खराबीमाथि  विजयोत्सव

खराबीमाथि  विजयोत्सव

आफूभित्र गुम्सेका खराबीहरूमाथि विजय प्राप्त गर्नु पनि एउटा ठूलै विजय हो। विजयादशमीले त्यही कुराको बोध गराउँछ।

बडादसैं, दसैं, विजयादशमी जे भने पनि त्यो एउटै पर्वलाई सम्बोधन हुने विभिन्न नामहरू हुन्। यसलाई असत्यमाथि सत्यको जित अथवा खराबमाथि असलको जितको रूपमा अथ्र्याइ मनाउने प्रचलन लामो समयदेखि चल्दै आएको छ। खराब जुनसुकै रूपमा पनि व्यवहारत हुनसक्छ जस्तै— काम, क्रोध, लोभ, मोह, हिंसा, असत्य, वैर, ईष्र्या, दुःख, आलस्य आदि। मानिसका लागि यी यस्ता दुर्गुण या अवगुणहरू हुन्, यिनलाई जित्न सक्नु कुनै लडाइँभन्दा कम हुँदैन भनिदिए हुन्छ। यसैले आफूभित्र गुम्सेर रहेका खराबीहरूमाथि विजय प्राप्त गर्नु पनि एउटा ठूलै विजय हो। विजयादशमीले त्यही कुराको बोध गराउँछ। 

नवरात्रिको अवधिलाई साधनाको अनुपम क्षण सम्झी मनाउनेहरू प्रशस्तको संख्यामा छन्। त्यसको अर्थ नबुझी दसैंै भनेको खाने, पिउने, मोज गर्ने प्रवृत्ति पनि नभएको होइन। अझ पछिल्लोको संख्या बढ्दै गएको हो कि जस्तो भान पर्छ सबै प्रकारका गतिविधिहरू हेर्दा। विजयादशमीको सुरु हुन्छ आश्विनशुक्ल प्रतिपदाको घटस्थापनादेखि नवमीसम्म। देवी दुर्गामाताको पूजा अर्चना र तत्पश्चात् दसैंको टीका। ठाउँपिच्छे फरक भए तापनि टीकाटालोको समयावधि पूर्णिमासम्म रहन्छ।

हरेक वर्ष त्यही महिना, त्यही तिथिमा मनाइने बडादसैं ऊर्जा प्राप्त गर्ने महत्वपूर्ण अवसरको रूपमा पनि लिने गरिन्छ। दसैंलाई कुनै जित या खुसीको पर्वको रूपमा हेर्ने चलन छ। खुसी मनाउने शैली फरक हुनसक्छ। किसानहरू धानको बाली भिœयाउनु अघिको दसैंपर्वलाई मांगलिक रूपमा सम्झन सक्छन्। केटाकेटीहरू खेलकुद, मोजमज्जा, रमाइलोमा अलमस्त हुने क्षण सम्झन सक्छन्।  घरपरिवारका गृहस्थहरू परिवारका सबै सदस्यहरू जम्मा हुने पारिवारिक एकताको अवसर सम्झेर रमाउन सक्छन्। सबैले आआफ्नो रुचि र चलनअनुसार यसलाई मान्ने गर्छन्। कुनै बेला थियो राजा–महाराजाहरू आफ्नो देशको विस्तारको क्रममा विजय यात्रामा निक्लने राम्रो अवसर मानिन्थ्यो विजयादशमी। शुभमुहूर्त हेर्नै नपर्ने। सारांशमा सबै आ–आफ्नै धून, चलन र परम्परामा रमाउने समय होभन्दा फरक पर्दैन। अब त्यस्तो समय छैन।

छिमेकी भारतमा यस पर्वलाई ‘दशहरा’को रूपमा मनाउने चलन छ। खास गरी उता रामले रावणमाथि विजयप्राप्त गरेको खुसियालीको रूपमा रावणको पुत्ला जलाई मनाउने चलन छ। तर, अर्काेतिर कर्नाटकको कोलार, मध्यप्रदेशको मन्दसोर, राजस्थानको जोधपुर, आन्द्र प्रदेशको काकीनाडा तथा हिमाञ्चलको बैजनाथ आदि ठाउँहरूमा रावणको पूजा धूमधामसँग गर्ने चलन पनि छ। श्रीलंकामा पनि रावणको पूजाआजा धुमधामले गर्छन् त्यस दिन।

रावण चारै वेद जानेको उद्भट विद्वान् एवं शिवभक्त थिए। आफूमा रहेको घमण्ड र अहंकारले  मैमत्त  थिए। महान् शिवभक्त भए तापनि भगवान विष्णुमाथि अति क्रोध गर्दथे। रावणको पिता विश्रवाब्राह्मण कुलका थिए भने आमाचाहिँ राक्षस कुलकी थिइन्। यसैले ज्ञानमा उनी तीक्षण विद्वान् निक्लिए। उता राक्षसको अंश पनि भएकाले शक्तिशाली पनि भए।  जसको कारण कालान्तरमा उनीमा अत्यन्त अहंकार र घमण्डले गर्दा अरूलाई तृण बराबर पनि नमान्ने भए। त्यही घमण्डलाई तोड्नका लागि नै विष्णुले रामको अवतार लिएर जन्मेको प्रसंग बाल्मिकी रामायणमा पाइन्छ।

