साइलेन्ट निमोनिया

साइलेन्ट निमोनिया

राति उसका बुवा बेहोश भएछन्। एम्बुलेन्स बोलाएर अस्पताल पुर्‍याएछ उसले। अक्सिजनको मात्रा घटेर ४० पुगेको रहेछ। अस्पताल जानेबित्तिाकै सीधै भेन्टिलेटरमा राख्नु परेछ। बालाई भेन्टिलेटरमा राखेपछि उसले पनि जाँच गराएछ। सिटी स्क्यान गरेर हेर्दा उसको फोक्सोको दुवैतर्फ ६० प्रतिशत पानी जमेको देखिएछ।


‘रुघाखोकी त हरेक साल पटकपटक लाग्थ्यो। अहिलेजस्तो डर कहिल्यै लागेको थिएन। मलाई कोरोना लाग्यो कि सर ?’ उसको आवाजमा तुसारो परेको थियो। एकपटक पीसीआर टेस्ट गर्नुहोला, ढुक्क हुन्छ। मैले उसको स्वरलाई उष्ण बाफ दिएँ। रुघा लागेको बेला पीसीआर पोजिटिभ आउँछ रे ! उसले रेडिमेड भ्रम पोख्यो। आउँदैन। पीसीआर मेसिनमा एकातिर कोरोना भाइरसको जिन राखेको हुन्छ। अर्कोतिर हाम्रो स्वाबबाट निकालेको भाइरसको जिन हुन्छ। उही जिन भए पोजिटिभ आउँछ, अर्को भाइरस वा ब्याक्टेरियाको जिन भए नेगेटिभ आउँछ। मैले रेकर्डर खोलेझैं उसलाई उत्तर दिएँ।

कोरोना पोजिटिभ देखियो भने अस्पताल वा आइसोलेसन केन्द्रमा राखिहाल्छ। त्यहाँ न खाना मीठो हुन्छ, न सुत्ने ठाउँ राम्रो हुन्छ, ट्वाइलेट जाने लाइन हुन्छ रे ! उसले पुरानो कथा सुनायो। कहाँ त्यसरी राख्छ ? सरकारले होम आइसोलेसनमा बस्नुहोला भनिरहेको छ। इच्छाले वा 

अप्ठ्यारो भएमात्र राख्ने हो। मैले फोनबाटै उसको काँधमा हात राखें। टेस्ट गर्ने लाइनमा कोरोना सर्छ कि ? उसले टेस्ट नगर्ने बहाना खोज्दै थियो। मास्क लगाउनुहोला, सक्दो दूरी कायम गर्नुहोला। दुई हजार तिर्‍यो भने प्राइभेटमा छिटो टेस्ट हुन्छ। मैले उसलाई उपाय बताएँ। सिटामोल खाएर चेक गर्न जाने कि ज्वरो लिएर ? उसले अझै उदासीनता देखायो। १०० डिग्रीको आसपास ज्वरो छ भने सिटामोल खाएर जानुहोला। मैले ऊर्जाको दियोमा तेल थप्ने प्रयत्न गरें। हनहनी ज्वरो नआएसम्म निःशुल्क परीक्षण गर्दैन रे ! उसले सरकारी नियम बतायो। रोग तपाईंलाई लागेको हो, दुःख तपाईंले भोग्नुपर्ने हो, सरकारको बाटोमात्र नहेर्नुहोला। उसैका लागि मैले अनुनय गर्नुपर्‍यो।
०००

उसलाई बुझ्ने गरी सम्झाएपछि काममा लागें। बेलुका उसैले फोन गर्‍यो— पीसीआर टेस्ट गरे पनि नगरे पनि कुरो एउटै रहेछ। रिपोर्ट पोजिटिभ आए पनि घरमा छुट्टै बस्ने हो, त्यही सिटामोल खाने हो, त्यही खोकीको औषधि खाने हो। टोलमा थाहा भए सामाजिक बहिष्करण भोग्नुपर्छ। दुई हप्ता घरमै बस्छु, पीसीआर गर्दिनँ। उसको मनस्थिति फेरि ‘यु टर्न’ भयो।
रोग पत्ता लगाउनु ठूलो कुरा हो। कोभिड निमोनिया भयो भने गाह्रो हुन्छ। त्यसैले हेलचेक्य्राइँ नगर्नुहोला। कोरोना संक्रमण रहेछ भने अरूलाई सर्न सक्छ। उपचारको प्रक्रिया फरक हुन्छ। बूढा बाआमालाई सर्‍योे भने जोखिम हुन्छ। उसलाई दबाब दिएँ।

