कवि शेरचनका आँखामा काठमाडौं

कवि शेरचनका आँखामा काठमाडौं

तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौं विजय हासिल गरेपछि नेपालको भौगोलिक एकीकरण अभियानको बलियो आधार तयार भयो। काठमाडौं एउटा राज्य थियो, तब यो नेपालको राजधानी भयो। त्यसअघि काठमाडौंलाई ‘नेपाल’ भनिन्थ्यो। काठमाडौंका कान्तिपुर, काष्ठमण्डप आदि नामहरू पनि रहे। साहित्य वा अनौपचारिक लेखाइमा वा कतिपय संस्थाहरूका नामकरणमा यी नामहरू प्रचलनमा आइरहेकै छन्।

यद्यपि सरकारी वा औपचारिकरूपमा ‘काठमाडौं’ लेख्ने गरिन्छ। राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा ‘काठमाडौं’ नाम परिचित छ। यसैबाट अधिक सम्बोधित छ यो प्राचीन सहर, यो नेपालको राजधानी सहर। कवितामा ‘काठमाडौं’ अनेक उपनाम, उपमा, विम्ब, प्रतीकहरूद्वारा सम्बोधन हुँदै आएको छ। आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई लोकप्रिय बनाउन सर्वाधिक भूमिका खेले। उनकै समयदेखि साहित्य सिर्जनाको बिस्तार पनि हुँदै आयो। कवितामा कलम चलाउनेहरू धेरै भए।

रातको अन्धकारमा फैलिने विषले सिंगो सहररूपी शरीरलाई विषादीमय बनाउन सक्ने चेतावनी पनि कविले दिएका छन्।

धेरै स्रष्टाले काठमाडौं माथि कविताहरू लेखे, लेखिरहेका छन्। भानुभक्त स्वयं सुरुमा काठमाडौं आइपुगेका बेला बालाजुका ढुंगेधारा र वरपरका प्राकृतिक छटा देखेर बालाजुलाई स्वर्गसँग तुलना गर्दै कविता लेखे। त्यसबेला जनमानसमा ‘काठमाडौं’ भन्दा ‘कान्तिपुर’ नाम बढी लोकप्रिय रहेको बुझ्न सकिन्छ। भानुभक्तले ‘कान्तिपुर’माथि सुन्दर कविता लेखे। भानुभक्तले आफ्नो कवित्व सामथ्र्यलाई भने काठमाडौंभन्दा टाढै बसेर प्रस्फुरण गरे। काठमाडौंले भानुभक्तलाई जस्तै पछिपछिका कैयौं कविहरूलाई पनि कविता लेख्न अभिप्रेरित गर्‍यो, गर्दै आएको छ।

अधिकांश कविहरूले काठमाडौंमाथि सिर्जनामार्फत यहाँको भौतिक सम्पदा, धर्म, संस्कृति र प्राकृतिक सुन्दरताबारे वर्णन गरेका छन् भने कतिपयले काठमाडौंको सामाजिक, राजनीतिक पक्षलाई केन्द्रमा राखेर कविता लेखेका छन्। लेख्नेहरू सबैका आआफ्नै कल्पना, चिन्तन र अनुभूतिहरू छन्, आआफ्नै शैली र संवेदनशीलता छन्। कवि भूपि शेरचनले काठमाडौंको सामाजिक परिवेशमाथि व्यंग्यात्मक कविताहरू लेखेका छन्। उनले काठमाडौंभित्रका केही खासखास ठाउँविशेषलाई विषयवस्तु बनाएर यहाँको समकालीन यथार्थ चित्र कोरेका छन् कवितामा।

भूपिद्वारा लिखित ‘साँझको नयाँ सडक जिन्दगीको यात्रा’ कवितामा तीसका दशकको नयाँ सडकको साँझ चित्रित भएको छ। साँझ परेपछि नयाँ सडक र त्यस वरिपरिको रंगीन वातावरणमा लागूपदार्थको नशामा लट्ठिएका हिप्पी सुन्दर–सुन्दरीहरूको उन्मक्त क्रियाकलापलाई नजिकैबाट देखिरहने नेपाली युवाको मनस्थितिलाई पनि कवि भूपिले उक्त कवितामा चित्रण गरेका छन्। त्यस बखतको नयाँ सडकलाई एक सुन्दरीको उपमा दिएका छन् भूपिले :

