अन्धराष्ट्रवाद र राष्ट्रियता

अन्धराष्ट्रवाद र राष्ट्रियता

अन्तर्राष्ट्रिय दृष्टिकोण, वैदेशिक मामला वा राष्ट्रिय राजनीतिक राज्यव्यवस्था जुनसुकै तवरमा पनि अन्धराष्ट्रवाद संकीर्ण राजनीतिक दृष्टिकोण हो


अति राष्ट्रवादी भावना कुनै पनि मुलुकका लागि हानीकारक मात्र नभई प्रत्युत्पादक पनि हुनजान्छ भन्ने कुरा राजनीतिज्ञ, राजनीतिक चिन्तक र राजनीतिक विश्लेषकहरूले बताउँदै आएका छन्। कैयौं ऐतिहासिक घटनाक्रमबाट पनि त्यही कुरा पुष्टि हुँदै आएको पाइन्छ। ‘अतिराष्ट्रवाद’ भन्नु ‘अन्धराष्ट्रवाद’ हो। सिद्धान्ततः एकदलीय राजनीतिक प्रणाली लागू भएका मुलुकमा त्यहाँको सर्वोच्च शासकको मनोमानी रहन्छ। राजनीतिक दलहरू रहँदैनन् वा प्रतिबन्धित रहन्छन्। विश्वका केही कम्युनिष्ट देशहरूमा अति राष्ट्रवाद कायम रहेको देखिन्छ। चीन कम्युनिष्ट शासन पद्दति अपनाइरहेको मुलुक भएकाले त्यहाँ एकदलीय शासन प्रणाली छ। उत्तर कोरिया, क्युवा लगायतका केही मुलुक वर्तमानका कम्युनिष्ट मुलुक हुन्। नेपालमा कम्युनिष्ट पार्टीले बेलाबेलामा सरकारको नेतृत्व गर्दै आएको छ तर नेपाली कम्युनिष्टहरू बहुदलीय लोकतान्त्रिक राजनीतिक प्रणालीमा २०४६ सालदेखि नै प्रवेश गरी त्यसमै अभ्यासरत हुँदै आएका छन्।

अतिराष्ट्रवाद एक प्रकारले उग्रराष्ट्रवादी चिन्तनबाट प्रकट हुन्छ। एउटै वैचारिक समानतामा चलेका मुलुकबाहेक अन्य मुलुक, अति राष्ट्रवादका लागि शत्रुवत रहन्छन्। अतिराष्ट्रवादी दृष्टिकोण अनुसार उदारवादी राजनीतिक प्रणाली राष्ट्रविरोधी ठहरिन्छ। कतिपय कम्युनिष्ट मुलुकमात्र होइन, प्रजातन्त्रवादी मुलुककै जननिर्वाचित नेतृत्व कतै कतै अतिराष्ट्रवादी भएका कारण विवादित हुन पुगेका उदाहरण छन्। उग्रवादी अर्थात् उग्रराष्ट्रवादी चिन्तनमा विध्वंसात्मक गतिविधिले पनि प्रश्रय पाइरहेको हुन्छ। अतिराष्ट्रवाद, उग्रराष्ट्रवाद र अन्धराष्ट्रवादमा भिन्नता रहेको महसुस हुन्छ। राष्ट्रियताका लागि यी तीनवटै राष्ट्रवाद हानिकारक छन्।

अन्तर्राष्ट्रिय राजनीतिमा अति राष्ट्रवाद भन्नाले कुनै पनि शक्तिशाली राष्ट्रको प्रभुत्ववादी दृष्टिकोण भन्ने बुझ्न सकिन्छ। अर्को कुनै पनि राष्ट्रप्रति वा त्यहाँको राष्ट्रियताप्रति, सार्वभौमसत्ता वा भौगोलिक अखण्डताप्रति पनि हस्तक्षेप गर्दै आफ्नो प्रभाव विस्तार गर्न कुनै शक्तिशाली राष्ट्रको नेतृत्व अग्रसर वा इच्छुक रहन्छ भने त्यो उसको अति राष्ट्रवादी, प्रभुत्ववादी दृष्टिकोण हो। अतिराष्ट्रवादी नेतृत्वका कारण संसारमा ठूल्ठूला युद्धहरू भए। विशेषगरी पश्चिमी राष्ट्रहरूले कमजोर मुलुकहरूमाथि प्रभुत्व लाद्न खोज्ने कारणबाट कैयौं मुलुकले इतिहासमा ठूलो संघर्ष गर्नुपरेको छ। प्रभुत्ववादका सम्बन्धमा राजनीतिशास्त्री प्रा. रामप्रसाद दाहाल लेख्छन्, ‘प्रभुत्ववाद शक्तिशाली राष्ट्रहरूले सानातिना एवं कमजोर राष्ट्रमाथि जबर्जस्ती प्रभाव फैलाउने वा विस्तार गर्ने नीति हो।’

