जंगबहादुरको ‘मंकी पजल’ प्रेम!

जंगबहादुरको ‘मंकी पजल’ प्रेम!

बेलायतबाट नेपाल ल्याएको ‘मंकी पजल’ उपनाम पाएको अग्लो जातको रुख आज पनि पशुपति क्षेत्रको मृगस्थली, भण्डारखाल, वनकाली आदिको विशेषता बनेर रहेको छ।

जंगबहादुर राणा नेपालको राजनीतिक इतिहासमा चर्चित नाम हो। झन्डै १ सय ७८ वर्षभन्दा केही लामो समयदेखि कुनै न कुनै रूपमा नेपालको इतिहासमा उनको चर्चा हुने गरेको छ। अझ आफ्नो स्वार्थपूर्तिका लागि जे पनि गर्न तयार पात्रका रूपमा परिचित पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाले आफ्नो शासनकालमा गरेको बेलायत र फ्रान्सको भ्रमण तथा त्यहाँ गरेका अनेकौं क्रियाकलापको अनेकन प्रसंग, जीवनभर जोडेका अनगिन्ती श्रीमतीहरूको जोगाड र भोगविलासका कहानी नेपाली जनजिब्रोमा किंवदन्ती झैं टाँसिएका छन्।

बेलायत भ्रमणका बेला ‘लौराबेला’सँगको प्रेमप्रसंग चर्चित घटनामा लिइन्छ। उनले आफ्नो शासन सत्तालाई टिकाउन तात्कालिक ब्रिटिस सरकारसँग गरेको घनिष्ट सम्बन्धका प्रसंगहरूबारे धेरैलाई अवगत नै छ। यसको अर्थ उनले केवल आफ्नो स्वार्थका लागिमात्र काम गरे भन्ने होइन, उनले देश र जनताका खातिर राम्रा र कतिपय उपयोगी काम गरेर जस पनि कमाएका छन्। 

सूर्य नअस्ताउने मुलुक निर्माणका क्रममा वरपरका मात्र होइन, सात समुद्रपारिका मुलुकहरूमा व्यापार, व्यवसाय तथा सैनिक विस्तार गर्दै एसिया र युरोपका कैयन् स्वतन्त्र मुलुकलाई आफ्नो उपनिवेश बनाउन सफल रहेको बेलायतको चकाचौधको कहानी सुनेका थिए जंगबहादुरले। उनै राणालाई आफू शासनसत्तामा पुगेको तीन वर्षमै बेलायतसहित युरोपका मुलुकको भ्रमणको हुटहुटी जाग्यो।

बेलायतकी महारानीको अब आउँदो जन्मोत्सवमा नेपालको तर्फबाट अभिनन्दनपत्र अर्पण गर्ने निहुँ बनाएर उनी वि.सं. १९०६ (माघशुक्ल प्रतिपदा सोमबार)को दिन आफ्ना दुई भाइ तथा केही भारदार गरी १४ जनाको समूहका साथ एक हप्तासम्म कलकत्तामा बसी, श्रीलंका हुँदै लर्ड डलहौजी (गभर्नर जनरल अफ इन्डिया) को राजकीय सत्कारसहित हैडिङ्टननामक एक विशेष पानीजहाजबाट युरोपका लागि रवाना भए (ओल्डफिल्ड, पृ. ३८८)। प्रस्थान गर्ने समयमा जंगबहादुरलाई ‘गार्ड अफ अनर’ स्वरूप १९ तोपको सलामी दिइएको थियो।

लर्ड डलहौजीले जंगबहादुरको खातिरनामाका लागि खटाएका क्याप्टेन ओ. केभिनेजलाई युरोपको भ्रमण नसकिउञ्जेल नेपाली प्रतिनिधिमण्डलको सुविधाका लागि काम गर्ने जिम्मेवारी दिए। युरोप जाने बखत कुल मिलाएर ४२ जनाको समूह बन्यो (पुरुषोत्तमशमशेर राणा, श्री ३ हरूको तथ्य वृत्तान्त, पृ. ४३)।