‘शरीरमा अक्सिजनको मात्रा ९५ देखि १०० प्रतिशतसम्म हुनुपर्छ। कोरोनाबाहेक अन्य रोगमा अक्सिजनको मात्रा घट्यो भने सास फेर्न गाह्रो हुन्छ। कोरोना संक्रमणमा अक्सिजनको मात्रा ५० प्रतिशतमा झरे पनि कुनै लक्षण नदेखिने तर भित्रभित्रै फोक्सोमा खराबी हुने हुन्छ। यसलाई साइलेन्ट हाइपोक्सिया भनिन्छ। यो निकै जोखिमयुक्त अवस्था हो’, मैले उसलाई रोगको गम्भीरता बुझाउने प्रयत्न गरें।
०००

दुई दिनपछि उसले फोन गर्‍योे। सर ! मेरो पोजिटिभ आयो। घरमा सबैजनालाई रुघाखोकी लागेको छ। सर्‍योे कि क्या हो ? मैले सबैजनाको परीक्षण गर्ने सल्लाह दिएँ। उसले सुनेको नसुन्यै गर्‍योे। ‘सर, सिटामोल खाएको २–४ घण्टामात्र ज्वरो अलि अथवा हुन्छ, खोकी र घ्यारघ्यार पनि छ। खोकीको औषधि, भिटामिन, गुर्जो, बेसार, अदुवा, मरीच खाइरहेको छु।’ ‘अक्सिमिटर किनेर अक्सिजनको स्तर हेर्नुहोला। ९२ भन्दा तल पुग्यो भने अनिवार्य रूपमा अस्पताल जानुहोला।’
०००

उसले तीन दिन फोन गरेन। फोन गरें। कहाँ हुनुहुन्छ ? उसले भन्यो— मेडिकलमा औषधि बेच्ने भाइले अस्पताल जानु पर्दैन भन्यो। ८ थरी औषधि दिएको छ। निमोनियाको तीन थरी एन्टिबायोटिक पनि ल्याएको छु। घरमा अक्सिजनको सिलिन्डर र पाइप ल्याएको छु। सास फेर्न गाह्रो हुँदा अक्सिजन लगाएको छु। बाआमालाई पनि यसो १–२ घण्टा अक्सिजन लगाइदिएको छु। श्रीमतीलाई स्वाद र बास्ना छैन। उसैले पकाएर खुवाएकी छ। केटाकेटी ख्वाक्क खुक्क गरेका छन्।

अक्सिजन कति छ ? म हैरान भएँ। ‘मेरो ९० छ, कहिलेकाहीँ ८५ पनि हुन्छ। त्यसले केही गाह्रो भएको छैन। अस्पतालमा पनि त्यही अक्सिजन दिने हो क्यारे !’ ऊ अडानमा कायम देखियो। ‘बाआमाको अक्सिजन स्याचुरेसन कति छ ?’ ‘बाआमाको अक्सिजन मेरोभन्दा कम। बुढेसकालमा हाम्रोजस्तो कहाँ हुन्छ र ? केटाकेटीको हेरेको छैन। श्रीमतीको ९६÷९७ छ।’ उसले परीक्षामा आएको प्रतिशत जस्तो कुरा गर्‍योे।

तुरुन्तै बाआमालाई पनि लिएर अस्पताल जान भनें। अबको ५ घण्टाभित्र तपाईंहरू अस्पताल जानुभएन भने अकल्पनीय जोखिम हुनसक्छ। ज्वरो, खोकी, स्याँस्याँ र न्यून अक्सिजनलाई बेवास्ता गर्दा आजकल धेरै व्यक्तिको अस्पताल नपुग्दै ज्यान गएको छ। यो अवस्थामा सीधै आईसीयू र भेन्टिलेटर चाहिन्छ। समयमा नपुगे भेन्टिलेटरमा राखे पनि बाँच्न गाह्रो हुन्छ। अहिल्यै एम्बुलेन्स बोलाउनुहोस्। मेरो शब्द चयन पत्थरजस्तो भयो। ‘आ ! सर पनि डर मात्र देखाउनुहुन्छ। सिटामोल खाएका छौं, कफ सिरप र निमोनियाको एन्टिबायोटिक खाएका छौं। ठीक भइहाल्छ नि !’ उसले मलाई नपत्याएको अनुभव भयो।

