विवेकशीलको अबको बाटो

विवेकशीलको अबको बाटो

हामी नेपाली राजनीतिमा नयाँ धार स्थापना गर्न चाहन्थ्यौं– डेलिभरीको राजनीति अर्थात् परिणाम दिने राजनीति।

अहिले जसरी सामाजिक सञ्जालले संसारमा ठूलो प्रभाव पारेको छ, त्यसरी नै अबको केही वर्षमा संसार रोबोर्ट र कृत्रिम बुद्धिमता (आर्टिफिसियल इन्टेलिजेन्स)ले बदल्नेछ। त्यसपछि संसारमा टिक्ने भनेको इनोभेसन, सिर्जनशीलता, टिम वर्कजस्ता गुण भएका मानिस नै हुन्। त्यसपछि टिक्ने भनेको विवेक भएका नागरिक नै हुन्।

तर, पपुलिज्म र सामाजिक सञ्जालको अल्गोरिदमले मानिसको विवेकलाई बन्धक बनाइरहेको छ। सामाजिक सञ्जालमा कुनै गीत सुन्यौं भने त्यस्तै गीत वा त्यही गायकको गीत फेसबुक, टिकटक वा युट्युबले सिफारिस गर्छ। फलस्वरूप, प्रयोगकर्तालाई बहकाइरहेको हुन्छ। बेरोजगारी, गुणस्तरहीन शिक्षा, महँगो स्वास्थ्य सेवाले रिसाएका नागरिकलाई उद्वेलित गर्न अब धेरै गाह्रो छैन।

वल्र्ड पपुलेसन रिभ्युको रिपोर्टअनुसार औसत इन्टेलिजेन्स क्युओटिएन्ट (आईक्यू) मा नेपाल ४२.९९ अंकका साथ संसारकै सबैभन्दा अन्तिम स्थानमा (१९९औं नम्बरमा) छ। अर्थात् हामी बुद्धिमानीमा सबैभन्दा पुछारमा छौं। संसार सिर्जनशीलतामा अघि बढ्दैछ तर हामी पछाडि छौं। संसारमै सबैभन्दा पछाडि छौं। यही कुरा बुझेर २०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा हामीले विवेकशील नेपाली सुरु गर्‍यौं। लागेको थियो, ‘कमन सेन्स’सहितको नागरिक बनाउन सक्यौं भने देश बन्छ। ‘कमन सेन्स’ को नेपालीमा ठ्याक्कै शब्द नपाएपछि ‘विवेकशील’ राख्यौं।

त्यतिबेला राज्य, सत्ता कस्तो हुनुपर्छ भन्ने थाहा थिएन, नागरिक विवेकशील बने भने देश बन्छ भन्ने थियो। त्यसैले यो आन्दोलन सडक सन्देश, सूचनाको हकसम्बन्धी तालिम, शिक्षा–स्वास्थ्यलाई नागरिकमुखी बनाउने अभियान, महिला हिंसाविरुद्धको अभियान, नेपाल खुल्ला छ, गरिखान देऊजस्ता उद्यमीमैत्री अभियानबाट सुरु भयो।

यसकारण विवेकशील

२०६९ जेठ १५ गते पहिलो संविधानसभा भंग हुँदै गर्दा त्यो रात धेरै नेपालीले आँखाभरि आँसु राखेर हालको राजनीतिबाट विश्वास गुमाए। संविधान समयमै आओस् भनेर केही युवाले ‘नयाँ संविधानलाई स्वागत छ’ भनेर संविधानसभा अगाडि अभियान गर्दै थिए। त्यो दिन राति जब संविधानसभा भंग भयो, त्यसपछि जन्मिएको थियो वैकल्पिक राजनीति। ती युवाको आँसुबाट जन्मिएको थियो विवेकशील अभियान। हुन त डा. देवेन्द्रराज पाण्डेको नेतृत्वमा २०५० सालमा लोक दल गठन भएको थियो। गणतन्त्र आएपछिको भने यो पहिलो प्रयत्न थियो।

