आयातकै भरमा भान्छा

आयातकै भरमा भान्छा

काठमाडौं : भान्छामा अत्यधिक उपभोग हुने प्याज साउनदेखि आठ महिनामा २ अर्ब ७९ करोड रुपैयाँको आयात भएको छ। त्यो भनेको ७१ हजार ३ सय ४० टन हो। यही अवधिमा विदेशबाटै १ अर्ब १२ करोडको १० हजार ३ सय ११ टन लसुन भित्रिएको छ। आलु नै ६ अर्ब ४५ करोड रुपैयाँको २ लाख ५१ हजार ९ सय ३४ टन आयात भयो।

आयात–निर्यात व्यापारबारे भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो ८ महिनाको तथ्यांक हो यो। अझै प्याज, लसुन र आलुको बियाँ (बीउ) आयातको तथ्यांक यसमा समेटिएको छैन। यी कृषिउपजबाट बनाइने विभिन्न प्रकारका खाद्य पदार्थको तथ्यांक पनि यसमा छैन।

सामान्य कृषि उपजसमेत भारतसहित तेस्रो मुलुकबाट आयात हुँदा नेपाली भान्छा आयातमा निर्भर बन्दै गएको तथ्यांकले देखाउँछ। कृषि विज्ञ डा. कृष्णप्रसाद पौडेल यसलाई डरलाग्दो अवस्था मान्छन्। ‘सरकारले प्याज, लसुन र आलुमा पनि मुलुकलाई परनिर्भर बनायो’, पौडेलले भने, ‘भान्छामा उपभोग हुने झन्डै सम्पूर्ण कृषिजन्य पदार्थ आयात हुँदा कृषिप्रधान मुलुक भन्न पनि लाजै लागेर आयो।’

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार स्वदेशमा आलु ३ हजार २ सय २५ टन, लसुन ७३ हजार ८ सय ५९ टन र प्याज १ लाख ४८ हजार मेट्रिक टन उत्पादन हुन्छ। मुलुकलाई यस्ता उत्पादनमा आत्मनिर्भर बनाएर वैदेशिक व्यापारघाटा न्यून गर्ने नीति सरकारले प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेको छैन। यसबाट नेपालीले आयातित वस्तुको भरमा भान्छा चलाउँदै आएका छन्।

समीक्षा अवधिमा खाद्यान्न ५४ अर्ब ६९ करोड ५४ लाख रुपैयाँ, तरकारी २५ अर्ब, फलफूल १२ अर्ब ३१ करोड, चिया कफी ६ अर्ब १९ करोड ९३ लाख, विभिन्न प्रकारका मासु १ करोड ८५ लाख, मासुजन्य जिउँदो जनावर १ अर्ब १० करोड ६४ लाख, माछा १ अर्ब १७ करोड ४८ लाख, डेरी उत्पादन १ अर्ब ३३ करोड १८ लाखबराबरको आयात भएको छ। यसबाहेक अन्य कृषिजन्य वस्तुको आयात पनि उस्तै छ।

अर्थविद् केशव आचार्यले ०४७ सालको प्रजातन्त्रपछि सरकारले निर्यात प्रवद्र्धनमा जोड दिए पनि त्यसले प्रतिफल नदिएको बताए। ‘निर्यातको पछि लाग्दालाग्दै अहिले आएर हाम्रो भान्छा नै परनिर्भर भइसक्यो’, अर्थविद् आचार्यले भने, ‘कृषिप्रधान मुलुक भनेपछि त्यहीअनुसार कृषि उपजमा आत्मनिर्भर हुनुपथ्र्यो। तर, दाल, भात, तरकारी, अचार, दूध, दही, माछामासुमै हामीलाई परनिर्भर बनाइयो।’ आचार्यका अनुसार कृषिजन्य वस्तु उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन सके त्यसको आयातमा खर्च हुँदै आएको वार्षिक २ खर्ब रकमको व्यापारघाटा सहज रूपमा घटाउन सकिन्थ्यो।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले स्वाद फेर्ने, धेरै थरी खाने बानी बढ्दै गएकाले कृषिजन्य वस्तुको आयातदर बढेको बताए। सर्वसाधारणमा मिठो मसिनो खाने बानी बढ्दै गएको अवस्थामा त्यहीअनुसार बीउको विकास र उत्पादनमा भने सरकारको ध्यान गएको छैन। सचिव डा. कार्कीले प्याज र आलुको आयात दर विस्थापन गर्न विशेष कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको सुनाए।
 

