सांस्कृतिक वैचारिकतामा सत्यमोहन जोशी

सांस्कृतिक वैचारिकतामा सत्यमोहन जोशी

नेपाली वाङ्मय भनेको नेपाली समाजकै भाषा, साहित्य, कला, संस्कृति, इतिहास, लोकगाथा, श्रुतिस्मृति, किम्वदन्ती एवं अन्य ज्ञानविज्ञानका अनेक श्रोतहरू आदिको संग्रहण, अभिलेखन हुँदै निरन्तर नवनीत वा अधुनातन हुँदै नेपाली जनमानसलाई चैतन्य, ज्ञान र विवेक प्रदान गरिरहने नेपाली सभ्यताको ऐना हो। सत्यमोहन जोशी नेपाललाई त्यही सभ्यताको ऐना देखाउन लागि परे, परिरहेकै छन्। यस आलेखमा नेपाली संस्कृतिका विभिन्न आयामबारे उनका दृष्टिकोणहरूलाई केहीबेर पछ्याउने प्रयत्न गरिएको छ।

सत्यमोहन जोशी आधुनिक नेपालको इतिहासका साक्षीमध्येका एक हुन्। उनी राणा प्रधानमन्त्री चन्द्र शमशेरीय कालखण्डदेखि यताको नेपालको सामाजिक, सांस्कृतिक, राजनीतिक आदि सबै आयाम र तिनका अनेक परिघटनाहरूका प्रत्यक्षदर्शी, भुक्तभोगी, जानकार एवं विवेचक पनि हुन्।

नेपालको सांस्कृतिक अन्वेषणमा उनको विशिष्ट भूमिका रहेको पाइन्छ। उनी अग्रणी सांस्कृतिक अनुसन्धाता एवं प्रतिष्ठित साहित्य साधक हुन्। सांस्कृतिक अनुसन्धानमा उनको योगदान मूलत: अमूर्त सांस्कृतिक सम्पदाका रूपमा रहेका लोकगीतहरूको खोजी, विश्लेषण एवं प्रवद्र्धनात्मक कार्यहरूमा केन्द्रित रहेको पाइन्छ भने उनी भौतिक सम्पदाको संरक्षण, सम्वद्र्धन र अन्वेषणमा पनि अग्रणी र मार्गदर्शकका हैसियतमा सम्मानित छन्। नेपाल अनेकौं जाति, रीति, भाषा, संस्कृतिद्वारा निर्मित मुलुक हो। 

यहाँको सांस्कृतिक विविधता विश्वमै अनुपम मानिन्छ। देशलाई चिनाउने सबैभन्दा महत्वपूर्ण आधार भनेकै हाम्रो संस्कृति रहेको जोशीको भनाइ छ, ‘...संस्कृति राष्ट्रको गहना हो। यसले देशको समृद्धिमा उल्लेखनीय भूमिका खेलेको हुन्छ। भाषा, साहित्य, कला, संस्कृतिलाई माध्यम बनाएर देशको प्रचारप्रसार गर्नु हाम्रो दायित्व हो।

नेपाल अनेकौं संस्कृतिको सुन्दर फूलबारी भएको हुँदा ती सबैको संरक्षण, सम्वद्र्धन गर्दै तिनकै आधार र माध्यमबाट समृद्धि प्राप्त गर्न सकिने जोशीको धारणा छ, ‘...आज हाम्रो देश नेपाल लोकतन्त्रात्मक गणतन्त्रमा प्रवेश गरिसकेको सात प्रदेशमा एकाकार भइरहेको नेपाललाई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प र समावेशीकरणको सिद्धान्तमा तथा सांस्कृतिक एकतामा पनि आवद्ध गरी नेपालीमात्रको जीवनलाई रसमय, सुखमय र चित्रमय बनाउनमा नेपालीको साझा फूलबारीमा फुलेका लोकगीत लहरीहरूको पनि आफैं अलग धारको भूमिका हुने गर्दछ। यसलाई हामीले बुझ्नुपर्‍यो (हाम्रो लोक संस्कृतिका लोक लहरी)।’ मुलुकको समग्र सांस्कृतिक विकासका लागि सबै जातजातिका परम्परा, मूल्यमान्यता, लोक भाकाहरू, साहित्य, कला आदिको संरक्षण गरी तिनलाई फुल्न सहज वातावरण बनाइदिनु जरुरी हुन्छ।