संविधानसभा भंग भएपछि त्यही संविधानलाई स्वागत गर्न गएका युवा अगाडि बढ्ने भन्ने छलफलमा जुटे। उनीहरू नियमित रूपमा बस्थे र ‘अब के गर्ने ?’ भन्ने छलफल गर्थे। उज्ज्वल थापाहरूले अब नयाँ संस्कार र सेवाप्रवाह सहितको राजनीति चाहिन्छ भनेर छलफल अगाडि बढाए। केही साथी राजनीतिभन्दा अभियानमार्फत नै अघि बढ्ने धारणा राख्दै दलमा प्रत्यक्ष आबद्ध हुनु भएन। हप्तौंको छलफलपछि फलस्वरूप २०६९ साल भदौमा ‘विवेकशील नेपाली मञ्च’ गठन भयो। मञ्चले ‘हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ?’, ‘युवा अघि सर्छ, देश अघि बढ्छ’, ‘यो वाद त्यो वाद देश भयो बर्बाद’, ‘विकल्प कुर्दै बस्ने कि आफैं बन्ने ?’ जस्ता नारासहित अब शिक्षा, स्वास्थ्य, बिजुली, पानीलगायत सेवाप्रवाहको राजनीति गर्नुपर्छ भनेर पर्चा वितरण गर्दै हिँड्यो।

२०६९ मंसिरमा विवेकशील नेपालीले चप्पल कारखाना, चक्रपथमा आफ्नो कार्यालय स्थापना गर्‍यो। लगत्तै भारतमा केजरीवालले आम आदमी पार्टी स्थापना गरे। नेपालमा विवेकशील नेपाली र भारतमा आम आदमी पार्टी संयोगले उस्तै समयमा उदाएको थियो। हाम्रो दल साइकलयात्रा, सडक अभियान र रचनात्मक कार्यक्रमहरू गर्दै टिम बनाउँदै थियो। २०७० सालको सुरुआतमा विवेकशील नेपालीले १४ वटै अञ्चलबाट देश बुझ्न पदयात्रा गर्‍यो। नेपालीको सपना संकलन गर्‍यो। बुद्ध जयन्तीको दिन। लुम्बिनीमा भेला भएर ती सपनालाई साक्षी राख्दै वृक्षरोपणसहित सपना साकार बनाउने कसम खाएर राजनीतिक एजेन्डा तय गर्‍यो।

तत्कालीन अवस्थामा नागरिकले ‘काममा गएको श्रीमान् फर्किऊन्, र सँगै बस्न पाइयोस्’, ‘पानी लिन दुई घण्टा हिँड्न नपरोस्’, ‘राम्रो शिक्षा पाइयोस्’जस्ता आफ्ना सपना सुनाए। हजारौं नागरिकसँगको संवादले विवेकशील नेपालीले आफ्नो मुद्दा निर्माण गरेको थियो। नेपाली राजनीतिलाई सेवाप्रवाहको नयाँ धारमा लान चाहन्थ्यौं।

व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको सांगठनिक अभ्यास, पृथक् विधान, सीईओसहितको पार्टी व्यवस्थापन, सम्पूर्ण रूपमा पारदर्शितासहित विवेकशील नेपाली पार्टी नै धेरैका निम्ति पृथक् पार्टीका रूपमा स्थापित हुँदै थियो। यसबीच २०७२ मा माओवादीका तत्कालीन नेता डा. बाबुराम भट्टराईले माओवादी त्यागेर २०७३ जेठ ३० गते नयाँ शक्ति पार्टीमार्फत वैकल्पिक राजनीतिको सुरुआत गर्नुभयो। पूर्वप्रधानमन्त्रीको यो अभ्यासले वैकल्पिक राजनीतिमा नयाँ आशा जगायो। यसले विवेकशील नेपालीको पनि चर्चा बढायो। नयाँ शक्तिमा भने विस्तारै नयाँ अनुहार हराउँदै माओवादीकै नेताहरूको अनुहार अगाडि आउँदै गर्दा नयाँ शक्ति ‘नयाँ’ रहन सकेन। विभिन्न क्षेत्रका मानिसलाई जुटाएर नयाँ पार्टी खोल्न बीबीसीबाट रवीन्द्र मिश्र २०७३ फागुन १७ गते राजीनामा दिए र साझा पार्टी स्थापना गरे। रवीन्द्र मिश्र र बाबुराम भट्टराईको आगमनले वैकल्पिक राजनीतिले थप चर्चा पायो।

