राणाकालीन सालिकहरूको त्यो तामझाम

राणाकालीन सालिकहरूको त्यो तामझाम

हजारौं वर्ष अघिदेखि नै मानिसले सालिक निर्माणमा रुचि देखाउन थालेको हो। प्राचीन इजिप्ट, ग्रीस, रोम एवं भारत वर्षमा सालिकको निर्माण विभिन्न रूप र शैलीमा रहेको कुरा इतिहासका अनेक प्रसंगमा पढ्न र सुन्न पाइन्छ। टर्कीको उर्फाम्यानको पूर्णकदको मूर्ति जुन ९००० ईस्वीपूर्वको मानिएको छ, त्यसलाई प्राप्त सालिकमध्येको जेठो मानिन्छ। सालिकहरूको निर्माण काठ, ढुंगा, धातुपाता एवं ढलोटबाट बन्ने गरेको छ। सालिक विभिन्न रूप र शैलीका पाइन्छन्। चीनमा स्थापित १२८ फिट अग्लो ‘स्प्रिङ टेम्पल बुद्ध’ केही वर्षअघिसम्म संसारको सबैभन्दा अग्लो ‘एकताको सालिक’को रूपमा चर्चित रहेकोमा भर्खरैजसो भारतको गुजरातमा निर्माण भएको १८२ फिट अग्लो बल्लभभाइ पटेलको सालिक अब संसारको सबैभन्दा अग्लो सालिक बन्न पुगेको छ। 

सालिक यसै बन्दैन, त्यसको निर्माणमा व्यक्तिको योगदान, आदर्श र गुणले समाजलाई प्रभावित तुल्याएको हुनुपर्छ भन्ने विचार रहेको पाइन्छ। त्यसैको आधारमा त्यस्ता व्यक्तिको सालिक बनाएर उनीहरूलाई अझ जीवन्त र ज्वलन्त बनाएर राख्ने चाहनाले आआफ्नो परम्परा र संस्कृतिअनुसारको भेषभूषामा अलगअलग माध्यमबाट सालिक निर्माणमा अग्रसर भएका देखिन्छन्। कुनै बेला समयोचित, उपयोगी काम गरेको सम्झिएर सम्मानसाथ निर्माण भएका सालिकहरू समय गुज्रिँदै गएको पाइन्छ। त्यसपछि त्यही व्यक्तिको योगदानलाई अस्तित्वहीन, महत्त्वहीन मानेर उनैका सालिक तोडफोड गरेका र ढालेका उदाहरण पनि विश्वमा बराबर देखिने गरेको छ। 

सत्ता परिवर्तनले पनि सडक र चौबाटोमा रहेका सालिकलाई ढाल्ने र भत्काउने होडलाई बढाएको देखिन्छ। संयुक्त राज्य अमेरिकामा दासप्रथा हटाउने प्रयासविरुद्ध संघर्ष गरेका कन्फेडरेटहरूको सालिकको अब कुनै औचित्य र उपादेयता छैन भनेर डोजर लगाएर धमाधम भत्काएर कुनै सुरक्षित स्थानमा राख्ने गरी काम भइरहेको समाचार आएको धेरै भएको छैन। यसो त सालिक ढालेर या भत्काएर विध्वंश गर्नुको कुनै औचित्य छैन। त्यसले इतिहासको कुनै पाटोलाई उजागर गर्न काम लाग्छ भन्ने कुरालाई मानिसले बिर्सिरहेका छन् जस्तो लाग्छ। किनभने इतिहासलाई परिवर्तन गर्न सकिँदैन। फगत त्यसबाट पाठ सिक्ने हो। 

प्राचीन कालदेखि नै नेपालमा व्यक्तिगत सालिकलाई भन्दा देवदेवीका मूर्तिहरूलाई महत्त्व र प्रोत्साहन दिएको हुनाले प्राचीन कालमा व्यक्ति विशेषका मूर्तिहरू निकै कम मात्र होइन बन्दै बनेनन् भने हुन्छ। मूर्ति त देवदेवीको पो बनाउनुपर्छ भन्ने धारणाकै कारण मानदेव प्रथम (५२२–५६२ साल) ले आफ्नो ख्याति र प्रख्यातिबारे चाँगुनारायण मन्दिर प्रांगणमा राखेको नालीबेलीमा समेत आफ्नो सालिक कतै नराखी बरु विष्णुका वाहन गरुडको भव्य मूर्ति स्थापना गरे। त्यसलाई मानौं उनैको प्रतिरूप हो कि भन्ने भान पर्ने गरी बनाउनु उपयुक्त सम्झे। चाँगुनारायण मन्दिरको पश्चिमपट्टि नमस्कार मुद्रामा रहेको मानवाकार रूपको गरुडको मूर्तिले त्यसैलाई इंगीत गर्छ। पशुपति भष्मेश्वरघाट पारिको विष्णुमन्दिरको पूर्णकदको विष्णु मूर्तिले लिच्छविकालका हर्ताकर्ता विष्णुगुप्त (६८१–६९० साल) को रूप र स्वरूपलाई सम्झाउन खोजेको त होइन ? गोपालराज वंशावलीले त्यतैतिर संकेत गर्दछ। 