कोभिड निमोनियामा एन्टिबायोटिकले झन् हानि गर्न सक्छ। कोभिड निमोनियाको उपचार अस्पतालमै बसेर गर्नुपर्ने हुन्छ। शरीरमा अक्सिजनको लेभल घट्न थालेपछि दुईदेखि पाँच घण्टाभित्रै फोक्सोमा गम्भीर असर गर्न थाल्छ। त्यो बेला ‘हाई फ्लो अक्सिजन’ ? सहितका आईसीयू उपचार प्राप्त गरेन भने मृत्यु पनि हुनसक्छ। यो अवस्थामा घरमा अक्सिजन लगाएर मात्र हुँदैन। चिकित्सकको विशेष निगरानीमा उपचार गराउनुपर्छ। मैले उसलाई अहिलेको अवस्था बताउने प्रयत्न गरें।
सर ! मलाई सास फेर्न गाह्रो हुने, छटपटी लाग्ने, चक्कर लाग्ने, आँखा धमिलो हुने भएको छ । आराम गर्छु है ! उसका लक्षणले मेरो मुटु चिसो भयो। ‘तुरुन्तै अस्पताल जानुहोस् ! यी लक्षण हाइपोक्सिया अर्थात् अक्सिजनको कमीले देखिन्छ’, अनुभव सुनाएँ।
०००

राति उसका बुवा बेहोश भएछन्। एम्बुलेन्स बोलाएर अस्पताल पुर्‍याएछ उसले। अक्सिजनको मात्रा घटेर ४० पुगेको रहेछ। अस्पताल जानेबित्तिकै सीधै भेन्टिलेटरमा राख्नु परेछ। बालाई भेन्टिलेटरमा राखेपछि उसले पनि जाँच गराएछ। सिटी स्क्यान गरेर हेर्दा उसको फोक्सोको दुवैतर्फ पानी जमेको रहेछ। दाहिने फोक्सो ६० प्रतिशत निमोनियाले ढाकिएको रहेछ। यस्तो रिपोर्ट देखेपछि उसलाई सीधै आईसीयूमा पुर्‍याएछन्। ‘हाई फ्लो अक्सिजन’ मा राखेर उसलाई रेम्डेसिभिरलगायत औषधि सुरु गरियो। प्रतिमिनेट ५०–६० लिटरका दरले अक्सिजन दिँदा
पनि उसलाई एकदम गाह्रो भयो। त्यसपछि उसलाई भेन्टिलेटरमा राखियो।

उसलाई भेन्टिलेटरमा राखेको केही घण्टापहिले उसका बुवाको मल्टिपल अर्गान फेलियरका कारण भेन्टिलेटरमै निधन भयो। उसको बुवाको शवलाई त्यही दिन प्लास्टिकमा प्याक गरेर सेनाले ढुंगे कुनोमा गाडे। उता उसकी आमालाई सास फेर्न निकै संघर्ष गर्नु परेको थियो। छातीबाट अनेक जनावर कराएजस्तो आवाज सुनिन्थ्यो। ओठ, जिब्रो, नङ नीला भए। शरीर शीतांग थियो। कहिलेकाहीँ बेसुरका कुरा गर्थिन्। उनको अवस्था देखेर उसकी श्रीमतीले एम्बुलेन्स बोलाई। अस्पताल नपुग्दै उनको निधन भयो। मृत्युपछि स्वाब टेस्ट गर्दा कोरोना पोजिटिभ देखियो। त्यसपछि सेनाले उसकी आमालाई पहरे कुनोमा गाडे।

उसकी श्रीमतीलाई कडा लक्षण देखियो। जोर्नी हथौडाले हानेजस्तो दुखिरहेका थिए। जिब्रोले स्वाद बिर्सेको थियो, नाकले गन्ध बिर्सेको थियो र कान ढुम्म भए। पटकपटक बान्ता आउँथ्यो, पेट बटारिन्थ्यो तथा शरीर झमझम पोलिरहेको थियो। शरीर र मन शिथिल भएको थियो। मन भक्कानिएर गहमा आँसुको चस्मा थियो। बिहानै फलपूmल, दूध, पकाएको खाना लिएर उसको घरमा गएँ। रुँदारुँदा उसकी श्रीमतीका आँखा सुन्निएका थिए। मैले निकै बेर सम्झाइबुझाइ गरें। घरबाट ल्याएको खाना खान भनें। कोरोना सर्छ भनेर कुनै पनि छिमेकी उसको घरमा गएका थिएनन्। 

