मौलिकता गुमाउँदै गाथामोग चर्‍हे

मौलिकता गुमाउँदै गाथामोग चर्‍हे

भक्तपुर:

जः जक जनी, चारखाना जनी
छम्ह्याय् दनी, जिता मनी

पे भौ ! – १

अर्थात्
पटुकी त पटुकी, फूलबुट्टे पटुकी
तपाईंकी छोरी, मलाई चाहिनी
पे भौ !

यी पंक्ति सुन्दा हाइकु जस्तो लाग्छ तर यो हाइकु होइन । न त गजल नै । अन्त्यानुप्रास मिल्ने यी पंक्ति प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन मनाइने गाथामोग चर्‍हेमा मन्त्रोचारणसहितको यौनिक आह्वान हो । जुन गाथामोग पर्वको मौलिकता हो । यौनिक आह्वानलाई स्थानीय नेपालभाषामा ‘भ कायगु’ भनिन्छ । गाथामोग सेलाउन जाने क्रममा सहभागीहरुले ‘भ कायगु’ गर्दा तिहारमा भैलो र देउसी भट्ट्याए जस्तै यौनिक आह्वान गुञ्जायमान हुनु यस पर्वको मौलिक विशेषता हो । तर आजभोलि यौनिक आह्वान हुन छोडेको छ ।

ङातापोल छता मरु
भैल देगः पत्ता मरु
हुँ ल्यासे जिता मरु
पे भौ ! – २

अर्थात्
पाँचतले मन्दिरको एकतला भत्क्यो
भैरवनाथ मन्दिर पूरै पाताल
त्यो तरुनी छैन मलाई आस
पे भौ !

विशेष गरी काठमाडौं उपत्यकाका नेपालभाषी समुदायले मनाउने जात्रा पर्व मनोरञ्जनको लागि मात्रै होइन । जात्रापर्व सर्वसाधारणको जनजीविकासँग सम्बन्धित छ । जसले गर्दा यसले आफ्नो मौलिक रुप ग्रहण गर्दै आएको हो तर आधुनिकता भित्रिएसँगै जात्रापर्वका मौलिकता हराउँदै आएको संस्कृतिविद् विनोदराज शर्मा बताउँछन् ।

यसैगरी मौलिकता हराउँदा आजभोलि गाथामोग पर्व निरस बन्दै आएको उनले दुःख व्यक्त गरे । ‘यौनिक आह्वान गर्नु गाथामोग पर्वको मौलिकता विशेषता हो’, संस्कृतिविद् शर्माले भने, ‘तर आजभोलि यौनिक आह्वान हुन छोडेको छ । पर्वको मौलिकता पुस्तान्तरण नहुँदा यो अवस्था आएको हो ।’

उनका अनुसार परापूर्व कालदेखि गाथामोग पर्व युवायुवतीलाई यौन शिक्षा दिने माध्यमको रुपमा मानिसको जनजीवन सँगसँगै जोडेर मनाउँदै आएको थियो । ‘युवायुवतीलाई यौन शिक्षा दिन पर्वका सहभागीहरुले यौनिक आह्वान गर्ने गरिन्थ्यो’, संस्कृतिकर्मी शर्मा थप्छन्, ‘यो एक किसिमको मन्त्रोचारणसमेत हो तर आजभोलि मन्त्रोचारण हुन छोड्यो ।’

उनले आजभोलि यौनिक आह्वानभन्दा पनि अश्लील शब्दहरुको बढी प्रयोग हुन थालेको सुनाए । उनका अनुसार पहिले मन्त्रोचारणसहित यौनिक आह्वान गरिन्थ्यो तर अहिले मन्त्र भुलेर छाडा शब्दमात्रै प्रयोग हुन थालेको छ । जसले गर्दा गाथामोग पर्वमा विकृति भित्रिएको उनी बताउँछन् ।
अर्को पंक्ति
तः पुखु, न पुखु दुकायो
हुँ मिसा ल्यो कायो
पे भौ ! – ३
अर्थात्
सिद्ध पोखरी, गुह्य पोखरीले डुबाउँछ
त्यो तरुनी सम्मोहन गर्छ
पे भौ !

पंक्ति १, २ र ३ ले यौनिक आह्वानका केही उदाहरणमात्रै हुन् । गाथामोग पर्वका बेला गरिने यौनिक आह्वान दर्जनौं छन् । यी आह्वानमा नेपाली समाजका मौलिक कला, संस्कृति, सम्पदा, इलम एवं उद्यम तथा श्रमलाई महत्व दिइएको पाइन्छ । जस्तै पहिलो पंक्तिमा महिलाले कम्मरमा बाँध्ने पटुकीको उल्लेख गरिएको छ । पटुकी पनि फूलबुट्टे पटुकी, जुन उसबेला घरघरमा पाइने तानमा बुनिन्थ्यो । मानिकलाई चाहिने लत्ताकपडा तानमा बुन्नु इलम एवं उद्यममात्रै होइन आत्मनिर्भरताको द्योतक हो ।

त्यस्तै दोस्रो पंक्तिमा पाँचतले र भैरवनाथको मन्दिरको प्रसंग आएको छ । जुन भक्तपुरको मात्रै होइन विश्वकै सम्पदा हुन् । यी सम्पदाले १९९० सालको भूकम्प भोगेका थिए । उक्त भूकम्पमा पाँचतले मन्दिरको माथिल्लो एकतलामात्रै क्षति पुगेको थियो जब कि तीनतले भैरवनाथ मन्दिर पातालै । यसरी भूकम्पले पुर्‍याएको असरलाई जीवन्त एवं स्मरणमा राख्दै त्यसबाट मानिस सचेत हुनुपर्ने सन्देश उक्त पंक्तिले दिएको छ ।

तेस्रो पंक्तिमा पनि सम्पदालाई नै प्रसंगमा ल्याएको छ । भक्तपुर नगरकै सबैभन्दा ठूलो पोखरी सिद्ध पोखरी र गुह्यपोखरीलाई बिम्बको रुपमा प्रयोग गर्दै पौडिन जानिएन भने पोखरीले पनि डुबाउने सन्देश यस पंक्तिमा दिइएको छ ।

तर अहिले जात्रापर्व एवं संस्कृतिबाट सिक्ने तथा शिक्षा लिनेभन्दा पनि तडकभडकमात्रै बढेको संस्कृतिविद् शर्मा बताउँछन् । अर्का संस्कृतिविद् ओमप्रसाद धौभडेल गाथामोग पर्वको राम्रो एवं सकारात्मक कुरा लिनेभन्दा यसलाई छाडा र अश्लील बनाउने क्रम बढेको सुनाउँछन् ।

उनका अनुसार यो पर्वको उद्देश्य असार साउनको धान रोप्ने काममा व्यस्त सर्वसाधारणलाई यौन जीवनमा फर्काएर आफ्नो वंशलाई अगाडि बढाउन यौन शिक्षा दिनु हो ।
‘विवाहित महिलापुरुषमा यौन समागमको चाहना जागृत गराउन गाथामोगलाई उन्मक्त रुप दिने गरिएको हो’, धौभडेलले थपे, ‘त्यसमाथि महिलापुरुषलाई यौनसमागमको लागि कुटकुटाउन यौनिक आह्वान गर्ने प्रचलन परापूर्वकालदेखि नै चल्दै आएको हो ।’ तर नयाँ पुस्तालाई यसबारे शिक्षित पार्न नसकिँदा गाथामोग फगत एक पर्वमा सीमित हुन पुगेकोमा उनीहरुले दुःख व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.