बाह्य सुकिली नयाँ सडक, छाँट्टिएर
पेटीहरू ओहोर–दोहोर गर्छिन् साँझमा...।

यसैगरी, कवि भूपिले काठमाडौं उपत्यकालाई ‘चिसो एस्टे«’ को प्रतीकका रूपमा चित्रण गरेका छन्। यस ‘चिसो एस्टे«’ कवितामा कविले काठमाडौंमा भित्रिने र बाहिरिने मानिसका मनस्थितिलाई यथार्थवादी ढंगमा चित्रण गरेका छन्। यहाँ आउने मानिस आकांक्षा, जिजीविषा र असन्तुष्टिको आगो लिएर आएका हुन्छन्। यहाँ आएपछि उनीहरूका इच्छा आकांक्षाहरूको पूर्ति हुँदैन। ती हातमा खरानी र आँखामा धुवाँ लिएर बस्छन्, अनि यहाँबाट बाहिरिनेहरू चिसा विश्वास र निभिसकेका सपनाका ठुटाहरू लिएर बाहिरिन्छन्। काठमाडौं एउटा चिसो ऐस्ट्रे जस्तो सहर हो, कविको प्रतीक सुन्दर छ :

यहाँ जो आउँछन्
मुटुभरि आगो र ओठभरि ज्वाला बोकेर आउँछन्
यहाँ जो बस्छन्
हत्केलाभरि खरानी र आँखाभरि धुवाँ बोकेर बस्छन्
र यहाँबाट जो जान्छन्...।

यस्तै भूपिद्वारा लिखित काठमाडौं केन्द्रित अर्को एक कविता छ, ‘रात काठमाडौं प्रात:’। यस कवितामा कविले रात परेपछिको काठमाडौंले सर्पले जस्तै मानवीय विकृति, विसंगतिहरूको विषादी उत्पादन गरेको महसुस गरेका छन्। यस्ता विषादीले काठमाडौंलाई चरम विषमय तुल्याउँदै गरेको फरक विम्ब कविले प्रस्तुत गरेका छन्। यस कवितामा ‘अन्धकारमा गरिने कुकर्महरूका कारण थिल्थिलो र बेहोस भएको काठमाडौं प्रात:कालमा आफ्ना झ्याल र ढोकाहरूबाट उसरी नै विसंगतिपूर्ण हाँसो हाँस्दछ’ भन्ने चोटिलो व्यंग्य प्रस्तुत छ :

अज्ञात दुलोबाट निस्केर
डस्छ गोमनले काठमाडौंलाई
र विष सर्दैसर्दै धरहराको टुप्पोनिर पुग्छ,
गल्लीहरूका नसाभित्र रगत
कालो हुँदै जान्छ...।

यस कवितामा कवि भूपिले काठमाडौंभित्र बढ्दै र फैलिँदै गइरहेको असामाजिकतालाई सर्पको विषसँग दाँजेका छन्। रातको अन्धकारमा फैलिने विषले सिंगो सहररूपी शरीरलाई विषादीमय बनाउन सक्ने चेतावनी पनि कविले दिएका छन्। काठमाडौंमा आउनेजाने सामान्य नेपालीप्रति यसले चिसो व्यवहार गरिरहेकै छ। काठमाडौंभित्रका अदृश्य असामाजिक मानव क्रियाकलापले सहरलाई विषमय बनाउन छोडेको छैन। सहरको स्वच्छ, मर्यादित मानव संस्कृति र व्यवहार दुर्गन्धित बन्दै गइरहेको यथार्थ यस कविताबाट बुझ्न सकिन्छ। भूपिद्वारा लिखित ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविताले समकालीन नेपालको सामाजिक विडम्बनालाई सघनरूपमा कवितात्मक दृश्यांकन गरेको छ। उदेकलाग्दो, उपेक्षित र निरीह जस्तै अवस्थामा गुज्रिरहेको देशको प्रतिविम्ब साँझ परेपछि खुम्चिँदै गएर काठमाडौंमा रूपान्तरित हुन्छ। काठमाडौं पनि फेरि डल्लिँदै, खुम्चिँदै नयाँ सडकमा रूपान्तरित हुन्छ। चोइटिँदै गएर अखबार, चिया र पानका पसलहरूमा विशृंखलित बन्न पुग्छ। क्रमश: अखबारका हल्लाहरू अनेक आवरणमा सडकभरि फैलिन्छन्।  प्रत्येक विसंगतिद्वारा घेरिएर बेचैन भएको म पात्र अन्ततोगत्वा: मदिराको सहाराले आफूलाई बिर्साउन चाहन्छ।