जंगबहादुरको सम्मान र सुरक्षामा काठमाडौंदेखि ८०० रिफेल पल्टनहरू कलकत्तासम्म खटिएका थिए। जंगबहादुर युरोपतर्फ रवाना भएपछि उनीहरू काठमाडौंतर्फ फर्के। ६ दिनको समुद्री यात्रापछि नेपाली प्रतिनिधिहरू मद्रास पुगे। त्यहाँ पनि सेन्ट जर्जको किल्लाबाट जंगबहादुरको सम्मानमा १९ तोपको सलामी दिइयो। युरोप नपुगुञ्जेल ठाउँठाउँमा जंगबहादुरको सम्मानमा १९ तोपको सलामी दिइयो।

बेलायतमा जंगबहादुरको भव्य स्वागत भयो। साउथ हेम्टन नजिक इपसम भन्ने ठाउँमा भएको घोडदौड अवलोकन गर्नुका साथै वि.सं. १९०७ असार ७ गते इस्ट इन्डिया कम्पनीले आयोजना गरेको बृहत् भोजमा बेलायतका प्रतिष्ठित व्यक्तिहरू– लर्ड, सर, नाइट, बेरन र एरोस्ट्रिकेटहरूसँग भेटघाटको कार्यक्रमको आयोजना भएको थियो। त्यसैको तीन दिनपछि बेलायतकी महारानी भिक्टोरियाद्वारा आयोजित राजकीय भोजमा नेपालको तर्फबाट लगेका मैत्रीपूर्ण उपहारहरू हस्तान्तरण गरेका थिए (ल्यान्डन, पृ. १३८)।

वि.सं. १९०७ भदौ ७ गते बेलायतबाट बिदा भई फ्रान्स पुगेका जंगबहादुर ६ हप्तासम्म त्यहाँ बसी नेपोलियन तृतीयसँग भेटवार्ता गरी वि.सं. १९०७ भदौ १० गतेका दिन जंगबहादुरको सम्मानमा आयोजित झन्डै एक लाख फ्रेन्च फौजको विशाल कवायत हेरी काठमाडौंका लागि फिर्ती रवाना भएका थिए। बाटोमा पर्ने अलेक्जेन्ड्रियाका शासक अब्बासपासा (वि.सं. १९०५–१९११) सँग (असोज ३१) भेटी कायरो हुँदै कात्तिक २२ का दिन आफ्नो दलबलसहित सकुशल बम्बई पुगेका थिए। त्यसपश्चात् पूर्वयोजनाअनुसार भारतका केही तीर्थस्थलको भ्रमण सकी तराईमा केही दिन विश्राम गरे। त्यहाँबाट हात्तीसारको बन्दोबस्त मिलाई वि.सं. १९०७ माघ २६ गते काठमाडौं पुगेका जंगबहादुरलाई बुढा महाराजा राजेन्द्रविक्रम शाह, तात्कालिक श्री ५ सुरेन्द्रविक्रम शाहलगायत कतिपय भाइभारदार एवं सरदारहरूबाट स्वागत सत्कार गरे।

जंगबहादुर धेरै पढे लेखेका व्यक्ति थिएनन्। तर समय, परिस्थिति र अनुभवले खारिएका व्यक्ति हुनाले कोहीभन्दा कम थिएनन्। यिनको सभामा बेलाबेलामा ठूल्ठूला विद्वान्हरूको जमघट हुन्थ्यो। उनी विद्वान्हरूको तर्कवितर्क सुन्दथे र त्यसबाट आफूलाई चाहिने ज्ञान लिन सक्ने खुबी थियो। अंग्रेजी भाषा उनलाई आउँदैनथियो। तर अरूद्वारा भए पनि त्यसको व्याख्या विश्लेषणहरू सुनेर निचोड निकाल्न सक्ने क्षमता थियो। संसारमा कहाँ के भइरहेको छ, आफ्नो मुलुकलाई कसरी सुरक्षित र बलियो तुल्याइराख्ने भन्नेमा उनको ध्यान सदैव चनाखो रहेको हुन्थ्यो।

१९०४ वैशाखमा श्री ५ राजेन्द्रविक्रम शाह राज्यच्युत भई उनका छोरा सुरेन्द्रविक्रम शाह नेपालको राजगद्दीमा बसे। त्यसपछि देशको सम्पूर्ण हालिमुहाली जंगबहादुरको हातमा आइपुग्यो। केटाकेटीदेखि नै सुरेन्द्रविक्रम शाहसँगको संगत पाएका, उनको मनोविज्ञान राम्ररी बुझेकाले जंगबहादुरलाई राजकाज चलाउन त्यति गाह्रो परेन। वि. सं. १९०३ भदौमा घटित कोतपर्वले जंगबहादुरलाई प्राइम मिनिस्टरीका साथ सारा पल्टनको तैनाथी मिलेकै थियो।