चाडपर्वले धार्मिक, सामाजिक पक्षलाई जाग्रत गराई होस्टेमा हैसे गर्ने त भई नै हाल्यो। आर्थिक क्षेत्रलाई पनि चलायमान बनाइ अर्थतन्त्रलाई बलियो बनाउन सघाउ पुर्‍याइरहेको हुन्छ।

वनवासको समयमा  श्रीरामले  अर्घाङ्गिनी सीतालाई रावणले हरेर लगेको थियो।  उनलाई फिर्ता गराउन भएभरका प्रयत्न विफल भए। पछि रामको रावणसँग घमासान युद्ध भयो। त्यस वेला हनुमानजीले रामको साथ दिए। रावणको भाइ विभीषणले पनि रामको साथ दिएका थिए। आश्विनशुक्ल प्रतिपदादेखि नवमीसम्म देवी दुर्गाको पूजाआराधना गरी विजयादशमीको शुभमुहूर्तमा लंकाको लागि प्रस्थान भयो।

विजयादशमी मनाइने गरेको भन्ने प्रसंगको व्यापकता पनि त्यत्तिकै पाइन्छ। त्यसबाहेक महिषासुर नामको राक्षसलाई देवी दुर्गाले बध गरेर विजयप्राप्त गरेको प्रसंग पनि उत्तिकै चर्चित छ। यसैगरी पाण्डवहरूको वनवास, देवी सती दक्षप्रजापतिको यज्ञवेदीमा आहुती भएको प्रसंगहरू पनि यसमा मिसिन आउँछन्। यस्ता प्रसंगहरू अरू पनि जोडिन सक्छन्। जे भए पनि दसैं मनाउनुको कारण असत्यमाथि सत्यको जित, दानवी शक्तिमाथि दैवी शक्तिको जितको रूपमा यसलाई आआफ्नै ढंगले ग्रहण गर्ने प्रचलन छ।

दसैंको अवसरमा नेपालको तराईका कैयन ठाउँहरूमा हाट, बजार, मेला लाग्ने गर्छ। पश्चिम पहाडी ठाउँहरूमा चाहिँ राम–रावण, दुर्गा महिषासुरमर्दिनीलाई केन्द्रमा राखेर खैंजडी, झ्याम्टे बाजाहरूको साथ नाचगानको आयोजन गरी रमाइलो गर्ने गरिन्छ। दशमीको दिन व्यापारीहरू आफ्नो हिसाबकिताबको खातालाई पूजा गर्छन्। कृषकहरू आफ्नो घरमा भित्रिएको नयाँ बालीको पूजा गर्छन्। विद्यार्थीहरू आफ्नो किताबकापीको पूजा गर्छन्। त्यसैगरी प्रविधिको कर्मक्षेत्रमा जुट्नेहरू आआफ्नो हातहतियार र औजारहरूको पूजाअर्चना गर्छन्। विजयादशमी पर्व आआफ्नो घर, बस्ती, गाउँ सफासुग्धर राख्ने सन्दर्भको रमाइलो पर्व पनि हो।

दशमीकै दिन घरका मान्यजनहरू हजुरबुवा, हजुरआमा तथा आमाबुवाहरूको हातबाट टीका, जमरासहित आशीर्वाद लिने गरिन्छ। आफ्नो घरको टीकोटाला सकिएपछि नाताअनुसार मान्नुपर्ने नातागोताको घरमा टीका थाप्न जाने चलन छ। यसलाई एक प्रकारले आआफ्नो नातागोतासँगको पुनर्मिलन र सम्बन्धको नवीकरणको रूपमा लिन सकिन्छ। यसमा नजानिँदो किसिमले प्रेम, सद्भाव र मान्यजनप्रतिको श्रद्धा, सम्मान अन्तर्निहित छ। हरेक वर्ष आउने दसैंले पारिवारिक मिलन, सद्भाव र एकताको बन्धनलाई कसिलो, मजबुत र सौहार्द बनाउन प्रेरित गरिरहेको हुन्छ। 