काठमाडौंको यस्तो निरस र अर्थहीन गतिमयतामा अल्झिइरहेको म पात्रका लागि सांसारिक परिवर्तनहरू उसरी नै अपरिचित छन्, जसरी घुम्ने मेचमाथि बसिरहेको अन्धो मान्छेलाई आफ्नै सामुन्येका परिवर्तन, रंगरमिता र अन्य दृश्यहरू अर्थहीन रहन्छन्। भूपि विम्ब एवं प्रतीकका अस्त्रबाट सामाजिक एवं राजनीतिक विडम्बना र विसंगतिका विरुद्धमा चोटिला प्रहार गर्न सिद्धहस्त देखिएका छन्। उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ शीर्षक कविताले काठमाडौंभित्रको काठमाडौंको एक निरुद्देश्य, थकित र किंकर्तव्यविमूढ मनोदशालाई चित्रण गरेको छ। २०१८ सालमा लिखित यस कवितामा तत्कालीन समयको गतिहीनता र मुलुकको दिग्भ्रमित अवस्था प्रतिविम्बित भएको छ। यसमा तत्कालीन शासकको वैचारिक निरीहता र विश्व परिवेशप्रतिको उदासीन मनस्थिति पनि चित्रण गरिएको छ :

...यसरी नै सधैं
चियाको किटलीबाट एउटा सूर्य उदाउँछ,
सधैं रक्सीको रित्तो गिलासमा एउटा सूर्य अस्ताउँछ
घुमिरहेकै छ म बसेको पृथ्वी...।

कवि भूपिले दृश्यले दिने अर्थहरूभन्दा दृश्यभित्र लुकेका अर्थहरूको मिहीनरूपमा अन्वेषण गरेका छन्। कवि ती भित्री अर्थहरूका सामाजिक, राजनीतिक र सांस्कृतिक मर्म खोतलेर निर्वस्त्र पारिदिन्छन्। उनले काठमाडौंभित्र गुम्सिएको सामाजिक विसंगति र राजनीतिक मनोदशा अनि त्यसको दुर्गन्धित हरकलाई विभिन्न कविताबाट उद्बोधन गरेका छन्। भूपिले कवितामा देशको सामाजिक मनोविज्ञानलाई उधिन्दै आमपाठकलाई नौलो सिर्जनात्मक स्वाद चखाएका छन्। ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ संग्रहका अन्य केही कवितामा पनि काठमाडौंप्रतिका तिखा व्यंग्यात्मक अभिव्यक्तिहरू पाइन्छन्।

भूपिले कवितामा एउटा युगको नेतृत्व गरेको कुरा समालोचकहरूले गरेका छन्। उनी आफ्नो समयका एक सशक्त प्रतिनिधि कवि मात्र थिएनन्, उनले आधुनिक नेपाली कविताको नेतृत्व नै गरे। भूपिले देखेको काठमाडौंभित्रको सामाजिक मनोदशालाई उनका कविताका केही अंशमार्फत चियाउने प्रयत्न मात्र यहाँ गरिएको हो। भूपिको कवि–चेतले अनुभूत गरेको काठमाडौंको सहरिया मानसिकता भित्र रहेको चिसोपन यथावत् छ। उनले कवितामार्फत सहरिया सामाजिकताभित्र लुकेको अँध्यारोको शल्यक्रिया गरेका छन् कविताहरूमा। १९९६ पुस १० गते मुस्ताङमा जन्मेका भूपिको देहान्त २०४६ जेठमा काठमाडौंमा भयो। स्रष्टाका सिर्जनाहरू समयका आँखीझ्याल हुन्। तिनको दिगो संरक्षण भएमा नै भावी पिँढीले प्रेरणा पाइरहन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.