२०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौंबाट रञ्जु दर्शना (विवेकशील नेपाली दलको तर्फबाट) र किशोर थापा (साझा पार्टीको तर्फबाट) उम्मेदवारी दिएर वैकल्पिक राजनीतिलाई थप स्थापित गर्‍यो। दर्शनाले २३ हजार ७ सय ३९ मत ल्याइन् भने थापाले १८ हजार ४ सय ६९ मत ल्याए। लगभग उस्तै दल मिलेर लडेको भए राम्रो हुने भन्ने सबैको आग्रह, दुई पार्टीको विचार र मूल्यमान्यतामा समानता रहेकाले २०७४ साउन ११ गते विवेकशील साझा पार्टी बन्यो। २०७४ कै प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा समेत भाग लिएर २ लाख १२ हजार ३ सय ६४ प्राप्त गर्‍यो।

बीचमा विवेकशील र साझाका नेताबीच मूलभूत रूपमा कार्यशैली मिलेन। तर पनि करिब २३ महिनाको अभ्यासपछि २०७५ पुस २७ मा फेरि यी दुई दल एक भए। दुर्भाग्य, दोस्रो एकीकरणको आठ महिनापछि पार्टीमा रवीन्द्र मिश्रले राजावादी धार लिएपछि पार्टी वैचारिक रूपमा विभाजित हुन पुग्यो। जब रवीन्द्र मिश्र आफ्ना केही साथी लिएर राप्रपा प्रवेश गरे। जब रवीन्द्र मिश्रसँग नगएका साथीले उक्त राजावादी दस्तावेजलाई घातक भन्दै खारेज गरे। त्यसपछि विवेकशील साझा पार्टीलाई नयाँ ढंगबाट अघि लान, एकीकृत गर्न खोजिरहेका छौं।

पार्टीका उपलब्धिहरू

अपेक्षा गरेअनुरूप संगठन निर्माण हुन नसक्नु, विगत डेढ वर्ष पार्टी वैचारिक मतभेदमा फस्नु, पार्टी फुट्नु, आफैंले जगाएको आशामा टिक्न नसक्नु, निर्वाचनमा राम्रो परिणाम ल्याउन नसक्नु पार्टीको कमजोरी रह्यो। असफलता रह्यो। असफलतासँगै यो संस्थाका निम्ति निकै ठूलो अनुभव पनि रह्यो। विवेकशील साझा पार्टीले विगत १० वर्षमा धेरै काम गर्‍यो। नेपालमा वैकल्पिक राजनीतिको बहस छेड्यो। स्वतन्त्र उम्मेदवारको रूपमा २०७० मा काठमाडौंबाट चुनाव लड्यो। २०७२ सालमा भूकम्पमा काम गर्ने अब्बल संस्थामध्ये पार्टी अगाडि नै थियो। नेपाल खुल्ला छ, संविधान बनाउन दबाब दिने अभियान सञ्चालन गरियो।

आज पार्टी वैचारिक रूपमा ‘मूलबाटो’ मा फर्किएको छ। साथै, ‘उज्ज्वल पथ’ अंगीकार गरेर महाधिवेशन सम्पन्न गरेको छ। प्रस्ट विचार र दुई सशक्त महिला नेतृत्व दिएर महाधिवेशनले पार्टीलाई सही दिशा प्रदान गरेको छ। 

सरसफाइ अभियान, रञ्जुजी र किशोरजी उम्मेदवार बनाएर स्वतन्त्र उम्मेदवारलाई बल पुर्‍याउने कुरा, गोविन्द केसीको अभियानमार्फत स्वास्थ्य सुधारको नेतृत्व, पारदर्शिता र जवाफदेहिताका निम्ति सूचनाको हकको कार्यक्रमलगायत गरियो। ‘इनफ इज इनफ’मा महत्त्वपूर्ण भूमिका, स्वास्थ्य सामग्रीमा भएको भ्रष्टाचार अर्थात् ओम्नी काण्डमा सशक्त पहल भयो। विगत १० वर्षमा विवेकशील साझाले धेरै राम्रा काम गरेको छ। विवेकशील साझाको यात्राका उपलब्धिलाई निम्न बुँदाहरूमा छलफल गर्न सकिन्छ।

राजनीतिमा नयाँ सम्भावना

कुनै बेलामा दल भनेकै कांग्रेस, एमाले, माओवादी, राप्रपा भन्ने थियो। नेता भनेकै तिनै अनुहार थिए। विगत केही वर्षमा त्यो भाष्य बदलिएको छ। अब नागरिकले नयाँ पार्टी अनि नयाँ अनुहार खोज्न थालेका छन्। स्वतन्त्र उम्मेदवार र नयाँ पार्टीहरूले जित्न थालेका छन्। यसले दल तन्त्रले कब्जा गरेको लोकतन्त्रलाई अलिकति फराकिलो बनाएको छ। यो प्रयत्नले लोकतन्त्रलाई बलियो बनाउनेछ र दलीय राजनीतिलाई पनि थप शुद्धीकरण गर्नेछ।

