नेतृत्वको असफलता

नेतृत्वको असफलता

मुलुकलाई वैकल्पिक वाद वा दलभन्दा पनि सुधारिएको नेतृत्व र दल चहिएको छ


नेपालीको भाग्य नै त्यस्तो कि सतीले सरापेको देश हुनाले हामी यस्तो दुर्दशामा हेलिनुपरेको ? चित्त बुझाउने बाटो हो भाग्य र सतीलाई दोष। हाम्रा देश चलाउनेको मती खराब भएकाले सारा देशवासीको अवस्थामा सुधार हुन नसकेको हो। राणाले देश हेरेनन् आफ्नै शाखासन्तान मात्र पोसित गरे भनेर जनता उर्लिए धेरैले प्राण त्याग गरेर सहिद बने तर अवस्थामा खासै सुधार भएन। २०१५ सालमा बीपी कोइरालाको सरकारले केही आशा जगाएको थियो तर प्रजातन्त्रको घाँटी निमोठियो। शाही सत्ताले जनतालाई हेरेन उनीहरूको आवाज दबायो कैद पार्‍यो। बहुदल ल्याएपछि त देशमा समृद्धि आउने छ वर्ग असमानता हट्ने छ सबैको आवाज सुनिने छ भन्ने आशामा २०४६ मा जनता सडकमा उर्लिए तर जनजीवनमा कुनै तात्विक भिन्नता भएन। त्यसपछि त माओवादी संघर्षले गर्दा झनै दयनीय अवस्था झेल्नुपर्‍यो।

तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिँदा जनताको खासै विरोध थिएन किनकि व्यवस्था परिवर्तन हुँदा केही सुधार होला माओवादी युद्धको किनारा लाग्ला, निरन्तर हुने नेपाल बन्द रोकिएला, दैनिक लास गन्ने समाचार सुन्न नपर्ला भन्ने जनमानसलाई लागेको थियो तर त्यो आशा पनि मरुभूमिको मिराजजस्तो भएर बिलायो। अनि फेरि जनता जागे, ६२–६३ को आन्दोलन भयो गणतन्त्र आयो तर के फरक भयो त यो १४ वर्षमा जनताको जीवनयापन गर्ने शैलीमा ? उही दुःख उही जीवन। तर कैयन् नेता र टाठाबाठा कार्यकर्ताबाहेक अरूको जीवनमा केही फरक आएको छैन।

विश्वमा भएका परिवर्तनका कारण लतारिएर जति विकास भएको छ, त्योबाहेक हाम्रो नेतृत्वको जनताप्रतिको उत्तरदायित्वका कारण देशले कुनै कुरामा कोल्टे फेरेको छैन भन्दा पनि हुन्छ। दलित, पिछडिएका जनता, दुर्गमवासीको अधिकार सुनिश्चित भएको देखिन्न। कागजमा लेखेको कुरा उही टाठाबाठा समूहले रजाइँ गरिरहेका छन्।

हो, व्यवस्था फेरियो तर जनताको अवस्था फेरिएन। सबै नेताहरूले हामीलाई मीठा सपना देखाए हामी तिनै सपनामा डुब्दै गयौं। धेरै सपना बोकी पटकपटकको आन्दोलनमा हेलिएको मजस्ता कैयन् नेपालीले फरकफरक नेता र पार्टीहरूका झूटा आश्वासन पत्याउँदै गयौं र उनीहरूलाई पटकपटक सत्तामा पुर्‍यायौं। प्रचण्ड, बाबुराम र अहिले ओली प्रधानमन्त्री हुँदा अरू नेताभन्दा धेरै आशा गरिएको थियो। तर सबै उस्तै निस्किए। अब एउटा अर्को आशामा हामी अल्झिएका छौं त्यो हो– पार्टी र सरकारको युवा नेतृत्व। कथंकदाचित अर्को चुनावपछि युवा नेतृत्वले देश हाँक्ने अवसर पायो भने के होला के तिनीहरू पनि पुराना नेता झैं फेल होलान् कि हाम्रो जीवनस्तरमा केही सुधार ल्याउलान् ?   

दक्ष नेतृत्वले संकटका बेलामा देशलाई संकटबाट मुक्ति दिलाउन सक्नुपर्छ। बहुमतको सरकार हुँदाहुँदै देशलाई युद्धका बेलामा सफलतापूर्वक हाँक्न नसकेकाले दोस्रो विश्वयुद्धको सुरुवाती समयमा बेलायतका प्रधानमन्त्री च्याम्बरल्यानले आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो। त्यस्तो संकटको अवस्थामा सबै पार्टीलाई एकजुट बनाउँदै विस्टन चर्चिलले सत्ता सम्हालेका थिए। उनले सत्ता सम्हाल्नेबित्तिकै देश र जनतालाई गरेको सम्बोधनमा प्रधानमन्त्री र उनको सरकारले जनतालाई केवल रगत, श्रम, आँसु र पसिना मात्र दिनेछ, अरू केही दिने छैन भनेर वास्तविकता बताएका थिए।

