अर्थतन्त्रको आकार ४० खर्बनजिक

अर्थतन्त्रको आकार ४० खर्बनजिक

काठमाडौं : मुलुकको अर्थतन्त्रको आकार पौने २ खर्ब बढेको छ। केन्द्रीय तथ्यांक विभागले कुल गार्हस्थ उत्पादन गणना गर्ने आधार वर्ष परिमार्जन गरी केही नयाँ क्षेत्रलाई समेटेपछि अर्थतन्त्रको आकार फराकिलो भएको हो।

नयाँ तथ्यांकअनुसार गत असार मसान्तमा मुलुकको कुल गार्हस्थ उत्पादन ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। यसअघिको गणना विधिअनुसार वैशाखमा सार्वजनिक गरिएको तथ्यांकमा ३७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको उल्लेख थियो। २० वर्षअघिको अर्थव्यवस्थालाई आधार मानेर कुल गार्हस्थ उत्पादनको गणना गरिँदै आएको थियो। नयाँ गणना पनि १० वर्षअघि भएको नेपाल घरपरिवार सर्वेक्षण र अन्य सर्वेक्षण प्रतिवेदनका आधारमा गरिएको विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले बताए।

‘आधार वर्ष परिमार्जन गर्दा आर्थिक वृद्धिदरमा खासै प्रभाव पर्दैन’, उपमहानिर्देशक डा. रेग्मीले भने, ‘आर्थिक गतिविधि हुने नयाँ क्षेत्रको हिसाब जोडेका कारण आकार बढेको देखिएको हो।’

डा. रेग्मीका अनुसार नयाँ तरिकाले गणना गर्दा हाम्रो अर्थतन्त्रको आकार पहिलेभन्दा १४.०७ प्रतिशत ठूलो देखिएको हो। यसअघि अर्थतन्त्रका १७ वटा चर (क्षेत्र)लाई आधार मानेर राष्ट्रिय लेखा गणना गर्ने गरिएकामा अहिले २१ वटाको गणना गरिएको विभागले जनाएको छ।

अर्थतन्त्रको कुल आकार बढेसँगै नेपालीको औसत प्रतिव्यक्ति आय १ हजार १३४ डलर पुगेको अनुमान गरिएको छ। पुरानो विधिअनुसारको आँकडाभन्दा बढी भए पनि नयाँ गणनामा अघिल्लो आर्थिक वर्षभन्दा कम हो। नयाँ विधिअनुसार ०७५/७६ मा नेपालीको औसत प्रतिव्यक्ति आय १ हजार १५९ डलर थियो।

चार दशकपछि ऋणात्मक
मुलुकको अर्थतन्त्रमा चार दशकपछि पुनः ऋणात्मक (नकारात्मक) वृद्धि भएको छ। विभागले ०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर १.९९ प्रतिशत ऋणात्मक भएको आँकडा सार्वजनिक गरेको छ। यसअघि आर्थिक वृद्धि २.२८ प्रतिशत धनात्मक रहने अनुमान गरिएको थियो।

यस्तो नकारात्मक वृद्धि झण्डै चार दशकपछि देखिएको हो। यसअघि ०३६/३७ मा नेपालको अर्थतन्त्र १.३ प्रतिशतले ऋणात्मक भएको थियो। पछिल्लो पटक कोभिड–१९ महामारीले अर्थतन्त्रमा ठूलो धक्का दिएपछि कुल गार्हस्थ उत्पादनको वृद्धिदर ऋणात्मक भएको हो। यसअघि ०७२ सालको भूकम्प र त्यही वर्ष भारतले गरेको नाकाबन्दीले आर्थिक वृद्धि शून्य प्रतिशत हाराहारी झरेको थियो।

सरकारले कोरोना महामारीबाट बच्न भन्दै लागू गरेको लकडाउनको गम्भीर असर अर्थतन्त्रमा परेको थियो। कुल गार्हस्थ उत्पादनमा एक चौथाइ योगदान गर्ने कृषि क्षेत्र २.२३ प्रतिशत मात्रै बढेको थियो। थोरै भए पनि कृषि क्षेत्रको अर्थतन्त्रमा भएको वृद्धिले पोहोर अर्थतन्त्रलाई धेरै घट्नबाट रोकेको थियो।

कोरोना काल अर्थात् गत आर्थिक वर्षको वैशाखदेखि असारसम्म अर्थतन्त्र १५.४ प्रतिशतले संकुचित भएको थियो। चालु वर्षको साउनदेखि असोजसम्मको अवधिमा भने अर्थतन्त्रको ऋणात्मक वृद्धिदर ४.६ प्रतिशतमा समेटियो। यसले अर्थतन्त्र सुधारको लयमा रहेको देखाउँछ। यद्यपि, कोभिड–१९ को असर अर्थतन्त्रमा बाँकी नै रहेकाले यो वर्ष पनि आर्थिक वृद्धिदर सुस्त मात्रै हुने विभागको अनुमान छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.