मुद्दाकेन्द्रित राजनीति

विवेकशील नेपाली दल २०६९ सालमा बाटोमा धारा, बल्ब, किताब झुन्ड्याएर अभियान गर्दै स्थापना भएको दल हो। विवेकशील ‘व्यवस्था होइन, अवस्था परिवर्तन’को राजनीति गर्ने भनेर सुरु भएको थियो। उज्ज्वल दाइको नेतृत्वमा वैकल्पिक राजनीतिले सामाजिक मुद्दालाई मूलधारको राजनीतिसँग जोड्न सफल भएको थियो। स्वास्थ्य, शिक्षा, सुशासनजस्ता सामाजिक मुद्दा मूलधारको राजनीतिको मुद्दा बन्नु अनि बहस चलाउन सक्नु सानो राजनीतिक उपलब्धि होइन।

शान्तिपूर्ण पृथक् शैली
पेट्रोलको भाउ बढ्दा होस् वा सरकारको विरोध गर्नुपर्दा होस्, हाम्रो राजनीतिमा चक्काजाम गर्ने, बन्द गर्ने, हडताल गर्ने राजनीतिक परम्परा थियो। विवेकशीलले नेपाल बन्दको राजनीतिभन्दा नेपाल खुलाउने राजनीति शक्तिशाली र प्रभावकारी हुन्छ भनेर प्रमाणित गर्‍यो। विवेकशील नेपालीले शान्तिपूर्ण दबाबको नयाँ शैली ल्यायो, जसले आन्दोलनको नयाँ रूपमा माइतीघरलाई अगाडि सार्‍यो। केही पुराना दलले पनि कुचो समात्नेदेखि ‘प्ले कार्ड’ बोकेर शान्तिपूर्ण राजनीति सुरु गरे।

केही वर्षयता काठमाडौंलगायत देशभरका रेलिङ भाँचिएको छैन। पार्टी अनि चुनावी अभियानको आयव्ययमाथि छलफल हुन थालेको छ। राजनीति सकारात्मक अनि रचनात्मक बन्दै गइरहेको छ। आज प्रत्येक पार्टीमा पुस्ता हस्तान्तरण अनि युवा नेतृत्वबारे देशव्यापी बहस हुँदै छ।

राजनीतिमा मध्यमार्ग

विवेकशील आन्दोलन सुरु हुँदै गर्दा एउटा नारा खुब घन्क्यायौं– ‘यो वाद, त्यो वाद, देश भयो बर्बाद’। हामीले दलको वाद सिद्धान्त हुनु हुँदैन भनेका थिएनौं, हाम्रो बुझाइ थियो अबको संसारमा कुनै पनि दल वादको सीमित घेरामा अल्झनु हुँदैन। हामी नेपाली राजनीतिमा नयाँ धार स्थापना गर्न चाहन्थ्यौं– परिणाम दिने राजनीति। नागरिकको आवश्यकतालाई केन्द्रमा राख्ने राजनीति। जसलाई सुरुआती दिनमा तत्कालीन विवेकशील नेपालीका नेता गोविन्द नारायण र उज्ज्वल थापाले ‘समयसापेक्ष सुधार मार्ग’ को नाम दिनुभयो।

पछिल्लो केही वर्ष हामीले अति वादको आशक्तिमा डुबेको समाजका निम्ति ‘गतिशील मध्यमार्गी’को राजनीतिक प्रस्ताव ल्याएका थियौं। नेपाली समाज उग्र वामपन्थी र दक्षिणपन्थीमा विभाजित समाज हो। हामी त्यसलाई चिर्न एउटा युवा पुस्ताको नेतृत्वमा मध्यमार्गी पार्टी बनाउन चाहन्थ्यौं। त्यस्तो पार्टी जो भविष्यमुखी होस्, समाधान दिन सक्ने होस् र सबैलाई जोड्न सक्ने होस्।

