भौतिक दूरी कायम गरेर बजेट

भौतिक दूरी कायम गरेर बजेट

ताप्लेजुङ : कम्तीमा तीन मिटर दूरी कायम गरेर राखिएका कुर्सी। प्रत्येक कुर्सीमा मास्क र स्यानिटाइजर। हलभित्र प्रवेश गर्ने र निस्कने छुट्टै ढोका। उपस्थित सबैले डबल माक्स लगाएका। छिनछिनमा स्यानिटाइजरले हात सफा गरिरहन्थे। यस्तै दृश्य देखिन्थ्यो, बिहीबार ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको एघारौं गाउँसभामा। 

गाउँपालिकाको केन्द्र हाङपाङ क्षेत्रमा घरैपिच्छे कोरोना संक्रमित भएको बेला पालिकाले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। गाउँसभाका केही सदस्यहरूसमेत कोरोना संक्रमित भएका कारण सभामा उपस्थित थिएनन्। तर पनि कानुनी बाध्यताका कारण तोकिएको समयमा बजेट सार्वजनिक गरिएको गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौलाले बताए। ‘पालिकामा कोरोना संक्रमण बढिरहेको छ। विषम परिस्थितिलाई मध्यनजर गर्दै जनस्वास्थ्यका मापदण्ड अपनाएर बजेट तयार पार्‍यौं,’ सिटौलाले भने, ‘यही महामारीलाई नियन्त्रण गर्न स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेका छौं।’ 

कोरोना महामारीबीच जिल्लाका स्थानीय तहले बिहीबार र शुक्रबार बजेट प्रस्तुत गरेका छन्। सबैको प्राथमिकतामा स्वास्थ्य र शिक्षा क्षेत्र छ। विगतमा पूर्वाधार निर्माणमा अधिकांश रकम खर्चेका पालिकाले यस वर्ष भने सामाजिक क्षेत्रमा लगानी गर्ने योजना ल्याएका हुन्। 

आठराई त्रिवेणी गाउँपालिकाले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क बनाउने योजना ल्याएको छ। पालिकाले कक्षा ११ र १२ को अध्ययन गर्ने विद्यार्थीले आगामी वर्षदेखि कुनै पनि शुल्क तिर्नु नपर्ने व्यवस्था गरेको हो।  बिहीबार एघारौं गाउसभामा आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले विद्यालय तहको शिक्षास्तर उकास्न लागिपरेको बताए। 

प्रत्येक माध्यमिक विद्यालयबाट एक जना उत्कृष्ट विद्यार्थीलाई गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने, क्षैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने, प्राविधिक शिक्षालय स्थापना प्रक्रिया थाल्ने नीति तथा कार्यक्रममा उल्लेख छ। 

कोरोना महामारीको समस्या भोगिरहेको उक्त गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि एमबीबीएस डाक्टर अध्ययन गर्ने विद्यार्थीलाई ५० प्रतिशत अनुदान दिने निर्णय गरेको छ। चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा उत्तीर्ण गरेका पालिकाभित्रका विद्यार्थीलाई उक्त अनुदान दिने गाउँपालिकाको योजना छ। 
सभामा गाउँपालिका उपप्रमुख मञ्जु पौड्याल भट्टराईले आगामी वर्षको लागि ४४ करोड ३० लाख ९३ हजार ९ सय ८० रुपैयाँको बजेट प्रस्तुत गरिन्। बजेटमा शिक्षा र स्वास्थ्यपछि जनसहभागिता जुट्ने योजनालाई प्राथमिकतामा राखिएको छ।