२०४९ वैशाखको अन्तिम सातातिर मालीगाउँमा घरको जग खन्दा फेला परेको संवत् १०७ (७४० साल) को जय बर्माको मूर्ति नेपालको सन्दर्भमा व्यक्तिविशेषको पहिलो ज्ञात सालिक हो। यो सालिकलाई पहिलो/दोस्रो शताब्दीको भनी घचेट्न खोजे पनि सालिकको विशेषता एवं लिपिको शैली तथा नेपालको इतिहासमा बर्माहरूको चहलपहललाई दृष्टिगत गरी विक्रमको आठौं शताब्दीको ठहर्‍याएको छु (गोविन्द टण्डन, इतिहासका थप पृष्ठहरू, पृ. २०३–२१०¬)। 

शिलापत्र राख्ने सन्दर्भमा दाताले आफ्नो स–साना आकृति त्यसैमा उत्कीर्ण गराएको पाइनुबाहेक अर्धकद या पूर्णकदका सालिकहरू सत्रौं र अठारौं शताब्दीमा मात्र केही पाइएका छन्। मल्लकालिक राजाहरू प्रताप मल्ल (१६९८–१७३१ साल), भूपतीन्द्र मल्ल (१७५३–१७७९ साल), योगनरेन्द्र मल्ल (१७४१–१७६२ साल) का सालिकहरूले त्यही देखाउँछ। शाहकालमा पृथ्वीनारायण शाहले कीर्तिपुर विजयपछि त्यहाँ आफ्नो सालिक राखेको उल्लेख पाइन्छ। त्यो सालिकको वार्षिकोत्सवका लागि केही जग्गा गुठी राखिदिएका पनि थिए। तर, त्यो हिजोआज त्यहाँ देखिन्न। नुवाकोट दरबारमा दायाँ र बायाँ दुवैतिर आफ्नी रानीहरूसहितको पृथ्वीनारायण शाहको अञ्जली मुद्रामा आसीन सालिकलाई कसैले कीर्तिपुरकै त होइन भनेर शंका गर्छन् तापनि त्यसको कुनै प्रमाण छैन। 

नेपाल एकीकरण अभियानको क्रममा कीर्तिपुर विजय भएपछि १८२३ कात्तिक ४ शुक्रबारका दिन उनले आफ्नो सालिक त्यहाँ स्थापना गर्न लगाएका थिए। त्यस उपलक्ष्यमा उनले त्यहाँका देवीदेवताको पूजाआजा र नाचकीर्तन गराई साँझमा दीपमालिका गराएका थिए। त्यसै सालदेखि त्यहाँ प्रतिवर्ष पूजा हवन, दीपमालिका र जात्रा चलाउनाका निमित्त भनी २५ रोपनी जग्गा गुठी राखिदिएका थिए (बाबुराम आचार्य, श्री ५ पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, पृष्ठ ३०८,३२४)। 

सालिकभन्दा पनि लघु मूर्ति भन्न सुहाउने शाहवंशीय राजा र उनका केही परिवारको मूर्तिहरूलाई भोटु पाँडेले १८६३ वैशाख शुक्ल ६ रोज ५ मा पशुपतिनाथ मन्दिर प्रांगणमा स्थापना गरेर राखिदिएका थिए (गोविन्द टण्डन, पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन, दोस्रो भाग, पृ. ९१०)। यी सबै कुरालाई छाडी अब राणाशासन कालमा सालिक ठड्याउँदाको तामझामबारे चर्चा गर्दैछु। हिजोआज सालिक स्थापनामा त्यस्तो विधि कुनै विधिविधान या तामझाम गरेको देखिँदैन। तर, राणाकालमा परिस्थिति बेग्लै थियो। 

ढलोट निर्मित सालिकहरू बेलायतबाट बनेर आएका राणा प्रधानमन्त्रीहरूको सालिककै अनुकरण गरी नेपालमा त्रिभुवन–चन्द्र मिलेटरी अस्पताल १९८३ भाद्र २४ मा उद्घाटन हुँदा त्यस अस्पतालको माथिल्लो तलाको अग्रभागमा रहेको सैनिकको प्रतिनिधित्व गर्ने मूर्तिको निर्माणबाट सुरु भएको हो।  

