निषेधाज्ञा तोड्दै ढोरपाटनमा सयौँ भेडा बली चढाएर पूजाको धुमधाम

निषेधाज्ञा तोड्दै ढोरपाटनमा सयौँ भेडा बली चढाएर पूजाको धुमधाम

बागलुङ: जिल्लाको चर्चित धार्मिक स्थल पश्चिम ढोरपाटनमा जनपूर्णिमाका दिन वर्षेनी मनाइने पूर्णिमा पर्व स्थानीयले कोरोना कहरका बावजुद धुमधाम साथ मनाएका छन् ।

परम्परादेखि मनाउँदै आइएको जनैपूर्णिमा पर्व कोरोना महामारीका बीच विभिन्न स्थानबाट भक्तजनहरु ढोरपाटनस्थित बराह मन्दिरमा पुगेर पूजाआजा गरेका हुन् ।

पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको ढोरपाटनमा पूजाआजासँगै घुमघामका लागि पनि सयौँ मानिस यही अवसरमा ढोरपाटन पुग्ने गर्छन् । ढोरबराजमा बली सहित पूजाका लागि यस वर्ष ४ सय ७० जनाले नाम टिपाए पनि करिब ३ सय ७० भेडाको बली दिइएको स्थानीय अरुण घर्ती मगरले जानकारी दिए । उनका अनुसार गत वर्षमा भन्दा यस वर्ष केही कम बली दिइएको छ । अन्य समयमा वर्षमा एक पटक मात्रै पूजाआजा हुँदा ढोरबराह मन्दिरमा १२/१५ सय बढी भेडाको बली दिइने स्थानीय बताउँछन् ।

यहाँ हरेक वर्ष जनैपूर्णिमाका अवसरमा परम्परागत पूजाआजाका साथै ठूलो मेला लाग्नेगर्छ । तर, यस वर्ष कोरोनाका कारण पूजाआजा र मेला नगर्न प्रशासनले निर्देशन दिएको थियो । यद्यपि, ढोरबराह प्रतिको भाकल, आस्था र विश्वासका कारण सयौँ मानिसहरु जमघट भएर पूजाआजा गरेको स्थानीय कल्याण कायत बताउँछन् ।

विगतका वर्षमा पूजाआजासँगै स्थानीय क्लबले विभिन्न खेलकुद तथा प्रतियोगिता सहित मेलाको आयोजना गर्ने गर्थ्यो । यस वर्ष कोरोना कहरका कारण पूजाआजा मात्रै गरिएको कायतको भनाइ छ ।

जिल्लाका कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बागलुङले केही समययता कडा निषेधाज्ञा जारी गरेको छ । तर, निषेधाज्ञाको उल्लङ्घन गर्दै सयौँ मानिस ढोरपाटनमा पुगेका छन् । जनैपूर्णिमामा ढोरबराह मन्दिरमा भेडाको पाठोको बली दिने गरिन्छ । परिवारमा सुख, शान्ति तथा मनोकांक्षा पुरा होस् भन्ने कामनाका साथ भाकल गरेकाहरुले यहाँ भेडाको पाठो बलि दिने गर्दछन् ।

ढोरपाटनमा जनैपूर्णिमा मेला ऐतिहासिक रुपमा लिइन्छ । वर्षौँदेखि जनैपूर्णिमामा बली चढाउने र पूजाआजा हुने गरेकोमा केही वर्षअघि देखि बैशाखे पूर्णिमामा पनि बली दिन मिल्ने प्रबन्ध मिलाइएको छ । वर्षातको समयमा टाढा–टाढाबाट आउने तिर्थयात्रु र श्रद्धालु भक्तजनलाई समस्या भएपछि बैशाखमा पनि पूजाआजा तथा बली दिने व्यवस्था गरिएको छ ।

‘पहिले–पहिले त निकै समस्या थियो, बर्खामास हिलो उस्तै, बाढी पहिरोको डर, साँघुरो बाटो, टाढा–टाढाबाट आउने दर्शनार्थीलाई त निकै समस्या थियो,’ कायतले भने ‘अहिले बैशाखे पूर्णिमामा पनि पूजाआजा हुन थालेपछि केही सहज भएको छ, बाहिरी जिल्लाबाट आउने तिर्थयात्रुलाई पनि राहत मिलेको छ ।’

ढोरपाटनमा पूजाआजा गर्दा र बली दिँदा मोनकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ । त्यसले गर्दा बागलुङ जिल्ला सहित देशभरबाट हजारौँ तिर्थयात्रुको आगमन हुने गर्छ । विशेष गरी बागलुङसहित, रोल्पा, रुकुम, प्युठान, गुल्मी, अर्घाखाँची, म्याग्दी, पर्वत, बुटवल लगायतका ठाउँबाट मानिसहरु पूजा गर्न आउने गरेको पाइन्छ ।

पहिले–पहिले पश्चिम बुर्तिबाङसम्म गाडीमा गएर घण्टौको पैदल यात्रापछि मात्रै ढोरपाटन पुग्ने गरेकोमा अहिले सवारी साधानमै ढोरपाटन पुग्न सकिन्छ ।

ढोरपाटन पुग्ने यात्रुहरुले त्यहाँस्थित बाइसधारामा नुहाउने र पूजा गर्ने गर्छन् भने दिवंगत भएका आफन्तको सम्झनामा विभिन्न सामान उत्तरगंगा नदीमा बगाउने गर्छन् । यसरी दिवंगत परिवारको सम्झनामा सामान उत्तरगंगामा बगाउँदा मृत आत्मालाई शान्ति मिल्ने जनविश्वास रहीआएको छ ।

बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले पूजा रोक्न नमिल्ने भएकाले सामान्य हिसाबले भीडभाड नगरी गर्न निर्देशन गरिएको बताए । ‘मेला नै गर्दै आएकोमा हामीले त्यसलाई रोक्न भन्यौँ, पूजाआजाका लागि हुने सम्भावित भीडलाई व्यवस्थित गर्न प्रहरी पनि परिचालन गरेका थियौँ’ प्रजिअ कार्कीले भने, ‘त्यति हुँदाहुँदै पनि धेरै टाढा टाढाबाट मानिसहरु पूजाआजा बली दिने गरेर आउने रहेछन्, संख्या अलि ठूलो आएकाले केही समस्या देखियो, यस्तो बेलामा स्वयम् नागरिकहरु पनि सचेत र जिम्मेवार बन्नुपर्छ, पूजा अर्को पटक गर्न पनि सकिन्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.