नाडालले अस्ट्रेलियन ओपन गुमाउने

नाडालले अस्ट्रेलियन ओपन गुमाउने
फाइल तस्बिर।
सुन्नुहोस्

ब्रिजबेन : स्पेनिस टेनिस स्टार राफेल नाडालले अस्ट्रेलियन ओपन गुमाउने भएका छन्। वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगितामा सहभागिता जनाउनु अघि ब्रिजबेन इन्टरनेसनलमा प्रतिस्पर्धा गर्न पुगेका नाडाल खुट्टामा चोट बोकेपछि स्वदेश फर्किएका छन्।

चोटकै कारण नाडाल झन्डै एक वर्ष कोर्ट बाहिर थिए। लामो समयपछि अस्ट्रेलियन ओपनमार्फत ग्रान्डस्लाममा फर्किन लागेका नाडालले ब्रिजबेन ओपनमा सुरुवाती दुई खेल सोझो सेटमा जितेका पनि थिए। तर, शुक्रबार अस्ट्रेलियाका जोर्डन थोप्सनसँगको क्वार्टरफाइनल खेलका क्रममा नाडालले पुनः चोट बोकेका थिए। 

नाडालले परीक्षणका क्रममा खुट्टाको मांसपेसी च्यातिएको पाइएको र पहिलेजस्तो गम्भीर चोट नदेखिएको जानकारी दिए। ‘मांसपेसीमा गम्भीर चोट नदेखिनु खुसीको विषय हो। तर, यसरी नै चोट बोकिरहने हो भने लगातार खेल्न सकिन्छजस्तो छैन’, नाडालले भने। ब्रिजबेन ओपनमा डोमिनिक थिएमसँग प्रतिस्पर्धा गर्नुअघि उनले तीन सय ४९ दिनसम्म एउटै पनि खेल खेलेका थिएनन्। लामो समय कोर्ट बाहिर रहे पनि नाडालले थियमलाई ७–५, ६–१ र जासन कुब्लरलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरेका थिए। जोर्डन थोप्सनसँगको क्वार्टरफाइनल खेल भने नाडालले ७–५, ६–७(६–८) ३–६ ले गुमाएका थिए। 

१९ वर्षपछि पहिलो पटक फ्रेच ओपन गुमाउन पुगेपछि ३७ वर्षीय नाडालले गत मेमा सन् २०२४ आफ्नो सक्रिय खेल जीवनको अन्तिम वर्ष हुने बताएका थिए। ‘लामो समयसम्म कोर्ट बाहिर रहनु पर्दा निकै दुःख लागेको थियो। त्यसैले कोर्टमा फर्किन निकै मेहनत गरेको थिएँ’, २२ पटकका ग्रान्डस्लाम च्याम्पियन नाडालले सामाजिक सञ्जालमा लेखेका थिए, ‘तर, यो चोटले निरास बनाएको छ। मेलबर्नमा अद्भूत समर्थकबीच खेल्ने मेरो चाहना पूरा 
नहुने भएको छ।’

यही जनवरी १४ बाट सुरु हुने अस्ट्रेलियन ओपन गुमाउने भएपछि नाडालले फ्रेन्च ओपनमा आफ्नो ध्यान केन्द्रित गर्ने बताएका छन्। ‘मे २० बाट सुरु हुने फ्रेन्च ओपनमार्फत पुनः कोर्टमा फर्किने योजना बनाएको छु। त्यही अनुरुप आफूलाई केन्द्रित पनि गर्नेछु’, कीर्तिमानी १४ पटकका फ्रेन्च ओपन विजेता नाडालले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.