देवीदेवताको मूर्ति निर्माणमा नेपालको ख्याति पहिलेदेखि नै भए पनि व्यक्ति विशेषको सालिक निर्माणमा शिल्पकारिता थिएन। जंगबहादुरको बेलायत तथा केही युरोपियन देशको भ्रमणपश्चात् उताको राजा महाराजा एवं व्यक्ति विशेषका जीवन्त देखिने सालिकहरूबाट स्वयं उनी र भ्रमण दलका सदस्य निकै प्रभावित भएका थिए। जंगबहादुरले जीवनकालमै आफ्नो सालिक स्थापना गर्न चाहेनन् भनी उनकै छोरा पद्मजंग राणाले ‘द लाइफ अफ महाराजा सर जंगबहादुर राणा’ मा उल्लेख गरे। तर पनि १९३१ चैत्रशुदी १३ तिर सुनको मोलम्बायुक्त पाताले बनेको जंगबहादुरको सालिक बनिसकेको थियो। जुन थापाथलीको जंगहिरण्य हेमनारायण मन्दिर प्रांगणमा देख्न पाइन्छ। भनिन्छ, पहिले त्यो सालिक टुँडिखेलको बीचमा एउटा मण्डपमाथि स्थापित थियो। विशाल टुँडिखेलको बीचमा त्यो दुब्लोपातलो रूप र स्वरूपको सालिक सुहाउने कुरै भएन। त्यही देखेर त्यहाँबाट हटाई जंगहिरण्य हेमनारायण प्रांगणमा स्थानान्तरण गरियो। जुन अद्यापि त्यहीँ छ। सुनको मोलम्बायुक्त यो सालिक यहीँका कालिगढले बनाएका हुन्। पूर्णकदको सालिक भए पनि जंगबहादुर राणाको व्यक्तित्व एवं पौरख र पुरुषार्थको प्रतिनिधित्व त्यो सालिकले गरेको देखिँदैन। 

जंगबहादुर राणाको मृत्युको झन्डै १० वर्षपछि रणोद्दीप सिंहको प्रधानमन्त्रीत्वकालमा बेलायतमा बनाउन पठाएको जंगबहादुर राणा र रणोद्दीप सिंहको सालिक निर्माण भएर आयो। जंगबहादुर राणा दोस्रोपटक बेलायत जान बम्बई (हिजोआज मुम्बई) पुगेका बखत जंगी पोसाक र श्रीपेच लगाएर घोडामा चढेर फोटोहरू खिचाएका थिए। तिनै चित्रहरू बेलायतमा पठाएर आफ्नो पूर्णकदको ढलोटको सालिक बनाउन लगाएका थिए भनिन्छ। बेलायतका प्रख्यात मूर्तिकार र त्यहाँका रोयल एकेडेमीका सदस्य आर. ब्रुकले त्यो सालिक ढलान गरी तयार गरे। तर, आफ्नो जीवनकालमा त्यो सालिक जंगबहादुर राणाले देख्न पाएनन्। तस्बिर : अशोक दुलाल

रणोद्दीप सिंह श्री ३ महाराज भएपछि उनले पनि आफ्नो सालिक बेलायतमा बनाउन पठाए। यी दुवै सालिक तयार भई सन् १८८३ (१९४० साल) मा काठमाडौं ल्याइए। यी दुवै सालिक काठमाडौंसम्म ल्याइपुर्‍याउन ७० हजार रुपैयाँँ लागेको थियो (ले.क.जी.एच.डी. जिमलेट, नेपाल यान्ड द नेप्लिज, पृ. १२३)। ती सालिकको अनावरणको विषयमा अलगअलग धारणा पाइन्छ। कुमारीचोकमा रहेको अभिलेखले जंगबहादुरको सालिक १९४१ चैत्रशुदी नवमी बुधबारको दिन र रणोद्दीप सिंहको सालिक त्यसैको भोलिपल्ट स्थापना गरिएको उल्लेख गरेको छ। यस विषयमा पुरुषोत्तमशमशेर जबराले श्री ३ हरूको तथ्य वृत्तान्त, पृ. १०९–११० मा केही फरक ढंगले लेखेका छन्। 

त्यहाँ उनले ‘१९४२ आषाढमा स्व.श्री ३ महाराज जंगबहादुरको सालिक ‘प्रतिमा’ हाल सहिद गेटबाट धरहरा–सुन्धारा र दशरथ रंगशालाबाट महांकाल स्थानतर्फ जाने चौबाटोको बीचमा राखी सोको उद्घाटन श्री ३ रणोद्दीप सिंहले गरे। यस समारोहमा श्री ५ महाराजाधिराज पृथ्वीवीरविक्रम शाहदेव, श्री ५ मुमा युवराज्ञी ललित राज्येश्वरी देवी, श्री ३ महाराज रणोद्दीपका महारानीका साथै स्व.श्री ३ महाराज जंगका रानी, महारानीहरूसमेत सो उद्घाटन समारोह हेर्न सवारी भएको थियो। स्व. श्री ३ जंगको (प्रतिमा) सालिकको उद्घाटन कार्य सकेपछि रणोद्दीप सिंहकै सालिक (प्रतिमा) पनि हाल रत्नपार्कबाट बागबजार र घण्टाघरबाट भद्रकालीतर्फ जाने चौबाटोको बीचमा राखी आफैंले उद्घाटन गरे। 

