राष्ट्रियता, लोकतन्त्र र सहिद

राष्ट्रियता, लोकतन्त्र र सहिद

सभ्यताको निर्माण प्राकृतिक तवरले स्वस्फूर्त रूपमा हुन सक्दैन। सभ्यता एउटा अन्त्यहीन प्रक्रिया हो। यसले मानव समाजको उद्भवदेखि वर्तमानसम्मको सुदीर्घ यात्रा पार गरिसकेको छ। यो क्रम रोकिने छैन। समाज विकासका क्रममा राज्यहरूको निर्माणहेतु असंख्य युद्ध भए। शासकका लागि अनिच्छित मानिस हरेक युग र राज्यमा प्राण—दण्डित पनि हुँदै आए। शासक र शासितबीचका द्वन्द्व एवं युद्धका असंख्य चरण पार गर्दै मानव सभ्यता गतिशील रहँदै आएको छ। सभ्यता असल र मानव कल्याणकारी आयाममा मात्र गतिशील छैन; यो मानवीय दर्द, आँसु एवं घातप्रतिघातका वर्णनातीत परिघटनाद्वारा वेष्टित पनि छ। मानव सभ्यता यी र यस्ता सबै तत्वको आल्हादकारी एवं विस्मयकारी इतिहासको शृंखलाबद्ध निरन्तरता हो। त्यसैले सभ्यताका अँध्यारा र उज्याला दुई पाटा हुन्छन् सिक्काका दुई पाटा झैं।

यसरी निर्माण हुँदै वर्तमानसम्म आइपुगेको सभ्यताको उज्यालो पाटोमा मानव मोती झैं चम्चमाइरहेका सुकिला धरोहर हुन् सहिद। सहिद शब्द अव्याख्येय छ। शब्दकोशका शब्दार्थ सांकेतिक मात्र हुन्। विश्वका हरेक मुलुकको इतिहास नै सहिदका रक्तधाराद्वारा रञ्जित छ भन्न सकिन्छ। निरंकुश शासकले जहिले पनि रैती, प्रजा वा नागरिकलाई आफू मात्र सत्य भएको भ्रममा पार्न चाहन्छ। किनकि ऊ माथि छ। उसका आँखामा आफैंले बनाएको नियम–कानुनको चस्मा हुन्छ। हातमा त्यसकै अर्को छडी पनि उसले बोकिरहन्छ र त्यसलाई उसले नागरिकमाथि उजाइरहन्छ। जसले शासकको चस्मा निकालेर यथार्थ देखाउने प्रयत्न गर्छ; जसले उसको हातको छडी थुतेर मिल्काउन खोज्छ; उसमाथि शासकको बर्बरता र क्रूरता बज्रिन थाल्छ।

विचार र हतियारबीचको द्वन्द्व वा युद्धमा सधैं विचारले विजयश्री पहिरिन्छ। विचार र विजयश्रीको वाहक हो सहिद। सहिद विचारवेष्टित रहन्छ। ऊ विचारविहीनतामा युद्ध गर्दैन। उसको हतियार नै विचार हो। विचार मारिन सक्दैन। विचारले विचार नै जन्माउँछ। विचारले विचारवाहक जन्माउँछ। जनकल्याणकारी विचारले कुनै वादको गर्भबाट जन्मिनु पर्दैन। त्यसलाई कुनै वादको आवरणमा सजाउनु पनि पर्दैन।

शासकका विचारलाई वाद चाहिएला तर सहिदलाई वाद चाहिँदैन। सहिदलाई राष्ट्र, राष्ट्रियता, न्यायपूर्ण र लोककल्याणकारी राज्य व्यवस्था, स्वतन्त्रता अनि आर्थिक—सामाजिक हिसाबले विभेदरहित समतामूलक समाज चाहिन्छ। अनि सहिदलाई त्यस समाजमा मुस्कुराइरहेको राष्ट्रिय समृद्धिको उज्यालो चाहिन्छ। निरंकुश शासकले आफ्नो अस्तित्वप्रति विनाप्रश्न जनस्वीकृति चाहन्छ, सहिद उससामु उभिएर प्रश्न गर्छ। सहिदले शासकको निर्वस्त्रतामाथि औंला ठड्याउँछ।