नेपाली समाजको आत्मा भनेको यसको अमूर्त सांस्कृतिक इन्द्रेणीको उपस्थिति नै हो। यसमा मानिसका आँसु, हाँसो, दु:ख, घामछायाँ आदि जीवनका अनेकौं भोगाइका प्रतिबिम्ब मुस्कुराउँछन्। कहिले सुस्केरा सुक्सुकाउँछन् त कहिले हर्ष र उमंग मुस्कुराउँछन्।

समावेशिताको सिद्धान्तले तबमात्र सार्थकता पाउँछ। सांस्कृतिक उत्थानसहित यस क्षेत्रको पुनर्जागरणका लागि आवश्यक वातावरण बन्न सकेमा पर्यटन क्षेत्रको विकासमा पनि टेवा पुग्न गई मुलुकले समृद्धि प्राप्त गर्न सक्नेछ भन्ने जोशीको आशय पाइन्छ। अर्कातिर, कुनै पनि मुलुकको विकासका लागि त्यहाँको भौतिक विकास मात्र पर्याप्त हुँदैन। त्यो त विकासको बाहिरी पाटो मात्र हो। आममानिसलाई हृदयदेखि नै सन्तुष्टि दिने विकासको आधार भनेको मुलुकका बौद्धिक, नैतिक, भावनात्मक एवं आध्यात्मिक आयामहरूको उन्नयनतर्फ सामथ्र्य बढाउँदै जानु पनि हो। अनि मात्र मुलुकवासीलाई राष्ट्रिय विकासबाट सन्तुष्टि प्राप्त हुनजान्छ भन्ने युनेस्कोद्वारा प्रतिपादित दृष्टिकोणप्रति जोशीको विश्वास र सम्मान रहेको देखिन्छ।

नेपालको सांस्कृतिक चिनारीका सबै आधारहरूलाई संरक्षण गर्नुका साथै तिनलाई सबैले पारस्परिकरूपमा सम्मान गर्नुपर्ने धारणा जोशीको रहेको छ, ‘...हरेक जातजाति, जनजातिलाई आफ्नो भाषाभेष, जातीय पहिरन, खानपिन, रीतिथिति र संस्कृति प्यारो हुन्छ। त्यसलाई कतैबाट बिगार्नु, विकृतिको रूपमा लिनु, त्यसो गर्नु हुँदैन। सबैलाई उचित सम्मान गर्नुपर्छ। नेपालको हरेक जातजाति र उनीहरूमा भएको संस्कार, संस्कृति, पहिरन सबै राष्ट्रिय संस्कृति हो। त्यसलाई होच्याएर उपेक्षा गर्नुहुँदैन (जय स्वाभिमान)।’ नेपाल अनेक मौलिक संस्कृतिको उद्गम स्थल हो। नेपाल हिमवत संस्कृतिको उद्गम भूमिका रूपमा रहेको कुरा जोशीले बताएका छन्, ‘नेपाल हिमवत संस्कृतिको उद्गम स्थल पनि हो। उत्तरी क्षेत्रमा असंख्य हिमचुचुराहरूद्वारा नेपाल सुशोभित र संरक्षित पनि छ। हिमचुचुराहरू देवताका रूपमा पुजित पनि छन्। हिमचुचुराका स्वरूपमा अवतरित देवात्माद्वारा हिमवत संस्कृतिको सुत्रपात भएको विश्वास पनि गरिन्छ। क्रमश: त्यही आदीम संस्कृति यस क्षेत्रमा फैलिँदै आयो। प्रकृति र मानिसको अन्योन्याश्रित सम्बन्धको प्राचीनता यसै विश्वासमा आधारित मान्न सकिन्छ।’

