जनप्रतिनिधिमा उदाहरण, उद्धव

जनप्रतिनिधिमा उदाहरण, उद्धव

भक्तपुर : उद्धव खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिकाका निर्वाचित नगर सभा सदस्य। उनी २०७३ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए। उनै जनप्रतिनिधि खड्काले आफ्नो तलबभत्ता दानसहयोग गरेर उदारशील भावना देखाएका छन्।

उनले चाँगुनारायण नपाको वडा सदस्यमा निर्वाचित भएर पद बहाली गरेदेखि अहिले चौथो वर्षसम्म प्राप्त गरेको मासिक तलबभत्तावापतको रकम ४ लाख ७५ हजार २०० रुपैयाँ सामाजिक क्षेत्रमा सहयोग र दान दिएका छन्।

नेपाली कांग्रेसका दिवंगत नेता वीपी कोइरालाको ३९ औं स्मृति दिवसको अवसरमा बुधबार उनले चाँगुनारायण नपाका दुई व्यक्तिलाई जनही ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। नसस भएवापत नगरपालिकाबाट मासिक प्राप्त हुने तबलभत्तावापतको रकम सहयोग गरिएको उनले बताए।

उनका अनुसार अहिले मासिक ९ हजार ९ सय रुपैयाँ तलबभत्ता प्राप्त हुन्छ। जुन एक वर्षमा एक लाख १८ हजार ८ सय रुपैयाँ हुन आउँछ।

मनकारी जनप्रतिनिधि खड्काले चाँगुनारायण नपाका कार्यपालिका सदस्य कुमार अच्छामी र नेपाली कांग्रेसका कार्यकर्ता रोशनकुमार पौडेललाई उक्त रकम सहयोग गरेका हुन्।

आफ्नो कार्यकालको तेस्रो र चौथो वर्षको तलबभत्तामध्ये दुईजनालाई जनही ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको उनले स्पष्ट पारे।

चाँगुनारायण नपाका कार्यपालिका सदस्य अच्छामीलाई मेरुदण्डको नसा फुटेर पक्षघात (पारालाइसिस) भएको छ। जसले गर्दा करिब एक वर्षदेखि उनको कम्मरमुनिको भाग चल्दैन। एक वर्षको उपचारमा पनि उनको स्वास्थ्यमा कुनै सुधार नभएको उनको परिवारले जनाएको छ।

त्यस्तै २०७१ सालको माघमा सडक दुर्घटना परेर घाइते भएका कांग्रेस कार्यकर्ता पौडेल पनि पक्षघातका पीडित हुन्। चाँगुनाराण नपा ४ चाँगुनारायणका पौडेलको शरीरको दुई भागमध्ये बायाँ भाग नचल्ने उनकी श्रीमती स्मृति पौडेलले बताइन्।

उनका अनुसार दुर्घटनाबाट कोमामा पुगेका पौडेलको स्वास्थ्य अवस्था सुरुको भन्दा धेरै सुध्रिए पनि अहिले फेरि समस्या बढेको छ।

कोरोना भाइरस संक्रमणका कारण फलोअपमा लान समस्या हुँदा उनमा कमजोरी देखिएको स्मृति बताउँछिन्। जनप्रतिनिधि खड्का दुवैजनाको घरसम्म पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

उनले चुनावको क्रममा आफू जिते कुनै तलब, भत्ता र सेवासुविधा नलिई उक्त रकम सामाजिक सेवामै खर्च गर्ने प्रतिबद्धता गरेको र सोही पूरा गरेको प्रतिक्रिया दिए।

उनले पहिलो र दोस्रो वर्षको तलबभत्ताबाट २०७५ साल चैतमा आफ्नै वडाका ६८ जना ७० वर्षमाथिका बाट ज्येष्ठ नागरिकहरुलाई तीर्थाटन गराएका थिए। ज्येष्ठ नागरिकहरुलाई खोटाङस्थित हलेसी महादेव, सुनसरीस्थित बराह क्षेत्र र धनुषाको जनकपुरधामसम्म ४ दिन लामो तीर्थाटन गराइएको वडा सदस्य खड्काले जानकारी दिए।

उक्त तीर्थाटनको लागि आफ्नो तर्फबाट २ लाख ५० हजार २ सय र बाँकी शुभेच्छुकहरुबाट संकलन गरी ५ लाख खर्च गरिएको उनको भनाइ छ।

‘ज्येष्ठ नागरिकहरुलाई तीर्थाटन गराइसकेपछि चाँगुनारायण माध्यमिक विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुको छात्रवृत्तिको लागि अक्षयकोष बनाउन ७५ हजार रुपैयाँ सहयोग गरिसकेको छु’, उदार उद्धवले भने, ‘४ वर्षको तलबभत्ताको कूल ४ लाख ७५ हजार २०० रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गरिसकेको छु। अब बाँकी एक वर्षको पनि सोहीअनुसार सामाजिक क्षेत्रमा लगाउने छु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.