श्री ३ जंगको प्रतिमा (सालिक) १९०७ भाद्र १० गतेका दिन फ्रान्सको सर्टरीको मैदानमा फ्रान्सको तत्कालीन प्रेसिडेन्ट प्रिन्स लुई नेपोलियन तृतीयले देखाएको सेनाको एक लाख जवानको सैनिक परेड ‘मार्च पास्ट’ हेर्न जाँदाको स्मरण गरी बनाउन लगाएको हो। त्यस्तै श्री ३ रणोद्दीप सिंहको सालिक (प्रतिमा) १९१४ सालमा भारतमा घटेको गदरको सम्मरण गरी बनाउन लगाइएको हो। त्यस प्रतिमामा फुटेका तोप, भाँचिएको तोपको पांग्रा, गोला इत्यादि देखाइएको छ। दुवै सालिकको अनावरण स्वयं रणोद्दीप सिंहले गरेको भनेर उनले लेखे पनि तात्कालिक श्री ५ पृथ्वीवीरविक्रम शाहको उपस्थिति भएकाले सालिकको उद्घाटन श्री ५ बाटै भएको अनुमान गर्न गाह्रो पर्दैन। 

त्यस दिन टुँडिखेलमा एउटा भव्य समारोहको आयोजना गरिएको थियो। त्यो समारोहमा सारा कर्मचारी, भलादमी, साहुमहाजन, सन्त र महन्तहरूलाई हाजिर हुने उर्दी जारी गरिएको थियो। त्यहाँ पालहरू टाँगियो। कार्यक्रमलगत्तै पछि जुवा फुकाउनेसम्मको तयारी थियो। निश्चित समयमा ६ घोडे बग्गीमा राजा र महारानी सबै टुँडिखेलमा पुगे। महाराज मुख्तियार तथा ब्रिटिस रेजिडेन्ट केहीअघि नै उर्दीको पोसाकमा त्यहाँ उपस्थित भइसकेका थिए। सबै जनाले आसनग्रहण गरिसकेपछि १२ हजार फौजले मार्चपास परेड प्रदर्शन गर्‍यो। यो परेड सकिएपछि राजाको सन्देश पढेर सुनाइयो। अनि राजाबाट जंगबहादुरको पूर्णकदको घोडा चढेको सालिक टुँडिखेलको दक्षिण–पश्चिम छेउमा (हाल गोश्वारा हुलाकको दक्षिणपट्टि) अनावरण गराइयो। 

यसको केही पछि महाराज रणोद्दीपको यस्तै मूर्ति टुँडिखेलको पूर्वपट्टि (हाल विद्युत् प्राधिकरणको कार्यालय नजिकै) उद्घाटन गरियो। उपस्थित जनसमूहले जयजयकारको नारा लगाई सालिकमा लावा अबिर र फूल चढाएर भक्ति देखाए। त्यति भइसकेपछि जनताको मनोरञ्जनका लागि तीन दिनसम्म टुँडिखेल क्षेत्रमा जुवा फुक्यो (प्रमोदशमशेर, राणाशासनको वृत्तान्त, पृ. १२३)। 

जंगबहादुरका कान्छा भाइ कमान्डर इन् चिफ जनरल धीरशमशेर श्री ३ महाराज हुन नपाई १९४१ कात्तिक ११ गते राति बिते। उनको सालिक १९५० फाल्गुण शुक्ल तृतीया शनिबार (१९५० फागुन १८ शनिबार) का दिन त्यत्तिकै तामझामसाथ अनावरण गरिएको थियो। कुमारी गोश्वरा तहबिल, पोका नं १८७, गो.नं.१२३३ मा रहेको कागजमा त्यससम्बन्धी केही विवरण पाइन्छ। अनावरणको दिनलाई ‘अघि नेपालमा कैल्हे नभञाको येस्तो भारी उत्सवको काममा आज हामी सबै येसै ठाउँमा जमा हुनु यो ठुलो षुसिको दीन हो’ भनिएकाले १९४१ सालमा जंगबहादुर र रणोद्दीप सिंहको सालिकको अनावरण यसको तुलनामा त्यति भव्यसँग गरिएन कि भन्न सकिने अनुमान चाहिँ गर्न सकिन्छ। 

धीरशमशेरको मृत्यु सालिक अनावरणको नौ वर्षअघि १९४१ कात्तिकमा भइसकेको भएता पनि बहालवाला प्रधानमन्त्रीको बुवाका साथै शासनसत्तामा उनकै १७ भाइ छोराको हालिमुहाली भएकाले हुनुपर्छ बहुतै तामझामसाथ सम्पन्न भएको देखिन्छ। सालिक अनावरणको औपचारिक कार्यक्रममा तात्कालिक श्री ५ महाराजाधिराज पृथ्वीवीरविक्रम शाहको साथै ब्रिटिस रेजिडेन्टको समेत उपस्थिति थियो। उसबेला सडक यातायातको आजको जस्तो सुविधा थिएन। गोरेटो, घोडेटो र गल्लीगल्छौडाकै भर थियो। 