प्रथम तथा द्वितीय विश्वयुद्ध हुने प्रमुख कारण नै शक्तिशाली राष्ट्रहरूको प्रभुत्ववादी चिन्तन हो। विश्वका साम्राज्यवादी वा उपनिवेशवादी राष्ट्रहरूबीच भएका शक्ति संघर्षहरू आआफ्नो राजनीतिक स्वार्थलाई विस्तार गर्दै ससाना वा कमजोर मुलुकमाथि प्रभुत्व जमाइराख्ने उद्देश्यबाटै प्रेरित भएका हुन्। प्रा. दाहाल लेख्छन्, ‘इतिहासका विभिन्न समयमा पश्चिमी राष्ट्रहरूले विश्वका कमजोर राष्ट्र वा उपनिवेशहरूमा रहेका क्षेत्रमाथि शोषण गर्न यस वादको अनुसरण गर्दै आएका थिए। हिटलरले द्वितीय विश्वयुद्धताका यस वादलाई आकाश छुवाउने प्रयास गरेका थिए। शीतयुद्धको विचारधारात्मक युद्धताका दुवै महाशक्ति राष्ट्रहरूले विश्वभरि नै यस नीतिको अवलम्बन गर्ने प्रयास गरेका थिए।’

अन्धराष्ट्रवादले राष्ट्रको प्रतिष्ठा, सामर्थ्य र पहिचानलाई कमजोर बनाउँछ। त्यस्ता चिन्तनहरूले एकातिर मुलुकमा राजनीतिक विवाद निम्त्याउँछन् भने अर्कातिर राष्ट्रिय एकताको भावनालाई कमजोर तुल्याई राष्ट्रियतामाथि नकारात्मक असर पारिरहेका हुन्छन्।

कुनै पनि राष्ट्रले आफ्नो राष्ट्रको राजनीतिक प्रभावलाई अन्तर्राष्ट्रिय जगत्मा विस्तार गर्न खोज्नु अतिराष्ट्रवाद हो। साम्राज्यवाद, उपनिवेशवाद, विस्तारवाद, प्रभुत्ववाद आदि जे नामबाट सम्झिए पनि कुनै न कुनै अर्थमा त्यो अति राष्ट्रवादी सोच नै हो। त्यस्तो विचार राख्ने देश वा नेतृत्व कुनै साना, दुर्बल राष्ट्रको निकट वा छिमेकमा छ भने त्यसबाट बच्न साना, कमजोर राष्ट्रले हरदम सतर्कतापूर्वक शासन व्यवस्था सञ्चालन गर्नुपर्ने हुन्छ। कमजोर मुलुकका लागि छिमेकीको अतिराष्ट्रवादी वा प्रभुत्ववादी नीति घातक ठहरिन्छ। नेपालले छिमेकी मुलुकको प्रभुत्ववादी चिन्तनको परिस्थितिलाई इतिहासदेखि नै बेलाबेलामा कटु अनुभवका साथ भोग्दै आएको छ। त्यसैले नेपालले छिमेकीहरूसित अपनाउने परराष्ट्र नीति आफ्नो राष्ट्रियतामाथि पर्न सक्ने नकारात्मक असरलाई पनि ध्यानमा राखेर बडो होसियारीपूर्वक सञ्चालन गर्नुपर्छ। शक्तिशाली छिमेकीसँग वा अन्य कुनै पनि राष्ट्रसँग कुनै पनि सन्दर्भमा साना राष्ट्रका नेतृत्व तहबाट हुने गरेका टिप्पणी वा प्रतिकृयाहरूले असहज परिणाममा पनि पुर्‍याउन सक्छन्। यसतर्फ सचेत रहनु नेतृत्वको दूरदर्शिता ठहरिन्छ।

