दूर यात्रामा दुर्गा दाइ

दूर यात्रामा दुर्गा दाइ

विचार र व्यवहार दुवैमा साँच्चै नै असल र आत्मीय दुर्गा दाइ अब अतीत हुनुभयो भनेर सम्झिन सायद निकै समय लाग्नेछ।


 दुर्गा दाइ, अर्थात् दुर्गानाथ शर्मा अब स्मृतिहरूमा मात्र रहने हुनुभयो। कठोर नियतिसामु मानिसका सबै खाले चाहना पराजित हुँदा रहेछन्। यही माघ २२ देखि दुर्गा दाइ रहनुभएन।

मैले उहाँलाई दुर्गा सर कहिल्यै भनिनँ, दुर्गा दाइ मात्र भनेँ। २०४५ साउनदेखि म नेपाल टेलिभिजनमा प्रवेश गरेको थिएँ, कार्यक्रम निर्माताका रूपमा। त्यस बेलादेखिको उहाँसँगको अनौपचारिक साइनो यथावत् रहिरह्यो। अनौपचारिक हुनुमै त आत्मीयताको सुवास रहन्छ।

अब त्यो सुवास मेरो स्मृतिमा मात्र रहन पुग्यो। ‘धमला भाइ, के छ हालखबर ? ’ भन्दै आफैं पहिले हात मिलाउन अघि सर्ने दुर्गा दाइसँग म नमस्कारपछि ‘ठिकै छ दाइ’ भन्दै अप्ठ्यारो मानीमानी हात मिलाउँथँे।

सधैं हँसमुख रहने दुर्गा दाइले सिनियर र जुनियर कर्मचारीबीच कहिल्यै विभेद गर्नुभएन। कुराकानी वा अन्य व्यवहारमा कहिल्यै भेदभाव राख्नुभएन। संस्थापक अध्यक्ष नीर शाहसमेत दुर्गा दाइसामु सधैं आदरभावका साथ कुराकानी गरिरहेको म देख्दथेँ।

म नेपाल टेलिभिजनमा आउनुपहिले दुर्गा दाइलाई रेडियो नेपालको समाचार वाचकका रूपमा सुनेको मात्र थिएँ। गहकिलो र प्रस्ट आवाजमा उहाँले बिहान ७ बजे वाचन गरेको समाचार हिँड्दाहिँड्दै टक्क रोकिएर सुन्ने गरेकोे मैले धेरैपटक देखेको थिएँ।

उहाँको ओजस्वी र कर्णप्रिय आवाजमा समाचार सुन्दा श्रोतालाई बेग्लै सन्तुष्टि हुन्थ्यो। त्यति लोकप्रिय समाचार वाचक रेडियो नेपालले कमै मात्र पाएको अनुभव हुन्छ। विद्यार्थी जीवनमा छँदा त्यस्ता विख्यात समाचार वाचकसँग एउटै कार्यालयमा सँगै काम गर्न मौका मिल्ला भन्ने मेरो कल्पनाबाहिरकै कुरा थियो। तर संयोगले मेरा लागि दुर्गा दाइसँग भेट मात्र भएन, झन्डै दुई दशकसम्म नेपाल टेलिभिजनमा सहकार्य गर्ने अवसर पनि जुरायो।

नेपाल टेलिभिजनमा दुर्गा दाइ समाचार महाशाखाको जिम्मेवारीमा रहँदा कार्यक्रम निर्माताहरूसँग उत्तिकै निकट रहनुभयो। मैले सुरुमा शैक्षिक कार्यक्रम परियोजनामा आबद्ध भई बालबालिकाका लागि कार्यक्रम सञ्चालन गरेँ। केही महिनापछि नै म साहित्यिक कार्यक्रम ‘अभिव्यक्ति’ सञ्चालन गर्न कार्यक्रम महाशाखामा सरुवा भएँ।

