सोमहर्षणको सात महिने लडाइँ

सोमहर्षणको सात महिने लडाइँ

तस्बिरमा देखिएका यी साना बाबु हुन्, सोमहर्षण बुढाथोकी। उनी अहिले तीन वर्ष आठ महिनाका भए। उनी दुई वर्ष ११ महिनाका हुँदा उनको शरीरमा क्यान्सर कोषिका देखा परेका थिए।

कुरा गत वर्ष चैत अन्तिमताकाको हो। उनको कानको पछाडि नसा फुले जस्तो देखियो। करिब एक साता बितिसक्दा पनि त्यो निको भएन। उनका आमाबाबुले आफन्त र साथीभाइसँग सोधपुछ गर्दा के भएको पत्ता लागेन। योभन्दा एक महिना अगाडि परेको    श्रीपञ्चमीदेखि उनी विद्यालय जान थालेका थिए। विद्यालयमा पनि उनले खाना खान मन नगर्ने, खाएपछि बान्ता गर्ने गर्न थालेका थिए। अलिअलि खोकी पनि लागेको थियो। कहिलेकाहीँ ज्वरो पनि आउने गथ्र्यो।

शरीरका जोर्नीहरू पनि दुख्ने गरेकाले आमालाई मालिस गरिदिन उनले भन्थे। बिस्तारै उनको तौल पनि घट्दै गयो। हेर्दा गोरो देखिने उनी अझै दिनप्रतिदिन बढी गोरो हुँदै गए।

वैशाखको पहिलो साता उनको घुँडाभन्दा तलको भागमा साइकलले ठोक्किएको जस्तो नीलो डाम देखियो। कतै लडेका थियौ कि भनेर आमाले सोध्दा उनले कहिले हो त, कहिले होइन भन्थे। एक दिन विद्यालयबाट फर्किएपछि भर्‍याङमा हिँड्दाहिँड्दै उनलाई गाह्रो भयो। उनले आमालाई बोक्नु भने। त्यस रात सुतेको बेलामा पनि उनले खुट्टा गल्यो भनेर अर्कै आवाजले चिच्याए। यसको दुईतीन दिनपछि उनको आँखा वरिपरि लामखुट्टेले टोकेझैं बिमिरा देखा परे। अब त भएन, अस्पताल लानु पर्‍यो भनेर आमाबाबुले उनलाई जचाउन लगे।

डाक्टरको सल्लाहअनुसार रगत परीक्षण र अल्ट्रासाउन्ड गराइयो। रिपोर्ट डाक्टरलाई देखाउँदा, त्यसमा टीएलसीको संख्या एक लाख ११ हजार देखियो। जबकि सामान्य व्यक्तिमा चार हजारदेखि ११ हजारसम्म मात्र टीएलसी हुने गर्छ। त्यसैगरी सामान्य व्यक्तिमा एक लाख ५० हजारदेखि चार लाखसम्म प्लेटलेट्स हुनुपर्नेमा उनको रगतमा १० हजार मात्र देखियो। हेमोग्लोबिन घटेर आठ मात्र रहेको थियो। यस्तो अवस्थामा तीनदेखि पाँच वर्षसम्मको बालबालिकालाई रक्त क्यान्सरको सम्भावना हुने डाक्टरले बताए।

कान्ति अस्पतालको अंकोलोजी डिपार्टमेन्टमा गएर बोन म्यारो टेस्ट गराउँदा बी–सेल एक्युट लिम्फोब्लास्टिक लुकेमिया (एएलएल) लागेको पुष्टि भयो। अन्य तीन, चारवटा परीक्षण पनि गराइयो। रिपोर्ट आउन बाँकी नै थियो। उनका आमाबाबुले आफन्तसँग घर सल्लाह गरे। उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने निधो भयो। दिल्लीको रोहिणीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा पुगेपछि त्यहाँ फेरि बोन म्यारो टेस्ट गराइयो। भोलिपल्टै रिपोर्ट आयो। त्यसै दिनदेखि उनलाई खुवाउने किमो अर्थात् किमो सिरप सुरु गरियो।