भीमफेदीदेखि काठमाडौंसम्मको करिब ८० किलोमिटरबाटो पनि यस्तै कठिन पहाडी बाटो थियो। साँघुरो बाटो, त्यसमा पनि ठाडो उकालोओरालोले गर्दा कठिन मात्रै होइन, अति कष्टसाध्य पनि थियो। त्यसो भए पनि सालिक स्थापना गरेर उनीहरू आफ्नो इतिहास रच्न र बचाउन चाहन्थे। त्यसैले बाधा अड्चन, कठिन र अप्ठेरोलाई कुनै पर्वाह गरेनन्। आदेश र हुकुमको भरमा भनेको कुरा तामेली हुने र बोलेको सबै पुग्ने हैसियतमा रहेकाले ती सबै कुरालाई वास्ता गर्नुपर्ने अवस्था सत्तामा बस्नेहरूको छँदा पनि थिएन। 

यामानको अरबी घोडा त्यसमाथि पूर्णकदको व्यक्तिको सालिक भएकाले निकै गह्रौं हुन्थ्यो भन्ने सहजै अनुमान हुन्छ। ढलोटका त्यत्रा त्यत्रा गह्रौं सालिक कसरी भिœयाइए होला ? यो कौतुहलको विषय हुन सक्छ। त्यसबेला भीमफेदीसम्म लरीमा र त्यहाँदेखि थानकोटसम्म बोकी ल्याउन जंगी–१, जंगनाथ–१ र दोस्रा जंगी–१ गरी तीन पल्टनका १४ सय जवान खटाउन आदेश भएकोमा पछि पश्चिमतर्फका कम्यान्डिङ जनरलले ९ सय जना भए पुग्ने भनेकाले अरूलाई फिर्ता पठाइएको उल्लेख पाइन्छ। उनीहरूले बल्लबल्ल जसोतसो गरी हिफाजतसँग थानकोटसम्म सालिक ल्याइपुर्‍याए। त्यहाँबाट पुनः लरीमा काठमाडौं ल्याउने काम सम्पन्न भयो। त्यत्रो मेहनत र परिश्रमपूर्वक गरेको कामको के इनाम पाए होलान् ? जिज्ञासा हुनु स्वाभाविकै हो। त्यस कार्यमा खटिने जवानलाई प्रतिव्यक्ति दुई रुपैयाँँको दरले इनाम दिइएको थियो। 

सालिक राख्ने कामका लागि शनिबार १० घडी दिन बाँकी छँदै साइत भएकाले अघिल्लो दिन शुक्रबार १०–१२ घडी रातसम्म पल्टनले काम गरी मञ्च सजावटलगायत सालिक राख्ने ठाउँको तयारी गरेको थियो। कार्यक्रमस्थलको नक्सै बनाई को–को कहाँ–कहाँ बस्ने ? भन्ने पूर्वतयारी गरिएको थियो। सालिक निर्माणमा प्रजाहरूको तीव्र इच्छा भएको देखाउन र सरकारको तर्फबाट यसमा कुनै खर्च नगरी चन्दाबाट नै सम्पन्न गर्ने भएकाले इच्छुक व्यक्तिलाई चन्दा दिन सार्वजनिक आह्वान पनि गरिएको थियो। 

अनावरणको कार्यक्रममा श्री ५, श्री ३ र अरू कम्यान्डिङ जनरल, रोलवाला जनरलहरू सालिकको अघिल्तिर बनाइएको मञ्चमा बस्ने व्यवस्था गरिएको, त्यसपछिको अघिल्लो कुर्सीमा ५ सय रुपैयाँँसम्म चन्दा दिने चन्दादाताहरू, त्यसको दायाँतर्फको कुर्सीमा ५ सय रुपैयाँँभन्दा मुनि २५० रुपैयाँसम्म चन्दा दिने दाताहरू, बायाँ कुर्सीमा २५० देखि मुनि १५० सम्म चन्दा दिनेहरूलाई राख्ने व्यवस्था गरेको थियो। त्यसपछि १५० देखि मुनि १५ रुपैयाँँसम्म चन्दा दिनेहरूलाई चाहिँ उभिएर बस्ने बन्दोबस्त गरिएको थियो। 

अव्यवस्था नहोस् भन्नाका लागि सिट नम्बर उल्लेख भएको कुपन बनाएर बाँडियो। कार्यक्रममा श्री ५ भन्दा पहिले श्री ३ को सवारी चलाइएको थियो। त्यसबेला उनलाई १९ तोपको बढाइँ दिइएको थियो भने श्री ५ का लागि ३१ तोपको बढाइँ भयो। पूर्वकम्यान्डर इन् चिफ तथा बहालवाला प्रधानमन्त्रीको बुवाको सालिकको अनावरण भएकाले होला, त्यसपछि लगत्तै १७ तोपको बढाइँ दिइएको थियो। अनावरण कार्यक्रमकै लागि भनी ७८० जवान रेजिमेन्टहरूका साथै आवश्यक अरू कर्मचारी पनि खटिएका थिए। 