विसं १९९७ मा धर्मभक्त, दशरथ चन्द, शुक्रराज शास्त्री र गंगालालले निरंकुश शासक जुद्धशमशेरसँग ‘तिमी निर्वस्त्र छौ महाराज’ भनेर औंला ठड्याएका थिए। जुनसुकै कालखण्डमा पनि सहिदले अधिनायकवादी शासकलाई औंला ठड्याइरहेको हुन्छ। ती प्राथमिककालीन सहिदहरूले जनउत्तरदायी एव लोक–कल्याणकारी राज्य प्रणालीको बहालीका लागि शासकलाई खबरदारी गरेका थिए। उनीहरूको खबरदारीलाई शासकले सहेनन्। विचारको खबरदारीप्रति शासकद्वारा बन्दुकको निशाना लगाइयो। अनि चारैजना देशभक्त सहिद भए। २००७ सालको जनक्रान्तिको जगमा उनीहरू सगर्व स्थापित भए। शासकले विचारलाई मार्न सक्दैन।

लोकस्वीकृति प्राप्त नभएको विचार आफैं धमिलो बन्दै जान्छ र क्रमशः लोप भएर जान्छ। त्यसैले लोकतन्त्र नित्य—नवीन लोक विचार स्वीकार गर्दै विकसित भइरहने सीमाहीन विचार पद्धति हो। यसको कुनै निश्चित वाद हुँदैन। वास्तविक सहिदलाई वादको रङमा मुछेर सीमित बनाउनु अवाञ्छनीय छ। सहिदवादको प्रतीक हुँदैन। राष्ट्रियताको प्रतीक हुन्छ।

सहिदहरू सबैका लागि श्रद्धा, प्रेरणा र आस्थाका पयार्य अनि स्रोत हुन्। विशिष्ट राजनीतिज्ञहरूले सहिदलाई आफ्नो प्रेरणा स्रोत मान्दै व्यक्त गर्नुभएका कतिपय भनाइ स्मरणीय छन्। बीपीले सहिदलाई प्रजातन्त्ररूपी मन्दिरको जगमा रहेका आधारशिलाका रूपमा सम्झिनुभएको छ, ‘मभन्दा धेरै दुःख पाएका र यातना सहेका, त्याग गरेका, तपस्या गरेका हाम्रो मुलुकमा सयकडौं युवा छन्। म त चिनिएको छु। अरू त प्रजातन्त्रको जगमा त्यस्ता गढेका पत्थर हुन्, कसैले चिन्दैन। प्रजातन्त्रको त्यो मन्दिरका तलका गढेका जगमा रहेका ढुंगाजस्ता सहिदहरू भए। आज उत्साहको दिनमा हामीले तिनलाई सम्झिनुपर्छ जसको त्याग र बलिदानबाट आज यस ठाउँमा म उभिएर तपाईंहरूसँग केही भन्न पाइरहेछु।’ (खुलामञ्चको आमसभामा— २०३६ साल)

बीपीले कुनै पनि राजनीतिक निर्णय गर्दा आदर्शका लागि बलिदान भएका ती सहिदबाट आफू नियन्त्रित भएको बताउनुभएको छ।

