ङातापोल बनेको ३१९ वर्ष पूरा

ङातापोल बनेको ३१९ वर्ष पूरा

भक्तपुर : नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको भक्तपुर टौमढी क्षेत्रस्थित ङातापोल (पाँचतले) मन्दिर निर्माण भएको आइतबार ३१९ वर्ष पूरा भएको छ। मन्दिर निर्माण पूरा भएको दिनको सम्मानमा आइतबार वर्षबन्धन पूजा गरिएको छ।

तत्कालीन मल्ल राजा भूपतीन्द्र मल्लले बनाउन लगाएको ङातापोल मन्दिर नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदामा निर्माण पूरा भएको अभिलेख छ। उक्त अभिलेखमा मन्दिर निर्माण पूरा भएको असार शुक्ल प्रतिपदाका दिन पहिलो वर्ष बन्धन पूजा गरेकोसमेत उल्लेख छ।

सोही इतिहासलाई आधार मानेर प्रत्येक वर्षको असार शुक्ल प्रतिपदाको दिन छाग (बोका) तथा हाँसको बलि दिएर वर्षबन्धन पूजा गरिँदै आएको छ। तर गत वर्षझैं यस वर्ष पनि कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण आइतबार बलिविनै मन्दिरको वर्षबन्धन पूरा सम्पन्न गरिएको छ।

भक्तपुर तलेजुका मूल नाइके जोशीले कोरोना भाइरस महामारीका कारण गत वर्षजस्तै यस वर्ष पनि विनाबलि मन्दिरको वर्षबन्धन पूजा गरिएको जानकारी दिए।

मन्दिर भक्तपुर तलेजुअन्र्तगत सञ्चालन तथा व्यवस्थापन हुँदै आएको छ। मन्दिरमा हुने पूजा तथा पुजारीको पारिश्रमिक भने गुठी संस्थानबाट व्यवस्थापन भइरहेको छ। मन्दिरका पुजारी यज्ञमान कर्माचार्यले उक्त मन्दिरमा वर्षबन्धन पूजा र दसैंको महानवमीमा बाहेक अरु बेला बलि दिएर पूजा नहुने जानकारी दिए।

मन्दिरको सरसफाइ र मर्मतसम्भार गर्ने उद्देश्यले राजा भूपतीन्द्र मल्लले वर्सेनि वर्षबन्धन पूजाको परम्परा बसाएको भक्तपुर तलेजुका मूल नाइके जोशी बताउँछन्। वर्ष वन्धन पूजा गरिएको प्रतीकस्वरुप मन्दिरको गजुरमा झण्डोत्तोलन गर्ने प्रचलन रहेको छ। सोहीअनुसार आइतबार पनि मन्दिरको गजुरमा झण्डोत्तोलन गरिएको छ।

भक्तपुर तलेजुका राजोपाध्याय, जोशी, कर्माचार्य र ताल्चाभँडेल पुजारीहरुले तान्त्रिक विधिअनुसार ङातापोल मन्दिरभित्र रहेकी सिद्धिलक्ष्मी देवीको पूजासँगै मन्दिरको वर्ष बन्धन पूजा गरिन्छ। 

विधि विधानसहित सिद्धिलक्ष्मीको पूजा गरिएसँगै भक्तपुर नपा ६ तुछिमला निवासी अवालहरुले मन्दिरको गजुरमा झण्डोत्तोलन गर्ने गर्छन्। स्थानीय तुछिमला टोलसुधार समितिका पदाधिकारीहरुले सवा दुई मिटर सेतो कपडामा रातो कपडाको अर्धचन्द्र अंकित ध्वजा मन्दिरको गजुरमा फहराउँदै आएका छन्।

पाँच तलामध्ये दुई तलासम्म मन्दिरभित्रबाटै माथि जाने व्यवस्था छ। तर मन्दिरको गजुरमा पुग्न तेस्रो, चौथो र पाँचौं तलाको छाना भएर जानुपर्छ। यी तीन तलामा मन्दिरको पछाडिपट्टिको छानामा ढक्कनसहितको प्वालको व्यवस्था गरिएको छ।

२०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पले मन्दिरको सबैभन्दा माथिल्लो तलामा सामान्य क्षति पुर्‍याएको थियो। भक्तपुर नपाले गएको वर्ष उक्त तलाको जीर्णोद्धारसँगै मन्दिरका सबै तलाको झिंगटी छाना सुधार गरेको थियो। १९९० सालको भूकम्पमा पनि मन्दिरको माथिल्लो तलामात्रै भत्किएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.