सालिक अनावरणको कार्यक्रममा बहालवाला प्रधानमन्त्री श्री ३ वीरशमशेर जबराको भाषण राखिएको थियो। त्यसबेला उनले धीरशमशेरको सालिक राख्न र उनको योगदानको खुलेर चर्चा गरे। त्यसक्रममा उनले इतिहास कोट्याउँदै चौतरिया शेरबहादुर शाहले श्री ५ रणबहादुर शाहमाथि दंगा गर्न खोज्दा काजी बालनरसिंहले तरबार चलाई ठाउँको ठाउँमै उनलाई सिध्याई राजाको ज्यान बचाएको कुराको चर्चा गर्दै उनैको छोरा धीरशमशेरले कोतमा जेठी तरबार चलाई सलतनत थामेको चर्चा छ। १९११ सालमा भोटसँगको लडाइँ फत्ते गरी आएपछि भोटेहरूले रातको बीचमा छापा हानी दंगा गर्दाश्री ३ जंगले उनैलाई पत्याई पल्टन दिई पठाएको उल्लेख छ। यस्तै, त्यहाँ लुटिएका खरखजाना, हातहतियार मात्र होइन, शत्रु पक्षका केहीलाई गिरफ्तार गरी ल्याएको कुराको उल्लेख छ। 

३९ वर्षअघिको इतिहास उजिल्याउने क्रममा पुराना देखिजान्नेमा क.क.सनकसिंह टण्डन तथा कर्णेल बहादुरगम्भीरसिंह माझी तथा भोटरमधेस गर्ने बुढापाका अझै छन्। त्यो योगदानमा शंका नहोस् भनी विश्वस्त पार्न वीरशमशेरले त्यसबेला खोजेका छन्। धार्केलिङ भन्ने ठाउँमा लडाइँ हुँदा १६ हजार भोटेको फौजलाई हराई लडाइँ जितेको कुरा पनि उनले त्यसबेला गरे। धार्केलिङ टिगरी मैदानमा पर्ने र त्यहाँ अझैसम्म शिलापत्रमा फलानाले सिमाना गरेको यहाँसम्म हो भनी लेखिएको छ भनी उनले भाषणमा उल्लेख गरेका छन्। योगदानको चर्चा गर्ने क्रममा धीरशमशेरले १९१४ सालको लखनौको लडाइँमा चार ब्रिगेड पल्टन लिई गएको तथा त्यहाँ वीरतापूर्वक लडी पुरुषार्थ देखाएको र विपक्षीको फौजलाई पक्रेर अंग्रेज सरकारलाई बुझाएको कुरा पनि उनले उल्लेख गरेका छन्। त्यहाँबाट ल्याइएको तोप र झन्डा अझै रहेको चर्चासमेत गरिएको छ। 

रणोद्दीप सिंहको हत्या गरी वीरशमशेरले शासनसत्ता हत्याएको सबैलाई थाहा भए पनि उनले त्यहाँ जंगबहादुरलाई जस्तैगरी रणोद्दीप सिंहलाई पनि मानेको र नुनको सोझो गरेको उल्लेख गरिएको छ। १९४१ सालमा ल्हासामा नेपाली महाजनको धनमाल लुटेकोमा त्यसउपर गराई दिने बन्दोबस्त मिलाइदिएकाले रणोद्दीप सिंह खुसी भएको तथा त्यसअघि १९३८ सालमा रणोद्दीप सिंह नेपालमा नभएको बखत बागी उठ्दा ती सबैलाई पक्रेर सजाय दिई ‘ढुंगाको षलल हुन नदिई. ..’ देशलाई जोगाउने महान् व्यक्तिको रूपमा धीरशमशेरको चर्चा गर्दै ‘त्यस्ता बहादुरको इष्ट्याचु षुलन्या दीन हुनाले एसबेला हामी सबैलाई षुसि छ’ भनी सालिक राख्नाको औचित्य सिद्ध गर्नुका साथै उनको बखान गरिएको छ। 

धीरशमशेरप्रति क–कसको प्रीति कति छ ? अर्थात् वीरशमशेरको शासनप्रति क–कसको लगाव के कस्तो छ ? त्यो जान्न पनि होला गुरु/पुरोहित, भाइ/भारदार, जंगी/निजामती गैह्रलाई जसको जति इच्छा छ राख्नु भनी उर्दी जारी भएकोमा कम्पनी रुपैयाँँ १४,९८९, मोहरू २५,८९० त्यसैगरी जैपुरी असर्फी थान एक, १६ गण्डी पैसा ५७४ गरी जम्मा ४१,४५५ जति उठेको थियो। सालिक बनेर तयार भएपछि ज–जसले दिएको हो त्यो फिर्ता गरिने कुरा श्री ३ कै भाषणमा उल्लेख गरिएको छ। तर, १०० (एक सय) सम्म चन्दा दिनेको हकमा दुई रुपैयाँँ नजरानाबापत काटिएको पनि त्यहाँ चर्चा पाइन्छ। 