उग्रवाद पनि राष्ट्रियताका लागि उसैगरी अफाप वा प्रतिकूल रहन जान्छ। उग्रवादले राष्ट्रिय सीमा बाहिरभन्दा राष्ट्रभित्र नै आफ्नो हठवादी एकचिन्तनवादी दृष्टिकोणलाई पक्षपोषण गर्दछ। यो अराजनीतिक चिन्तन हो। यस्तो चिन्तनले अधिकरूपमा आफ्नो राजनीतिक दृष्टिकोण वा विचारलाई स्थापित गर्न हिंसात्मक बाटो अवलम्वन गर्न उक्साउँछ। कुनै राजनीतिक दल वा समूहका रूपमा रहेर उग्रवादी समूहले अन्य दल वा समान्यरूपमा असहमत अर्को जुनसुकै पक्षमाथि पनि ठाडो भौतिक प्रहार गर्ने प्रयत्न गर्छ। यस्तो चिन्तनको उत्पत्ति आफूमाथि चरम अन्याय, शोषण भएको महसुस भएमा अथवा कुनै बाह्य वा आन्तरिक अस्थिरतावादी तत्त्वद्वारा प्रायोजित रूपमा पनि अस्तित्वमा आउन सक्छ। उग्रराष्ट्रवादले कतैकतै आतंकवादको रूप पनि लिनसक्छ। मुस्लिम बाहुल्य मुलुकहरूमा उग्रराष्ट्रवादले टाउको उठाएको बढी महसुस गरिएको छ। अन्य मुलुकमा पनि उग्रवादी गतिविधिहरू समयसमयमा देखा पर्दछन्। उग्रवाद वा उग्रपन्थको सम्बन्धमा राजनीतिक चिन्तक, विश्लेषक सिके प्रसाईले भनेका छन्, ‘कुनै पनि निर्दिष्ट सीमाको बलपूर्वक अतिक्रमण एक्लै कि वा समूहका साथ चाहे त्यो राजनीतिक होस्, चाहे आर्थिक, चाहे सामाजिक, चरम उग्रपन्थ हो। उग्रपन्थ घोर पुरातनपन्थी वा प्रतिकृयावादी पनि हुनसक्छ।’

उग्रवादी जुनसुकै वाममार्गी वा दक्षिणपन्थी समूह वा व्यक्ति पनि हुनसक्छ। विश्वका कैयौं मुलुकमा यस्ता अतिवादी, उग्रवादी व्यक्ति वा व्यक्ति समूहले राजनेताहरूको हत्या गरेका उदाहरणहरू छन्। लिंकन, गान्धी, मार्टिन लुथर वा केनेडीका हत्याराहरू उग्रवादी हुन्। (२००८ सालमा गृहमन्त्री विपीमाथि राणा शासनका पक्षधर उग्रवादी समूहबाट सांघातिक हमला भएको थियो।) उहाँमाथि अरू समयमा पनि पटकपटक भौतिक आक्रमणका प्रयासहरू भए। निरंकुश पञ्चायतकालमा वा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि पनि कतिपय राजनीतिज्ञहरूमाथि उग्रपन्थी समूह वा व्यक्तिद्वारा सांघातिक आक्रमण भएका घटनाहरू छन्। राम्रै राजनीतिक उद्देश्य लिएर गरिने उग्रवादी क्रियाकलाप पनि राष्ट्रघाती हुन्छ। नेपालले यस्ता घटनाहरू विगतमा धेरै भोगिसकेको छ।

