भक्तपुरमा ‘अप्राविधिक’ विद्युत चुहावट शून्य !

भक्तपुरमा ‘अप्राविधिक’ विद्युत चुहावट शून्य !

भक्तपुर: नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रले भक्तपुरमा ग्राहकतर्फको ‘अप्राविधिक’ विद्युत चुहावट शून्यमा झरेको दावी गरेको छ ।

केन्द्रका प्रमुख राजकुमार रमणले आर्थिक वर्ष २०७७/७८ मा विद्युत चुहावट ७.१३ प्रतिशतमा झार्न सफल भएसँगै भक्तपुरमा अप्राविधिक चुहावट शून्यमा झरेको दावी गरेका हुन् । उनले प्राधिकरण केन्द्रीय कार्यालयले दिएको लक्ष्यअनुसार भक्तपुर वितरण केन्द्रले गएको वर्ष विद्युत चुहावटलाई ७.१३ प्रतिशतमा झार्न सफल भएको
बताए ।

विद्युत क्षेत्रमा प्राविधिक चुहावट नै ८ प्रतिशत हुने मानिन्छ । त्यसलाई आधार मान्दा भक्तपुर वितरण केन्द्रको अप्राविधिक चुहावट शून्यभन्दा पनि न्यून रहेको प्रमुख रमणको जिकिर थियो ।

८ वर्षमा चुहावट ६३ बाट ७.१७ प्रतिशतमा झर्‍यो

करिब ८ वर्षको निरन्तरको विद्युत चुहावट नियन्त्रण अभियानले भक्तपुरले यो सफलता हात पारेको उनी बताउँछन् । आर्थिक वर्ष २०७१/७२ सम्म भक्तपुरमा ६३ प्रतिशतसम्म विद्युत चुहावट भइरहेको थियो । जसले गर्दा विद्युत चुहावटको कारण भक्तपुरले बदनामी खेपिरहेको थियो ।

जसै २०७२ को भूकम्पपछि विद्युत चुहावट नियन्त्रण अभियान अघि बढाइयो, त्यसै वर्ष एकैबाजी विद्युत चुहावट ३७.०३ प्रतिशतमा झरेको थियो । जुन निरन्तर ओरालो लाग्ने क्रममा रह्यो । जसअनुसार आर्थिक वर्ष २०७३/७४ मा २८.०८ प्रतिशत र आर्थिक वर्ष २०७४/७५ मा १८.५९ प्रतिशतमा विद्युत चुहावट घट्यो ।

आर्थिक वर्ष २०७५/७६ मा विद्युत चुहावट १३.०६ प्रतिशतमा झारेर भक्तपुर वितरण केन्द्रले पहिलोपटक लक्ष्यभन्दा बढी चुहावट नियन्त्रण गरेर रेकर्ड राखेको थियो । उक्त वर्ष प्राधिकरणको केन्द्रीय कार्यालयले भक्तपुरलाई विद्युत चुहावट नियन्त्रण गर्न १५ प्रतिशत लक्ष्य दिएको थियो ।

भक्तपुर केन्द्रले आर्थिक वर्ष २०७६/७७ मा चुहावटलाई ८.६८ प्रतिशतमा झारेर अर्को रेकर्ड राखेको थियो । आर्थिक वर्ष २०७६/७७ सम्म भक्तपुर वितरण केन्द्रअन्तर्गत ८.६८ प्रतिशत विद्युत चुहावट भइरहेको थियो । जुन केन्द्रले विद्युत चुहावट नियन्त्रणमा अहिलेसम्म प्राप्त गरेको ठूलो उपलब्धि थियो ।

सामूहिक प्रयासबाटै यो सफलता: प्रमुख रमण

प्रमुख रमणले भक्तपुरका राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैको साथसहयोग, सहकार्य र सामूहिक प्रयासबाटै केन्द्रले उक्त सफलता प्राप्त गरेको सुनाए ।
‘भक्तपुरका राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिध, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैको साथ, सहयोग र सहकार्यबाटै भक्तपुरमा विद्युत चुहावट नियन्त्रणमा उपलब्धि हासिल भएको हो’, उनले भने, ‘प्राधिकरणको मात्रै एक्लो प्रयासबाट यो उपलब्धि पाउन सम्भव छैन । सबैको सामूहिक प्रयासबाटै यो सफलता प्राप्त भएको हो ।’