मल्लकालमा सालिक अनावरण के कसरी हुन्थ्यो ? थाहा पाइन्न। लिच्छविकालमा कसरी गरिन्थ्यो ? त्यो थाहा पाउने सामग्रीको अभाव छ। २०३३ सालसम्म राणाकालमा स्थापना गरिएका यी जीवन्त र अजंगझैं देखिने सालिकहरू नेपाली कालिगढले बनाएका हुन् कि विदेशमा बनेका हुन्भन्नेसम्म पनि अनुमान गर्न हिच्किचाउने अवस्था थियो।

राणाकालमा केही अपवादबाहेक कुनै खुसीयाली भयो कि ‘जुवा फुकाउने’ चलन थियो। धीरशमशेरको सालिक अनावरणको दिन पनि जुवा फुकाउन तयार थिए। तर, त्यस विवरणमा उल्लेख छ, ‘इष्ट्याच्यू षोल्दाअघि जुवा फुकाउन्या दस्तुर चल्याको भया पनि थोरैले जितन्या धेरैले हान्र्या हुँदा फलानाको इष्ट्याच्यू षुल्याको दीन हार्‍या भनी दोस दी धेरैजना नाषुस भै बारंबार यस दिन सम्झने हुनाले यो उत्सवमा जुवा फुकन सक्तैन’ भनी निषेध गरिएको थियो। 

यसपछि सालिक अनावरण एक प्रकारले फेसनजस्तै भयो। १९६३ चैत्रशुक्ल पूर्णिमा मंगलबारका दिन श्री ३ वीरशमशेरको सालिक अनावरण भयो। त्यसबेला उनी बितेको पाँच वर्ष भइसकेको थियो। पुरुषोत्तम शमशेरले श्री ३ हरूको तथ्य वृत्तान्त पृष्ठ ७७ मा वीरशमशेरको सालिक अनावरण १९६४ चैत्र शुदी १५ रोज १ भनी उल्लेख गरेका छन्। तर, कुमारीचोकमा भएको विवरणसँग त्यो साल मिति मिल्दैन। 

१९६५ मार्ग २६ गते रोज ५ का दिन श्री ३ चन्द्रशमशेर जंगबहादुर राणा र उनकी स्वर्गीय पत्नी श्री ३ बडामहारानीको सालिक जावलाखेलमा अनावरण भयो। त्यो समारोह पनि त्यत्तिकै तामझामयुक्त थियो। बहालवाला प्रधानमन्त्रीको सालिकको अनावरण तामझाम नहुने कुरै भएन ! निजामती सेवाका नौसिन्दा लेखनदाससम्मका दर्जाले जंगी पोसाक, सिभिल पोसाक हुनेले सोही पोसाक कल्की पगरी लगाई पाटनमा सामेल हुने उर्दी थियो। सामेल भएकाहरूलाई दुई दिन बिदा दिइएको थियो। साथै पाटनमा दुई दिनसम्म खुसीयालीबापत जुवा फुकाइएको विवरण पाइन्छ। 

१९८६ फागुन १९ गते भोटाहिटी जाने चौबाटोमा श्री ५ पृथ्वीवीरविक्रम शाहको सालिकको उद्घाटन तात्कालिक श्री ५ महाराजाधिराज त्रिभुवनवीरविक्रम शाहदेवबाट भएको थियो। एक सय चारवर्षे राणाकालमा श्री ३ बाहेक श्री ५ को सालिक स्थापना गरेको यो पहिलो घटना हो। त्यसकै केही वर्षपछि श्री ५ त्रिभुवनवीरविक्रम शाहको संगमर्मरबाट निर्मित सालिक त्रिपुरेश्वरचोकमा सम्भवतः १९९७ सालपछि स्थापना गरियो। यो स्थापना गरिनुको पनि अलग्गै कारण छ। १९९७ सालमा तात्कालिक श्री ५ महाराजाधिराज त्रिभुवनवीरविक्रम शाहदेवको इच्छाविपरीत प्रजातान्त्रिक आन्दोलनलाई निर्ममतापूर्वक दबाइएको एवं धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठजस्ता युवालाई मृत्युदण्डको सजाय दिइएकाले तात्कालिक श्री ३ जुद्धशमशेर राणाप्रति राजाको सम्बन्ध बिगँ्रदै गएको सन्दर्भमा उनलाई खुसी तुल्याइराख्ने भित्री स्वार्थले अनेक फूलझडी भरेर त्रिपुरेश्वरचोक (कुनै बखत राजधानीको प्रमुख चोक)मा पूर्णकदको शाही सानसौकतको श्री ५ त्रिभुवनको सालिक स्थापना गरियो। संगमर्मरको त्यो मूर्ति कहाँ निर्माण गरिएको थियो थाहा हुँदैन। 