क्यान्सर रोगीलाई उपचार गर्दा ५० प्रतिशत औषधि र ५० प्रतिशत सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ। तर कान्तिमा राखेर उपचार गर्दा यहाँ भेटघाटका लागि आउने आफन्त र साथीभाइ र त्यहाँको सरसफाइको कमीले गर्दा पनि इन्फेक्सन हुने डर उनका आमाबाबुलाई लाग्यो। किमो दिएको बेलामा कहिलेकाहीँ आईसीयूमा पनि राख्नुपर्ने हुन्छ। नेपालमै गर्दा यो सुविधा लिन पनि गाह्रो पर्ने र अन्त अस्पतालमा लैजाँदा झन महँगो पर्ने हुन्छ। यहाँ उपचार गराउँदा हातमा सुइँ घोपेर सलाइन र अन्य औषधि दिइन्छ। तर उता पाखुरामा सानो शल्यक्रिया गरेर एउटा पाइप राखिन्छ। त्यहीबाट औषधि, सलायन, रगतलगायतका सबै कुरा शरीरमा पठाइन्छ। यसो गर्दा बच्चालाई दुखेको अनुभव भएन। सुरुमा पाँच दिन त्यही राखेर उपचार गर्नुपर्ने हुन्छ। उनका आमाबाबुले दिल्लीमा कोठा पाएपछि त्यही बसेर उपचार गराए। हप्तैपिच्छे डाक्टरसँग अप्वाइन्टमेन्ट लिएर चेकअप, ब्लड टेस्ट र हातमा ड्रेसिङ गराउनुपर्ने हुन्थ्यो।

सुरुको पहिलो महिनाको रिपोर्टले बिरामीलाई नर्मल डोज किमो दिने कि हाइ रिस्क डोज दिने भन्ने पत्ता लाग्यो। आफ्नो छोराको एमआरडी टेस्ट नेगेटिभ आएकाले उनलाई नर्मल डोज किमो चलाएको उनकी आमा सुशीला केसी बुढाथोकीले बताइन्।

तीन र चार महिनाकोमा अस्पतालमै भर्ना भएर किमो दिनुपर्ने हुन्छ। त्यहाँ करिव ६, ६ दिन नै बस्नुपर्ने हुन्छ। सबैभन्दा गाह्रो हुने पनि यति नै बेला हो।

किमो दिएपछि उनलाई चिटचिट हुने, रिस उठ्ने,बोल्न मन नलाग्ने, झर्को लाग्नेजस्ता व्यवहारमा परिवर्तन देखिए। ‘कुनै कुनै बेला त बोली नै अर्कै भए जस्तो लाग्थ्यो’, उनकी आमाले भनिन्। त्यतिबेला शरीर कमजोर हुने भएकाले ज्वरो आउन सक्ने सम्भावना बढी हुन्छ। यसमा उनका अभिभावक सधैं सचेत रहे।

उनको सुरुको महिनामै उपचार गर्दा क्यान्सर सेल नेगेटिभ देखिएका थिए। तर पनि ०.०५ प्रतिशत कोषिकाहरू लुकेर बसेका सम्भावना हुने भएकाले सात महिनासम्म उपचार गराउन डाक्टरले सुझाव दिए। उनको शरीरमा मात्र नभई दिमागमा पनि क्यान्सर कोषिका देखिन सक्ने सम्भावनालाई हटाउन लुम्बर पन्चर गर्ने गरिन्थ्यो। यो विधिमा ढाडमा प्वाल पारेर त्यहीँबाट ब्रेनमा केमी दिने गरिन्थ्यो। यो १५ दिनको अन्तरालमा गर्नुपथ्र्यो। पहिलो र पाँचौं महिनाको किमोले एकदमै भोक लाग्ने गथ्र्यो। त्यसैले उनलाई घरमै पकाएको स्वस्थकर खानेकुरा खुवाउने गरिन्थ्यो। फलफूलमा पनि विषादी प्रयोग भएको हुने हुनाले दिनु हुँदैनथियो। केराको बोक्रा बाक्लो हुन्छ भनेर यो खुवाउन डाक्टरले सुझाउँथे।

पाँचौं महिनाको किमो पछि उनको टीएलसी घट्यो। अनि ज्वरो आयो। त्यसैको उपचार गर्न धेरै खर्च लाग्यो। किमो दिने समय पछाडि धकेलियो। दिल्लीको बसाइ लम्बियो। कतिखेर के हुने हो भन्ने डर उनको आमाबाबुमा सधैं रहिरह्यो। तर पनि आफ्नो मन दह्रो बनाउनेबाहेक अन्य विकल्प त्यहाँ थिएन।