अबको बाटो

विवेकशील साझा पार्टी अब फेरि कसरी उठ्न सक्ला ? विवेकशील आन्दोलनले दिनुपर्ने प्रश्नको उत्तर यो हो। संसद्मा कसैले अमर्यादित बोल्यो वा काम गर्यो भने, त्यसलाई ‘संसद्को रेकर्ड’बाट हटाउने चलन हुन्छ। यो आन्दोलनलाई गिजोल्न जुन राजावादी धार ल्याइयो, त्यसलाई पनि यो आन्दोलनले रेकर्डबाट हटाएर अघि बढ्न जरुरी छ। त्यो काम पार्टीको भर्खरै सम्पन्न महाधिवेशनले पूरा गरेको छ। आज पार्टी वैचारिक रूपमा ‘मूलबाटो’ मा फर्किएको छ। साथै, आज पार्टीले ‘उज्ज्वलपथ’ अंगीकार गरेर महाधिवेशन सम्पन्न गरेको छ। प्रस्ट विचार र दुई सशक्त महिला नेतृत्व दिएर महाधिवेशनले पार्टीलाई सही दिशा प्रदान गरेको छ।

विवेकशील साझा पार्टी अग्र्यानिक वैकल्पिक शक्ति हो। यसले प्रियतावादभन्दा समाधानवादलाई अंगीकार गरेको छ। एउटा तरिका हुन्छ, जसले समस्यालाई जटिल बनाएर डर पैदा गरेर पपुलिज्मको राजनीति गर्छ। दोस्रो तरिका भने, समस्याको पहिचान गरेर समाधान दिएर राजनीति गर्छ। विवेकशीलले सधैं दोस्रो तरिका अपनाएको छ। व्यक्ति सफल हुन सजिलो छ तर संस्था बनाउन गाह्रो छ। अहिले जति पनि वैकल्पिक पार्टीहरू देखिएका छन् वा स्वतन्त्र व्यक्तिहरू देखिएका छन् उनीहरू व्यक्तिगत रूपमा सफल होलान् तर संस्थागत रूपमा उहाँहरूले काम नै सुरु गर्नु भएको छ। उहाँहरूको परीक्षण हुन बाँकी छ। विवेकशील यो मानेमा अन्यभन्दा एक कदम अगाडि छ। राजनीतिमा एक दशक टिक्नु, उभिनुमात्र पनि सजिलो कुरा होइन। विवेकशीलमा अब त्यो एक दशक टिकेको आत्मविश्वास नै उसको अबको यात्राको ऊर्जा बन्न सक्छ।

देशमा प्रतिपक्ष नभएको बेलामा नागरिकको मुद्दा उठाएर प्रतिपक्षको भूमिका निर्वाह गर्नुु पर्ने आवश्यकता छ। संगठन विस्तार गर्ने, शिक्षा– स्वास्थ्य– रोजगारीजस्ता मुद्दामा स्पष्ट नीति ल्याउने, पार्टीमा निरन्तर प्रशिक्षण दिने, १६५ चुनावी क्षेत्रमा काम गर्ने, एउटा मुद्दामा केन्द्रित रहेर अभियान छेड्ने, स्थानीय तहको निर्वाचनका निम्ति नयाँ युवा उम्मेदवार तयार गर्ने नै विवेकशील साझाको अबको मार्गचित्र बन्नुपर्छ। विवेकशील साझाले आधारभूत काम गरेर नागरिकमा ठिक्कैको मात्र आशा जगाइराख्न सके पनि अर्को निर्वाचनमा राम्रो मत ल्याउन सक्छ। पपुलिज्मले गालेको, वैकल्पिक राजनीतिको मैदानमा अरू पार्टीहरू पनि आएको, डिजिटल प्रविधिले क्रान्ति गरेको, देशकै राजनीति अस्थिर बनेको, अर्थतन्त्र बिजोग भएको बेलामा अग्र्यानिक तरिकाले एउटा पार्टी नेतृत्वमा पुग्न सजिलो छैन। यसलाई चिर्दै, नागरिकमा आशा जगाउँदै अघि बढ्नुपर्ने आजको वैकल्पिक राजनीतिको आवश्यकता छ।

जसरी एउटा ढुंगा हन्डर खाँदाखाँदा बाटुलो बन्छ, जसरी एउटा कोइला चापका कारण हीरा बन्छ। त्यसरी नै यी हन्डर र प्रेसरले पनि विवेकशील अभियान थप खारिनेछ। थप सुदृढ हुनेछ। थप सशक्त हुनेछ। अर्को निर्वाचनमा देश हाँक्ने शक्ति बन्न सक्नेछ।
- पाण्डे, विवेकशील साझा पार्टीका नेता हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.