भक्तपुरमा सक्रिय संक्रमित फेरि पाँचसय नाघे

भक्तपुरमा सक्रिय संक्रमित फेरि पाँचसय नाघे

भक्तपुर : भक्तपुरमा फेरि कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पाँचसय नाघेको छ। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार मंगलबार ७२ जना नयाँ संक्रमित थपिएसँगै यहाँ सक्रिय संक्रमितको संख्या ५७७ पुगेको हो।

कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरमा २९५ जना पुरुष र २८२ जना महिला गरी सक्रिय संक्रमित ५७७ जना पुगेको जानकारी दिए। डिस्चार्ज हुनेभन्दा थपिने कोरोना भाइरस संक्रमित बढी भएकाले भक्तपुरमा अपेक्षाकृत रुपमा सक्रिय संक्रमितहरुको संख्या नघटेको उनको भनाइ थियो। उनका अनुसार मंगलबार ७२ जना नयाँ संक्रमित थपिँदा ३४ जनामात्रै डिस्चार्ज भए।

उनले मंगलबार मध्यपुर थिमि नपामा १४ पुरुष र १३ महिला गरी २७ जना नयाँ संक्रमित थपिएको जानकारी दिए। सूर्यविनायक नपामा १५ पुरुष र ११ महिला गरी २६ जना थपिँदा चाँगुनारायण नपामा ६ महिला र ४ पुरुष गरी १० जना तथा भक्तपुर नपामा महिला र पुरुष ३–३ जना गरी ६ जना नयाँ संक्रमित थपिएको प्रमुख मिजारले बताए।

उनका अनुसार मंगलबार संक्रमण पुष्टि भएका एकएक जना महिला र पुरुष गरी २ जना सम्पर्कमा आएनन्। पछिल्लो समय संक्रमितको संख्यामा ३ अंकबाट २ अंकमा झरे पनि संक्रमणदरमा कुनै फरक नभएको प्रमुख मिजार बताउँछन्। ‘संख्यामा हेर्दा संक्रमित घटेकोजस्तो देखिएको छ’, उनले भने, ‘तर संक्रमणदर घटेको छैन।’

निषेधाज्ञा खुकुलो भए पनि जनस्वास्थ्यको मापदण्ड पालनामा हेलचेक्राई गर्न नहुने उनले सुझाए। सरकारले ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा स्थानीय डीसीसीएमसीले निषेधाज्ञा लगाउन सक्ने बताएको थियो तर उपत्यकाभित्रका ३ जिल्लाले संयुक्त रुपमा निर्णय गर्दै आएका छन्।

भक्तपुरका ४ नपामध्ये सबैभन्दा बढी सूर्यविनायकमा सक्रिय संक्रमित रहेका छन्। यहाँ ८२ जना पुरुष र ६६ जना महिला गरी १८४ जना सक्रिय संत्रमित रहेका छन्। सूर्यविनायकपछि मध्यपुर थिमिमा ७४ जना पुरुष र ७१ जना महिला गरी १४५ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै चाँगुनारायणमा ६१ जना महिला र ४५ जना पुरुष गरी ११६ तथा भक्तपुरमा ४२ जना महिला र ३९ जना पुरुष गरी ८१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। सक्रिय संक्रमितमध्ये २१ महिला र १७ पुरुष गरी ३८ जना अस्पताल एवं नगरपालिकाको आइसोलेसनमा रहेका छन्। ९२ प्रतिशत अर्थात २४१ पुरुष र २२६ महिला गरी ४६७ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

९६ प्रतिशत डिस्चार्ज

भक्तपुरमा कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये ९६ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन्। यहाँका ११ हजार ८११ पुरुष र ९ हजार ८९६ महिला गरी २१ हजार ७०७ जना डिस्चार्ज भएका हुन्।

भक्तपुरमा अहिलेसम्म २२ हजार ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसमध्ये १२ हजार २६३ जना पुरुष र १० हजार २४८ जना महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

२९९ संक्रमितको मृत्यु

कार्यालयका अनुसार भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण २९९ जनाको मृत्यु भइसकेको छ। जसअनुसार १९४ जना पुरुष र १०५ जना महिला रहेका छन्। यहाँका ४ नपामध्ये मध्यपुर थिमि नपाका बढी संक्रमितले ज्यान गुमाएका छन्। यहाँका ६६ जना पुरुष र २९ महिला गरी ९५ जना संक्रमितको मृत्यु भएको छ।

सूर्यविनायक नपाका ५१ पुरुष र ३० महिला गरी ८१ जना संक्रमितले ज्यान गुमाएका छन्। भक्तपुर नपाका ४८ पुरुष र ३१ महिला गरी ७० जना तथा चाँगुनारायण नपाका २९ पुरुष र १५ महिला गरी ४४ जना संक्रमितको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.