कांग्रेस नेता सिंहको गुनासो: नेता र जनप्रतिनिधिलाई गालीमात्रै गरियो

कांग्रेस नेता सिंहको गुनासो: नेता र जनप्रतिनिधिलाई गालीमात्रै गरियो

भक्तपुर: नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले जनताले नेता तथा जनप्रतिनिधिहरुलाई गालीमात्रै गर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका ३ नम्बर वडाको नवनिर्मित भवन बुधबार उद्घाटन गर्दै उनले जनताको पनि दायित्व र जिम्मेवारी हुने औंल्याए । ‘हामीकहाँ जनताले नेता र जनप्रतिनिधिलाई गालीमात्रै गर्ने परम्परा विकास भयो’, पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले भने, ‘त्यसो भए जनताको चै आफ्नो कुनै दायित्व र जिम्मेवारी हुँदैन ?’

उनले सरकार र स्थानीय तहमा रहको जनप्रतिनिधिहरुको प्रमुख दायित्व र जिम्मेवारी जनताको सेवा गर्ने भएकोतर्फ भने ध्यानाकर्षण गरे । काम गर्दागर्दै कतै कमजोरी भए जनताले औंल्याउनुपर्ने बताउँदै नेता सिंहले गालीमात्रै नगरी सरकार र जनप्रतिनिधिलाई काम गराउने जिम्मेवारी जनताको भएको औंल्याए ।

विश्वव्यापी कोरोना भाइरस संक्रमणबीच जनप्रतिनिधिहरुले दिनरात नभनी जनताको सेवा गर्दै आएको उनले बताए । जनतामा राजनीतिप्रति नै वितृष्णा बढेकाले जनप्रतिनिधिहरुले पनि परिवर्तन अनुभूति हुने गरी काम गर्ने बेला भएको उनको भनाइ थियो ।

‘जमाना फेरिएको छ । जनप्रतिनिधिहरु व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि हुने जनताको सेवालाई केन्द्रविन्दुमा राखेर पारदर्शीपूर्ण काम गर्नुपर्छ’, नेता सिंहले भने, ‘जनप्रतिनिधिहरुले प्रभावकारी काम गरे जनतामा सकारात्मक प्रभाव पर्छ ।’

उनले विधि र पद्धतिलाई आत्मसात गरी काम गर्नसमेत सुझाव दिए । विधि र पद्धतिभन्दा माथि आफूलाई सम्झेर काम गर्ने एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको हविगत हुने उनको भनाइ थियो ।

‘मै सत्ता हु र सबै थोक मै हुँ भन्ने दम्भले गर्दा केपी शर्मा ओली बालुवाटारबाट बालकोटको बार्दली पुग्नुपर्‍यो’, प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता सिंहले भने, ‘विधि र पद्धति नमान्ने, जनताको कुरा नसुन्दा केपी ओलीको हविगत हुन्छ । केपी शर्मा ओलीलाई जनताले दुईतिहाइ नजिक मत दिएका थिए तर खोई त काम गरेको ?’

कार्यक्रममा मध्यपुर थिमि नपाका मेयर मदनसुन्दर श्रेष्ठले नगरभित्र भएका विकास निर्माणको फेहरिस्त प्रस्तुत गरे । तर विवाद र प्राविधिक समस्याले नपाका केही वडाहरुको भवन निर्माण रोकिएको उनले सुनाए ।

त्यस्तै उपमेयर अञ्जनादेवी मधिकर्मीले नपाले सम्पदा संरक्षणसँगै जनताको मागअनुसार विकास निर्माणका कार्य गर्दै आएको बताइन् । मध्यपुर थिमि नपा वडा नं. ३ का अध्यक्ष प्रेमबहादुर कुटुले २ करोड ४४ लाख ९७ हजार ६७९ रुपैयाँको लगत इस्टिमेटको उक्त भवन ठेकेदारले एक करोड ६९ लाख ९६ हजार ४२२ रुपैयाँमा सम्पन्न गरेको जानकारी दिए ।

उनका अनुसार २०७६ सालको माघ १६ गते उक्त भवनको जग शिलान्यास भएको थियो । भक्तपुर काठमाडौं ६ लेन सडकको उत्तरतर्फ कौशलटारमा रहेको उक्त भवनमा सभाकक्ष, जनप्रतिनिधिहरुको बैठक कक्षसहित १२ वटा कोठा रहेका छन् । यसअघि भाडामा बसेको वडा कार्यालय नवनिर्मित भवनमा सरेसँग कार्यालयको सेवा छिटो छरितो हुने वडा अध्यक्ष कुटुले विश्वास व्यक्त गरे ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.