दक्षिण अमेरिकाको घनाजंगलमा पाइने ‘आरुकेरिया आरुकाना’ नामक रुखलाई अंग्रेजी भाषामा किन ‘मंकी पजल’ भनियो ? त्यो पनि चाखलाग्दो छ।

त्यसको करिब एकै वर्षपछिजसो घटेको भण्डारखाल पर्वले सारा प्रतिद्वन्द्वीलाई सिध्याइसकेका हुनाले उनको आँखामा आँखा जुँधाएर बोल्न सक्ने व्यक्ति पनि कोही थिएन भने हुन्छ त्यसबेला। गद्दीनसिन राजा पनि सौतेनी मामलाको चक्रव्यूहबाट आफूलाई उद्धार गर्ने यिनै जंगबहादुर हुन् भन्ने मनस्थितिमा थिए। उमेरको हिसाबले पनि जंगबहादुरभन्दा झन्डै नौ वर्ष कान्छा भएकाले एक किसिमले अभिभावकीय भूमिकामा रहेको सम्झेका थिए। युरोपका केही मुलुकको यात्राले विश्वपरिस्थिति बुझ्ने तथा त्यहाँ भएका विकास एवं सुधारका तौरतरिका थाहा पाउने मनसायले उनको यो पहिलो विदेशयात्रा भएको थियो। भारतको इलाहाबाद जेलमा कैद भुक्तान गरिरहेका भाइभारदारहरूलाई जेलमुक्त गर्ने सोचमा रहेको बखत हैजाका कारण जयबहादुर कुँवरले उतै मृत्युवरण गर्न पुगे। अरूको पनि त्यही अवस्था आउला भन्ने सम्झी उपेन्द्रविक्रम शाह र बद्रीनरसिंह राणालाई तीन वर्षपछि बल्ल कारागारबाट मुक्त गरिदिए। उपेन्द्रविक्रम कैदीको रूपमा भादगाउँ पठाइए भने बद्रीनरसिंह चाहिँ पाल्पामा पठाइए। तिनताका उनका छोरा केदारनरसिंह पाल्पाको बडाहाकिम थिए। युरोपको भ्रमणपछि देशलाई आधुनिकताको क्षेत्रमा लग्न उनले भरमग्दुर प्रयत्न गरेको बुझाउने केही अनुचिह्नहरू अझै छन्। बेलायतबाट फर्केको तीनै वर्षमा वि. सं. १९१० पौषशुक्ल ७ मा मुलुकी ऐन देशभर लागू गरियो। त्यसलगत्तै उनले पहिलोपटक देशको जनसंख्या कत्ति रहेछ भनेर हेर्न नमुना जनगणना गराए। वास्तवमा त्यो जनगणना ब्रिटिस भारतमा भन्दा पनि झन्डै १९ वर्षपहिले नेपालमा सम्पन्न भएको थियो।

जंगबहादुरले भित्त्याएको गिद्देप्रेसबाटै गोरखापत्रको प्रारम्भिक प्रकाशन भएको थियो। बेलायतबाट ल्याएको ‘काउन्सिल’को नक्कल ‘कौशल अड्डा’, केही वनस्पतिका बोटबिरुवाहरू तथा ‘एल्डर्नी’ जातको गाईहरू पनि नेपालमा ल्याएर केही तरक्की हुन्छ कि भनी सोचेका थिए। त्यसैगरी बम्बैबाट रोजा नश्लका अरबी घोडाहरू, बेतिया दरभंगाबाट आँपका विभिन्न जातका बिरुवाहरू पनि भित्त्याएका थिए (पद्मजंग, लाइफ अफ. पृ. २७०)।

