क्यान्सर उपचार, नेपालमै सम्भव

क्यान्सर उपचार, नेपालमै सम्भव

पहिला क्यान्सरका बिरामीलाई भारत रेफर गर्नुपर्थ्यो। अहिले मुलुकमै सरकारी र निजी अस्पतालबाट क्यान्सरको प्रभावकारी रूपमा उपचार भइरहेको छ। नेपालले क्यान्सर उपचारमा फड्को मारेको छ। शल्यक्रिया, रेडिएसन र केमाथेरापी उपचार सेवा उपलब्ध छन्। क्यान्सरको उपचार स्वदेशमै सम्भव छ।

क्यान्सर रोगमा विज्ञ बन्न चाहन्छौं ?’ पाटन अस्पतालमा भेट्न आएका अपरिचित अमेरिकनले सोधे।

मैले ठट्टैठट्टामा भने, ‘नाईं। रुचि छैन।’ 

किन क्यान्सरका बिरामीलाई उपचारमा सघाएको छ ? मौका पाएमा जाने हो ? उनले पुनः प्रश्न सोधे।

अलि घुमाएर जवाफ फर्काएँ, ‘अँ त्यस्तो मौका पाएमा विचार गर्नुपर्छ।’

पाटन अस्पतालमा छाती रोग विशेषज्ञका रूपमा बिरामीको सेवारत थिएँ। अचानक ती अमेरिकनसँग भएको भेटघाटले जीवनमै फरक मोड लियो। उनको अप्रत्याशित प्रस्तावले मेरो मथिंगल घुम्यो। नेपाल अर्बुद्ध रोग निवारण संस्था (नेपाल क्यान्सर रिलिफ सोसाइटी) मा पुगेर मलाई भेट्न आएको रहेछन्। एक वर्षपछि मलाई क्यान्सरमा फेलोसिपको अवसर आयो। यहाँ कसैले सहर्ष स्वीकार गरेनन्। घरमा सुनाउँदा कोही पनि उत्साहित भएनन्। कसैले पनि मलाई जान अनुमति दिएनन्। उल्टै बेवकुफ भने। पाटन अस्पतालमा अभ्यास गरिरहेको व्यक्ति पनि कहीँ जाने हो ? भन्दै हतोत्साही नै गराए। श्रीमतीलाई सुनाएँ। उनले पनि निर्णय गर्ने अधिकार मेरै टाउकोमा राखिदिइन्। क्यान्सरका बिरामी धेरै छैनन्। अमेरिका आएर के गर्ने हो ? उनले मेरो एक किसिमले अन्तर्वार्ता नै लिइन्।

तालिम लिएर आएपछि बिरामीलाई सहज हुने र क्यान्सरको क्षेत्रमा केही गर्न सकिने उपाय बताएँ। अरू चिकित्सकलाई पनि जान प्रेरणा हुनेछ भन्ने हिसाबले नै अमेरिका गएको हुँ। सन् १९९० मा गएको हुँ। त्यतिबेला मेडिकल अंकोलोजी कोही पनि थिएनन्। रेडियोथेरापीमा डा. तारा मानन्धर मात्र थिइन्। डा. मानन्धर नेपालको पहिलो रेडियो अंकोलोजिस्ट हुन्।

अमेरिकामा जाँदा मलाई सुरुसुरुमा धेरैले प्रश्न गरे, ‘नेपालमा पनि क्यान्सर छ र ? ’

अमेरिका गएपछि अधिकांशले उतै बस्ने योजना बनाएका हुन्छन्। झन् अहिले त अमेरिका जान र बस्न तँछाडमछाड नै छ। तर, मलाई त्यस्तो सोच कहिल्यै आएन। अन्य मुलुकका चिकित्सकलाई भन्दा मलाई प्राथमिकता दिएका थिए। नेपालीहरू भनेका सोझो, इमान्दार, मेहनती, अध्ययनशील भन्ने छाप उनीहरूमा परेको थियो। अमेरिकामै बस्नको लागि ग्रिन कार्डको निवेदन दिएर बस्न सुझाउने चिकित्सकहरू पनि थिए।