अर्का राजनेता गणेशमान सिंहले सहिदका आकांक्षा राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको रक्षा गर्दै आमजनताको अनुहारमा सुख र समृद्धिको उज्यालो ल्याउनु रहेको थियो भन्नुहुँदै ‘...हाम्रो राष्ट्र स्वतन्त्र होस्, देशको राष्ट्रियता सदा बाँचोस्, देशको उन्नति होस् र देशका जनताले बिहान खाए बेलुका के खाऊँ भन्नु नपरोस्’ भन्ने सहिदको विचारलाई हामी बाँचेकाहरूले सधैं स्मरण गरिरहनुपर्ने बताउनुभएको छ। उहाँले अनेकौं संस्मरणात्मक प्रसंगमा आफू ०९७ सालका सहिदहरूको प्रत्यक्ष प्रेरणाबाटै लोकतन्त्र स्थापनाको महायज्ञमा सरिक भएको बताउनुभएको छ।

२००७ सालको जनक्रान्तिले त्यसअघिका शासकद्वारा मृत्युदण्ड दिइएका सहिदहरूका वैचारिक प्रेरणाको धरातलीय आधारमा प्रजातन्त्रको स्थापना गराएको थियो। निरंकुश पञ्चायती कालखण्डमा असंख्य नेपालीले प्रजातन्त्र पुनस्र्थापनाका लागि मृत्युवरण गर्नुपर्‍यो। २०४६ सालको प्रथम राष्ट्रिय जनआन्दोलनका क्रममा चालीसौं नेपाली सन्ततिले सहादत प्राप्त गरे। २०४६ सालपछि पनि देशमा राष्ट्रिय राजनीतिले स्थिरता प्राप्त गर्न सकेन।

नेतृत्वमा रहनेले सहिदलाई केहीबेर सम्झे पनि राष्ट्रका स्वाभिमानी, साहसी र गौरवका धरोहरहरूको सम्मान हुनेछ।

२०६२÷०६३ सालको दोस्रो राष्ट्रिय जनआन्दोलन एवं मधेस आन्दोलनको परिणामस्वरूप जननिर्वाचित पहिलो संविधानसभाले मुलुकलाई संघीय गणतन्त्रात्मक राष्ट्र घोषित गर्‍यो भने २०७० मा सम्पन्न दोस्रो संविधानसभाले नेपालको संविधान २०७२ जारी गर्‍यो। यी युगान्तकारी राजनीतिक घटनाका पृष्ठभूमिमा असंख्य नेपाली वीरवीरांगना सन्ततिको बलिदानको इतिहास छ। देशको स्वतन्त्रता र राष्ट्रियता, स्वाभिमान एवं लोकतन्त्रको प्राप्ति एवं रक्षार्थ जो सहिद भए; ती सन्तति नेपाल र नेपालीका लागि पूजनीय छन्; सम्मानित छन् र सदा स्मरणीय छन्।

नेपालको संविधान २०७२ को प्रस्तावनामा ‘राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटकपटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहास स्मरण एवं सहिदहरू तथा बेपत्ता र पीडित नागरिकलाई सम्मान गर्दै...’ उल्लेख गरेर सहिदद्वारा भएका आत्मोत्सर्गलाई संवैधानिक तवरमै उच्च सम्मान गरिएको छ। राजनीतिक व्यक्तिद्वारा बेलाबेलामा औपचारिक रूपमा सहिदका समर्पणका गाथाहरूलाई स्मरण गरिन्छन्। गैरराजनीतिक क्षेत्रबाट हुने अनेक सन्दर्भ वा कार्यक्रममा सहिदको स्मरण गरिन्छ।

मुलुकमा लोकतन्त्र आएपछि सहिद हुनुको वास्तविक राष्ट्रिय मर्यादा र सम्मानलाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिन नसकेको अधिक महसुस गरिएको बताउनुहुँदै साहित्यकार मोदनाथ प्रश्रितले भन्नुभएको छ, ‘एउटा दलले जायज माग राखेर संघर्ष गर्दा सत्तामा भएको दलले त्यो आन्दोलन दमन गर्नका लागि बन्दुक हान्छ भने त्यसबाट मरेकाहरू सहिदको कोटीमा आउन सक्छन्। तर दलगत हिसाबले बढी अर्थसँग गाँसिएका माग राख्दै हुने कुरालाई जनमत, इतिहासले मान्दैन, कसैले कदर गर्दैन।’ (जय स्वाभिमान, ले. प्रेम बानियाँ)