उग्रराष्ट्रवादी चिन्तन राजनीतिक चिन्तनका रूपमा नभएर व्यक्ति केन्द्रित वा समूहगत स्वार्थको चिन्तनमा आधारित रहन्छ। यसमा राष्ट्रिय एकताको उद्देश्य रहँदैन। यसका सञ्चालक वा विचारकहरू प्रतिशोधपूर्ण चिन्तनद्वारा प्रेरित देखिन्छन्। उग्रराष्ट्रवादी विचारमा राष्ट्रिय स्वार्थका नाममा सीमित व्यक्तिहरूद्वारा चिन्तनको सर्वश्रेष्ठताको प्रमाणीकरणका लागि हिंसात्मक बाटो रोज्छन्। यसका बाहकहरूका कारण समाजमा शान्ति, उन्नति, एकता, सद्भाव एवं सहिष्णुताको वातावरण खल्बलिएर अशान्ति, अराजकता बढेर जान्छ जुन राष्ट्रियताका लागि प्रतिकूल वा घातक रहन्छ।

सामान्यतः अन्धराष्ट्रवादले राष्ट्रियतालाई संकुचित बनाउँछ। यसले बाह्य जगतभन्दा आफ्नो राष्ट्र सर्वश्रेष्ठ, अन्य राष्ट्रको राष्ट्रियताभन्दा आफ्नो राष्ट्रियता ठूलो वा महान् भन्ने एकलकाँटे चिन्तन बढी राख्दछ। अरूलाई गन्दै नगन्ने, सबै आफ्नो मात्र ठिक भन्ने प्रवृत्ति अन्धराष्ट्रवादी चिन्तनमा रहन्छ। यस्तो चिन्तनधारी नेतृत्वबाट देशको नेतृत्व गरिएमा अन्य राष्ट्रसँग त्यस देशको सम्बन्ध सुमधुर रहँदैन। सबैलाई आफ्नै देश, आफ्नै राष्ट्रियता अन्यभन्दा प्यारो लाग्नु स्वाभाविक हुन्छ। अन्धराष्ट्रवादी सोचले कहिलेकाँही विषम रूप लिन पुग्यो भने त्यसले युद्ध वा अन्य मानवीय विभिषिका जस्तै असहयोग, नाकाबन्दी आदि स्थिति पनि आइपर्न सक्छ। उत्तर कोरिया, क्युवा आदि मुलुकहरूले बेलाबखत नेतृत्वको अन्धराष्ट्रवादी चिन्तनद्वारा निम्त्याइएका संकटहरू भोग्दै आउनु परेको देखिन्छ। विशेषगरी लोकतान्त्रिक शासन व्यवस्था नभएका मुलुकमा राष्ट्रियस्तरमा अन्धराष्ट्रवादले बढी प्रश्चय पाएको देखिन्छ।

मुलुकभित्रै पनि अधिनायकवादी नेतृत्वले जनतालाई काबुमा राखेर शासन शक्तिलाई टिकाइराख्ने प्रयत्न गरिरहेको हुन्छ। लोकतान्त्रिक वातावरण भएन भने जनताको स्वतन्त्र विचार र चिन्तनले प्रस्फुटित हुने अवसर पाउँदैन। लोकतान्त्रिक संस्थाहरूमार्फत हुने जनजागरण एवं अन्य चेतना अभिवृद्धिका गतिविधि ठप्प रहन्छन्। सरकारको नेतृत्व स्वेच्छाचारी ढंगमा अघि बढ्छ। आमजनतामाथि राज्यको अनावश्यक नियन्त्रण रहन्छ। मौलिक स्वतन्त्रता एवं नागरिक हक अधिकारबाट वञ्चित जनताले क्षमतानुसार काम गर्ने अवसर पाएका हुँदैनन्।