बिरामीको आत्मबल बढाउने खालको वातावरण तयार गरिदियो भने टीएसलीको मात्रा बढ्छ भन्ने डाक्टरले बताएका थिए। त्यसैले उनका आमाबाबु मनभरिको पीडा र गहभरिको आँसु लकाएर उनीअगाडि सधैं हाँसीखुसी रहने कोसिस गर्थे। उनी हेर्दा निकै सक्रिय देखिन्थे। कहिलेकाहीँ आमाबाबुलाई छोरालाई केही भएकै छैन कि भन्ने जस्तो पनि लाग्थ्यो। घरमा बस्दा उनी खेलिरहेका भए पनि उनका ध्यान सधंै आमाबाबुमै हुन्थ्यो। छोराको चनाखो हुने स्वभाब बिरामी भएपछि झन् बढेको उनका आमाबाबुले महसुस गरेका छन्।

किमो सकाएर घर गएपछि उनले ‘मलाई कति थकाइ लागेको छ काखमा सुताउनु न आमा’ भन्थे। काखमा राखेको छोरालाई हेर्दा कहिले उनको अनुहार परिवर्तन भएझैं लाग्थ्यो उनकी आमा सुशीलालाई। आँसु लुकाएर हाँस्नु पर्दाका ती क्षण सम्झँदै उनी भन्छिन्, ‘के गर्नु उसको दु:ख हामीले देख्न मात्र सक्थ्यौं, बाँड्न सक्ने थिएनौं। सबैभन्दा धेरै पीडा त्यतिबेलै हुन्थ्यो।’

उनीहरूको दिल्लीको बसाइ निकै महँगो थियो। घरभाडा मात्रै महिनाको ३२ हजार पथ्र्यो। पानी बत्तीको लिने थिएन। तर एसीको छुट्टै दिनुपथ्र्यो। सात महिनाको उपचारमा करिब २२ लाखभन्दा बढी खर्च लाग्यो। यति धेरै खर्च लाग्दा पनि करिब तीन सयभन्दा बढी नेपाली सोही अस्पतालमा उपचाररत रहेको उनीहरूले पाए। नौ महिनादेखिको बच्चा त्यहाँ उपचारका लागि ल्याइएको थियो। बालबालिकामा रगत, हड्डीको ट्युमर, घाँटीको ग्लान्डको क्यान्सरको बिरामी त्यहाँ उपचारका लागि आएका उनीहरूले पाए।

नेपालमा एक पिन्ट रगत खोज्न धेरै सास्ती झेल्नुपर्छ। तर त्यहाँ एक घण्टाभित्रै बेडमै आइपुग्छ। डाक्टर नर्सको बानीव्यवहार मिजासिलो पाए। त्यसैले नेपालमा पनि यतिनै स्तरीय र राम्रो अस्पताल भए यति धेरै पैसा बिदेसिनबाट रोकिने सुशीला बताउँछिन्। ‘यहाँका नेताहरू विदेशका महँगा अस्पतालमा उपचार गराउन जाने, जनताका छोराछोरीलाई एउटा राम्रो अस्पताल नबनाइदिने’, सुशीलाले आक्रोश पोखिन्।

उपचारमा संलग्न डा. गौरी कपुरका साथमा सोमहर्षण

तर छोराको उपचारमा सहयोग गर्ने गौरी कपुर, सञ्जीव जैन, पायन मल्होत्रालगायतका डाक्टरको टोलीलाई उनी धन्यवाद दिन चाहन्छिन्। नेपालमा अन्य दुई जना छोराछोरी छाडेर उता गएकाले उनीहरूको चिन्ता एकतर्फ थियो। उनीहरूलाई रुघाखोकी ज्वरो आएको खबर पाए नि कान्छो छोरालाई जस्तै पो भयो कि भन्ने सोचेर मन धेरै आत्तिन्थ्यो। तर आफन्तको साथ सहयोगले यो पीडादायी पललाई पार लगाउन उनीहरूलाई सहज भयो। भएको जागिर छोडेर जानु परेकाले पैसा जुटाउनु उत्तिकै चुनौतीपूर्ण थियो। छोराको हेरचाह गर्ने कि पैसाको जोहोमा लाग्ने। अमेरिकामा बस्ने आफ्नो देवर, देउरानी र अन्य आफन्तजनको सहयोगले गर्दा यस्तो तनावमा पर्नु नपरेको सुशीला बताउँछिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.