२०४६ सालको जनआन्दोलनपछि र विशेषगरी २०६२/६३ सालको जनआन्दोलनपछि सहिदका नाउँमा क्षतिपूर्ति प्रदान गर्न थालियो। वास्तविक सहिदका परिवारले क्षतिपूर्ति प्राप्त गर्दा परिवारजनलाई त्यसबाट केही आर्थिक राहत हुन पनि सक्छ तर बलिदानको क्षतिपूर्ति भने कहिल्यै हुन सक्दैन। यद्यपि राष्ट्र र जनताको हितका खातिर लड्दा शासकद्वारा जसको प्राण लिइन्छ; उसको परिवारले क्षतिपूर्ति माग्दैन भन्ने भनाइ साहित्यकार प्रश्रितको रहेको पाइन्छ, ‘एउटा युवक आदर्शका लागि मर्‍यो भने उसले क्षतिपूर्ति खोज्दैन। वास्तविक सहिद गंगालालको परिवारले क्षतिपूर्ति कहिल्यै मागेन।’

राजनीतिक दलहरूद्वारा सहिदका सम्बन्धमा निर्णय गर्दा देशवासीद्वारा सदाकाल सम्झिइरहने राष्ट्रिय सम्मानको प्रतीक सहिदको गरिमालाई ध्यानमा राखी गरिनुपर्छ। देशवासीको अर्थात् देशको नेतृत्वमा रहेका दलहरूद्वारा गरिने आआफ्ना लोकतान्त्रिक अभ्यास, मर्यादा र संस्कारको पालना गर्दा होस् वा राजनीतिक निर्णय गर्दा होस्; सहिदलाई केहीबेर सम्झन सके पनि उनीहरूबाट हुने निर्णय र कार्यबाट राष्ट्रिय स्वाभिमान, साहस र गौरवका धरोहर सहिदको सम्मान हुन सक्नेछ।

बीपीले भन्नुभएको छ, ‘...तिमीलाई कर्तव्यको द्विविधा भए सहिदलाई सम्झ; त्यसले तिमीलाई उच्चतामा पुग्ने प्रेरणा दिनेछ।’ (१९८२, वाराणसी) तर वर्तमान नेपालको राजनीतिले बीपीका भनाइमा अन्तर्निहित सहिदका आदर्शलाई उपहास गरिरहेको पाइन्छ।

अन्त्यमा, सहिद नेपाल राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका धरोहर हुन्। उनीहरूका विचार र आदर्शलाई जीवित राख्न मूलतः देशको राजनीतिक क्षेत्रले इमानदारीपूर्वक आत्मसमीक्षा गर्दै आफैंलाई नियाल्न सक्नुपर्छ। देशको वर्तमान राष्ट्रिय राजनीतिक नेतृत्वले कवि भूपी शेरचनले २०१९ सालमा लेखेका ‘सहिदहरूको सम्झनामा’ कविताका पंक्तिलाई एकपटक गम्भीर भएर सम्झनु उपयुक्त हुन्छ।

हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला

गोली निलेका सहिदका प्यारा ती लासले धिक्कार्ला

धरतीले मुख लाजले छोप्ला, आकाशले धिक्कार्ला

सहिद रोलान् हामीले उन्नति गरेर नगए

हुँदै बिहान मिर्मिरेमा तारा झरेर नगए...। (घुम्ने मेचमाथि अन्धो मान्छे)

ओरालोको यात्रा गर्दै उच्चतामा पुग्न सकिँदैन। सहिदको आदर्शले उच्चतातिरको यात्रालाई मात्र प्रेरित गरेको हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.