अब पार्टीहरू सुध्रिनु अनिवार्य छ। नेतृत्वले जनतालाई हावा गफ होइन कि वास्तविकता बताउनुपर्छ। आन्दोलन गर्न सक्षम पुस्ताले देश चलाउन सकेन। त्यसैले नयाँ पुस्तालाई बाटो खुला गर्नुपर्छ। होइन भने गलत नेतृत्वले देश र जनतालाई अर्को लामो समय कुँज्याएर राख्ने छ।

उनको नेतृत्वमा बेलायतले दोस्रो विश्वयुद्ध जित्यो पनि तर उक्त युद्ध सकिनेबित्तिकै भएको चुनावमा उनको दल कन्जर्भेटिभले नराम्रो पराजय भोग्नु पनि पर्‍यो। अर्थात् अब युद्ध संकटबाट पार लगाउने नेतृत्व होइन, देश विकास गर्ने नेतृत्व चाहिएको छ भन्ने जनताको चाहना थियो सोहीअनुरूप भयो। अर्थात् कुनै एक नेतृत्व सबै कामका लागि उपयुक्त नहुन सक्छ। तर हाम्रा नेताहरू जनतालाई झूटा आश्वासन दिने सरकार र देशले गर्न नसक्ने काम छोटो समयमै गरेर देखाउँछु भन्ने जस्ता झूटा कुरा बाँडेर चुनाव जित्ने ध्येय मात्र राख्छन्, चर्चिलले भने झैं प्रधानमन्त्री हुने बेलामा वा चुनावी भाषणमा सत्य कुरो किन बोल्दैनन् हाम्रा नेता ? दुई वर्षमै रेल र पानीजहाज, घरघरमा ग्यासको पाइप, कोही भोकै बस्नुनपर्ने, घरघरमा पाँच हजार वृद्धभत्ता जस्ता हावा गफ दिने हाम्रो नेतृत्व गम्भीर नबनेसम्म देश समृद्धिको मार्गमा हिँड्ने छैन।

देश निर्माण कुशल र यथार्थवादी नेतृत्वले मात्र सम्भव छ। मलेसिया, सिंगापुर, दक्षिण कोरिया, जापान, रुवान्डा, इथियोपिया, पोल्यान्डलगायतले छोटो समयमै तीव्र विकासको फट्को मार्नुमा ती देशमा रहेको कुशल नेतृत्व नै थियो र हो। कर्मचारीतन्त्रलाई निर्देशन गर्ने, नीतिनियम बनाएर कार्यान्वयन गर्ने सबै काम राजनीतिक नेतृत्वकै रहन्छ। अर्थात् नेतृत्व कमजोर र रोगी हुँदा देशले फट्को मार्न सक्दैन। सात दशकदेखि यही समस्याले गुज्रिरहेका छौं हामी।

सबै आन्दोलन गर्दा हामीले सोच्यौं हाम्रा नेताहरूमा इमानदारी र निष्ठा छ भनेर। उनीहरूमा विकासको प्रतिबद्धता र जोस छ भनेर। हाम्रा नेताहरू पारदर्शी हुनेछन् र उत्तरदायित्व वहन गर्नेछन् भन्ने सोच राख्यौं हामीले। समानुभूति, निर्णय गर्ने क्षमता, नम्रता, पारदर्शिता र सशक्तीकरणजस्ता गुणले भरिएका नेता पाएका छांै। यिनीहरूको नेतृत्वमा देश समृद्ध हुनेछ र हामी सम्पन्न देशका जनता हुनेछौं भनेर सपना पटकपटक देख्यौं हामीले तर हाम्रा नेताहरू निकम्मा निस्किए। हाम्रा सपना तुहाएर आफू र आफ्ना नातेदारका लागि मात्र काम गरे।

विकास र समृद्धि कुनै वादको फेरो समातेर आउने होइन। देख्न सकिन्छ– राजा भएका देशहरूमा विकासले आकाश छोएको पनि छ चरम गरिबी पनि छ। खाडीका प्रायः देशमा राजतन्त्र नै छ तर विकासको उत्कृष्ट नमुना त्यही क्षेत्रमा देख्न सकिन्छ अर्कातर्फ अफ्रिकाका स्वाजिल्यान्ड र टोंगाजस्ता देश राजातन्त्र भए पनि चरम गरिबीले डुबेका छन्। जापान, बेलायत स्विट्जरल्यान्ड, डेनमार्क, बेल्जियम नेदरल्यान्डलगायत कैयन् देश संवैधानिक राजतन्त्र र लोकतन्त्रको अभ्यासमा फलेफुलेका छन्। कम्युनिस्ट राष्ट्र चीन र पुँजीवादी राष्ट्र अमेरिकाले पनि विकासमा चमत्कार गरेकै छन्। अर्कातर्फ कम्युनिस्ट भएरै भोकमरीमा डुबेको उत्तरकोरिया र पुँजीवाद अँगालेर करोडौं भिखारी सडकमा देखिने भारत पनि हाम्रैसामु छन्।