आठराई त्रिवेणीको एउटै नारा, स्वस्थ रहुन् गाउँले सारा नारा तय गरेको गाउँपालिकाले सबै वडामा स्वास्थ्यचौकी निर्माण गर्ने, पूर्ण सरसफाइयुक्त गाउँपालिका बनाउन अभियान सञ्चालन गर्ने, कडा रोग लागेका विपन्न परिवारलाई १५ हजार सहायता प्रदान गर्ने, घरभित्रको धुवाँमुक्त गाउँपालिका घोषणा गर्न अभियान सञ्चालन गर्ने उल्लेख छ। 
पाथीभरा याङवरक गाउँपालिकाले १० शय्याको अस्पताल निर्माणलाई प्राथमिकतामा राखेको छ। गाउँपालिकाको केन्द्रमा निर्माण हुने अस्पतालको डीपीआर सम्पन्न भएको छ। बिहीबार दसौं गाउँसभामा उपाध्यक्ष रनमाया गुरुङले स्वास्थ्य र प्राविधिक शिक्षालाई प्राथमिकतामा राखिएको बजेट प्रस्तुत गरेकी थिइन्।  
कुल ४२ करोड २९ लाख ६८ हजार रुपैयाँको बजेटमा आगामी ७ महिनाभित्र प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने उल्लेख छ। गाउँपालिकाले ५ वर्षभित्र एक प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ। 

उच्च शिक्षामा प्राविधिक विषयमा अध्ययन गर्न चाहने एसईई उत्तीर्ण विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरेको छ। स्वास्थ्य कार्यक्रमतर्फ आमा तथा शिशुको स्वास्थ्य सुरक्षालाई केन्द्रित गरेर कार्यक्रम सञ्चालन गरेको छ। सुत्केरीसँग उपाध्यक्ष कार्यक्रममा स्वास्थ्यचौकीमा सुत्केरी भएका ७५ जना आमालाई पोषण तथा कोसेली कार्यक्रम सञ्चालन भएको छ। गाउँपालिकास्थित लैंगिक हिंसा कोषमा दुई लाख रुपैयाँ विनियोजन गरिएको छ।
 
वैदेशिक रोजगारीबाट फर्किएकालाई बाख्रा तथा बंगुरपालन फर्मका लागि बजेट विनियोजन गरेको छ। गाईपालनमार्फत डेरी उद्योगलाई प्रवद्र्धनसहित गाई पकेट क्षेत्र कार्यक्रमलाई निरन्तरता दिएको छ।

पालिकाले ‘एक वडा, एक हेलिप्याड’, ‘एक वडा, एक खेल मैदान’ अवधारणा ल्याएको छ। सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीलाई मासिक १५ हजार उपलब्ध गराउने भएको छ। गाउँपालिका केन्द्रमा कभर्डहल निर्माणका लागि पहल गर्ने भएको छ।

जिल्लाकै मेरिङ्देन गाउँपालिकाले कोरोना नियन्त्रणका लागि २५ लाख रुपैयाँको कोष स्थापना गर्ने भएको छ। आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममार्फत् कोष खडा गर्ने योजना ल्याएको हो। कोरोना प्रभावित स्वास्थ्यकर्मीका लागि १० लाख रुपैयाँको जीवन बिमा गरिदिने, पटकपटक संक्रमित भए २० हजार रुपैयाँ स्वास्थ्य लाभ खर्च प्रदान गर्ने, फ्रन्टलाइनमा खटिने कर्मचारीलाई शतप्रतिशत र अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फेले प्रस्तुत गरेको कार्यक्रममा पाठेघर खसेका महिलाको निःशुल्क उपचार र शल्यक्रियासमेत गर्ने गाउँपालिकाको योजना छ। घरमा शून्य सुत्केरी अभियानलाई व्यापक बनाउने, कुपोषणबाट अतिप्रभावित बालबालिकाको स्वास्थ्यमा ध्यान दिइने, आधारभूत विद्यालय स्वास्थ्य पोषण कार्यक्रम पनि सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। 

मयूर संरक्षण गर्न हेरालु
गाउँपालिकाले ३ नं वडाको तल्लो क्षेत्रलाई ‘सुर्मा–देवलडाँडा–कागोने मयूर संरक्षण क्षेत्र’ घोषणा गरेको छ। सुन्दर पंक्षी मयूरको संरक्षण र संवद्र्धनलाई सामाजिक सांस्कृतिक आख्यानसँग जोड्ने, प्रचारप्रसार गरेर जैविक पर्यटन प्रवद्र्धन गर्ने योजना नीति तथा कार्यक्रममा छ। मयूरको आहार व्यवस्थापन र रेखदेख गर्न मयुर हेरालुको समेत व्यवस्था गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.