छिमेकीले फोनबाट समेत एक बार सान्त्वना नदिँदा उसकी श्रीमती धेरै दुःखी भएकी थिई। उसलाई अक्सिजन नाप्न भनें। ९५ आयो। मैले चिनेको प्राविधिकलाई बोलाएर उनीहरूको स्वाब टेस्ट गर्न लगाएँ। तीनैजनाको रिपोर्ट पोजिटिभ आयो। अर्को बिहान खाना बोकेर उनीहरूको घरमा गएँ। सासूससुराको निधन, पतिको गम्भीर अवस्था र छोराछोरीको समेत पोजिटिभ रिपोर्ट आएपछि निकै विचलित भएकी थिई। सान्त्वनारूपी परामर्श दिएँ। उनीहरूको सजिलोका लागि एम्बुलेन्स बोलाएर होटेलमा बस्ने प्रबन्ध मिलाएँ। होटेलले दिने खानाबाहेकका पोसिला खानेकुरा व्यवस्था गरें।

होटेलमा बस्न पाएकोमा केटाकेटी खुसी भए। केटाकेटीलाई लक्षण नदेखिएकाले कोरोना संक्रमण भए पनि खासै असर गर्दैन भनेर उसकी श्रीमतीलाई बताएँ। ‘यताको चिन्ता नगर्नुहोला, मलाई सुधार भएको छ। हजुरले उहाँलाई ख्याल गर्नुहोला। उहाँलाई केही भए हामी बाँच्ने छैनौं’, उसले आँसु पुछी।
०००

ऊ आईसीयूमा थियो। एकदम गाह्रो हुँदा भेन्टिलेटरको सहयोग लिने तथा अरू बेला अक्सिजन मात्र राख्ने तथा केही समय छुटाउने प्रक्रिया चलेको थियो। फोन गरें। घ्यारघ्यारसहित उदास स्वरमा उसले भन्यो, ‘बाआमालाई कस्तो छ ? बा डिस्चार्ज हुनुभयो ? श्रीमती र केटाकेटी ठीक छन् नि ?’ उसलाई घरकै कुरा थाहा रहेनछ। मैले भनें, ‘यताको चिन्ता नगर ! ठूलो आत्मबल बनाऊ। तिमी छिट्टै निको हुनेछौ। तिमीलाई उपचार गर्ने डाक्टरसँग नियमित सम्पर्कमा छु।’ सुकाउने औषधि चलाउँदा पनि काम नगरेको हुँदा उसको दाहिने फोक्सोबाट डेढ लिटर र देब्रे फोक्सोबाट एक लिटर पानी सुईले तानेर निकालियो। अर्को दिन एक्सरे गर्दा फेरि पानी जमेको थियो। त्यसपछि छातीको दुवै साइडमा प्वाल पारेर पाइप राखियो।

डाक्टरले थपेका थिए, ‘उहाँको फोक्सोमा हावा धेरै थियो। न्युमोथोराक्स, हाइड्रोथोराक्स र बाइल्याटरल निमोनिया देखिएको थियो। उहाँको ब्लडप्रेसर निकै बढ्यो, सुगर पनि धेरै माथि पुग्यो। सुगर कन्ट्रोल गर्न निकै गाह्रो भयो। 

अहिले इन्सुलिन र ट्याब्लेटमा राखेका छौं। एन्जाइटीको पनि औषधि चलाएका छौं। रगत पातलो हुने औषधि चलाएका छौं। हरेक दिन एक्स–रे गरेर मोनिटरिङ गरेका छौं। अहिले उहाँ जोखिममुक्त हुनुहुन्छ।’ मलाई कोरोनारहित दसैं आएजस्तो भयो। वसन्त ऋतुमा अरण्य विहार गरेजस्तै लाग्यो।
उसकी श्रीमतीलाई भनें, ‘उहाँलाई निकै सुधार भएको छ। निमोनिया लगभग ठीक भयो। अब ४–५ दिन हेरेर डिस्चार्ज गर्छ। उहाँ पूर्ण रूपमा खतरामुक्त हुनुहुन्छ।’ ऊ निकै खुसी भई। ऊ दुःखी हुँदा पनि रोएकी थिई, खुसी हुँदा पनि रोई।