उनले अप्राविधिक चुहावट छँदैछैन भन्न नसकिने तर अहिले तथ्यांकले शून्यको अवस्थामा पुगेको भन्दै प्राविधिक चुहावटलाई समेत नियन्त्रण गर्दै लाने केन्द्रको लक्ष्य रहेको बताए । यसको लागि भक्तपुरमा विद्युत लाइनलाई भूमिगत गर्ने, नांगा तारलाई इन्सुलेटेड एबीसी केबलले प्रतिस्थापन गर्दै लाने कार्य अघि बढेको उनको भनाइ छ ।

‘भक्तपुरदेखि नगरकोटसम्मको करिब ५६ किलोमिटर लामो नगरकोट फिडरलाई टुक्राएर छोट्याउँदा पनि प्राविधिक चुहावटमा कमी आएको छ’, प्रमुख रमणले थपे, ‘ओभरलोडेड ट्रान्सफर्मर फेरेका छौं । काभ्रेबाट लिँदै आएको केन्द्रअन्तर्गतको क्षेत्रमा भक्तपुरबाटै विद्युत आपूर्ति गरेका छौं ।’

उनले भक्तपुर नगरकोट प्रशारणलाइनअन्तर्गत ३ किलोमिटर ११ केभीको बैकल्पिक प्रशारणलाइन निर्माण गरिएको बताए । यसले गर्दा तेलदेखि नगरकोटको जंगलबीचको प्रशारण लाइनमा आइरहने प्राविधिक समस्या धेरै हदसम्म समाधान भएको उनको भनाइ छ ।

उनका अनुसार गएको वर्ष ४८ वटा ट्रान्सफर्मर फेरिएका थिए । त्यस्तै नयाँ १२.५९ किलोमिटर ११ केभिए प्रशारणलाइन विस्तार गरिएको छ । उनले भक्तपुरमा आगामी दुई वर्षभित्र गार्हस्थतर्फका सम्पूर्ण ग्राहकहरुको मिटर स्मार्ट गरिने जानकारी दिए । यसले पनि विद्युत चुहावट नियन्त्रित रहने उनको भनाइ थियो । ‘आगामी दुईवर्षभित्र साधारण ग्राहकका मिटरलाई स्मार्ट मिटरमा बदलिनेछ’, प्रमुख रमणले भने, ‘गएको वर्ष ५५० थान थ्रीफेज होल करेन्ट मिटरलाई स्मार्टमा बदली गरिसकेका छौं ।’ केन्द्रअन्तर्गत ४२ हजार ८१२ जना ग्राहक रहेका छन् । जसमध्ये गएको वर्षमात्रै २ हजार २३७ जना नयाँ ग्राहक थपिएको केन्द्रले जनाएको छ ।

७० करोड ४६ लाख महसुल संकलन

केन्द्रले आफ्ना कूल ग्राहकहरुबाट गएको वर्ष ७० करोड ४६ लाख ७२ हजार ६४४ रुपैयाँ महसुल संकलन गरेको छ । जुन केन्द्रले बिक्री गरेको बिजुलीको ९२.९६ प्रतिशत रहेको केन्द्र प्रमुख रमण बताउँछन् ।
उनका अनुसार केन्द्रले प्राधिकरणबाट ७ करोड ६२ लाख ७४ हजार ३३८ युनिट बिजुली प्राप्त गरेको थियो । पाएको विद्युतमध्ये ९२.८७ प्रतिशत अर्थात ७ करोड ८ लाख ९० हजार ८२६ युनिट बिक्री भएको प्रमुख रमणले जानकारी दिए ।

उनले गएको आर्थिक वर्षमा विद्युत चुहावट कारबाहीबाट केन्द्रले ५३ लाख ३० हजार ८०८ रुपैयाँ असुलउपर गरेको बताए । कोरोना भाइरस संक्रमण व्यवस्थापनको कारण लगाइएको निषेधाज्ञाकै बीच केन्द्रले २२६ जनालाई चुहावटमा कारबाही गरेको छ । निषेधाज्ञाको कारण केन्द्रले चुहावट नियन्त्रण अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको केन्द्रले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.