बेलायतबाट नेपाल ल्याएको ‘मंकी पजल’ उपनाम पाएको अग्लो जातको रुख आज पनि पशुपति क्षेत्रको मृगस्थली, भण्डारखाल, वनकाली तथा राणाकालिक दरबारहरूको विशेषता बनेर रहेको छ। जंगबहादुर बेलायत र फ्रान्सका विभिन्न दरबार, उद्यान तथा बगैंचाहरूको अवलोकनमा गएको बखत उनलाई आकर्षित तुल्याउने वस्तुहरूप्रति विशेष रुचि राखी त्यसबारेमा जान्न बुझ्न खोज्थे। तिनताका केही वर्षदेखि बेलायतको दरबार र बगैंचाहरूको शोभा र भव्यतालाई बढाउने काममा चिलीबाट ल्याइएको ‘आरुकेरिया आरुकाना’ जातको रुखले सर्वसाधारणको ध्यानाकर्षण गराइरहेको बेला थियो। नेपालमा छँदा कहिले पूर्वी तराईको चारकोसे झाडी त कहिले पश्चिम तराईको घनाजंगल, त्यहाँ कहिले हात्तीखेदाका लागि कहिले सिकारका लागि जाँदा रुख÷बिरुवाको विषयमा चप्पाचप्पा बुझेका जंगबहादुरलाई तिनताक बेलायतमा ‘टक अफ दि टाउन’ झैं बनेको मंकी पजलले विशेष ध्यानाकर्षण गर्नु स्वाभाविक थियो।

अझ वेस्ट मिनिस्टर सिटीस्थित बकिंघम दरबार, भिक्टोरियन बगैंचाहरूमा घुम्न जाँदा मंकी पजलले उनलाई निकै प्रभावित तुल्यायो। बेलायतकै लागि पनि यो नौलो रुख थियो। किनभने बेलायतमा यो जातको रुख वि.सं. १८५२ तिर पहिलोपटक भित्रिएको मानिन्छ। पछि गएर यो रुखको ख्याति बेलायतमा यसरी बढ्यो कि हरेक भिक्टोरियन बगैंचाको भव्यता र सौन्दर्यका लागि यो अनिवार्यजस्तै मानिन थालियो। जंगबहादुर बेलायत पुग्दा भर्खर ५५ वर्षका थिए।

भनाइ छ, डाइनासोरको जमानामा उसको शरीर चिलायो भने यही रुखमा घाँटी–गर्दन धसेर कन्याउने गथ्र्यो रे। हुन पनि तीखा तीखा काँडाहरूसहित बाक्लो बोक्रा रुखमा हुने भएकाले होइन होला भन्न गाह्रो छ। जति पुरानो रुख भयो त्यति कडा बोक्रा हुने यसको विशेषता छ। झन्डै १५०–१६० फिट अग्लो हुने यो जातको रुख तीन हजार वर्षसम्म बाँच्न सक्छ भन्ने जनश्रुति प्रचलनमा छ। २४–२५ फिटसम्मको मोटाइ हुन सक्ने यो जातको रुख अरूभन्दा भिन्न देखिन्छ।

दक्षिण अमेरिकाको घना जंगलमा पाइने यो जातको रुखलाई ‘चिली पाइन’ पनि भनिन्छ। चिलीको त यो राष्ट्रिय रुख हुँदै हो। वैज्ञानिक नाम ‘आरुकेरिया आरुकाना’ भएको यो रुखलाई अंग्रेजी भाषामा किन ‘मंकी पजल’ भनियो। त्यो पनि चाखलाग्दो छ। भनिन्छ, बेलायतका सांसद सर विलियम मोलेस ओर्थले पेनक्यारोस्थित आफ्नो बगैंचामा पार्टीको भव्य आयोजना गरेका थिए। उपस्थित पाहुनामध्येका चाल्र्स अस्टिनले पहिलोपटक देखेको रुखको प्रशंसा गर्दै ‘ओहो ! यो रुखले त बाँदरहरूका लागि छक्याउनेछ’ भनेर अंग्रेजीमा ‘मंकी पजल’ उच्चारण गरेकाले त्यसै बेलादेखि यो रुख मंकी पजल नामबाट प्रसिद्ध भएको मानिन्छ (पेनक्यारो, सीओ, यूके)। 

चाल्र्स अस्टिनले  अंग्रेजीमा ‘मंकी पजल’ भनेरउच्चारण गरेकाले त्यसै बेलादेखि यो रुख मंकी पजल नामबाट प्रसिद्ध भएको मानिन्छ। 