 तर, मैले सोझै भनेको थिएँ, हेर्नुस्। यो अमेरिकाबाट एक हजारविज्ञ चिकित्सक अन्य मुलुकमा गए पनि केही फरक पर्दैन। तर, नेपालबाट एक जना भए पनि विज्ञ चिकित्सक अमेरिका बस्ने हो भने धेरै फरक पर्छ। तालिम लिएर गए पछि स्वदेशमा केही न केही त गर्न सक्छु।’ मेरो जवाफ सुनेपछि उनीहरू हाँसे। धेरै कर गरेनन्।   तालिम लिएर स्वदेश त फर्कें। क्यान्सरको क...ख सुरु गर्नुपर्ने भयो। नेपाल अर्बुद्ध रोग निवारण संस्था (नेपाल क्यान्सर रिलिफ सोसाइटी)को संस्थापक अध्यक्ष जयन्ती शाहको अगुवाइमा जनचेतना फैलाउने काम गर्न सुरु गरियो। अस्पतालको अवधारणामा जानुपर्ने कुरामा जोड दिएँ। बागबजारमा ओपीडी सञ्चालन सुरु गरियो। क्यान्सर विशेषज्ञहरू एकजुट हुन सुरु भयो। सुरुसुरुमा त कार्यसमितिमा सदस्य पुर्‍याउनसमेत गाह्रो हुन्थ्यो। क्यान्सरको क्षेत्रमा सुरुआती चरणमा डा.अञ्जनीकुमार शर्माको गर्नुभएको योगदानलाई स्मरण गर्न चाहन्छु। भक्तपुर क्यान्सर अस्पतालमा २० वर्षअघि निर्देशक भएर पनि काम गरें। 

अहिले ७३ वर्षको भएँ। ऐतिहासिक जनआन्दोलन भएको वर्ष अर्थात् २००७ सालमा जन्मे। आफू जन्मेको साल हेर्दा कहिलेकाहीँ लाग्छ, मेरो जीवन क्यान्सरविरुद्धको आन्दोलन गर्न नै भएको रै छ। वास्तवमा मलाई क्यान्सरविज्ञ हुने रुचि थिएन। कति कुरा सोचेको भन्दा पनि भाग्यमा लेखेको हुन्छ, भन्छन् नि। हो, मलाई त्यहीं भयो। सोचेको होइन लेखेको भयो। 

९ कक्षासम्म मैले तनहुँको भानु माध्यमिक विद्यालयमा पढें। त्यसपछि कक्षा १० मा काठमाडौं आएँ। जुद्धोदय माध्यमिक विद्यालयबाट एसएलसी पास गरें। अब के पढ्ने ? भन्ने प्रश्न उठ्यो। डाक्टर नै बन्नुपर्छ भन्ने सुझाव आयो। मैले त्रिचन्द्र क्याम्पसमा आईएस्सीमा भर्ना भए। आईएस्सी सकेपछि एमबीबीएस पढ्न बंगलादेश गएँ। बंगलादेशको ढाका मेडिकल कलेजमा भर्ना भएँ। छात्रवास (होस्टेल) मा बसेर पढें। एमबीबीएस पढाइ सकेर स्वदेश फर्कें। शान्त भवन अस्पतालमा बिरामीको उपचारमा खटिएँ। महिनाको १  हजार रुपैयाँ कमाइ हुन्थ्यो। 

 त्यो बेला नेपालमा सर्ने रोगले सताउँथ्यो। झाडापखाला, टाइफाइड, दम, क्षयरोगका बिरामीहरू उपचार गर्न आउँथे। क्यान्सरलगायतका नसर्ने रोगको पहिचान नै हुँदैनथ्यो। त्यस्तो बेला कसरी क्यान्सरविज्ञको स्कोप होस् ? स्वाभाविक रूपमा म पनि फिजिसियन नै बन्ने निष्कर्षमा पुगेको थिएँ। सन् १९७८ मा मलाई छात्रवृत्ति प्राप्त भयो। लन्डन पुगें। छाती रोग विशेषज्ञका रूपमा स्वदेश नै फर्किए। पाटन अस्पतालमा काम गर्न सुरु गरें। त्यो बेला बल्ल फाट्टफुट्ट क्यान्सरका बिरामी उपचार गर्न आउन थाले। बेलायतमा पनि क्यान्सरका बिरामीसँग भेट भएको थियो। तर, खोइ किन ...किन ? क्यान्सरका बिरामीको उपचारमा संलग्न हुने हुटहुटी पलाएन। 

