबाट बाहिरिएर राजपा नेपालसँग एकीकरण गरी वैकल्पिक शक्ति निर्माणमा अघि बढ्ने बताउँछन्। गत बिहीबारको संघीय परिषद् बैठकमा भट्टराईले सरकार छाड्ने र राजपा नेपालसँग एकीकरण चाँडो टुग्याउनेसहितको राजनीतिक प्रस्ताव गरेका थिए। तर सोही बैठकमा यादवले राजपाको तीब्र आलोचना गरेका थिए। यादवले राजपा ६ अध्यक्षहरूको ‘शेरे कम्पनी’ भन्दै एकीकरणका लागि गम्भीर गृहकार्यको खाँचो आंैेल्याएका थिए।

केन्द्रीय समितिको बैठकलगत्तै यादव नयाँदिल्लीमा स्वास्थ्यसम्बन्धी सम्मेलनमा भाग लिन गएका छन्। यादव शुक्रबार काठमाडौं फर्कने कार्यक्रम छ। यादव दिल्ली गएपछि भट्टराई भने उपनिर्वाचन प्रचारका लागि तराई–मधेसका जिल्ला गएका छन्।

महतो राजपा संयोजक

राजपा नेपालको संयोजकमा राजेन्द्र महतो पुनः चयन भएका छन्। राजपा नेपालको अध्यक्ष मण्डलको बुधबार बसेको बैठकले चक्रीय प्रणाली अनुसार बिहीबारदेखि लागु हुने गरी महतोलाई अध्यक्ष मण्डलको संयोजकको जिम्मा दिएको हो। बुधबारको बैठकले तर्थद समितिको म्याद २० दिन थप्ने निर्णय गरेको छ।

राजपाले स्थानीयदेखि जिल्ला तहसम्ममा तर्थद समिति बनाइरहेको छ। केन्द्रीय पर्यवेक्षकलाई पनि १५ मंसिर भित्र प्रतिवेदन अध्यक्षमण्डल समक्ष पेश गर्न भनेको छ। राजपाले एक वर्षअघिदेखि नेतृत्व चक्रीय प्रणालीबाट परिवर्तन गर्ने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.