जंगबहादुरले बेलायतबाट कतिवटा यस जातको बिरुवा ल्याएका थिए थाहा हुँदैन। किन त्यत्रो प्रेम यो रुखमा रह्यो त्यो पनि थाहा हुँदैन। तर उनले मृगस्थलीमा वि.सं. १९२० मा निर्माणकार्य समाप्त भएको विश्वरूपा मन्दिर जाने बाटोको दायाँबायाँ मन्दिर निर्माण हुनुभन्दा अघि नै मन्दिरको सौन्दर्य अभिवृद्धिका लागि मंकी पजलको रुखहरू लहरै रोप्न लगाएका थिए। बूढा पुरानाहरू त्यो रुखलाई अहिले पनि ‘जंगे रुख’ भन्छन्। यी रुखहरूलाई बेलायतदेखि ल्याएको भन्ने जनश्रुति अझै प्रचलनमा छ (गोविन्द टण्डन, पशुपति क्षेत्र..., पृ. ८)। विश्वरूपा मन्दिरको बाटोको दुईतिर अजंगअजंगका मंकी पजलका रुख २० वटा जति अझै विद्यमान छन्। कुनै कुनै रुखो फेद त झन्डै १२–१५ फिट चौडा होलान् ! जमिन छोएका जराहरू कुनै कुनै यस्ता रुखहरूमा अजंगको हात्तीको ठूल्ठूला पाइलाजस्तो देखिन्छ। जंगबहादुरले आफ्ना विभिन्न रानीहरूको नाममा स्थापना गरेको आर्यघाटपारिका १५ शिवालयको ठीक माथिल्लो भागमा रोपेको मंकी पजलका केही रुखहरू अझै छन्। तिनै रुखले गर्दा त्यो ठाउँ पर्यटकीय अवलोकन स्थल बन्न पुगेको छ। त्यहाँबाट पशुपतिनाथ मन्दिरलगायत समुच्चा पश्चिम–उत्तर–दक्षिणको विहंगम दृश्यको रसास्वादन गर्न पाइन्छ।

पशुपति मन्दिर एवं मृगस्थली वरपर रोपेका बिरुवाहरूलाई हेर्दा जंगबहादुरले ती रुखहरू मन्दिर क्षेत्रमै रोप्न ल्याएका रहेछन् भन्ने देखिन्छ। किनभने उनको थापाथली दरबार वरपर यद्यपि अहिले केवल भग्नावशेषहरूमात्र रहेको छ, त्यहाँ मंकी पजलका रुखहरू देख्न पाइन्न। चिली र बेलायतको चिसो हावापानीमा हुने मंकी पजल काठमाडौंको हावापानीमा पनि निकै सप्लाएको देखिन्छ। उता एक हजार फिटको उँचाइदेखि ज्वारभाटाग्रस्त ६ हजार फिटसम्मको डाँडाहरूमा पनि हुने रुखको रूपमा चर्चित मंकी पजल समुद्री सतहभन्दा ४४ सय –४५ सय फिट अग्लो काठमाडौंको जमिनमा राम्रैसँग हुर्के–बढेका छन्। सदाबहार हरिया पातहरू, हाँगाबिँगा तीखा काँढाहरूले गर्दा देख्दै डरलाग्दो देखिने यो रुख चराचुरुंगीहरूका लागि सुरक्षित स्थल हुने भएकाले विभिन्न जातका चराहरू गुँड लगाएर बसेको देख्न पाइन्छ। बाँदर र बिरालोजस्ता छुकछुके जन्तुहरूबाट सुरक्षित स्थल भएकाले आफ्ना बचेरा हुर्काउन बढाउन चराचुरुंगीहरूले यो रुखको सहारा लिएको देखिन्छ। मंकी पजलको रुखमा वर्षको एकपटक फल लाग्छ। झन्डै पाँच नम्बरको फुटबलको बलभन्दा केही ठूलो आकार भएको, बाहिरपट्टि स–साना चुच्चे काँडाहरूले सुरक्षित तुल्याएर राखेको फलभित्र झन्डै २०–२२ वटा दानाहरू कडा बोक्राको भित्रपट्टि हुन्छन्। रुखमा फल्ने विभिन्न जातका नटहरूमा योजस्तो स्वादिलो र मीठो नट अर्को हुँदैन। एउटा प्रौढ रुखमा झन्डै ५०–६० वटा फलहरू फलेको हुन्छ।