बढ्दै व्यापारघाटाको खाडल
भन्सार विभागको पछिल्लो ८ महिनाको तथ्यांकले व्यापारघाटा उच्च परिमाणमा बढेको देखाएको छ। भारतसहित तेस्रो मुलुकबाट आयात हुने वस्तुका कारण व्यापारघाटा बढ्दै गएको हो। निर्यातको तुलनामा आयातदर उच्च परिमाणमा बढेको छ। समीक्षा अवधिमा गत वर्षको ८ महिनाको तुलनामा १.६३ प्रतिशतले व्यापारघाटा बढेको हो। साउनदेखि फागुनसम्म ८ खर्ब ६३ अर्ब २० करोड रुपैयाँबराबरको व्यापारघाटा भएको छ। अघिल्लो वर्ष यही अवधिमा ८ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ व्यापारघाटा भएको थियो।

कोभिड १९ को महामारी, लकडाउन र आयात प्रक्रिया अवरुद्धका कारण घट्दै गएको आयात दर सबै क्षेत्र सामान्य हुँदै गएपछि उच्च गतिमा बढेको हो। आयातको दर गत वर्षको चैतअघिको अवस्थामै फर्किएको छ। गत वर्षको ८ महिनाको तुलनामा चालु वर्षको पहिलो ८ महिनामा आयातको हिस्सा २.१४ प्रतिशतले बढेको छ। साउनदेखि फागुनसम्म ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँबराबरको विभिन्न वस्तु आयात भएको छ। अघिल्लो वर्षको यही अवधिमा भने ९ खर्ब २४ अर्ब २४ करोड रुपैयाँबराबरको आयात भएको थियो।

विभागको तथ्यांकअनुसार यो अवधिमा सबैभन्दा बढी १ खर्ब २१ अर्ब ६१ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। फलाम तथा स्टिल ९४ अर्ब ५८ करोड रुपैयाँको भिœयाइएको छ। सवारी साधन तथा पार्टपुर्जा ६२ अर्ब ८३ करोड, प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु ३६ अर्ब ९१ करोड, जनावर तथा वनस्पतिजन्य बोसो तेल ४२ अर्ब र औषधि १९ अर्ब रुपैयाँको आयात गरिएको छ। यस्तै, ७१ अर्ब ४३ करोड रुपैयाँबराबरको विभिन्न प्रकारका इलेक्ट्रोनिक्स सामग्री आयात भएको छ। जसमा मोबाइलको हिस्सा अत्यधिक छ।

वैदेशिक व्यापार सबैभन्दा बढी भारतसँग भएको छ। यो अवधिमा भारतबाट ६ खर्ब २२ अर्ब ३० करोड रुपैयाँका विभिन्न वस्तु आयात भएको छ। नेपालबाट भने ५८ अर्ब १९ करोड रुपैयाँबराबरको विभिन्न वस्तु निर्यात भएको छ। भारतसँग मात्रै ६ खर्ब ६४ अर्ब १० करोड रुपैयाँबराबरको व्यापारघाटा भएको छ।
 

८० अर्बको निर्यात
पछिल्लो ८ महिना अवधिमा नेपालबाट विभिन्न मुलुकमा ८० अर्ब रुपैयाँका विभिन्न वस्तु निर्यात भएका छन्। यो अवधिमा सबैभन्दा बढी भटमासको तेल निर्यात भएको छ। विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयातपश्चात् प्रशोधन गरी नेपालबाट निर्यात हुँदै आएको छ। २३ अर्ब १२ करोड रुपैयाँबराबरको भटमास तेल निर्यात भएको छ। अघिल्लो वर्ष यही अवधिमा ७ अर्ब ५२ करोड रुपैयाँको यो तेल निर्यात भएको थियो।

यस्तै, ४ अर्ब ९५ करोडको अलैंची, ५ अर्ब १ करोडको सेन्थेटिक यार्न, ४ अर्ब ७४ करोडको उनी गलैचा, ३ अर्ब ६१ करोडको तयारी कपडा, ३ अर्बको चिया र २ अर्ब ९१ करोडको जुटका कपडा निर्यात भएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.