क्यान्सर रोगप्रति एक खालको इरिटेसन हुन्थ्यो। घृणा थियो। त्यसैले पनि होला क्यान्सर रोगमा विज्ञता हासिल गर्ने रुचि भएन। नेपालमा पनि क्यान्सरको परीक्षण र उपचार थिएन। बिरामी भारतको टाटा र भेलोर पुग्थे। बिरामीलाई केही थाहा थिएन। आफैंले अस्पतालको लोकेसन र डाक्टर भनिदिनु पथ्र्यो। त्यो बेला सरकारी अस्पतालमा डाक्टरको मासिक तलब १० रुपैयाँ थियो। 

उपचारमा फड्को 

फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवसको दिन मुलुकभर क्यान्सरको चर्चा हुन्छ। क्यान्सर रोग विशेषज्ञलाई बिरामी हेर्ने कि कार्यक्रममा उपस्थित हुने भन्ने भ्याइनभ्याइँ हुन्छ। अहिले पुरुषलाई फोक्सोको क्यान्सर र महिलालाई पाठेघरको मुखको क्यान्सरले बढी देखिएको छ। तर, महिलालाई पाठेघरको मुखको क्यान्सरको हाराहारीमा स्तन क्यान्सर पनि देखिएको छ। ३०/३५ वर्षका नेपाली महिलामा पनि स्तन क्यान्सर देखिन थालेको छ। यस हिसाबले स्तन क्यान्सर पहिलो नम्बरमा देखिन सक्छ। पहिलापहिला उपचार गराउन बिरामीहरू निकै ढिला आउँथे। तेस्रो-चौथो स्टेजमा आउँथे। तर, अहिले क्यान्सरको पहिलो-दोस्रो स्टेजमा बिरामीहरू उपचारको लागि आउन थालेका छन्। छिटो उपचारमा आउँदा समयमै उपचार गरी बिरामीको आयु लम्ब्याउन सकिन्छ। 

अर्को सुखद, पक्ष के छ भने पहिला महिलाहरू उपचारका लागि पुरुष चिकित्सकसँग असहज मान्थे। अहिले महिला होस् वा पुरुष चिकित्सक उपचार गराउन असहज मान्दैनन्। अहिले सयौं क्यान्सर रोग विशेषज्ञहरू छन्। तर, त्यसै कारण अहिले बिरामीको उपचारको पहुँच बढेको छ। तर, विगतमा यस्तो समय पनि थियो, क्यान्सरको पहिचान नै हुँदैनथ्यो। क्यान्सर लागे पनि पहिचान नहुँदा बिरामीको मृत्युको कारण नै थाहा हुँदैनथ्यो। तर, अहिले विज्ञ चिकित्सक, उपकरणहरू स्वदेशमै रहेका छन्। क्यान्सरको क्षेत्रमा भएको प्रगति देख्दा खुसी लाग्छ। रोबोटिक सर्जरीबाहेक सबै उपचार सेवा स्वदेशमै रहेको छ। बिरामीले ढुक्क भएर उपचार गराउन सक्छन्। स्वास्थ्यको क्यान्सरको उपचारमा भएको यो एक किसिमको छलाङ हो।

 सरकारले पनि क्यान्सरको क्षेत्रमा धेरै गरेको छ। भक्तपुर क्यान्सर अस्पताल, वीर अस्पताल, सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्रलगायतका सरकारी र निजी अस्पतालबाट बिरामीले सेवा लिइरहेका छन्। काठमाडौं उपत्यका बाहिर पनि भरतपुर क्यान्सर अस्पताल, चितवन, बीपी कोइराला अध्ययन प्रतिष्ठान, धरान र सुशील कोइराला क्यान्सर अस्पताल, बाँकेबाट बिरामीलाई सेवा प्रवाह भइरहेको छ।

 क्यान्सरको उपचारमा विशेषगरी तीन किसिमका उपचार पद्धतिहरू शल्यक्रिया (सर्जरी) रेडिएसन र केमाथेरापी नै हो। यी तीनवटै उपचार पद्धतिहरू नेपालका सरकारी र निजी अस्पतालहरूमा उपलब्ध छन्। त्यसैले पनि भन्न सकिन्छ, क्यान्सरको उपचार नेपालमै सम्भव छ।

 (नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टरका अध्यक्ष डा. पियासँग दिनेश गौतमले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.