तीन दिनपछि उसले फोन गर्‍यो, ‘सर, म आज जनरल वार्डमा सरें।’ आईसीयूमा रहँदा डाक्टरले आपसमा कुरा गर्दा बुझेको थिएँ— कोरोनाका लक्षणलाई मतलब नगरेर ढिलो टेस्ट गर्दा तथा घरमा आफैं उपचार गर्दा कडा लक्षण देखिएनन्। यही कारण भित्रभित्रै साइलेन्ट निमोनिया भयो। सुरुमै पीसीआर टेस्ट गरेको भए र अक्सिजन ९२ को आसपास आउँदा नै अस्पतालमा कन्सल्ट गरेको भए यो अवस्था आउने थिएन। अहिले साइलेन्ट निमोनियाले धेरैलाई झुक्याएको रहेछ।

‘सर, तपाईंले भनेको मानेको भए सामान्य सावधानीले ठीक हुने थिएँ। बालाई भेन्टिलेटरमा राख्नुपर्ने थिएन। होम आइसोलेसनमा रहेको संक्रमितलाई एक हप्ताभन्दा बढी ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने, अक्सिजन ९२ भन्दा कम हुनेजस्ता लक्षण देखिएमा निमोनिया भएको बुझेर तुरुन्तै अस्पताल जानुपर्ने रहेछ। ढिलो अस्पताल आउनेमघ्ये आईसीयूमा सातजना मरेको देखें। जहिले पनि आफूलाई मृत्युको पालो कुरेको अनुभव भयो। बालाई दीर्घ रोगहरू थिए, कति गाह्रो भयो होला ?’, क्षमायाचनासहित ऊ लगातार बोलिरह्यो।

उसलाई राम्रो भएको थियो। कोभिड वार्डमा भेट्न नपाए पनि फोनबाट छोटो कुराकानी भइरहेको थियो। ‘सर, यो कोभिड त शत्रुलाई पनि नलागोस्। अहिले पनि स्याँस्याँ भइरहेको छ। शरीर यति गलेको छ कि बाथरुम जान पनि ठूलो शक्ति लगाउनुपर्छ। निद्रा फिटिक्कै लाग्दैन। मुटुको धड्कन बढिरहेको छ। कुनै जोशजाँगर छैन। खुट्टा पोलेर हैरान छु। डर मात्र लाग्छ। एकदम नराम्रा सपना देख्छु। स्वाद र गन्ध फर्किएको छैन। यहाँ भएका बिरामीबाट कोरोना सर्छ कि भन्ने डर लागिरहन्छ। डाक्टर र नर्सबाट कोरोना सर्छ कि भनेर उनीहरू भेट्न नआए हुन्थ्योजस्तो लाग्छ। निको भएर घर फर्किंदा एम्बुलेन्सबाट कोरोना सर्छ कि भन्ने चिन्ता लाग्छ। घरमा बा, आमा, श्रीमती र छोराछोरीबाट कोरोना सर्छ कि भन्ने डर लाग्छ। फेरि कोरोना फर्कियो भने त पीडा सहन सक्दिनँ।’

मलाई भन्न मन लागेको थियो— तिमीले कोरोना परीक्षणमा ढिलाइ गर्‍यौ, औषधि पसलबाट मनखुसी अनावश्यक औषधि खायौ, समयसमयमा अक्सिजन मापन गरेनौ र अस्पताल जान पनि ढिलो गर्‍यौ। निको नगर्ने औषधिले लक्षण दबाएर राख्दा तिम्रो परिवारले यो हालत भोग्नुपर्‍योे। डाक्टरलाई फोन गरेर उसका लागि मनोपरामर्शको व्यवस्था गर्न अनुरोध गरें। भाँचिएको त्यो मनलाई उत्थान गर्न भनें।

दुई दिनपछि उसले मलाई फोन गर्‍यो, ‘सर ! आज म डिस्चार्ज हुने दिन। अबको जीवनमा ‘स्वास्थ्य धन’ कमाउने र परिवारसँग रमाउनेबाहेक कुनै लक्ष्य छैन। मृत्युको नजिक पुगेपछि स्वास्थ्यको महत्व थाहा हुँदो रहेछ। १८ दिनपछि बाआमा, श्रीमती तथा छोराछोरीसँग भेट्ने घडीको प्रतीक्षामा छु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.