काठमाडौंको हावापानीमा साउन–भदौ महिनामा फल लाग्छ। फलको स्वाद थाहा पाउनेहरू यसलाई ‘अमृत फल’ भन्न पनि पछि पर्दैनन्। यसको फलको स्वाद थाहा पाउनेहरू साउन–भदौतिर कतै फल किन्न पाइन्छ कि भनी घुम्दै आउने गरेको पनि सुनिन्छ। त्यसबेला एउटा फलको १५ सय–दुई हजार तिर्न पनि पछि हट्दैनन्। बाँदर नभएको बेलायतको उद्यानहरूमा यो ‘बाँदर छक्याउने रुख’ भए पनि पशुपति वरपर चाहिँ फल लाग्न थालेपछि बाँदरहरूको चकचकी निकै बढ्छ। पूरै रुख चढ्न नसके पनि आधाउधितिर कतै फल छ कि भनेर रुख चढ्ने प्रयत्न गर्छन्। अन्यथा कतिखेर फल खस्ला र खाऊला भनेर बाँदरहरू रुख वरपर कुरेर बस्छन्। कुनै कुनै सूरा ढेडु बाँदरहरू त रुखमै चढेर फल टिपेर तल भुइँमा खसाल्छन्। रुखबाट खसेर वा कुनै पुरुषार्थी बाँदरले रुखमा चढेर झारिदिएन भने ऊ स्वयंले जमिनमा फुटालेर खान चाहिँ सक्तैन।

मंकी पजल रुखको विशेषता भनेको यसको प्राकृतिक सौन्दर्य, सदाबहार र चारैतर्फ छरिएका आकर्षक हाँगाबिँगाहरूको साथमा मीठो फल हो। मंकी पजलजस्तै देखिने धेरैजसोको घर–बगैंचामा रोप्न थालिएको आर्केरिया (वैज्ञानिक नाम आरुकारिया हेट्क्रोफिला) झट्ट हेर्दा मंकी पजलजस्तै देखिने भए पनि त्यसमा फल पनि लाग्दैन, जाडोलाई पनि त्यति सहन सक्तैन। रुखको आकार पनि मंकी पजलको जस्तो अजंगको हुँदैन। मंकी पजल धेरै क्षेत्रफल भएको बारी, बगैंचा र उद्यानका लागि अत्यन्त सुहाउँदो हुन्छ। चराचुरुंगीको लागि बासस्थल पनि हुने, भूदृश्य (ल्यान्डस्केप) आकर्षक हुने तथा नटहरूमध्येको अब्बल नटको प्राप्तिलाई अझ व्यवसायीकरण गर्न सक्यो भने आम्दानीको पनि राम्रै स्रोत हुन सक्छ।

असाध्यै पौष्टिक तत्त्वले भरिएको हुनाले प्राचीन समयदेखि नै दक्षिण अमेरिकी मुलुकहरूको पौष्टिक खानेकुरामा यसलाई अग्रणी मानिन्थ्यो। यसको काठ फर्निचरको लागि उपयुक्त मानिन्छ। यसको महत्त्वलाई संरक्षण र प्रवद्र्धन गर्न चिलीले सन् १९७५ (वि.सं. २०३२) देखि ‘राष्ट्रिय प्राकृतिक सम्पदा’को रूपमा संरक्षित गर्दै आएको छ। नेपालमा यसको इतिहास झन्डै १ सय ७३ वर्षदेखिको भए पनि राणाकालिक दरबारहरू– सिंहदरबार, केशरमहल, बबरमहल, शीतल निवास आदि केही दरबारमा विस्तार भए पनि राणाकालिक दरबारबाहिर चाहिँ त्यति फैलिन सकेन। मृगस्थली जंगलको शोभाको अभिवृद्धिमा मंकी पजलको पनि निकै ठूलो भूमिका छ। त्यहाँ भएका स्थानीय जातका रुखहरूभन्दा निकै अग्ला देखिने मंकी पजलले आफ्नै किसिमको आकर्षक शृंखला बनाएर मृगस्थलीको शोभाको अभिवृद्धि गरेको कुरा गौशाला–वनकालीबाट मृगस्थलीतर्फ यसो दृष्टि पु¥याउँदा कैलाश, आर्यघाट पारी तथा मृगस्थलीमा भएका अग्ला यी सदाबहार मंकी पजलले निकै सौन्दर्यको अभिवृद्धि गरेको अनुभव जो कोहीले गर्न सक्छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.