आधुनिकताको नाममा बाह्य संस्कृतिप्रतिको आकर्षण बढेको छ। आफ्नो संस्कृतिप्रतिको विकर्षण एवं प्रचलनमा रहेका संस्कार, परम्परा एवं संस्कृतिबारे जान्ने बुझ्ने किसिमको न शिक्षादीक्षा न त्यस किसिमको पढाइका कारण जसोतसो संस्कृति धानिएको छभन्दा हुन्छ हिजोआज। आफ्नोपनको महत्व बुझिएन, इतिहास, संस्कृति एवं भूगोलको ज्ञान भएन भने देशको सार्वभौमिकता, स्वतन्त्रता एवं मौलिकतामाथि नै कुनै दिन कुठाराघात पर्न सक्छ भन्नेतिर सोच्नु आवश्यक भइसकेको छ। हिजोआज संस्कृतिको नाममा अनेक प्रकारका विकृति, विसंगतिहरूले बढ्ने मौका पाइरहेका छन, जुन कुनै पनि हालतमा ठीक हो भन्न सकिन्न। हाम्रा कुनै पनि चाडपर्वहरूको न्यूनतम लक्ष्य भनेको जीवन, जगत र ईश्वरलाई बुझ्ने रूपमा लिइएको थियो। तिनमा मनोरञ्जन केही हुन्थ्यो तर मनोभञ्जनलाई कुनै हालतमा बढ्न प्रेरित गरेको हुँदैन्थ्यो। आज त्यसको विपरीत बन्दै गएको यत्र तत्र देख्नुपर्दा हामी कतातिर जाँदैछौँ ? भन्ने प्रश्न जो कोहीको मनमा आउन सक्छ।

चाडपर्वहरूले धार्मिक, सामाजिक पक्षलाई जाग्रत गराइराख्न होस्टेमा हैसे गर्ने त भई नै हाल्यो।  साथै यसले आर्थिक क्षेत्रलाई पनि चलायमान बनाएर अर्थतन्त्रलाई बलियो बनाउन सघाउ पुर्‍याइरहेको हुन्छ। अझ स्थानीयपन मिसिएको चाडपर्वहरू छन् भने त आत्मनिर्भरताको बाटोमा डोरिन पनि प्रत्यक्ष र अप्रत्यक्ष रूपले सहयोग पुर्याइरहेको हुन्छ। हिजोआज यसमा पनि परनिर्भरता बढ्दै गएर धान्न र थेग्न गाह्रो परिरहेको अवस्था सोचनीय बन्दै गएको छ।

दसैं भन्नासाथ ‘पशुबलि’ जोडिएर आउँछ। बलिको अर्थ हुन्छ ‘उपहार’। आफूमा अन्तर्निहित पशुताको बलि हुनु पर्नेमा पशुको बलिले स्थान पाउँदै गयो। भन्नैपर्ने हुन्छ, यसमा स्थानीयता र परम्पराले भूमिका निर्वाह गरिरहेको हुन्छ। जसरी विशाल वरको रूखमा असंख्य लहरा, जङ्गली झारपात एवं ऐँजेरुहरू त्यसै रूखमा जेलिएर रहेजस्तै सनातन हिन्दू परम्परामा पशुबलि प्रथा त्यसैगरी जोडिन आइपुगेको हो भने हुन्छ। देवीदेवताहरूलाई प्रसन्न गराउने नाममा राँगो, बोका, भेडा, हाँस, कुखुरा आदिको बलिको चलनचल्ती पहिले खुबै रहेको थियो। हिजोआज अनेक प्रकारका धार्मिक, आध्यात्मिक चिन्तन एवं सुधारवादी अनेक अभियानका कारण घट्दै घट्दै नगएको त होइन ? व्यवहारमा घटिरहेको छ। यस विषयमा सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ घट्ने र बढ्ने  सन्दर्भभन्दा पनि हाम्रो अघिल्तिर मुख्य प्रश्नको रूपमा जिज्ञासा आउँछ के पशुबलिप्रथा हिन्दूधर्मको हिस्सा हो ? 

वेद, उपनिषद्, श्रीमद्भगवद्गीताजस्ता मूल शास्त्रहरूलाई मान्ने हो भने ‘होइन’ भन्ने जवाफ आउँछ। तर, धर्मशास्त्रको नाममा चलेका एकथरी ग्रन्थहरूले चाहिँ त्यसलाई समर्थन गरेका छन्। यद्यपि वेद, उपनिषद् र श्रीमद्भगवद्गीता नै हाम्रा मूल धर्मशास्त्र हुन्। संसारको सबैभन्दा जेठो शास्त्र ऋग्वेद मा उल्लेख पाइन्छ, ‘मा नो गोषु मा नो अश्वेसु रीरिषः’ (ऋग्वेद) अर्थात हाम्रा गाई र घोडाहरूलाई नमार।  

संस्कृत वाङ्मयका केही विद्वान्हरूले हिन्दूधर्ममा पछि गएर लोकपरम्पराका धारणा र मान्यताहरू जोडिए। त्यसलाई पनि हिन्दूधर्मको हिस्साजस्तो मानिन थाल्यो। जसरी वरको रूखमा बटारिएर आफ्नो अस्तित्व बनाएका लहराहरूको मूल रूखसँग सम्बन्ध हुँदैन तापनि झट्ट हेर्दा त्यही रूखको अंग हो कि जस्तो देखिन पुग्छ जबकि रूखसँग कुनै सम्बन्ध हुँदैन। हिन्दूधर्ममा पनि यस्तै भएको सम्झनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.