गद्दीनसीन श्री ५ त्रिभुवनलाई आफ्नो हातको कठपुतली कसरी बनाएर राखेका थिए भन्ने कुरा इतिहासमा चर्चित छ। त्यसबेला राम्रो भनी सम्झिएका सबै कार्य आफूले गरेको भनेर ढ्वाङ फुकाउने श्री ३ जुद्धशमशेर राणाले श्री ५ त्रिभुवनसँग सम्बन्ध नचिसियोस् भनेर मक्ख पार्नकै लागि सो सालिकको अग्रभागको पादपीठमा लेखाएका छन्, ‘भरमुलुकमा दासत्वको प्रथा खारेज भएको, १९७१ सालको युरोपको महायुद्धमा मित्र ब्रिटिस सरकारलाई मद्दत गर्न हाम्रो फौज हिन्दूस्थान गएको र मौसुफ सरकारको विजय प्राप्त भएपछि नेपाल फर्केको, यो फौजी मद्दतको कदरका निमित्त ब्रिटिस सरकारबाट जमिनको सट्टा वार्षिक १० लाखको उपहार आएको, सन् १९२३ मा ब्रिटिससँग मित्रताको अहद भएको, फौजी हातहतियार र गोलीगठ्ठा बनाउने कारखाना बनेको, बेलायतमा हाम्रो लिगेसन र नेपालमा ब्रिटिस लिगेसन स्थापित गराई मुलुकको पूर्ण स्वतन्त्रताको परिचय र प्रचार भएको, देशदेशावरका राजा, सम्राट् राष्ट्रपति र नेपाल सरकारको बीचमा तक्माको उपहारसहित परस्पर राजदूतहरू आउने गराउने काम भई मित्रताको सम्बन्ध भएको सैनिक संस्था र सैनिक द्रव्यकोष रहेको, १९९० सालको महाभूकम्पमा लिएको ऋण ३२ लाख माफी भै प्रजा वर्गका उद्धार भएको, मुलुकमा शिक्षा शिल्पकला कारखानाको प्रचार गरी मुलुकको उन्नति बढाउने काम भएको, जंगी निजामती कर्मचारीहरूको निमित्त पेन्सनको बन्दोबस्त भएको, १९९६ सालमा सुरु भएको विश्वव्यापी लडाइँमा मित्र बृटिस सरकारको मद्दतका निमित्त हाम्रो फौज फेरि हिन्दूस्थान पठाउने काम भएको’ कुराको उल्लेख गरिएको छ। यसको अनावरण कार्यक्रम कसरी गरिएको थियो थाहा पाइएको छैन। 

राजदरबार सेवाका पूर्वसचिव दयारामभक्त माथेमाले आफ्नो जीवनयात्रासम्बन्धी पुस्तक अनुभव र अनुभूति (पृ. १८–१९) मा त्रिपुरेश्वरचोकको त्रिभुवनको सालिकको बारेमा चर्चा गरेका छन्। जसमा ‘१९९३ फागुन २५ गते श्री ५ त्रिभुवनको रजत महोत्सवमा अनावरण गरिएको उल्लेख गरिएको भए पनि सालिकको पादपीठमा १९९६ सालसम्मको विवरण दिइएको हुनाले त्यो कुरा सत्य होइन’भन्ने छ। 

मल्लकालमा सालिक अनावरण के कसरी हुन्थ्यो ? थाहा पाइन्न। लिच्छविकालमा कसरी गरिन्थ्यो ? त्यो थाहा पाउने सामग्रीको अभाव छ। २०३३ सालसम्म राणाकालमा स्थापना गरिएका यी जीवन्त र अजंगझैं देखिने सालिकहरू नेपाली कालिगढले बनाएका हुन् कि विदेशमा बनेका हुन् भन्नेसम्म पनि अनुमान गर्न हिच्किचाउने अवस्था थियो (शाहकालीन कला र वास्तुकला, पृष्ठ ३१५)। ढलोट निर्मित सालिकहरू बेलायतबाट बनेर आएका राणा प्रधानमन्त्रीहरूको सालिककै अनुकरण गरी नेपालमा त्रिभुवन–चन्द्र मिलेटरी अस्पताल १९८३ भाद्र २४ मा उद्घाटन हुँदा त्यस अस्पतालको माथिल्लो तलाको अग्रभागमा रहेको सैनिकको प्रतिनिधित्व गर्ने मूर्तिको निर्माणबाट सुरु भएको हो (गोविन्द टण्डन, इतिहासका थप पृष्ठहरू,पृ. ४७३)। 

मानवाकृतिको पहिलो ढलोटको त्यो सालिक बनाउने नेपाली कालिगड रत्नबहादुर तुलाधर हुन्। उनको छोरा बालकृष्ण हुँदै अहिले तेस्रो पुस्ता श्याम तुलाधरसम्म त्यो सीपको परख हुँदै आएको छ। दोस्रो विश्वयुद्धमा सहभागी भएका सैनिकको सम्झनामा राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर राणाले त्रिभुवन–चन्द्र मिलेटरी अस्पतालमा त्यो सालिक बनाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.