संस्कृति देशभित्र मात्र नभएर विदेशमा पनि चिनिने, चिनाउने माध्यम हो। विदेशमा मुलुकको पहिचान गराउने भाषा, पहिरन आदिले हो। नेपालका सबै भाषा, संस्कृति राष्ट्रिय हुन्। बाह्य जगत्मा नेपाल र नेपाली भनेर चिनिन र चिनाउन राष्ट्रिय सहमतिमा भाषा, पहिरन, विभूति, जनावर लगायतका पक्षमा सर्वसम्मत आधारहरू तय गरिनु उपयुक्त हुने धारणा जोशीको पाइन्छ। जोशी हाम्रो विविधता अनेक भए पनि हामी नेपाली हौं भनेर परिचय दिँदा हाम्रो गौरव बढेर जाने विचार राख्दछन्, ‘...हाम्रा विभिन्न पहिरन, भाषाभाषी भए पनि हामी पहिले नेपाली हांै (जय स्वाभिमान)।’ जीवन र संस्कृतिलाई अलग्याएर हेर्न वा बुझ्न सकिँदैन भन्ने जोशीको दृष्टिकोण छ, ‘मानवजीवनमा संस्कृति थाहै नपाई प्रकट भइरहेको हुन्छ। प्रारम्भदेखि नै हामी सांस्कृतिक जीवनमा प्रवेश गर्दछौं। हाम्रा आफ्नै संस्कार र मूल्यमान्यता छन्। तीसँगै हुर्किन्छौं, बोलीबचन सबै सिकिन्छ। हाम्रो बोलीमा नै उखानटुक्का आउँछन्, गीतका भाकाहरू सिकिरहेका हुन्छौं। घरपरिवार समाज जहाँबाट पनि हामी संस्कृति नै सिक्छौं। मानिस हुनुको अस्तित्वबोध गराउने संस्कृतिले नै हो। हाम्रो जीवन नै संस्कृतिमय छ।

जोशीले नेपालको प्रतिष्ठित मदन पुरस्कार पनि तीनपटक हात पार्न सफल भए। २०१४ सालमा पहिलोपटक ‘हाम्रो लोकसंस्कृति’ नामक ग्रन्थका लागि उनले सो पुरस्कार प्राप्त गरेका थिए। यस कृतिमा जोशीले नेपाली लोकसाहित्य विशेषत: नेपाली लोकभाका, गीतका बारेमा गहिरो खोज र अध्ययन गरेका छन्। यस्तै उनले ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक अनुसन्धानमूलक कृतिका लागि २०१७ सालमा पुन: सोही पुरस्कार प्राप्त गरे। नेपाली मुद्रासम्बन्धी यो पहिलो ऐतिहासिक पुस्तक मानिन्छ। जोशी २०२८ सालमा ‘कर्णाली लोक संस्कृति’ ग्रन्थका लागि तेस्रोपटक पनि उक्त पुरस्कारद्वारा सम्मानित भए। २०२८ सालको मदन पुरस्कार अन्य विद्वान्सहित संयुक्तरूपमा उनलाई प्रदान गरिएको थियो। जोशीले सरकारी वा निजी वाङ्मयसेवी साहित्यिक संघसंस्था तथा अन्य सामाजिक संघसंस्थाबाट असंख्यपटक पुरस्कार, सम्मान र अभिनन्दन प्राप्त गर्दै आएका छन्। उनलाई वाङ्मय शताब्दी पुरुषको सम्मान पनि निजीक्षेत्रमा स्थापित संस्थाको सकृयतामा नेपाल सरकारद्वारा प्रदान गरिएको हो। नेपाली, अंग्रेजी तथा नेपाल भाषामा गरी उनका ६ दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भइसकेको विवरण पाइन्छ। उनी अथक वाङ्मयसेवी, संस्कृतिविद् र साधक हुन्।

जोशीले २००१ सालदेखि नै नेपाली लोकसांस्कृतिक, लोकसांगीतिक जीवन र परिवेशको अन्वेषण गर्न थालेका थिए। उनको अध्ययनको क्षेत्र मूलत: अमूर्त नेपाली सांस्कृतिक धरातलको सौन्दर्यलाई बुझ्नु र अभिलेखीकरण गर्नु थियो। नेपाली समाजको आत्मा भनेको यसको अमूर्त सांस्कृतिक इन्द्रेणीको उपस्थिति नै हो। यसमा मानिसका आँसु, हाँसो, दु:ख, घामछायाँ आदि जीवनका अनेकौं भोगाइका प्रतिबिम्ब मुस्कुराउँछन्। कहिले सुस्केरा सुक्सुकाउँछन् त कहिले हर्ष र उमंग मुस्कुराउँछन्। जोशीले प्रारम्भमा तनहुँ, लम्जुङ, कास्की आदि पहाडी जिल्लाका पाखापखेरा र लेकबेंसीहरूमा पसिना चुहाइरहेका नेपालीका सुस्केराहरूबाट प्रस्फुटित भाकाहरूलाई कलमले टिपे। कतै झ्याउरे, कतै चुड्का, कतै दोहोरी भाकाहरूले रनवन, मेलापात गुञ्जिइरहेको सुने।