नेपालको राजनीतिक इतिहासमा तीस वर्षे पञ्चायती कालखण्डमा अन्धराष्ट्रवादलाई प्रश्रय दिइयो। देशभित्रका नागरिकमा राजनीतिक तवरले भेदभावपूर्ण व्यवहार गरियो। मौलिक हक अधिकारबाट नागरिकलाई वञ्चित गरियो। राजाको अधिनायकवादी नेतृत्वमा सञ्चालित एकदलीय व्यवस्थाका कारण नेपाली राष्ट्रियताको भावनालाई फैलिने अवसर प्राप्त भएन। लोकतन्त्रवादी नेतृत्ववर्गलाई राष्ट्रिय राजनीतिको मूल प्रवाहबाट टाढा राखेर राजाले एकलकाँटे राजनीतिक विचारलाई राष्ट्रियता एवं राष्ट्रिय विकासको आधार बनाउन खोजे। आमजनता र जनप्रतिनिधिको स्वविवेकीय चिन्तन, प्रतिभा एवं क्षमताबाट देशलाई अलग्ग राखियो। जनविश्वास नभएका र अन्ध राजभक्तिमा रमाउँदै स्वार्थपूर्तिमा रमाउनेहरूद्वारा देश सञ्चालन गरियो। उनीहरूलाई देशको राष्ट्रियताभन्दा वैयक्तिक स्वार्थ महत्त्वपूर्ण थियो। फलतः राष्ट्रियता कमजोर बन्न पुग्यो।

देशको कमजोर राजनीतिक स्थितिबाट वैदेशिक तत्त्वले फाइदा उठाउन खोजे। यसरी देशको राष्ट्रियतामाथि गम्भीर नकारात्मक असर परिरहेको अवस्थामा देशबाहिर बसिरहनुभन्दा आफूमाथि लगाइएका व्यवस्था विरोधी एवं ज्यान सजाय हुनसक्ने मुद्दाहरूलाई बेवास्ता गर्दै २०३३ सालमा विपी कोइराला नेपाल फर्के। उनका साथमा गणेशमान सिंह पनि स्वदेश फर्केका थिए। विपी फर्किनुको उद्देश्य राष्ट्रिय एकताको वातावरण तयार गरेर देशलाई विदेशी हस्तक्षेपबाट मुक्त गर्नु र प्रजातन्त्रको स्थापनाका लागि संघर्ष अघि बढाउनु थियो। राष्ट्रिय एकता कायम गरी प्रजातन्त्रको स्थापनाका गर्ने उनका तत्कालीन उद्देश्यहरू नेपालको राष्ट्रियतालाई बचाइराख्ने अभिप्रायद्वारा प्रेरित थिए, ‘राष्ट्रिय एकता नगरिकन अब देशको अस्तित्व जोगाउने अरू कुनै उपाय छैन भन्ने लागेरै ठूलो जोखिम मोलेर देशभित्र पस्यौं, राष्ट्रिय मेलमिलापको आधार लिएर।’ विपीका भाषणहरूमा उल्लेख छ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता क. पुष्पलाल २०१७ पुस १ को सैनिक षडयन्त्रपछि प्रवासमै बसेर राजाको निरंकुशतन्त्र विरुद्धका गतिविधिमा सकृय रहे। पञ्चायत व्यवस्थामा राजालाई राष्ट्रियताको प्रतीक मानिन्थ्यो। पुष्पलालले ९५ प्रतिशतभन्दा बढी कृषक भएको मुलुक नेपालको वास्तविक राष्ट्रियता गाउँमा बस्ने गरिब नेपालीका झुपडीमा रहेको विचार व्यक्त गरे। लाखौं नेपाली झुपडीको एकता नै नेपाली राष्ट्रियता हो भन्ने पुष्पलालको दृष्टिकोण रह्यो। उनले भनेका छन्, ‘...लाखौंलाख झुपडीको एकता वर्तमान सन्दर्भमा नेपालको राष्ट्रियता हो र यिनीहरूको हक र हितको सुरक्षा जनवाद हो।’ पुष्पलालले राजसंस्थालाई सामन्ती राज्यव्यवस्थाका प्रतीक माने। नेपाली राष्ट्रियताको प्रतीक राजा वा दरबार हुन सक्दैन, आमजनतालाई हकअधिकारबाट वञ्चित गरेर राजाद्वारा भएका देशघाती कदमका विरुद्ध कांग्रेस तथा कम्युनिष्ट मिलेर जनआन्दोलन गर्नुपर्छ भन्ने उनको विचार थियो।