कार्यक्रम प्रसारण भएको भोलिपल्ट अफिसमा भेट हुँदा ‘ओहो, धमला भाइ, मैले कार्यक्रम हेरेँ, राम्रो छ, अझै राम्रो बनाउने प्रयास गर्नुस्’ भन्दै हात मिलाउनु हुन्थ्यो। कार्यक्रममा विविधता ल्याउन सके अभिव्यक्ति अझै लोकप्रिय हुन्छ भन्ने उहाँको सुझावलाई मैले पालना गर्ने प्रयास गरेँ। फलस्वरूप कविता वाचनका अतिरिक्त विधागत हिसाबमा साहित्यिक छलफल, साहित्यकारहरूका वृत्तचित्र, चित्रकला, लघुकथा वाचन आदि प्रस्तुतिका साथ कार्यक्रमलाई विविधता दिने प्रयास गरेँ। यसै कारण अभिव्यक्ति कार्यक्रम स्रष्टाजगत्मा लोकप्रिय रहेको महसुस गर्थें।

समाचारविज्ञ भए पनि दुर्गा दाइको नेपाली साहित्यप्रति राम्रो अभिरुचि रहेको म पाउँथेँ। नेपाल टेलिभिजनका वार्षिकोत्सवहरूमा कर्मचारीहरूबीच प्रतियोगितात्मक कवि गोष्ठी गराउन उहाँ उत्साहित हुनुहुन्थ्यो। दुर्गा दाइले अफिस आउँदा वा घर जाँदा बाटामा कोही कर्मचारी हिँडिरहेको देख्नुभो भने आफ्नो गाडी रोकेर उसलाई पनि सँगै अफिसमा वा बाटामा अनुकूल हुने ठाउँसम्म लिफ्ट दिनुहुन्थ्यो। त्यस्तो मौका मैले पनि निकै पाएको थिएँ।

आ–आफ्नो कार्यव्यस्तताबाट फुर्सद भएको बेला कार्यक्रम र समाचार महाशाखामा आउजाउ, कुराकानी भइरहन्थ्यो। समाचार महाशाखाका कर्मचारीहरू बडो रमाइलो गरी दाइसँग कुरा गरिरहेका देखिन्थे। समाचार वाचक, समाचार सम्पादकहरू दाइलाई बडो आदरभाव राख्थे। सबैलाई दुर्गा दाइ आत्मीय भावले व्यवहार गर्नुहुन्थ्यो। त्यही कारण कतिपय राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वका समाचार संकलन गर्न कर्मचारीहरू सधैं तत्पर रहने गर्थे। उहाँको निर्देशनमा हुने नेपाल टेलिभिजनको समाचार प्रस्तुतिले त्यस बेलादेखि नै दर्शकको विश्वास जित्न थालेको हो।

विसं २०५० को आरम्भदेखि मैले ‘व्यक्ति—व्यक्तित्व’ शीर्षकमा पाक्षिक रूपमा व्यक्तित्वमूलक वृत्तचित्रहरू निर्माण आरम्भ गरेँ। राष्ट्रका लागि महत्वपूर्ण योगदान दिने अनेकौं क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू मैले सञ्चालन गर्ने कार्यक्रमका विषय थिए। त्यस शृंखलाको पहिलो कार्यक्रम राणाकालमा बीस वर्ष जेलजीवन बिताएर २००७ सालमा मुक्त भएका राजनीतिज्ञ खड्गमान सिंह थिए। उनको व्यक्तित्वमा आधारित कार्यक्रम प्रसारण भएको भोलिपल्ट बिहानै खड्गमान सिंहले मेरो डेरामै पुगेर खुसी हुँदै आफू अति प्रसन्न भएको बताएका थिए। त्यही दिन अफिसमा दुर्गा दाइले ‘भाइ, साह्रै मेहनत गरी कार्यक्रम बनाउनुभएछ, खुसी लाग्यो, बधाई छ’ भन्नुभयो। म प्रसन्नताबोधले रातोपीरो भएँथेँ त्यो दिन। उहाँले मलाई त्यस्ता कार्यक्रमका लागि सधैं प्रोत्साहन दिइरहनुभयो।