जोशीले तिनमा ठेट, मौलिक, नेपाली लोकसांगीतिक झंकार झंकृत भइरहेको अनुभूत गरे, ‘पँधेरामा गाग्री थापेका आइमाईहरू गीत गाइरहेकै भेटिन्थे। जंगलतिर यसो घुम्न जाँदा दाउरा घाँस लिएर आएको मान्छे पनि गीत गाएकै हुन्थ्यो। देउरालीमा भीमसेनपाती चढाएर बटुवाहरू गीत गाउँदै ओहोरदोहोर गरिरहेका हुन्थे। चौतारामा त झन् आनन्दसँग दोहोरी गाएर वरपीपल शमीको छहारीमा रमाइरहेका हुन्थे (मधुपर्क)। तिनै लोकध्वनिहरूको अन्तर्यमा पुगेर अनुसन्धान, विश्लेषण गरी ग्रन्थ तयार गरे जोशीले। त्यही ग्रन्थलाई मदन पुरस्कार गुठीले पहिलोपटक पुरस्कृत गर्‍यो, ‘...मैले गाउँघरका गीत टिपेर संकलन गरेर हाम्रो लोक संस्कृति बनाएर बुझाउँदा २०१३ सालको मदन पुरस्कार २०१४ सालमा पाएको छु (मधुपर्क)।’

जोशीले संकलन गरेका भाकाहरू नेपाली माटोका भाका हुन्, नेपाली भावनाका ध्वनि हुन्। जोशीले महशुस गरेका छन्, ‘हाम्रो लोकसंस्कृतिमा संकलित लोकगीतहरू कास्की, तनहुँ, लमजुङका लेकबेँसीहरूबाट टिपिएका हुन्। ती नेपाली माटो र भावनाबाट जन्मेका हुन्। नेपाली लोकगीतले नेपाली मातृभाषी एवं अरू मगर, गुरुङ, राई, लिम्बू आदि विभिन्न मातृभाषी नेपालीका भावना र हृदय जोड्नलाई महत्वपूर्ण भूमिका खेलेको छ। नेपालका अनेक भाषिक समुदायमा नेपाली भाषाको लोकप्रियता बढ्नमा लोकगीतहरूबाट ठूलो योगदान पुगेको छ। जुनसुकै भाषाभाषी भए पनि तीबाट निस्कने सुस्केरा नेपाली हुन्, लोकगीत भनेका हाम्रै हृदयका साझा सुस्केरा हुन्।’ 

जोशीले लोकभाकालाई पूर्व–पश्चिम जहाँजहाँ पुगे पनि संकलन गर्दै आए। अन्य सिर्जनात्मक लेखन, अनुसन्धानात्मक कार्यलाई पनि सँगै अघि बढाए। उमेर बाधक बनेन। लोकभाकाको संकलन गर्दैजाँदा अर्को संगालो पनि तयार भयो जसको प्रकाशन कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा २०७७ सालमा भएको छ :

‘यो खोलाको धमिलो पानी 
एउटा रुमाल धुँदैमा दिन जाने
नदेखुञ्जेल देखुँझैं हुने देखेपछि बोलचालै नहुने 
नभेटुञ्जेल भेटुँझैं हुने, भेटेपछि बोलचालै नहुने।” 
(हाम्रो लोकसंस्कृतिका लोक लहरी)

सत्यमोहन जोशीले मल्लकालीन नेपालका महान् कलाकार अरनिकोको खोजी गरी उनको योगदान र कर्मबारे पुस्तक प्रकाशन गरी राष्ट्रिय विभूतिप्रति सम्मान पुर्‍याए। नेपाल र चीनका बीचमा रहेको सांकृतिक सम्बन्धको इतिहासलाई जनसमक्ष ल्याउन ठूलो भूमिका खेलेका छन्। त्यस्तै उपत्यकाका भौतिक/मूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न उनले पुर्‍याएको योगदान उत्तिकै महत्वपूणै छ। नेपाली तथा नेपाल भाषा साहित्यको श्रीवृद्धिका लागि जोशीद्वारा भइरहेको सिर्जनात्मकतातर्फको अविश्राम निरन्तरताबाट पनि मुलुक लाभान्वित भइरहेको छ। यी सबै जोशीका सांस्कृतिक, वाङ्मयिक चिन्तन, कर्म र जागरुकताका उदाहरण हुन्।