पुष्पलालले  कांग्रेसको राजनीतिक दृष्टिकोणलाई मानेमा विपीले आफू नेपाल कम्युनिष्ट पार्टीको आर्थिक दृष्टिकोणलाई स्विकार्न सक्ने बताएका थिए भन्ने बुझ्न पाइन्छ। यद्यपि आमजनतालाई प्रजातान्त्रिक हक अधिकारबाट वञ्चित गराएर नेपाली राष्ट्रियता बलियो हुन सक्दैन भन्नेमा दुवै राजनेतामा समान धारणा पाइन्छ। दुवै राजनेताको जीवनकालभरी र २०४६ सालसम्म नै नेपालको राजसंस्थाले नेपाली राष्ट्रियतालाई संकीर्ण, खण्डित एवं ध्वनिहीन बनायो। दरबारले राष्ट्रियतालाई आफ्नै झ्यालबाट देखिने वस्तुको रूपमा परिभाषित गर्‍यो। राष्ट्रियता आमजनताको हक अधिकार सहितको चैतन्य एवं भावनाद्वारा निर्मित साझा राष्ट्रिय दृष्टिकोण हो भन्ने यथार्थलाई दरबारले बुझ्न चाहेन।

पञ्चायती अन्धराष्ट्रवादका कारण देशमा विदेशी हस्तक्षेप बढ्दै गएको महशुस विपीले गरे। निरंकुश व्यवस्थाभित्र रहेको संकीर्ण वा अन्धराष्ट्रवादी चिन्तनद्वारा निर्मित राजनीतिक संयन्त्रमा वैदेशिक हस्तक्षेपलाई रोक्न सक्ने सामर्थ्य थिएन। निरंकुश राज्य व्यवस्थामा देशको सार्वभौमसत्ता शासकमा निहित हुन्छ। पञ्चायतकालमा राजामा देशको सार्वभौमसत्ता निहित थियो। आमजनतालाई व्यवस्थाको विरुद्धमा बोल्न, लेख्न वा आलोचना गर्न प्रतिबन्ध थियो। बहुदलीय लोकतान्त्रिक व्यवस्था पक्षधर नेतृत्ववर्गलाई अराष्ट्रिय तत्त्व भनिन्थ्यो। जो निरंकुश व्यवस्थाको गुनगान गर्दथ्यो, ऊ मात्र राष्ट्रवादी कहलिन्थ्यो। निरंकुश व्यवस्थाद्वारा निर्देशित राष्ट्रवाद, अन्धराष्ट्रवाद मात्र थियो जसमा राष्ट्रिय एकताको भावनालाई तिरस्कृत गरियो। फलस्वरूप नेपाली राष्ट्रियता क्षीण हुनपुग्यो। स्वतन्त्र भूगोल त थियो तर त्यसभित्र राष्ट्रियताको बलियो ढुकढुकी थिएन। त्यो अन्धराष्ट्रवाद थियो।

अन्तर्राष्ट्रिय दृष्टिकोण, वैदेशिक मामला वा राष्ट्रिय राजनीतिक राज्यव्यवस्था जुनसुकै तवरमा पनि अन्धराष्ट्रवाद एउटा संकीर्ण राजनीतिक दृष्टिकोण हो। अन्धराष्ट्रवादले राष्ट्रको प्रतिष्ठा, सामर्थ्य र पहिचानलाई कमजोर बनाउँछ। वर्तमान नेपालको राजनीतिक सन्दर्भमा पनि बेलाबखत अन्धराष्ट्रवादी, संकीर्णतावादी वा क्षेत्रयतावादी चिन्तन र सोचहरू प्रकट भइरहेका देखिन्छन्। त्यस्ता चिन्तनहरूले एकातिर मुलुकमा राजनीतिक विवाद निम्त्याउँछन् भने अर्कातिर राष्ट्रिय एकताको भावनालाई कमजोर तुल्याई राष्ट्रियतामाथि नकारात्मक असर पारिरहेका हुन्छन्। यसतर्फ विशेष गरी राजनीतिक क्षेत्रले बढी सजगता अपनाउनु पर्ने देखिन्छ। अतिराष्ट्रवाद वा अतिराष्ट्रियताको भावना दुवै मुलुकका लागि घातक हुन् भन्ने महसुस राजनीतिक वा अन्य सबै क्षेत्रबाट गरिनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.