मध्यरातमा यसरी हुन्छ कालीगण्डकी दोहन

मध्यरातमा यसरी हुन्छ कालीगण्डकी दोहन

बागलुङ : धौलागिरी क्षेत्रमा कालीगण्डकी नदी दोहन बढेसँगै कालीगण्डकी सभ्यता बचाउँ अभियान थालिरहेकै बेला मध्यरातमा नदी दोहन भइरहेको पाइएको छ । 

बागलुङ र पर्वत जोड्ने विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल मुनीको राजाको बगर र त्यस आसपासमा प्रहरी, प्रशासन र नागरिकको आँखा छल्दै मध्यरातमा नदीबाट बालुवा उत्खनन गर्ने गरिएको छ । 

रातको समयमा दोहन गर्ने गरेको गुनासो पछि कालीगण्डकी बचाउँ अभियानको टोलीले गरेको छड्के अनुगमनमा मध्यरातमै जेसिबी प्रयोग गरेर अवैध दोहन गरेको पाइएको अभियन्ता आरेक अदिप्त गिरीले बताए । बर्खायाममा उत्खननमा धेरै स्थानीय तहले रोक लगाए पनि यस क्षेत्रमा पर्वतको जलजला गाउँपालिकाले बर्खायाममा पनि नयाँ कार्यविधि बनाएर नदीजन्य पदार्थ उत्खनन र निकासीका लागि ठेक्का लगाउने निर्णय चौतर्फी विरोधपछि अन्तिम समयमा गत असार ५ गते स्थगन गरेको थियो । तर, पालिकाले उत्खननको ठेक्का नलगाउने निर्णय गरेपनि पालिकाकै नदी आसपासका अधिकांश स्थानमा रातिको समयमा अवैध दोहन जारी रहेको पाइएको अभियन्ता गिरीले बताए ।

‘दिनमा रोके जस्तो गरेर रातमा बालुवा, ढुंगा निकालिरहेको गुनासो व्यापक थियो, यसबारे तथ्य बुझ्न हामी रातको ११ बजे कालीगण्डकी नदीको राजाबगर क्षेत्रमा पुगेर रातभर जाग्राम बसेरै छड्के गर्‍यौं’ अभियन्ता गिरीले भने, ‘१२ बजे तिरबाट दुई वटा जेसिबी प्रयोग गरेर बालुवा झिकियो, जेसिबीको लाइट समेत निभाएर योजनावद्ध हिसाबले दोहन गरिँदो रहेछ, यसमा प्रहरी प्रशासनको भूमिका पनि शंकास्पद पाइयो ।’

साथमा राति १२ बजे अवैध दोहन भएकोबारे स्थलगत अध्ययन गर्न पुगेका अभियन्ता, पत्रकार हितको टोली । तस्बिर : अन्नपूर्ण

पोखरा बागलुुङ र पोखरा बेनी सडकको छेउमा भएकाले सडक सुनसान बने पछि कालीगण्डकी किनारमा नदी उत्खनन दैनिकजसो गर्दै आएका छन् । नदी दोहनमा आउन सक्ने सम्भावित बाधा अवरोध प्रति सचेत रहँदै उनीहरुले रातको समयका लागि आसपासमा छुट्टै हेरालु, सुराकी समेत राख्ने गरेका छन् । 

राजाको बगरमा भएको अबैध दोहन त एक प्रतिनिधि घटना मात्रै हो । लस्ती बगर, दम्मुवा खोला, कालाखोला बगर, मालढुङ्गाको वारी पारी बगरमा पनि यस्तै शैलीमा नदी दोहन हुने गरेको छ । कालीगण्डकीलाई लुटेर खाने धन्दा चलाएकाविरुद्धमा अब सबै एक हुनुपर्ने अभियानमा सक्रिय रुपेश सापकोटाले बताउँछन् । कालीगण्डकी विश्वमै दुर्लभ शालिग्राम पाइने नदीका रुपमा स्थापित छ । अवैध दोहनले शालिग्राम समेत लोप हुने खतरा बढ्दो छ । 

राज्यले ठेक्का नलगाएको समयमा बर्खाको समयमा मध्यरातमा कालिगण्डकी दोहन गरेर लुट मच्चाइरहेको प्रत्यक्षदर्शी अधिकारकर्मी राम शर्माले बताए । असार १ देखि भाद्र १५ सम्म नदीजन्य पदार्थ उत्खनन् गर्न नपाइने प्रदेशको कानुन भए पनि राज्य सत्ता र तीनका निकायलाई प्रभावमा पारेर मध्यरातमा कालिगण्डकी दोहन भइरहेको उनको भनाइ छ । 

प्रयाजसो राति ११ बजे देखि बिहान ४ बजे सम्म राजाको बगरमा कालीगण्डकी दोहन हुन्छ । भोलीपल्ट दोहनबाट निकालिएको बालुवा बिक्री गरिन्छ । दोहनकै समयमा धौलागिरीको साविक सदरमुकाममा रहेको बागलुङ बजार देखि कालिका मन्दिर सम्म प्रहरीको गस्ती भइरहेको हुन्छ भने दोहन गरिरहेको नजिकै मालढुङ्गामा प्रहरी भए पनि उनीहरु मौन बस्ने गरेका छन् । 

पर्वत प्रहरीले २४ घण्टानै नदी किनारामा प्रहरी खटाइएको दावी गर्दै आएको समेत छ । २४ घण्टै नदी दोहन नियन्त्रणमा लिनका लागि प्रहरी खटाइएको र केही मात्रामा दोहन नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।

'म पर्वत आएको एक महिना भयो, दोहन पूर्णरुपमा रोक्ने हाम्रो नीति छ, अहिले पनि किनारामै गाडीसहित प्रहरी परिचालन भएको छ, रातभर दोहन भइरहने राजाको बगरबाट दोहनमा सहभागीलाई पक्राउ गरी जरिवाना तिराएका छौं, पुनः सोही स्थानमा दोहन भइरहेको गुनासो छ,' बुढाथोकीले भने, 'हामीलाई दोहन भइरहेको समेत सही सूचना आवश्यक छ, रातिमा लाइट आफ गरेर दोहन गर्दा कतिपय स्थानमा प्रहरीले नदेखेको समेत हुन सक्छ, यसरीनै नागरिकस्तरबाट सूचना जानकारी आए कालीगण्डकी दोहन रोक्न सम्भव हुनेछ ।'


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.