भारतीय लोकसंस्कृतिविद् देवेन्द्र सत्यार्थीले नेपालका लोकभाकाहरूको संकलन गरेको थाहा पाएपछि जोशी झन् उत्साही भएको बताउँछन्, ‘भारतका एकजना लोकभाका एवं संस्कृतिका अन्वेषक देवेन्द्र सत्यार्थीले नेपालका लोकगीत, लोकभाकाहरूको अध्ययन र संकलन गरेर महत्वपूर्ण लेखरचनाहरू नै प्रकाशन गरेका रहेछन्। 

उनले त नेपाललाई ‘लोकभाकाहरूको भूमि हो’ समेत भनेका छन्। मलाई उनका कामको प्रभाव परेको छ। त्यो बुझेपछि झनै उत्साही भएँ।’

हिमाल, पहाड, तराई सबैतिर लोकसाहित्य एवं लोकसंस्कृतिको अध्ययन, अनुसन्धानका लागि नेपाल एक अन्तहीन भण्डार हो। यसको वैज्ञानिक अनुसन्धान भइसकेको छैन। केही अनुसन्धान भएर लोकगीत, कथा आदि प्रकाशमा ल्याइए पनि तिनको समग्र पक्षमा अनुसन्धान हुन नसकेको जोशीको ठहर छ, ‘लोकसंस्कृति, साहित्यको वैज्ञानिक आधारमा अनुसन्धान आवश्यक छ, हामीकहाँ भएका अनुसन्धान केवल लोकगीत, कथा आदिमात्र प्रकाशन ल्याउने गरेको तर तिनको समग्र पक्षको अनुसन्धान हुन सकेको छैन। लोकगीत होस् वा कथा वा जेसुकै, तिनलाई प्रकाशमा ल्याएर मात्र पुग्दैन। ती गाउने, भन्नेहरूको सामाजिक, आर्थिक अवस्था कस्तो छ तीबारे पनि अनुसन्धान, अध्ययन आवश्यक छ (मधुपर्क)।’

नेपालमा लोकगीतहरूलाई तिनको मौलिकता नबिगारीकन गाउनुभन्दा तिनको व्यापारीकरण भइरहेको पाइन्छ। यसबाट लोकगीतको मौलिकता हराउँदै गएको छ। अर्कोतिर वैदेशिक संस्कृतिको अनुशरण हुने क्रम बढ्दै गएको छ। यस्तो स्थितिमा गाउँघरका लोकभाकाहरू पनि छोपिँदै, हराउँदै गएकोमा जोशी चिन्तित छन्, ‘लोकगीतलाई व्यापारीकरण गर्दै जाने प्रवृत्तिले यसको स्तर खस्किँदै जान थाल्यो, मौलिकता हराएर गयो। गाउँघर डुलेर संकलन गरेर ल्याएका गीतलाई भाषिक अभिव्यक्ति दिनसके लोकगीत नराम्रो हुने कुरै आउँदैन। एकातिर विदेशी संस्कृतिले दिनप्रतिदिन छोपिँदै गएको र अर्कोतिर त्यसैको नक्कल गरेर गीत रच्नुको अर्थ के ? (मधुपर्क)।’

सत्यमोहन जोशी नेपालको सांस्कृतिक अन्वेषण, अनुसन्धान, प्रवद्र्धन एवं अभिलेखीकरणका एक शिखर पुरुष हुन्। उनका उज्याला कर्महरूबाट मुलुक लाभान्वित भइरहेको छ। मानिसले गरेका असल कर्महरूबाट नै देशले सन्तुष्टि प्राप्त गर्दछ। ती कर्महरूको उज्यालो पोखिएको ठाउँमा टेकेर मानिसहरू हिँड्छन्। एउटा निस्वार्थ कर्मशील मानिसले जगाएको उज्यालोले युगौंसम्म पनि अरूलाई हिँड्न उज्यालो बाँडिरहन्छ। नेपालमा विभिन्न कर्मक्षेत्रका सेवक, साधक एवं स्रष्टाहरूद्वारा निर्मित समर्पण, स्वाभिमान र चैतन्यको उज्यालोले नै यस मुलुकलाई अँध्यारोको गर्तमा पर्नबाट जोगाएर आशावादी बनाइरहेको छ। सत्यमोहन त्यही आशावादका एक प्रतीक हुन्।

(जोशी यही वैशाख ३० गतेबाट १०२ वर्षमा प्रवेश गर्दैछन्। उनलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना। – फुर्सद टिम)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.