अर्थात् विकास कुनै वाद वा तन्त्रले छेक्ने वा बोकेर ल्याउने होइन। समृद्धि त सफल र कुशल नेतृत्वले ल्याउने हो। हामी नेपालमा तानाशाहीतन्त्रले ल्याउने विकास होइन कि लोकतन्त्रसहितको समृद्धि खोजिरहेका छौं। देशको भौगोलिक अवस्था र प्राकृतिक स्रोतको सदुपयोग गर्ने हो भने हामीलाई समृद्धि चुम्न गाह्रो हुने थिएन तर हाम्रा नेताहरूले विकास मार्ग पहिल्याउन सकेनन्। देशमा जनशक्ति अडिने वातावरण बनाउन सकेनन्। त्यसैले हाम्रा युवा खाडीका देश निर्माणमा व्यस्त छन् पश्चिमेली देशका ठूलाठूला आयोजना हाँक्न व्यस्त छन्।

अहिले हामीसँग झन्डैझन्डै दुईतिहाइको समर्थनमा बनेको सरकार छ तर सरकारले बलियो गरी खुट्टा टेकेको आभास भएको छैन। ससाना कुरामा अल्मलिएर बसेको छ। विधेयकहरू पर्याप्त छलफल नगरी ल्याउँदा जनमतको दबाबमा फिर्ता लिनु परिरहेको छ। प्रधानमन्त्री र मन्त्रीहरू जथाभावी बोल्दै हिँड्ने क्रम जारी छ। जनताका समस्या सुनेर समाधान गर्नेतर्फ नलागी सरकार टुक्का र भाषणका भरमा रमाइरहेको देखिन्छ र जनतालाई फेरि पनि निराशाको केन्द्रतिर धकेलिरहेका छ।

बीपी कोइराला र पुष्पलाल श्रेष्ठले देखेका सपना कृषक र मजदुरका लागि थिए। बीपी कोइरालाले जति गरे दीर्घकालीन रूपमा गरिबलाई उत्थान गर्ने गरी काम गरे। तर उनीहरूका अनुयायी हुँ भन्नेले मजदुर र कृषकका लागि होइन कि आफ्नै आसेपासेका लागि मात्र काम गरे, जसले गर्दा जुनसुकै व्यवस्था आए पनि जनताले केही राहत पाएनन्। हाम्रो नेतृत्व दीर्घकालीन रूपमा सोचेर काम गर्ने त कुरै छाडौं, भाषण पनि टुक्का र जोकजस्तो गर्ने भए। जे बोल्छन्, हचुवामा बोल्छन्। हुँदाहुँदा अहिले त यस्तो अवस्था आयो प्रधानमन्त्रीले बोले भने हाँसोमा उडाउने वातावरण सिर्जना भयो। नेतृत्वमाथिको यस्तो अविश्वास अरू कसैले सिर्जना गरेको होइन, हाम्रै नेताहरूले हो।

हामीलाई सबै किसिमको विकास चहिएको छ। तर देशमा रहेका जडिबुटी खेर गइरहेको छ। जलविद्युत् विकास गर्न सकिएको छैन। कृषिप्रधान देश भन्दै विदेशबाट खाद्यान्न भित्र्याएर खानु परिरहेको छ। सगरमाथा र बुद्धको जन्मभूमिमा पर्याप्त पर्यटक भित्र्याउन सकिएको छैन। तर नेतृत्वले गफ दिन छाडेको पनि छैन दुईचार वर्षमै खासा रेल र काठमाडौंमा मेट्रोरेल, अध्ययन हुनै बाँकी पेट्रोल उत्खनन केही वर्षमै अनि पोहोर सालै चल्ने गरी पानीजहाज। हो, यस्ता बकम्फुसे गफले नेतृत्व निकै हल्का भयो जनताले पार्टी र नेतालाई पत्याउने वातावरण भएन अनि देशको प्राकृतिक स्रोतको सदुपयोग गर्न सकिएन।

अब पार्टीहरू सुध्रिनु अनिवार्य छ नेतृत्वले जनतालाई हावा गफ होइन कि वास्तविकता बताउन जरुरी छ। आन्दोलन गर्न सक्षम पुस्ताले देश चलाउन सकेन। त्यसैले नयाँ पुस्तालाई बाटो खुला गर्न आवश्यक छ। होइन भने गलत नेतृत्वले देश र जनतालाई अर्को लामो समय कुँज्याएर राख्ने पक्का छ। वैकल्पिक वाद वा दलभन्दा पनि सुधारिएको नेतृत्व र दल चहिएको छ हामीलाई अहिले।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.