त्यस शृंखलामा मैले झन्डै चार वर्षजति वृत्तचित्र प्रस्तुत गरेँ। विशेष अवसरमा विशेष वृत्तचित्रहरू पनि निर्माण गरेँ। पाक्षिक भनिए पनि कहिले कुनै कार्यक्रम बनाउन महिना दिनभन्दा बढी लाग्थ्यो। आफूले निर्माण गरेका कार्यक्रमहरूको आलेख म आफैंले लेख्ने हुँदा तिनको संकलन गरी पुस्तक निकालेँ। भूमिका दुर्गा दाइलाई नै लेखिदिन अनुरोध गरेँ। यस्तै टेलिभिजनबाटै प्रसारण भइसकेका कार्यक्रममा समाविष्ट व्यक्तित्वहरूका सम्बन्धमा लिखित मेरो अर्को जीवनी संग्रहमा पनि मन्तव्य लेखिदिन मैले फेरि दुर्गा दाइलाई आग्रह गरेँ, उहाँले अवकाश पाउने बेलातिर। मेरा दुई किताबमा भूमिका लेखिदिने दुर्गा दाइ मेरा किताबको अग्रभागमा पनि अब हाँसिरहनुहुनेछ।

दुर्गा दाइ नेपाल टेलिभिजनको नेतृत्वमा पुग्दा पनि कर्मचारीसँगको व्यवहारमा फरक देखिनुभएन। प्रशासनिक कामको व्यस्तता उहाँका लागि प्रक्रियागत कार्यालयीय जिम्मेवारीको विषय मात्र थियो। नेपाल टेलिभिजनको स्थापनाले विद्युतीय सञ्चार क्षेत्रमा नौलो आयामलाई जन्म दियो। यसका प्रारम्भिक दशकहरू आमनेपाली दर्शकका निम्ति प्रत्येक दिन उत्सुकताका दिनहरू बने। अन्य विकल्प टेलिभिजनहरू थिएनन्। सबै कार्यक्रम नेपाल टेलिभिजन आफैं उत्पादन गथ्र्यो। दुर्गा दाइजस्ता त्रिआयामिक सञ्चार विशेषज्ञता प्राप्त व्यक्तित्वको प्रतिभालाई नेपाल टेलिभिजनले आफ्नो पर्दामा पायो।

नेपाल टेलिभिजन भन्नेबित्तिकै आमदर्शकले सम्झिने पहिलो नाम नै ‘दुर्गानाथ शर्मा’ थियो। उहाँले चलाउने ‘विश्व–घटना’ कार्यक्रम नसम्झने को होला र ?

नेपाल टेलिभिजनको कर्मचारी हुनुको नाताले मैले दुर्गा दाइबाट सधैं सिक्ने अवसर प्राप्त गरिरहेँ। दुर्गा दाइलाई प्रत्यक्ष नचिन्ने मान्छेले ‘ती त ठूला मान्छे हुन्’ भनेर सम्झे तर सम्पर्कमा आउने मानिसका लागि उहाँ ‘ठूला’ नभएर वास्तवमै ‘असल’ मानिसका रूपमा रहनुभयो।

विचार र व्यवहार दुवैमा साँच्चै नै असल र आत्मीय दुर्गा दाइ अब अतीत हुनुभयो भनेर सम्झिन सायद निकै समय लाग्नेछ। असंख्य पटक भेट भएका क्षणहरूका अतिरिक्त मेरा पुस्तकहरूमा उहाँले लेख्नुभएका शब्दहरूमा म उहाँको कहिल्यै अतीत नहुने असलपन र आत्मीयताको न्यानो पाइरहने छु।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.